८ वैशाख २०८१ शनिबार
समाज

उपत्यकामा प्रहरीको दोहोरो चेकजाँच

काठमाडौं - काठमाडौं उपत्यकामा नेपाल प्रहरीको दोहोरो चेकिङ प्रणाली सुरु भएको छ। उपत्यकाका तीनवटै प्रहरी परिसरको चेकिङ प्रणालीको अनुगमन गर्ने नाममा महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले विभिन्न स्थानमा आफ्नो युनिट खटाएर चेकजाँच गर्ने गरेको छ।

महानगरीय प्रहरी कार्यालयमातहतका तीनवटै परिसरले प्रत्येक दिन आफ्ना युनिटमार्फत चेकजाँच गरिरहेका हुन्छन्। काठमाडौं, ललितपुर र भक्तपुरमा गरी परिसरका करिब एक हजार चार सय प्रहरीलाई चेकिङका लागि खटाइएको हुन्छ। उनीहरूको अनुगमनका लागि महानगरीय प्रहरी कार्यालय थप चेकजाँच गरिरहेको हुन्छ। काठमाडौ परिसरको मात्रै प्रत्येक दिन ४२ स्थानमा परिसरको युनिटले चेकिङ गरिरहेको हुन्छ तर त्यसलाई अविश्वास गर्दै आयुक्तको कार्यालयले पनि २० स्थानमा आफ्नो युनिट खटाएर चेकजाँच गरिरहेको हुन्छ।

आयुक्त कार्यालयकी प्रवक्ता एसएसपी पूजा सिंहले काठमाडौंमा मात्रै आयुक्त कार्यालयका २० युनिटले सिआरबीसहित थप चेकजाँच गरिरहेको बताइन्। ‘परिसरहरूले गर्ने काम गरिरहेका छन्, हाम्रो कार्यालयबाट पनि २० युनिटले रातको समयमा चेकजाँच गरिरहेका हुन्छन्,’ उनले भनिन्, ‘परिसरलाई विश्वास नगरेर भन्दा पनि आयुक्त कार्यालयको यो नियमित कार्य हो।’ प्रवक्ता सिंहका अनुसार काठमाडौंलाई शान्त र सुरक्षित बनाउन परिसरको भन्दा छुट्टै चेकिङ आवश्यक रहेको बताइन्। काठमाडौंको सुरक्षा प्रणालीलाई अझ व्यवस्थित बनाउन देखिएका कमजोरीहरूलाई सच्याउन अनुगमन गरिएको उनले बताइन्।

महानगरीय प्रहरी परिसर ललितपुरका एसपी शेखर खनालका अनुसार ललितपुरका २० स्थानमा चेकिङ हुने गरेको छ। त्यसका लागि करिब एक सय २० जनशक्ति परिचालन हुने गरेको छ। सो युनिटलाई पनि छुट्टै अनुगमन गर्न ललितपुर परिसरकै डिएसपीको टोली खटिएको हुन्छ। ‘हरेक रात हाम्रा २० युनिट चेकिङका लागि परिचालित हुन्छ, त्यसलाई अनुगमन गर्न डिएसपीको टोली निस्कन्छ,’ एसपी खनालले भने।

अहिले काठमाडौंका विभिन्न स्थानमा चेकिङ सुरु हुँदा भक्तपुर, ललितपुरमा पनि सोही प्रकृतिको चेकिङ हुने गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले प्रत्येक रात पाँच सय प्रहरी चेकिङमा खटिने र त्यसको अनुगमनका लागि डिएसपीको कमान्डमा छुट्टै टोली खटिने जानकारी दिए। ‘चेकिङमा खटिएका टोलीहरूले कहाँ कसरी चेकजाँच गरिरहेका छन् भनी अनुगमनका लागि डिएसपीकै टोलीले अनुगमन गरिरहेको हुन्छ,’ डिएसपी बोगटीले भने। उनका अनुसार प्रत्येक वृत्तबाट दुईवटा टोली अनिवार्य रूपमा खटिएका हुन्छन्। त्यसमा आयुक्त कार्यालयको टोली पनि खटिएको हुन्छ। भक्तपुरमा पनि परिसरको टोलीलाई अनुगमन गर्न आयुक्ता कार्यालयको टोली पुग्ने गरेको छ। भक्तपुरका हरेक युनिटले राजमार्ग र भित्री सडकहरूमा चेकजाँच गरिरहेका बेला आयुक्त कार्यालयको टोली जाने गरेको छ।

सिंहदरबारलाई सास्ती, हेडक्वार्टरलाई मस्ती
आयुक्त कार्यालयबाट चेकिङका लागि सास्ती खेप्ने युनिटचाहिँ सिंहदरबारभित्रको महानगरीय प्रहरी सुरक्षा गण रहेको छ। सिंहदरबारभित्र दिनभर ड्युटी गरे पनि सो गणका अधिकांश प्रहरीलाई आयुक्त कार्यालयले रात्रिकालीन चेकिङका लागि खटाउने गरेको छ। सिंहदरबारभित्र करिब ७ बजेसम्म ड्युटी गरेका प्रहरी आयुक्त कार्यालयले कोटेश्वरदेखि नक्खुगेट, कलंकी हँुदै बुढानीलकण्ठ, कपन, चावहिलसम्मको चेकिङमा खटाउने गरेको छ। त्यस्तै मर्कामा प्रहरी पहरा गण पनि पर्ने गरेको छ। सो गणका प्रहरीलाई पनि तीन÷तीन दिनको फरकमा खटाइने गरेको छ। प्रहरी प्रधान कार्यालयका अधिकारीलाई भने यस्तो चेकिङ परिचालन गर्ने गरिएको छैन। उनीहरू १० बजे कार्यालयमा हाजिर हुने र ४ बजे घर जाने गरेका छन्। प्रहरी प्रधान कार्यालयका अधिकारीहरूलाई भने निजामती कर्मचारीको जस्तै ड्युटी दिइएको फिल्डमा नखटाइएको बताइएको छ।

यसअघि यस्तो थियो प्रावधान
यसअघि प्रहरी प्रधान कार्यालय र आयुक्त दुवैले प्रहरी अधिकृत तथा जवानका गतिविधि निगरानी गर्न ‘मार्सल टोली’लाई सक्रिय बनाएका थिए। सेवाग्राहीबाट रकम असुलेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रहरी कर्मचारी पक्राउ पर्ने क्रम नरोकिएपछि प्रधान कार्यालय र आयुक्ता कार्यालय दुवैले संयुक्त रूपमा काठमाडौं, भक्तपुर र ललितपुरसहित देशभर मार्सल टोली बनाएर निगरानी गरेका थिए। प्रधान कार्यालयको मार्सल टोलीले महानगरीय प्रहरी कार्यालय, अपराध महाशाखा, विमानस्थल परिसर, जिल्ला, क्षेत्रलगायतबाट परिचालित घुमुवा÷सादा पोसाकका कर्मचारीमाथि पनि निगरानी गर्थे भने आयुक्त कार्यालयले विभिन्न वृत्त र प्रभागको अनुगमन गर्ने गरेको थियो। अहिले सो प्रावधान पूरै हटेको छ।

प्रकाशित: १५ पुस २०७५ ०१:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App