८ वैशाख २०८१ शनिबार
अन्य

कठै ! बुबाको अल्जाइमर

डा. बानिरा गिरी, प्रा.डा. दुर्गाप्रसाद भण्डारी, प्रा. रामेश्वरप्रसाद अधिकारी, डा. शिशिरकुमार स्थापित लगायत प्राज्ञिक र साहित्यिक क्षेत्रका केही मूर्धन्य व्यक्तिहरू एप्रेक्सिया, अल्जाइमर, डिमेन्सिया जस्ता कामकुरा भुल्दै जाने रोगबाट ग्रसित भएको खबर केहीअघि अखवारमा आयो। विस्मृतिको रोगबाट चिनिने त्यो अवस्थाबाट दिमागीयरूपमा सक्रिय व्यक्तिहरू पनि पीडित हुँदा रहेछन् भन्ने नयाँ जानकारी थियो त्यो।

मस्तिष्कलाई सधैं सक्रिय राख्ने पेशा अँगालेका ति प्राज्ञिक व्यक्तिहरूसमेत बुढेसकालमा बिर्सने रोगका कारण गृहबन्दी सरह बस्नुरपरेको अवस्था त्यहाँ उल्लेख थियो। बौद्धिक र दिमागीय सक्रियता भएका अन्य धेरै व्यक्तिहरू पनि त्यस्तै समस्याबाट पीडित भएको जानकारी अरु पनि थपिँदै गयो। रोग लागेपछि उपचार र रेखदेखका लागि स्वदेश छोडेर सन्तान भएकै देश पुग्नुपरेको बाध्यता धेरैजनाको रहेछ। रोगले निम्त्याएको असहज स्थितिको कारण स्वदेशमै भएर पनि बाहिरी सम्पर्कमा आउन नसकी बुढ्यौली दिन गुमनाम गुजार्ने चिन्तनशील व्यक्तित्वहरू पनि कम रहेनछन्।

अल्जाइमर रोगप्रतिको चासो त्यत्तिकै उब्जिएको विषयवस्तु होइन। ८३ औं बर्ष पुग्नुभएका बुबा केही वर्षदेखि सोही रोगले ग्रसित हुनुहुन्छ। अल्जाइमरका कारण बुबामा देखापर्ने फरकखाले बानी व्यवहारले परिवारको उत्तिकै चिन्ताको विषय हो। तर, रोग निको हुने उपचार नभएको बरु उमेरसँगै असर बढ्दै जाने डाक्टरहरूको भनाइ ग्रहण गर्नुको विकल्प छैन।

मानव मस्तिष्कको कार्यक्षमतामा हस आएर स्मरणशक्ति कमजोर हुँदै जाने रोगको रूपमा अल्जाइमरलाई चिन्ने गरिन्छ। सम्झने शक्ति हराउँदै गएर दैनिक जीवनमा देखापर्ने यसका असरहरू यस रोगको सबैभन्दा नकारात्मक पक्ष हो। बुढ्यौली नै यस रोगको प्रमुख कारण रहेको डाक्टरहरू बताउँछन्। रोग लागेपछि व्यक्तिमा देखिने फरक–फरक असरका आधारमा अल्जाइमरलाई तीन चरणमा विभाजन गरिएको पाइन्छ। सुरुमा सामान्य कुराहरू भुल्ने, एउटै काममा धेरै समय लगाउने, घरमा आउने पाहुना, नातेदारलाई हत्तपत्त सम्झन नसक्ने आदि।

तर, जस्तो परे पनि अधिकतम स्याहार सुसारमा कटिबद्ध हुने छोराबुहारीहरू, मायालु नातिनातिना, पत्नीको साथ आदिका कारण बुबाको अवस्थाप्रति चिन्तित हुनुपर्ने स्थिति त छैन। तर, यति संस्कारी र कर्तव्य परायण परिवार नपाउने अभिभावकले यी र यस्तै खाले रोगको सामना बुढेसकालमा कसरी गरिरहेका होलान् भन्ने कल्पनाले भने सधैं विक्षिप्त बनाउँछ।

दोस्रो चरणमा आफ्नै सन्तान र परिवारका सदस्यहरूलाई नचिन्ने, एउटै कामकुरा दोहोर्याइरहने, ऐनामा देखिने आफ्नै प्रतिबिम्बलाई समेत नचिन्ने लगायतका असरहरू प्रस्तुत हुने गर्छन्। तेस्रो चरणमा दिसापिसावको नियन्त्रण नहुने, लुगा लगाउन भुल्ने, खाना चपाउन र निल्नै बिर्सने लगायतका असरले समेत गाँज्दै लैजाने विज्ञहरू बताउँछन्।

पूर्ण उपचार अभावको कारण औषधीको सहारा सबै अल्जाइमर बिरामीको निर्विकल्प वाध्यता हो, बुबाको हकमा पनि यही लागू छ। सामान्य अवस्थाबाट अन्य गम्भीर अवस्थामा छिटो जान नदिनका लागि मात्र औषधीको आविस्कार भएको स्वास्थ्यकर्मी नै स्वीकार्छन्। उमेर बढ्दै जाँदा अल्जाइमरको बढ्दो असरलाई ति औषधीले पनि रोक्न नसक्ने रहेछन्। त्यसैले नियमित औषधी सेवन हुँदाहुँदै पनि अल्जाइमरका असरहरू बढ्ने क्रम आफ्नै गतिमा बढिरहेकै हुन्छ।

यसै पनि जो कोहीको बुढेसकालीन चरित्र धेरैजसो बालापनसँग मेल खाने गर्छ, अल्जाइमरका बिरामीको हकमा यो पक्ष अझ बढी उजागर भएको प्रष्ट देखिन्छ। सामान राखेर भुलेको ठाउँ सम्झाइदिने, क्षणक्षणमा कुरा दोहोर्याइरहने, खाना÷खाजा समयमा खुवाउने, भनेका कुरा सुनिदिने, सोधेका कुरा बुझाउने, लुगा फेरिदिने, धोइदिने, नुहाइदिने जस्ता सबै पक्षमा परिवारका सदस्यहरूले बालबालिकालाईझैं ध्यान पुर्याउनुपर्छ। आफूले चाहे अनुसारको वातावरण भए खुसी हुने, नभए दुःखी हुने स्वभाव पनि अल्जाइमरका बिरामीमा देखिन्छ।

पीडादायक शारीरिक कष्ट नभए पनि मनमा कुरा खेलाइरहनु, कहिले निराश कहिले खुसी लगायतका फरक फरक भावहरू प्रस्तुत गरिरहनु उनीहरूको सामान्य व्यवहारभित्रै पर्छ। विगतका धेरै पुराना कुरा हुवहु सम्झन सक्ने तर तत्कालका कुराहरू यादमा नरहने÷बुझ्न नसक्ने अवस्थाबाट समेत बिरामीहरू उत्तिकै प्रभावित हुने गर्छन्। यसका साथै एउटा कुरा सुरु भएपछि त्यसलाई बारम्वार दोहोर्याइरहने र सुन्ने मान्छेले सुनेर त्यसको प्रतिक्रिया जनाइरहुन भन्ने अभिलाषा पनि उनीहरूले राखेका हुन्छन्। बिरामीका यस्ता चाहना र आवश्यकताको कारण परिवारका सदस्यहरूको क्रियाशीलता एकदमै बढ्न पुग्छ।

सामान्य अवस्थाका मान्छेहरूलाई समेत बुढेसकाल सहज अवस्था हैन। चरम व्यक्तिगत स्वतन्त्रताप्रतिको लगावले दोस्रो पुस्ताको ध्यान एकांकी परिवारतर्फ केन्द्रित भएको जहीतही देखिन्छ। अभिभावकप्रतिको कर्तव्यलाई बोझ ठान्ने प्रवृत्ति बढ्दो छ, जसले वृद्धावस्थामा रहेका बुबाआमाको भोगाईलाई झन् कठिन बनाएकोप्रति विमति जनाउने ठाउँ देखिन्न। तर, भाग्यवश, मेरा बुबाआमाको हकमा अति नै आनन्ददायक परिवेश परिवारभित्र विद्यमान छ। ८४ पुग्नै लागेको बुढेसकाल, त्यसमाथि अल्जाइमरको रोगी, तैपनि बुबाले पाउनुभएको स्याहारसुसारमा कतै टिप्पणी गर्ने ठाउँ देखिन्न। दाइको मान्यतामा बुबाआमा साक्षात् भगवानका रूप हुन्।

केवल मान्यता मात्र हैन, व्यवहारद्वारा नै ति कुरा झल्काउन उहाँले कुनै कसर बाँकी राख्नुभएको छैन। बुहारीको हैसियतले भाउजु जसरी कर्तव्यमा लीन हुनुहन्छ, त्यसले हामी सवै छोरीहरूलाई लज्जावोध गराउँछ। आफ्ना जन्मदाताका लागि भाउजुले भन्दा बढी गर्नुपर्ने त हामी छोरीहरूले हो नि, मलाई हरवखत यहि कुराले घोचिरहन्छ। तर, पनि बसाई, परिवेश, आफ्ना सन्तानप्रतिको जिम्मेवारी आदिको अड्को थापेर जन्मदाताप्रति कर्तव्यच्यूत नै बनिरहेको स्थितिलाई हामी छोरीहरूले उकास्न सकेका छैनौं। आक्कल झुक्कल पुगेको बेला केही मिठोचोखो दिए जस्तोमा मात्र सीमित हाम्रा कर्तव्य, भाउजुले बहन गरिरहनुभएको जिम्मेवारीसँग एक अंश पनि तुलना हुन सक्दैन। 

प्रायः सबै घरमा ज्येष्ठ नागरिकले दुःख पाउनुलाई बुहारीको व्यवहारसँग लगेर जोडिन्छ अर्थात् बुहारीकै कारणले छोराहरू समेत आमाबुबाबाट टाढिने टिप्पणी समाजको लागि नौलो हैन। यसमा हुवहु सत्यता नभए पनि कतिपय घरपरिवारमा सोही परिस्थिति प्रत्यक्ष देखिएकै छ। तर, भाउजुले घरलाई घरजस्तो बनाउन आफूलाई जसरी समर्पण गरिरहनुभएको छ, त्यसको आधारमा उहाँ आदर्शकै प्रतिमूर्ति ठान्छौ हामी। वाणिज्यशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेर पनि घरपरिवारकै लागि उहाँ अहिलेसम्म बाहिरी काममा लाग्नुभएको छैन, यद्यपि पढाई अनुसारको बाहिरी आर्थिक गतिविधिमा संलग्न हुने धोको उहाँभित्र छ। तर, वृद्ध सासू–ससुरा र बालवच्चाको उचित रेखदेखका लागि गृहिणी भएर बस्ने स्वनिर्णय उहाँकै हो।

अल्जाइमरले ग्रसित ससुरा, ८० नाघिसकेकी सासू, दुई छोराछोरी, कामकाजी देवर देउरानी, चार–चार नन्द–आमाजुका सन्तानको आवतजावत सहित संयुक्त परिवारको उचित व्यवस्थापन चानचुने कुरा होइन। तर। उहाँ ति सबै भूमिका निर्वाह गर्न सफल हुनुहुन्छ। बुबाआमाको दिनभरको स्वस्थकर खानपानमा कहिल्यै त्रृटि हुँदैन। सरसफाइको लागि लुगा फेराइदिने, धोइदिने, ओछ्यान÷कोठा सफा राख्ने, हात गोडा मुख सफा राख्न अभिप्रेरित गर्ने मात्र होइन, बुबाको नुहाइधुवाइको अभिभारासमेत भाउजू नै सम्हाल्नुहुन्छ। श्रवण शक्ति कम भएका सासू–ससुराका कुरा (गनगन) निरन्तर सुनिदिने र उहाँहरूले बुझ्ने शैलीमा कुरा बुझाउने धैर्यता सबैमा कहाँ हुन्छ ? तर, उहाँले झर्को मानेको कहिल्यै पाइन्न। रोगका कारण कुन बेला के गरिरहेको छु भन्ने बुबालाई थाहै हुन्न तर, त्यसलाई नियन्त्रण गर्नेभन्दा त्यस्ता गतिविधिमा आफै पनि सहभागी भएर उत्साहित बनाउनुहुन्छ।

टिभीको तालमा बुबा नाँच्दा आफू पनि सँगै नाच्दिनुहुन्छ। हास्दा त्यसैगरी हाँस्दिनुहुन्छ, गीत÷भजन गाइदिनुहुन्छ, रिसाउँदा बच्चाझैं फकाउनुहुन्छ, जिद्दी गर्दा समेत नरिसाई सम्झाउनुहुन्छ, छोराछोरीलाई हजुरबाआमासँग खेल्न, कुरा गर्न उत्प्रेरित गरिरहनुहुन्छ, उहाँहरूकै रोजाई अनुसारको टिभी च्यानल लगाइदिन सतर्क गराइरहनुहुन्छ। बुबाआमाको सबैभन्दा अन्तरंगी साथीको श्रेय भाउजूलाई त्यसै कहाँ मिलेको हो र ? त्यसैले अरु जो जहाँ गए पनि बुबा आमालाई कुनै दुःख मनाउनुहुँदैन। तर, भाउजू केही क्षणकालागि मात्रै घर बाहिर निस्कनुभयो भने उहाँहरू दुवै जनालाई घरैले थिचेको सकस भइदिन्छ।

४७ वर्षको उमेरमा जन्मेको कान्छो छोरा अहिले बुबाको जिस्किने, चल्ने, कुस्ती खेल्ने साथी बन्ने गर्छ, कान्छी बुहारी  बुबाआमाको लागि ‘कान्छी छोरी’ बनेकी छन्। अफिसबाट फर्केपछि बुबासँग जिस्किने, चल्ने, बच्चाझैं बोकेर उचाल्ने, काउकुती लगाएर हसाउने जस्ता काम भाइको प्राथमिकतामा पर्छ। भाइसँग त्यस्ता गतिविधि गर्दा बुबाको चेहरामा जुन खुसी, चञ्चलता, उल्लाससँगै बालसुलभ रोमाञ्चकता उर्लिन्छ, त्यसले सबैलाई पुकलित बनाउँछ।

बुबाको मिजास कडा भएकाले हामी सबै छोराछोरी उहाँसँग कहिल्यै खुल्न सकेनौं। उहाँको इमानले आर्जेको व्यक्तित्व र स्वरैले गाउँ थर्काउने ओजपूर्ण आवाजलाई गाउँलेले समेत प्रतिवाद गर्न सक्दैनथे। त्यस्तो कडा विशेषताको बाबजुद आफ्ना ६ सन्तानलाई एक लबटो पनि नपिटी हुर्काउनु उहाँभित्रको कोमल ह्दयको देन थियो। तर, रोगले गाँजेर स्वभाव केटाकेटीमा रूपान्तरित नहुँदासम्म उहाँसँग बोल्न हामीलाई कहिल्यै धक खुलेन। त्यस्तो स्वभाव भएका बुबाको अल्जाइमरले फेरिदिएको विपरित अवस्था देख्दा मन त्यसै भावुक भएर आउँछ। आफूसँग सधैं जिस्किने, चल्ने कान्छो छोरालाई समेत चिन्न नसक्ने स्थितिमा बुबा बारम्बार पुगिरहनुहुन्छ।

‘बाबुचाहिँ को हो ? यहि घरमा काम गर्न बस्या मान्छे हो ?’ सायद अल्जाइमरले नगाँजेको थियो भने आफ्नै कान्छो छोरालाई बुबाको यो सोधाई पक्कै हुन्नथ्यो। त्यस्तै आफ्नै प्रतिबिम्ब नचिन्दा बुबामा उत्पन्न हुने तनावले उहाँलाई सबैभन्दा बढी सताउँछ। जब ऐनामा आफूलाई देख्नुहुन्छ, त्यो उहाँको बुझाइमा अर्कै मान्छे बनिदिन्छ। अनि उहाँको वाचचित मात्र होइन, कहिलेकाहीँ त लामो समयसम्म चर्को विवाद ऐनामा देखिएको आफ्नै प्रतिबिम्बसँग हुने गर्छ। यसबाहेक आफ्ना परिवारकासाथ बसिरहेको भक्तपुर सृजनानगरको घर आफ्नो घर होइन भन्ने उहाँलाई हरबखत लागिरहन्छ, न त परिवारका सदस्यहरू नै आफ्ना हुन् भन्ने अनुभूति।

रोगको असर बढेसँगै आफ्ना परिवारकासाथ आफ्नै घरमा बसिरहेको छु भन्ने कुरा विस्मृत हुँदै काभ्रेको खरेल्थोकमा आफैले आर्जेको पुख्र्यौली घर अहिले उहाँको स्मृतिमा बढी ताजा भएको हुनसक्छ। त्यसैले ‘अर्काको घरमा नबसौं, आफ्नै घर जाऔं’ भन्ने उहाँको एकोहोरो रटान पन्छाउन परिवारका सदस्यहरूलाई सधैं हम्मेहम्मे परिरहेको हुन्छ।

‘गेट खोल्देउ, म आफ्नै घर जान्छु’ भनेर दिनभरी भाउजूलाई निकै हायलकायल पार्नुहुन्छ। दुई वर्षअघि बाहिरी हिँडडुलमा निस्केका बेला स्मरणशक्ति अभावकै कारण घर फर्कन सक्नुभएन। खोजीका लागि प्रहरी प्रशासन, संचार माध्यम, परिवार, आफन्त सबै परिचालित हुँदा पनि दुई दिनसम्म उहाँको अवस्था पूर्णतः अज्ञात रह्यो। जिवित भेटिनुहुन्छ भन्ने आश मारिसकेको बेला अति नाजुक अवस्थामा बनेपामा भेटिनुभएपछि त्यसयता उहाँलाई एक्लै घुमफिर वर्जित छ। कतै आँखा छलेर निस्कने हो कि भनेर मूलगेटमा सधैं ताला लाग्छ। उहाँलाई परिरहेको यो ठूलो सकस हो। अरु गम्भीर असरहरू पनि बढ्दै जाने क्रममै देखिन्छ।

अल्जाइमर बढी मजवुत हुँदै जाँदा गम्भीर अवस्था टारेर टर्दैन। त्यसले शारीरिक कष्टको तुलनामा बुबाको मानसिक तनावलाई पक्कै बढाउँछ। यसका साथै बुबाको उचित देखभालका लागि परिवारले दिनुपर्ने ध्यान, सक्रियता र सतकर्तामा अझ ठूलो व्यवस्थापन आवश्यक पर्नेछ। तर, जस्तो परे पनि अधिकतम स्याहार सुसारमा कटिबद्ध हुने छोराबुहारीहरू, मायालु नातिनातिना, पत्नीको साथ आदिका कारण बुबाको अवस्थाप्रति चिन्तित हुनुपर्ने स्थिति त छैन। तर, यति संस्कारी र कर्तव्य परायण परिवार नपाउने अभिभावकले यी र यस्तै खाले रोगको सामना बुढेसकालमा कसरी गरिरहेका होलान् भन्ने कल्पनाले भने सधैं विक्षिप्त बनाउँछ।

प्रकाशित: १४ पुस २०७५ ०५:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App