coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

इमानमा अब्बल

प्रायः घाम–पानी छाएका बेला आकाशमा कहिलेकाहीँ मात्र एउटा सुन्दर दृश्य देखिन्छ। बहुरङको त्यो अनुपम दृश्यलाई हामी इन्द्रेनी भन्छौँ। जसमा ७ वटा रङ हुन्छन्। सबै रङका आआफ्नै पहिचान र अस्तित्व होलान् तर सधैँ दर्शन पाउन भने करिब करिब दुर्लभ नै हुन्छ। इन्द्रेनीको रङजस्ता दुर्लभ व्यक्ति कति होलान् हाम्रो समाजमा ? लेखक अनिल पौडेल घोत्लिन्छन् आफैँसँग र देख्छन् एउटा राजनीतिकर्मी अनि समाजसेवी केशव बडाललाई। उनीभित्र स्वाभिमान, सहकारी, पार्टीगत जीवन, किसान सङ्गठन, भूमि आयोग, उद्योगमन्त्री र लेखन यात्राको सात रङ देख्छन्। अनि ती रङ उनलाई सफा, सग्लो, पवित्र, सशक्त, अग्लो, ओजपूर्ण र यायावर लाग्छन्। उनलाई यस्तो लाग्नुकै कारण हो कि केशव बडालबारे पुस्तक लेख्ने निष्कर्षमा पुग्नु।

उचाइमा पुगेर पनि इमानमा टिक्न सकेकाहरू बिरलै भेटिन्छन् यस धर्तीमा। औँलामा गन्न सकिने त्यस्तै केहीमध्येका हुन् केशव बडाल। उनीबारे हालै प्रकाशित इमानको इन्द्रेनी पुस्तक विमोचनमा उनलाई जानेका र संगत गरेका सयौँको उपस्थितिले पनि प्रष्ट्याउँथ्यो उनको इमानको नापो कति उच्च छ भनेर। प्रधानमन्त्री कार्यालयको सभाकक्षमा करिब ७ सयको उपस्थिति थियो। कुर्सी नपुगेर धेरै उभिएका थिए। दसैँको छेको (असोज २७) मा आयोजित कार्यक्रममा पनि पाल्पादेखि मोरङसम्म, रौतहटदेखि सिन्धुपाल्चोकसम्मका उनका शुभचिन्तक र सहपाठी ओइरिएका थिए। लाग्थ्यो, यो केशव बडालको किताब विमोचन कार्यक्रम नभएर कुनै ठूलै साहित्यिक महोत्वस थियो। उनीहरू सबै उपस्थित थिए केबल उनको इमानको साक्षीका रूपमा।

पुस्तक पढ्दा केशव बडालसँगै बसेर उनीसँग बात्चित गरेको महसुस हुन्छ। लेखकले उनको मौलिकतालाई जीवन्त रहन दिएका छन्। यसो भनौँ, उनको आफ्नोपनप्रति लेखकीय हस्तक्षेप कतै भेटिँदैन। त्यसैले यो पुस्तकले मौलिकपन कायमै राख्न सकेको छ। न बडाइचडाइ न त पट्यारलाग्दा गुणगान नै।

खासमा यो पुस्तक भर्खर राजनीतिमा प्रवेश गरेका वा युवा राजनीतिकर्मीले ध्यान दिएर पढ्नुपर्नेखालको छ। बडाल पार्टीमा पूर्णकालीन कार्यकर्ता भएर हिँड्दा अहिलेको जस्तो यातायात सुविधा थिएन। बस्ने÷खाने सबै नै समर्थकको घरमा। पार्टी निर्माणको कामका जुट्दाको उतिखेरको बयान युवा राजनीतिकर्मीका लागि नौलो र प्रेरणादायी लाग्छ। अहिले राजनीति व्यवसायमा रूपान्तरण भएको छ। पार्टी सरकारमा गएपछि नेता÷कार्यकर्ताले सरकारले ग्रहण गरेको असल पक्षलाई सघाउने हो। तर अहिले यसरी सघाउने कि नसघाउने भन्ने कुरा नाफा वा नोक्सानको तराजुमा हालेरमात्र व्यवहार गर्ने परिपाटी मौलाएको छ। यसो हुँदा इमानको इन्द्रेनी किताब पार्टी संगठनको विकास र जनराजनीतिको प्रक्रियाको अभिलेखन पनि बन्न पुगेको छ।

एउटा व्यक्तिले आफ्नो जीवनको छोटो अवधिमा के गर्न सक्छ ? जसले १६ वर्षको उमेरमा पढ्न सुरु गरेर अझै भनौँ, करिव २(३ वर्षको मेहनतमा विद्यालय शिक्षा पूरा गरेर इन्जिनियरिङ पढ्ने सपना बोक्यो। नवराज सुवेदीको गलत नियतले उनको सो इच्छा पूरा भएन्। यतिखेर आउँदा नवराज सुवेदीलाई पनि धन्यवाद दिनैपर्छ किनकि कतै इन्जिनियरिङ पढ्न पाएका भए उनी विशुद्ध प्राविधिकमात्र पो हुन्थे कि ? यति धेरै परिवर्तनमा देखिएको उनको महत्वपूर्ण योगदान राज्यले गुमाउँथ्यो कि ? 

नेपालको भूमिको इतिहासमा उच्चस्तरीय भूमि सुधार आयोगको प्रतिवेदन एउटा महत्वपूर्ण दस्तावेज थियो। यो कार्यान्वयन भएको भए आज देशको स्थिति कायापलट हुन्थ्यो भन्नेहरू हजारौँ भेटिन्छन्। आफ्नो सरकार विघटन गराइएकाले उक्त आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सकिएन भनेर बेलाबेला माइकमै रोउँला जस्तो गर्ने कम्युनिस्टहरू यतिबेला दुईतिहाइ अभिमतका साथ सरकारमा छन्। त्यसैले यो प्रतिवेदनलाई परिवर्तित परिवेशमा हेरफेर गरी अझै कार्यान्वयन गर्न सकिने सम्भावना जिउँदै छ। त्यतिखेरको प्रतिवेदन कसरी कुनरूपमा लेख्न सम्भव भयो भनेर बुझ्नका लागि पनि यो पुस्तक पढ्नैपर्ने सामग्री बनेको छ।

धेरै योगदान छन् केशव बडालका, नेपालको राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा। झन् सहकारी आन्दोलनमा त उनको योगदान वर्णनसाध्य नै छैन भन्दा पनि अतिशयोक्ति हुँदैन। नेपालको सहकारी अभियानलाई अन्तर्राष्ट्रियकरण गर्न उनको भूमिका अब्बल रह्यो। गरिबहरूको बसोबासस्थलका रूपमा परिचित नेपालका गाउँबस्तीलाई आर्थिकरूपमा उकालो लगाउने एकमात्र माध्यम सहकारी मात्र हो भनेर ठोकुवा गर्ने बडालको यसप्रति थप धारणा बुझ्न पनि यो पुस्तक काफी छ।

विक्रम संवत् २०५१ सालमा अर्थात नेकपा एमालेले सरकार बनाएका बेला ‘आफ्नो गाउँ, आफैँ बनाउँ’ कार्यक्रमको सोच कसरी आएको थियो ? ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने योजना कहाँ उम्रिएको थियो ? द्रुत मार्गको ठेक्का भारतीयलाई दिएर मुलुकलाई के÷कति नोक्सान पुर्याउन खोजिएको थियो ? क–कसले तर मार्न खोजेका थिए ? यो विषय कसरी विफल पारियो ? कमैया आन्दोलनको सुरुवात र सफल अन्त्य कसरी भएको थियो ? यस्ता धेरै प्रश्न छन् जसको उत्तरपुस्तिका पनि बनेको छ यो पुस्तक। दूरगामी महत्वका यस्ता सवाल डिजाइनमा उनको योगदान निकैपछिसम्म पनि स्मरणीय हुनेछ। रौतहटमा उनले अगुवाइ गरेको सुकुमवासी आन्दोलन, सहकारी आन्दोलन जस्ता काम अझै पनि टुंगिएका छैनन्। जनताको जीवन र जीविकासँग प्रत्यक्ष जोडिएका ती सशक्त अभियानको नालीबेली पनि पढ्न पाइन्छ पुस्तकमा।

काभ्रेको चुखाबेँसीमा २००५ सालमा जन्मेका ७० वर्षीय केशव बडालको सक्रियता अझै पनि उस्तै छ। छोटा अनुच्छेद र सरल पाराले लेखिएको छ पुस्तक। ६० पेज उनको जन्मदेखि राजनीतिक यात्रा सुरु हुनुभन्दा पहिलेको छ। आखिर बडाल आफैँमा एउटा पुस्तक हुन् कहिल्यै नटुंगिने।

पुस्तकले बालककालमा उनले पढ्न नपाएको कुरा छ। पढ्नलाई उनले कति मेहनत गर्नुपर्यो भन्ने वृत्तान्त छ। डरलाग्दो भ्रष्टाचारविरुद्ध उनी लडेका कहानी छ। फास्ट ट्रयाकमा बर्बादी हुनबाट रोकिएको कथा र त्यसमा उनको भूमिका छर्लङ्ग्याइएको छ। त्यतिमात्र हैन, सरल जीवन कसरी जिउने भन्ने मार्गदर्शक पनि बनेको छ यो पुस्तक।
हरेक पार्टी कार्यकर्ता र नेतृत्वमा रहेकाले यो पुस्तक एकपटक पढ्न सके निकै राम्रो हुन्छ। व्यावहारिक जीवनका मात्र हैन, सामाजिक जीवनका पाटासमेत यसमा समेटिएको छ। जसबाट अभियान वा सामाजिक आन्दोलन कसरी उठान गर्न सकिन्छ भन्ने विषयमा पनि प्रशस्त ज्ञान प्राप्त गर्न सकिन्छ।

केशव बडाललाई मैले जानेको ‘संसार बनाउने मेहनती श्रमजीवी जनता’ नामक पुस्तकबाट हो। यो उनको पहिलो पुस्तक अहिले पनि जीवन्त लाग्छ जबकि यसले आधा दर्जन जति बच्चा कोरलिसक्यो। भूमिगत राजनीतिका क्रममा उनले गरेका संघर्षको जगबाट निस्केको पुस्तक थियो त्यो। जसले तत्कालीन अन्याय, शोषण र श्रमजीवी जनताको आवाज बोलेको छ।  

मेरो गाउँको घरनजिकै शिक्षक डम्बर अर्यालको घर थियो। त्यस्तै २ सय मिटरको दूरीमा। उनी कम्युनिस्ट राजनीतिमा लागेको हामीलाई थाहा थियो। अहिले मेलम्ची नगरपालिकाका मेयर छन्। उनको घरमा नौला मानिसहरू बेला÷बेलामा आउने गर्थे। पछि थाहा भयो– यसरी आउनेमा केशव बडाल पनि एक रहेछन्। यसरी सेल्टरमा बस्दा खाना पकाउने, भाँडा माझ्ने, केटाकेटीको लुगा धोइदिनेलगायत काममा सक्रिय हुन्थे। उनैले हो मेरा बालाई बिबिसी सुन्न प्रेरित गरेका। दसैँमा घर जाँदा बडालको पुस्तक पनि हालेको थिएँ झोलामा। आवरणमै छापिएको फोटो देख्दासाथ बाले चिन्नुभयो बडाललाई। अनि रुचि देखाएपछि केही भाग पढेर पनि सुनाइदिएँ। अहिले पनि मेरा बा जस्ता ‘फ्यान’ धेरै छन् बडालका मेरो गाउँमा। जो उनी भूमिगत हुँदा संलग्न गतिविधि अहिले पनि रमाइलो पाराले सुनाउँछन् हामीलाई मौका पर्दा।

पुस्तकमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले शिक्षण अस्पतालबाट गरेका सम्बोधन मूल खण्डमा नराखेको भए, आफूले अरु पुस्तकमा लेखिसकेका विवरण नदोहोर्याएको भए वा सम्पादन गरिँदा केही समय बढी खर्चिएर शब्दका डंगुर छिमोलछामल पारेको भए पुस्तक अझ छरितो हुन्थ्यो कि भन्ने लाग्छ।

केशव बडाल व्यावहारिक र नैतिक हिसावले नगिरेका अनि सम्वादको असाध्यै राम्रो सिप भएका व्यक्ति हुन्। उनीबाट सिक्नैपर्ने भनेको नबुझी कुनै पनि काममा हात नहाल्ने र जिम्मा लिएपछि जसरी पनि फत्ते गर्ने, परिणाम नआएसम्म लागेको लाग्यै गर्ने बानी हो। सक्रियता र अध्ययन उनको अर्को लोभलाग्दो पक्ष हो। कुनै पनि कार्यक्रममा जाँदा राम्रो नोट गर्ने र सिक्न तयार हुने उनको स्वभाव सबैका लागि अनुकरणीय छ आजको अल्छी पुस्ताका लागि।

हो, केशव बडाल जस्ता सक्रियतावादी र श्रमिकमुखी नेताको धेरै खाँचो छ। स्वास्थ्यका कारणले पनि उनलाई धेरै बोल्नुहुँदैन यतिखेर । तर बोल्न थालेपछि उनी आफ्नो स्वास्थ्य पनि बिर्सन्छन्। शायद उनलाई विषयले पोल्छ। जानेका पनि छन्। कामना छ– थोरै बोलून्। अझै धेरै वर्ष इमानदार नेताको पहिचान कायमै राखून्।
कृति : इमानको इन्द्रेनी
लेखक : अनिल पौडेल
पृष्ठ : ३२४
प्रकाशक : भुँडीपुराण प्रकाशन
मूल्य : ४९०/–

प्रकाशित: १४ पुस २०७५ ०५:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App