७ वैशाख २०८१ शुक्रबार
अन्य

पुस, पोखरा र प्रश्न

पुस, पोखरा र प्रश्न। पुस्तक र पुस्तककारको मेला। पाठकहरूको भेला। पुसको घाम, ‘पानीको घाम’ जस्तो अनौठो संजोग। पोखरेली ‘पैताला’का प्रस्तोता गनेस, ‘पाठशाला’का तीर्थ र प्रतीक्षाहरू, सरस्वती प्रतीक्षाहरू अनि पढैयाहरू ! प्रेरणादायी र प्रभावशाली प्रस्तुतिहरू सबैलाई प्रणाम !

पूर्वप्रधान न्यायाधीशको पूर्वकथन सुनेँ। प्रतिरोध : वात्स्यायन, कुन्ता शर्मा र उपेन्द्र सुब्बाको सुनेँ। पेरिफेरी अर्थात् परिधि (हालै दिवंगत समिर अमिनको सैद्धान्तिक शब्द) को आवाज दाङका अशोक थारु, पोखराका हनिफ मिया, धरानका कुन्ता शर्मा सुनेँ। प्रजातन्त्र र पुस्तक : हरि शर्मा र सिके लाल सुनेँ। प्रदीप गिरिको दन्त्यकथाजस्तो लोपोन्मुख प्रभावशाली प्रस्तुति सुनेँ। पक्षधरता : नारायणकाजी, गगन थापा र रवीन्द्र मिश्रको सुनेँ। पर्दाविहीन छोइने प्रस्तुति, आनी छोइङको। पानीजहाजको गफ नेपाललाई फेरि प्रयोगशाला बनाउने पहल : विश्व पौडेल–प्रयोगशालाकार परिसंवाद सुनेँ। र सुनेँ, पीडित सीमा र संगीताको सुस्केरा र साहस। पोखरामा  पूर्वदेखि पश्चिमका प्रतिष्ठित ‘पण्डित’को अपूर्व संगम।

प्रौढ र पाको भनेर फुक्र्याउने प्रशंसाभन्दा पालैपालो प्याच्चप्याच्च प्रश्न गर्ने शैली मन पर्यो र शैली बस्नेतहरूको स्ट्यान्ड–अप कमेडीको अनुवाद ‘ठाडै ठट्टा’ शब्दावलीसहित गरिएको ठट्टा नि मन पर्यो। प्रगतिशील रूपान्तरणका लागि प्रश्न एक पौष्टिक तत्व हो। यो प्रकाशकहरूको व्यापार हो। पाठकहरूको अवसर हो। र हो, पुस्तकीय संसारको सुसंस्कार। प्रज्ञा–प्रतिष्ठानहरूले गर्नुपर्ने पहलमानी महोत्सव निजी क्षेत्रले गरेको प्रतिक्रिया पनि हो, यो। पतित प्राज्ञ र कथित प्राडा यहाँ हराएको सूचना भर्खरै जारी पनि भएको छ। देवकोटा ‘के नेपाल सानो छ ?’ भन्थे। हेर्नुस्, सानै छ हजुर। राजनीतिदेखि कूटनीति, साहित्यदेखि हर वाङ्मय, यस्ता कार्यक्रममा देखिने अनुहार उही उही हुँदो छ। मुखर उही परिचित पत्रकार। मेरो प्रस्तुतिको पुछारमा दुई पराकम्प : पर्यावरणमा पश्चात्ताप र पुनरुक्तिको आरोप।

आयोजकमध्येको एक पोखरालाई सधैँ कलाका अनेक रङहरूले रंग्याउने र्यान्डम रिर्डस सोसाइटीजस्तो मेरो यो प्रस्तुति पनि अघि बढ्नेछ, र्यान्डम्ली नै। गत साता सातौँ नेपाल साहित्य महोत्सव चल्यो। काठमाडौँबाहिर पूरा चार दिन ४० सत्र चले। दुई सय जति मान्छे माइक समातेर बोले। कोही गम्भीर भए, कसैले हँसाइ हँसाइ गम्भीर बनाए। कसैले कविता र मुक्तक अनि गीत सुनाए। ठाडै ठट्टा मात्र गरेनन्, ठाडठाडै कडा कडा प्रश्न पनि गरे। कोइरालाद्वय मनीषा र रामेशका किताब विमोचन भए। जनकराज सापकोटाहरूको किताब पनि आयो। श्रद्धा घलेको नौलो किताब ‘द वेवार्ड डटर’को बहस भयो। ‘जर्नलिज्म अन्डर फायर’ शीर्षकमा पत्रकारको फायरसाइड लोकेसनबारे कनकमणि दीक्षितहरूबीच लेकसाइडमा गफ भयो।

कतिले आफ्ना प्रिय सेलिब्रिटीसित फोटो खिचाए। कतिले आफ्ना पुस्तकमा लेखकको दस्तखतको खत बसाले। कतिले प्रश्न सोध्न चान्स नपाएपछि माइकबिनै प्रश्न सोधे। कतिले नयाँ कुरा गरे, कतिले पुरानै। कतिले उही पुरानै कुरा नयाँ तरिकाले गरे। कतिले नयाँ कुरा पुरानै तरिकाले गरे। चार जनासम्म बोल्ने सेसनमा कति बोलेको बोल्यै, कति सुन्यको सुन्यै भए। कति प्रस्तुतिको प्रशंसा सधैँ भइरह्यो। कति प्रस्तुति प्रस्तोताको विनातयारी, हावातयारी र बढ्तातयारीको सिकार भए।

फेवातालको किनारमा भूपी कक्ष र अलि मियाँ कक्ष नामका दुई कक्षमा समानान्तर रूपमा चलेको थियो, सातौँ नेपाल साहित्य महोत्सव। एउटा सुखद संयोग पनि भयो, महोत्सवमा। जुन दिन भूपी जन्मेका थिए, ८३ वर्षअघि, उही साँझ, उही सहरमा, उही भूपी नामकै कक्षमा कविता वाचन चल्यो साँझ अबेरसम्म।

महिला विषयक बहस यसपालि मनग्य भए। पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले ‘अन्यायमा महिला’ शीर्षकको कभरस्टोरीदेखि अर्चना थापाको नारीवादी बहसले पुसको पोखरा तातियो। पत्रिकामार्फत् सार्थक बहस बरोबर छेड्ने सावित्री गौतमले मिटू बहस छेडिन्। नारीवादमा संवाद हुँदा पनि केही नरहरूलाई संवाद नै पनि विवाद नै लाग्ने रहेछ। आनी छोइङ, मनीषा कोइराला, मञ्जुश्री थापा, भूमिका श्रेष्ठ, ऋचा शर्मा, अस्मिना रञ्जित, कुन्ता शर्मा, दुर्गा सोबलगायतले ‘ममतामयी माता’लाई समतामयी व्यवहार नभएको यथार्थ औँल्याए। आफ्ना दुइटै सेसनमा छोइङले दिएको छोइने बोलीले काँडाको संसारलाई फूलको संसारमा परिणत गर्न इँटा थपेको महसुस भयो। काठमाडौँमा चार वर्षअघि भएको एसिड आक्रमणका पीडित किशोरी संगीता मगर र सीमा बस्नेतको अनुवभजन्य अभिव्यञ्जनाले सुन्नेहरूका धेरैका आँखा रसाए, रौँ ठडिए।

सीमा र संगीता बोल्दै गर्दा दर्शकदीर्घामा मेरो छेउमा बसेकी लक्ष्मी दाहाल (जो विद्यालय पोसाकमा थिइन्)ले आँसु पुछिरहिन्। उनी तालबाराही विद्यालयमा कक्षा ११ मा पढ्दिरहिछिन्। मैले सोधेको प्रश्नको जवाफ उनले आँखाभरि भरिएका आँसु र अवरुद्ध गलाले दिइन्। निर्मला बलात्कृत भएर मर्नुपर्ने, सीमा र संगीता आततायी आक्रमणको सिकार हुनुपर्ने, पीडकबाट अझै उल्टै धम्की र औषधोपचारकै लागि अझै आर्थिक अभाव सहनुपर्ने, यो कस्तो गणतन्त्र ? गणतन्त्रपछिको समाजबारे केही बेरपछि राधेश्याम अधिकारी, सुरेश ढकाल र दुर्गा सोब बहसिए। बहकिएको समाजमा यस्ता बहसले राम्रो केही गर्न नसके पनि नराम्रो एक प्रतिशतै पनि गर्दैन साथी ? 

जवाफपछि ताली बज्नु स्वाभाविकै हो। तर, एउटा यस्तो सेसन पनि चल्यो, जहाँ प्रश्नैपिच्छे ताली पिटिइए, सञ्चालक थिए, रवि लामिछाने। रविका प्रश्नमा कति सहभागीले आफ्ना प्रश्न, कुण्ठा, असहमति र आक्रोशको छनक पनि पाए होलान्, र त सोधाइमा विरेचित भए। मलाई लाग्यो, यो त झर्राेवादी भाषाशास्त्री एवं ‘खस जातिको इतिहास’का कर्ता बालकृष्ण पोखरेलको ‘सोधाइ र जवाफ’ कथासंग्रहभन्दा गतिलो ‘सोधाइ र जवाफ’ पो भइगयो त। कहिलेकाहीँ मात्र होइन, अक्सर असल प्रश्नले खराब जवाफ पाउँछन्। जस्तो कि, खगेन्द्र संग्रौलाले माइकमा सोधे, ‘तपाईंको जीवन चिन्तन कन्टेन्ट हो कि स्टाइल हो कि, कि हो अभिनय ?’ जवाफ के हुनु उही रवाफ !

‘म लामो समय इन्द्रबहादुर राईलाई पढ्न हिच्किचाएँ,’ लेखक मञ्जुश्री थापाले केदार शर्मासित भनिन्, ‘तर, जब पढेँ, मैले उनमा प्रगतिशीलता तथा सामाजिकता छैन भन्ने बुझाइ गलत पाएँ।’ गत वर्ष दिवंगत लेखक इन्द्रबहादुर राईको उपन्यास ‘आज रमिता छ’लाई अंंग्रेजीमा अनुवाद गरेकी थापाको अभिव्यक्तिमा इबरालाई कम आँकेकामा पछुतोजस्तो पनि देखिन्थ्यो। कृष्ण धरावासीले चाहिँ इबराको लेखन र चिन्तनलाई अझै हामीले नचिनेको बताए। उनले भने, ‘मैले आइबी दाजुबारे नयाँ कुरा केही भनेको होइन। तर, पाठक त के सहभागी ठुल्ठूला लेखक, पत्रकार पनि वाह क्या नयाँ कुरा भन्नुभयो भनेर छक्क परिरहेका छन्। अब भन्नुस्त भाइ, हाम्रो पठन र शोधनमा राईसमेत विस्मरणमा पुगे भने अरुको के कुरा ?’

विस्मरणमा छलफल गरे– पत्रकार युवराज घिमिरे, ‘स्वअस्तित्वको खोज’ गरिरहेकी अर्चना थापा ‘कठपुतला’ र ब्रजेश ‘साइड हिरो’ले। ‘लोकेसन’ सापकोटाले चलाएको यो सेसनमा युवराज घिमिरेले हिरो नै हिरोको देशमा देशँ कसरी जिरो त भन्ने लाइनलाई ससन्दर्भ, सप्रसंग सटीक र सही व्याख्या गरे।

लेखक तथा ‘पूर्वस्तम्भकार’ खगेन्द्र संग्रौलाले आफ्नो स्तम्भलेखन कर्मलाई जीवनको भिन्नै अनुभवको पाठशालाका रूपमा अथ्र्याए। लेखक एवम् सम्पादक नारायण वाग्लेसँग रसिक मुडमा बहसिएका संग्रौला ब्रोको लक्षणा र व्यञ्जना अविधामा खोजियो भने अनर्थै हुन्छ क्यारे। खंग्रौलाको बोली कस्तो भने, न बोल्दा कनेको छ, न अनावश्यक शब्द बोलेको छ। क्या सम्पादित बोली ! उनले बोलेको कुरामा बहस भएन, उनलाई गाली आएन भने त अनौठै भइगयो नि ! उनलाई आफूले गाली नपाउँदा अब त लाग्छ, ए खगेन्द्र तँ जिउँदै त छस् ? साथी संगीतश्रोताको सुन्दर कविता छ, ‘जीवन’। किताबमा मलाई अटोग्राफ दिएको छ– ए साथी ! मलाई शंका छ, के तिमी जिउँदै त छौं ? 

यसपालिको महोत्सवका कुनै सेसनमा पनि वक्ता नभएका लेखक अमर न्यौपानेले वक्ताभन्दा स्रोता हुनुमै मज्जा भएको सुनाउँथे । वक्ता दोहोरिए भनेर हो ? आयोजक अजित बरालले भने, ‘वक्ता उही भए भन्ने कुरा सधैँ आउँछ। तर, यसपालि प्रज्वल पराजुलीबाहेक ९ विदेशी पहिलो पटक हुनुहुन्छ। मञ्जुश्री थापा पनि पहिलो पटक सहभागी हुनुभएको हो। सुशीला कार्की, मनीषा कोइराला, कुन्ता शर्मा, दुर्गा सोब, मानुषी यमी भट्टराई, आनी छोइङ, दीप श्रेष्ठ, अशोक थारू राधेश्याम अधिकारी, गणेशप्रसाद लाठ, भूमिका श्रेष्ठ, तीर्थ गुरुङ, सीमा गोल्छा, शैली बस्नेत, आयुष श्रेष्ठ, सुरज वैद्य, आङछिरिङ शेर्पा, गणेश गुरुङ, जनक सापकोटा, दिनेश काफ्ले, विप्लव ढकाल, सरिता पुरी, बर्तिका राई, अजर जंगम, रवि लामिछाने, ब्रजेशलगायत अरु पनि थुप्रै जना पहिलो पटक सहभागी हुनुभएको हो।’

खगेन्द्र संग्रौला, बुद्धिसागर, नयनराज पाण्डे, सुबिन भट्टराईजस्ता लेखक पाठककै डिमान्डका कारण दोहोरिन गएको बताए। भने, ‘उहाँहरू धेरैको प्रिय लेखक हो, त्यसैले उहाँहरूको सहभागितालाई स्वाभाविक मान्नुपर्ला कि ?’ उसो त ‘समर लभ’देखि चम्केर हालै ‘प्रिय सुफी’ उपन्यास बाहिर ल्याएका सुबिन भट्टराईले नयाँ संस्करणमा ‘प्रिय सुफी’लाई ‘लोकप्रिय सुफी’ भनेर छापे भने अचम्म नमाने हुन्छ। यिनै सुबिन, कृष्ण धरावासी उर्फ ‘राधा’वासी र लोकप्रिय कवि नवराज उर्फ कविराज पराजुलीले धेरै पढिने, सुनिने लेखक हुनुको स्वाद र सुखबारे अनुभव बाँडे।

फेवातालको किनारमा भूपी कक्ष र अलि मियाँ कक्ष नामका दुई कक्षमा समानान्तर रूपमा चलेको थियो, महोत्सव। एउटा सुखद संयोग पनि भयो, महोत्सवमा। जुन दिन भूपी जन्मेका थिए, ८३ वर्षअघि, उही साँझ, उही सहरमा, उही भूपी नामकै कक्षमा कविता वाचन चल्यो साँझ अबेरसम्म। अछामका युवा कवि बीपी अस्तुको ‘नखस्नु’ कविता यहाँ चम्किलो तारा बनेर नखसेको भए उनी चिनिन त चिनिने थिए, तर अलि ढिलो।  

युग पाठक, सरस्वती प्रतीक्षा र महेशविक्रम शाह नयनराज पाण्डेसित सेन्सर्सिपबारे बहसिए। संगीतज्ञ दीप श्रेष्ठ र अल राउन्डर वसन्त थापाबीच तिमी तिमी भन्दै भएका ‘बितेका कुरा’ कहिल्यै नबितिजाने थिए।

कलाकारद्वय दयाहाङ राई र खगेन्द्र लामिछाने लेखक बुद्धिसागरसित ‘सहर, साथी र सपना’ शीर्षकमा आपसमा लहसिएर बहसिएको गफ समृद्धि सपनाभन्दा कता हो कता मीठो र प्रेरणादायी थियो। भोजपुर, स्याङ्जा अनि मुगुबाट उही समय अर्थात् १८ वर्षअघि सँगसँगैजसो काठमाडौँ छिरेका यी तीन जनाको सहरमा भएको भेट, संघर्ष तथा सफलताको कथा रुचिपूर्ण थियो। दयाहाङ कविता लेख्थे, बुद्धिसागर नाटक खेल्न हिँडेका थिए। खगेन्द्र लामिछाने विभक्त लामिछाने थिए। यी तीन जनाले स्टेजबाट आफ्ना सहरकालीन, सपनाकालीन र संघर्षकालीन कथाका रोचक किस्सा सुनाए।

दक्षिण एसियामा बौद्धिकता विषयको बहसमा लेखक मोहम्मद हनिफले भने, ‘नेपाल तुलनात्मकरूपमा शान्त छ, पाकिस्तान, अफगानिस्तान, भारतहरूका आफ्नै समस्या छन्, नेपालमा कमसेकम बोर्डरको समस्या त छैन। नेपाली गीत संगीतको अनुवाद भएको खै ? नेपाली उपन्यास उर्दूमा एउटै अनुवाद छैन, मैले पढ्न पाएको छैन।’ हनिफसँगको बहसमा पत्रकार कनक दीक्षितले भने, ‘लाहोर–कराँचीको पोखरा–काठमाडौँसँग सीधा फ्लाइट हुनुपर्यो।’  

आकर्षक शीर्षक थियो, ‘सय वर्षपछिको नेपाल’। ‘पूर्वसम्पादक’ तथा अपूर्व पत्रकार सुधीर शर्मा र अर्थविद् डा. विश्व पौडेलले अन्तक्र्रिया गरे। पौडेलका गुरुगम्भीर कुरा लेखिसाध्यै छैन, युट्युबमा होला, हेर्नुहोला। रोचक र घोचक कुरा, ‘जे जस्तो भए पनि जिल्ला तहको कमरेडसित मेरो ज्वाइँलाई जागिर चाहियो भन्दै गइयो भने यो देशमा केही हुनेवाला छैन।’

‘प्रोफेसर शर्माको डायरी’ टिप्ताटिप्तै कविताको कोरियोग्राफीमा डाक्टर भएका कवि विप्लव ढकालले कविताको कोरियोग्राफीबारे बोले। समीक्षक राजकुमार बानियाँका शब्दमा तपस्वी कविद्वय विप्लव प्रतीक र रमेश क्षितिजले ढकाललाई साथ दिए। ‘आर्ट एन्ड एक्टिभिज्म’ शीर्षकमा लेखक मञ्जुश्री थापा र कलाकार अस्मिना रञ्जितले बहस गरे। ‘भिजिट नेपाल २०२०’ बारे ‘किन घुम्ने नेपाल ?’ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, उद्योगी सुरज वैद्य र आङछिरिङ शेर्पाले संवाद गरे। ‘रेमिट्यान्स साहित्य : दुःखदेखि दुःखसम्म’ शीर्षक सेसनमा दिनेश काफ्लेसित गणेश गुरुङ, उमा सुवेदी र जनकराज सापकोटाले वैदेशिक रोजगारीका दुःखबारे अध्ययन, अनुभव र अनुसन्धान साटे।  ‘मधेस : आन्दोलनदेखि आख्यानसम्म’ शीर्षकमा शिवानीसिंह थारू, वसन्त बस्नेत र गणेशप्रसाद लाठले गिरीश गिरीसित अन्तक्रिया गरे। 

महोत्सवमा गायक आनी छोइङले दिएको जवाफले ‘मन शुद्ध होस् मेरो, बोली सत्य होस्, मेरो जिब्रोले कहीँ झुटो नबोलोस्’ भनेजस्तो भयो। आनीको आनीबानीबारे गफ भयो। उनी सिनेमाको पारखी रहिछन्। देश विदेशमा सांगीतिक प्रस्तुति दिएर यहाँ समाजसेवा गरिरहेकी आनीको पर्दाविहीन र अभिनयविहीन स्वतःस्फूर्त बोलीले धेरैको मन छोयो। उनले भनिन्, ‘म सिनेमाहरूको पारखी हुँ। अवतार सिनेमा त मैले १० चोटिभन्दा धेरै हेरिसकेँ हुँला। सिनेमामा विपरित लिंगीबीचको रोमान्टिक सिन देख्दा म एकछिन हराउँछु ।’ दिलभूषण पाठकसितको अन्तक्र्रियामा फिल्मको प्रभावबारे आनीले भनिन्, ‘केही समयअघि मैले मुम्बईमा प्रस्तुति दिएँ, मेरो प्रिय कलाकार अमिताभ बच्चन सँगसँगै। उनीसित जम्काभेट हुँदा अकस्मात् मैले भनेँ, जब मैले भेटेँ, तपाईं विवाहित भइसक्नुभयो।’ 

महोत्सवमा सल्यानबाट एक युवा गणेशमान सिंह आएका भेटिए। उनले धेरै सत्रमा प्रश्न सोधे। यसकै लागि आउनुभएको हो ? उनले भने, ‘हो सर, म यसकै लागि आएको हुँ। लेखनमा रुचि छ। म केही सिक्न भनेरै आएको हुँ। भर्खर बिहे भएको हो। श्रीमतीलाई पनि लिएर आएको छु। सुर्खेतमा पत्रकारिता गर्ने र साहित्यलाई प्रेम गर्ने युवा विनोद शाही पनि महोत्सवमा भेटिए।

र अन्त्यमा,
वातावरण र विकासबीच बहस चलिरहेको छ। आयोजकले फेवा किनारका रुख काटेको बारे मिडिया र सोसल मिडिया भरिभराउ छन्। तपाईंहरूले रुख किन काट्नुभयो ? शुक्रबार साँझ अजित बरालले फोनमा भने, ‘हामीले गल्ती गर्याैं हामीले क्षमा मागेका छौँ, जरिवाना पनि तिरेका छौँ। हामीले रुखै काटेका होइनौँ, हाँगाबिँगा मात्र हो। अनुमति लिनुपर्नेमा नलिनु हाम्रो अन्जानवश भएको गल्ती हो। हामी फेरि पनि क्षमा माग्छौँ।’

प्रकाशित: १४ पुस २०७५ ०४:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App