ग्रामीण पर्यटन

सुन्तलाको बोटमुनि डिनर

शनिबार, १४ पुष २०७५, ०९ : ४५ नागरिक

बासुदेव बराल

सप्पै गाउँ पहेंलपुर। गाउँभरी सुन्तलाका बोट। बोटले थामि नसक्ने सुन्तलाका दाना। चिटिक्क घर। घर अगाडि लुङ्दार। प्रत्येक घर फूलहरुले सजाइएको। सफा आँगन। कोदो रोप्ने कान्लामा लहलह अलैंचीका बिरुवा। कतै अम्रिसो रोपिएको।

इलामीहरुको गाउँ रहेछ सलकपुर। इलामको सबैभन्दा दक्षिणी गाउँ। मेची खोलाको उद्गम हुने ठाउँमै पर्छ सलकपुर। सुन्दा विचित्र लाग्ने चुरे पहाड हो यो। यही चुरेमा अलैंची, अम्रिसो र सुन्तला खेती हुन्छ। त्यो पनि मनग्गे। झापा काकडभिट्टाबाट उत्तर बाहुनडांगीबाट कच्ची बाटोमा मात्र आधा घण्टा गाडीको बाटो।

एउटा शनिबार सलकपुर होमस्टेमा बस्ने अवसर जुर्यो। अवसर जुराइदिनु भयो बाहुनडांगीका अर्जुन कार्कीले। विराटनगर, दमक, धुलावारी, भद्रपुर र धरानबाट सहभागि बन्यौं। जस्केलो सामुदायिक होमस्टे गठन गरिएको छ जहाँ १० घरले होमस्टे शुरु गरेका छन्। पाहुना बढेसंगै घर थपिंदै  जान थालेछन्।

हामी ११ जना विभिन्न घरमा बाँडिएर सुत्यौं। म र विराटनगर ट्राभल एशोशिएसनका अध्यक्ष फडिन्द्र अधिकारी सुजता तामाङको घरमा बस्यौं। बेलुका एकै ठाउँमा खाना व्यवस्था गरिएको थियो–लाखमान तामाङकोमा। अधिकारी र म दुबै शाकाहारी। हाम्रा लागि खाजा बनेको रहेनछ। होटल एशोसिएसन अफ दमकका अध्यक्ष राजन दंगालले ‘लु भेजलाई सिगैं रुख दिने रुखमा चढ्ने मन लाग्दो खाने’ भन्नु भयो। यसो उभो हेर्यौं सुन्तलाकै बोट रहेछ। मैले भने आहा !  सुन्तलाको बोटमुनि डिनर।

सुजाताको घर लाखमानको भन्दा पूर्वपट्टि रहेछ। पूर्वतिर ओरालो परेको पहाडमा पूर्वै फर्केको घर। टिनले बारेको बुइगल सहितको घर। लाछी गाँसेर बनाइएको ठूलो पुजाकोठा सहित ओछ्यान राखिएको कोठा। भान्सा र डाइनिङ बेग्लै। हामी भने पूर्वतर्फ झ्याल भएको अर्को कोठामा सुत्यौं। सफा कोठामा ठूलठूला पलंग। तामाङ (बुद्धिष्ट) शैलीका पर्दा। ढोका माथि सम्भोट लिपी लेखिएका झलर। आं“गनमा फूलबारी। हेर्दै चिटिक्क।

बिहान पौने पाँंच बजे निन्द्रा खुल्यो। फणिन्द्रजीको घुराई कडा रैछ। बाहिर निस्कें। पूर्णिमाको रात भएकाले बाहिर शितल उज्यालो बाँकी थियो। पर क्षितिजमा रातो धर्सो देखें। सूर्योदय रैछ। धनकुटाको ध्वजेडाँडा, इलामको अन्तुडाँडा र दार्जिलिङको टाइगर हिलबाट सूर्योदय हेरेको म यहाँ पनि रमाएँ। साँझ गाउँका आकर्षणका बारेमा, स्थानीयका बारेमा धेरै कुरा भए। तर सूर्योदयको कुरा छुटेको रैछ। बास बसेको आ“गनबाट सूर्योदय देखिंँदा खुसीले चिच्याउँ झैं लाग्यो। उमेर सम्झें, ठाउँ सम्झें र एक्लै भएको सम्झें, पछि लाज लाग्यो। कोठामा आएँ। झ्यालबाटै त्यो सबै दृश्य देखिंदो रहेछ। फणिन्द्रजीलाई उठाउँकी भनें तर मलाई एक निमेषका लागि पनि सूर्योदयको दृश्यबाट आ“खा हटाउन मन लागेन। एक टकले हेरिरहें।

इलमीहरूको गाउँ अर्थात सलकपुरमा ‘जस्केलो सामुदायिक होमस्टे’ गठन गरिएको छ जहाँ आत्मियता र मिठो परिकार पाइन्छ।

क्षितिज रातो बनाउँदै सानो चम्किलो आकारमा सूर्य उदाउँदै गयो। सूर्य बिस्तारै बिस्तारै माथि चढ्दै जान्थ्यो, आकार बदलिदै गएको आभास हुन्थ्यो। बंगालको खाडी(समुन्द्र)बाट उदाउँदो सूर्य झ्यालबाटै हेर्न पाउँदा म कम्ति भाग्यमानी ठानिरहेको थिइन। त्यसमा पनि एक्लै शान्तपूर्वक !

जति सूर्य माथि जान्थ्यो त्यसको टक पानीमा पर्दोरहेछ। ज्वारभाटाले तल्लो पट्टिको  छाया–टक पानीमा हल्लिएको देखिंदो रहेछ। पानी नदेखिने तर सूर्य चैं हल्लिएको, कहिले फर्सी जस्तो देखिने त कहिले घर जस्तो। अचम्मै लाग्यो। करिब एक घन्टा  हेरिरहें। फणिन्द्रजीको फोन बज्यो, झसंग भए। उहाँ पनि उठ्नु भयो। दृष्यपानको बृत्तान्त सुनाएँ। त्यो सुन्दर दृष्य हेर्न नपाएकामा उहाँले थकथकी मान्नु भो। 

चिया पिएर सुन्तला बगान हेर्न जाने भयाैं। सुजाताका पति टंक तामाङले हामीलाई बगान घुमाए। डाँडाभरी बोट। बोटले थामिनसक्ने सुन्तला। टंकले सात लाखमा बेचिसकेछन् व्यपारीलाई। दाना लाग्दै व्यापारी आउँदा रहेछन्। हामीले बोटबाट टिप्यौं र खायौं।

सुजाता र टंकले हामीलाई भीमसेन ढुंगाको विषयमा बताए। हेर्ने रहर लाग्यो। पुराण इतिहासमा रुचि राख्ने मलाई भीमसेन ढुंगाको कथा सुन्न र स्थल नहेरी जान मन लागेन। हामीले यस्तै किंवदन्ती सुनेर तिनलाई उनेर पर्यटकलाई आउँ आउँ लाग्दो बनाउने त हो।  गाउँमा पर्यटकका लागि पैदल मार्ग बनाइएको छ। ढुंगा छापेर चिटिक्क। ठाउँठाउँमा बस्ने फलैंचा बनाइएका। त्यही बाटो हुँदै हामी भीमसेन ढुंगा पुग्यौं। बाहुनडागी उत्तर इलाम जिल्लाको सिमानाबाट शुरु हुने पदमार्ग यो बाटोमा जोडिंदो रहेछ।

यही पदमार्ग भएर भारतको लोहागढ, नक्सलबारी, पानीघट्टाबाट सिजनमा शनिबार र आइतबार हजारदेखि पन्ध्र सय भारतीय आउँदा रहेछन्। त्यसबेला गाउँका कुनै पनि उत्पादन बाँकी रहँदैनन्। सुन्तला, साग, सब्जी, मह, कुचो, रक्सी सबै किनेर लाने रहेछन्। तल तराइमा हुस्सु लाग्दा ‘पहाड ताप्न’ पनि भारतीय यता चढ्दा रहेछन्।

१० मिनट हिँडेपछि भिमसेन ढुंगा पुग्यौं। बाटोभरि वारिपारि दृष्यावलोकन गर्यौं। खोलापारी लोहागढ। राम्रै बस्ती रहेछ। अलिपर टिष्टा बजार देखियो। सामुन्नेको डाँडापारी मिरिक बजार रहेछ। उत्तरपट्टीको अग्लो थुम्को श्रीअन्तु। पश्चिम थुम्कोलाई गाजले थुम्को भनिँदो रहेछ। 

किंबदन्ती अनुसार लोहागढको शासक लोहासुर भन्ने किचकको मित्र रहेछ। महाभारतको कथा अनुसार पाण्डवहरु १२ वर्षको बनवासपछि १ वर्ष गुप्तबास बस्न विराट राजाको दरबारमा आएका हुन्। विराट राजाको साला किचकले द्रौपदीमाथि आ“खा गाढेपछि भीमसेनले उनको बध गरे। किचकको बधपश्चात लोहासुरले भीमसेनसँग बदला लिन यहाँका स्थानीयलाई दुःख दिन थालेछ। एकदिन भीमसेनले खड्गले ठूलो ढुंगा काटेर लोहासुरलाई तर्साएर यदि यहाँ आएर जनतालाई दुःख दिइस् भने तँलाइ पनि यसैगरी छिनाउछु भनेछन्। त्यसपछि लोहासुरले दुःख दिन छाडेछ।

साँच्चै हो जस्तो छ कथा। ठूलो ढुंगा कुनै हतियारले काटिएको जस्तो देखिन्छ। विभिन्न समयमा आउने भुकम्पले पनि त्यसलाई क्षति गरेको रहेनछ। गाउँलेले त्रिसुल गाँडेका छन्। भीमसेन ढुंगालाई पूजा गर्दा रहेछन् स्थानीय। हामी भीमसेन ढुंगा हेरेर फर्किदा साथीहरु रिसाएर बसेका रहेछन्। विराटनगरका गणेश नेपालले ढिलो गरेकामा गाली गरे। उद्योग वाणिज्य महासंघ १ नं प्रदेशका पर्यटन तथा हवाइ उड्ययन समितिका अध्यक्ष भविष श्रेष्ठले आफूहरुलाई भीमसेन ढुंगा हेर्न नलगेको तर त्यतिबेरसम्म खाली पर्खाएकोमा दुःख व्यक्त गरे।

‘सरी’–हामीले भन्यौं। 

स्थानीयसंग केहीबेर गफियौं। झापाका अग्रज पत्रकार मोहनकाजी रिपोर्टिङ गर्दै फोटो खिच्न व्यस्त थिए। मुलुकभर अमिला जातका फलफूलमा रोगब्याधी बढ्दो छ। यसैको प्रभाव यहाँका सुन्तला पनि रोगाउन थालेछन्। गाउँमा ८० वर्षसम्म पुराना बोट रहेछन् सुन्तलाका। १०–१२ वर्षदेखि अलैंची खेती गर्न थालेका छन् उनीहरुले। अलैंची फल्नु पहिले कान्ला र गरामा मकै, कोदो रोपिन्थ्यो। सुन्तला र अलैंचीले उनीहरुको आर्थिक स्थिति सुदृढ हुँदै गएको रहेछ।

यसैको प्रभाव २००४ सालमा स्थापना भएको मोतीराम माध्यमिक विद्यालयमा विद्यार्थी न्यून रहेछन्। करिब डेढ सय मात्र। प्रायः सबैले छोराछोरीलाई तराइमा राखेर बोर्डिङ स्कूलमा पढाउँदा रहेछन्। पछिल्लो समय होमस्टे शुरु भएपछि अझ आम्दानी थपियो। संगतको परिधी पनि बढ्दै गएको बताए उनीहरुले। अहिले रोङ गाउपालिकाको ६ नं. वडा, साबिक जिर्मले गाउँ विकास समितिको १–२–३– वडाका ८० प्रतिशत नागरिक तामाङ छ।

सांस्कृतिक रुपले सम्पन्न भए पनि पर्यटकलाई सांस्कृतिक मनोरंजनको व्यवस्था भने रहेनछ। कृषि कर्म देखाएरै पर्यटक भुलाउने सीता राईले बताइन्। प्रत्येक घरमा मौरी पालिएको। स्कूल डाँडाका कुमार तामाङले त दुर्लभ पुत्काको मह पनि उत्पादन गर्दा रहेछन्। पुत्काको मह क्यान्सरको औषधी पनि हुने विश्वास रहेछ।

हामी फर्किन हतारिन थाल्यौं। लाखमानजीले खाजा खाएर जान आग्रह गरे। स्कूस, फर्सी र आलु उसिनेर नास्ता तयार गरिएको रहेछ। मिठो। अघिल्लो साँझ मिठो भात, लोकल कुखुराको मासु, ढिंडो, गुन्द्रुकको अचार, घिउसँग अघाउँदी भात खाइयो। उनीहरुको सिप मिठो हो या हाम्रो भोक ठम्याउनै गाह्रो।

सबैसंग बिदाबारी भयौं। भविषजीले हप्ता दिनपछि परिवारसहित आउने बाचा गर्नुभयो। फणिन्द्रजीले पनि पाहुना पठाउने हुनुभयो। प्रेमपूर्ण भावले उहाँहरुले हामीलाई बिदा गर्नुभयो। हामी पनि प्रेमिल भयौं। गुर्दुम डाँडा बाटोमै पर्दाे रहेछ। गाडी रोकेर १० मिनेट हिँडेपछि डाँडाको टुप्पोमा पुगिने। त्यहाँबाट सूर्याेदय गज्जवले देखिन्छ रे। स्थानीय यसलाई सूर्याेदय हेर्ने डाँडा भन्दा रहेछन्। 

अलि तल्तिरको डाँडाको टुप्पोमा धरहराको प्रतिक बनाएको रहेछ। त्यो पनि हेर्याै। अन्तु तलबाट बग्ने सिद्धिखोला र मिरिकबाट आउने मेची खोलाको दोभानमा सानो डाँडा छ। त्यहाँ प्राचीन देवीथान रहेको अर्जुनजीले सुनाए। यहाँबाट हर्केटे पाथीभरा मन्दिर जाने गाडीकै बाटो बनाइएको छ। हामीले यी आकर्षण र सम्पदाहरुलाई आर्थिक उन्नतीमा बदल्ने सम्भावनाबारे बाटोभरि छलफल गर्याै। अघिल्लो दिन नै अर्जुनजीले एक सय किलो सुन्तला अर्डर गरेका रहेछन्। बाटोको छेउ गाडी रोकियो हामीले सुन्तला भाग लायौं र आआफ्नो भागको पैसा तिरेर बाटो लाग्यौं।  







यसमा तपाईको मत


अन्य समाचार

मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

मेगापिक्सल धेरै हुँदैमा क्यामरा राम्रो हुने होइन ! ...

भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

हामी सबैको घरमा फ्रीज हुने नै गर्छ। लामो समयसम्म खाना वा कुनै बस्तु ताजा राख्नका लागि यसको प्रयोग गर्ने गरिन्छ।

इण्डिया एडमिसन एक्स्पो २०१९

इण्डिया एडमिसन एक्स्पो २०१९

उच्च शिक्षाका लागि सहि गन्तव्य भारत हुनसक्छ भन्ने अभिप्रायले इण्डिया एडमिसन एक्स्पो २०१९ अर्थात १० औं बृहद भारतिय शैक्षिक मेला...

एनसेल फोरजीमा अब डबल डेटा

एनसेल फोरजीमा अब डबल डेटा

एनसेल प्राईभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डेटामा आकर्षक योजना ल्याएको छ जसअन्तर्गत ग्राहकले डबल फोरजी डेटाको मजा लिन सक्नेछन् ।

महासंघको रोजगारदाता परिषद्का सभापति ढकालद्वारा 
आइएलओको १०८ औं सम्मेलनमा संबोधन

महासंघको रोजगारदाता परिषद्का सभापति ढकालद्वारा आइएलओको १०८ औं सम्मेलनमा संबोधन

अन्तर्राष्ट्रिय श्रम सम्मेलन (International Labour Organization-ILO)  को १०८ औं अधिवेशनलाई नेपालकोे रोजगारदाताको तर्फबाट महासंघको रोजगारदाता परिषदका सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद...

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. को सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा आज...

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. को सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा आज...