coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

भजन ब्युताउँदै पाणिनिका युवा

केही समयअघि गोपी फिल्मको एक गीत युट्युबमा आयो। फिल्मका निर्देशक दीपेन्द्र लामाले एक मिठो गीत रोजेछन्, नेपाली शैलीको। जसले पुरानोको भाका भजनको झझल्को दिन्थ्यो।

पूजौं आमाका सबै रूप
लक्ष्मी कहिले काली, ईश्वर देखें यसपाली...।

यही गीत सुन्दै गर्दा मलाई भने आफ्नै गाउँको झझल्को आयो। जहाँ युवा पुस्ता गाउँको पुरानो भाकालाई फेरी घन्काउँदै छन्। कला, संस्कृति, मनोरन्जन र धार्मिक महत्व बोकेको भजनलाई नयाँ युवा पुस्ताले टपक्क टिपेका छन्। उनीहरूको यो प्रयासले गाउँमा नयाँ जागरण मात्र ल्याएको छैन, पुरानो र नयाँ पुुस्ताबीच राम्रो सम्बन्ध पनि बिस्तार गरेको छ। नयाँ पुस्तामा पुरानो संस्कृति हस्तान्तरण भइरहेको छ। 

गाउँमा रहेका कैयन यस्ता भाकाहरू हराउँदै गएका छन्। रोपाइँमा गाउने बाली त नयाँ पुस्तालाई थाहा नै छैन। रोपाइँ गर्न खेतमा खेतारीहरू पसेपछि बाली सुरु हुन्थ्यो। दिनभरी हिलोसँग छ्यापाछ्यापसँगै बालीका भाकाले खेतका फाँट गुन्जायमान हुन्थे। त्यही बालीको भाका गाउँदै खेतारी घरसम्म आइपुग्थे। हाम्रा आमाहरूले गाउने ति बालिका भाकाहरूलाई अब कसले फर्काउने !

हिजोको गाउँको तीज अहिले सहर पसेको छ। तर, भड्किलो पारामा। तर, त्यही गाउँले भने तीजका पुराना भाकालाई बिर्सिएको छ। तीज लागेसँगै गाउँमा लालुमाइका भाकाहरूले गाउँ गुन्जायमान हुन्थ्यो। ‘हुर्राडाँफै’ र ‘हाडाँफै’मा आमाहरूको नाचले आँगन नै थर्किन्थ्यो। अब ति भाकाहरूलाई फेरि कसले फर्काउने !

हो, यही गम्भिर प्रश्नका बीच अर्घाखाँची, पाणिनि, वडा नम्बर ७ मौलीपोखरामा भजनकिर्तन पुनर्जागरण अभियान चलेको छ। जहाँ पुराना र युवा पुस्ताबीच एक संगम बनेको छ। यो संगमले भजनकिर्तनलाई गाउँमा पुनः बिस्तार गरेको छ। भजनमा नयाँपन थप्दै सामाजिक कामको माध्यम पनि बनेको छ।

‘भजन गाउने पुरानो परम्परालाई फेरि स्थापित गराउन लागिपरेका छौं,’ भजनकिर्तन मण्डलीका अध्यक्ष माधव पोख्रेलले भने, ‘यसले गाउँमा पुरानो संस्कृति, परम्परा र सम्बन्धलाई अझ प्रगाढ बनाएको छ।’ गाउँमा नियमितरूपमा भजन सुरु भएको साढे दुई वर्ष पुगेको छ। प्रत्येक एकादशीका दिन पालैपालो गाउँका घरघरमा भजनकिर्तन गाउने चलन बसेको छ।

लामो सशस्त्र द्वन्द्वमा फसेको हाम्रो समाजमा पुरानो गाउँले सम्बन्ध र भाइचारा खलबलिएको थियो। भजनको पुनर्जागरणले समाजमा नयाँ सद्भाव देखिएको छ।

भजनले गाउँमा गुलियो रस थपेको छ। लामो सशस्त्र द्वन्द्वमा फसेको हाम्रो समाजले आफ्नो वास्तविकता बिर्सिसकेको थियो। त्यो मिठो गाउँले सम्बन्ध, भाइचारा र जिवन्ततालाई खलबलाएको थियो। गाउँमा धान्नै नसक्ने गरी नयाँ राजनीतिक मुद्दा थोपरिएको थियो। अशान्ति वातावरण सृजना गरिएको थियो।

त्यस्तो अवस्थामा गाउँमा रहेका भजनका भाकाहरू, महिना दिनसम्म गाउने तीजका भाकाहरू, रोपाइँका बाली र राति खेलिने फागुहरू लोप भएका थिए। तर, भजनले गाउँमा नयाँ रस थपेको छ। पुरानो त्यो रसिलो गाउँ, रमझम, भाइचारा, गाढा सम्बन्धलाई ब्युताउन भजनले रस बोकेर आएको छ।

क्रमश : माधव पोख्रेल, गोबिन्द खनाल, लक्ष्मण न्यौपाने ।

२०७३ वैशाख तिरको कुरा हो। गाउँका अगुवा टुकप्रसाद न्यौपानेले भजन गाउने परम्परा हराउँदै गएको चिन्ता बोकेर गाउँलेको घरघरमा पुगे। यसलाई पुन सुरु गर्नुपर्छ भन्ने कुरा उठाए। यस कुरालाई अरुले पनि मनन गरे।

बिलम्ब नगरी उनले गाउँमा एक भेला डाके। ‘भजनकृत हाम्रो परम्परा हो। यसलाई हामी पुन सुरु गरौं,’ टुकप्रसादले बैठकमा कुरा राखे। गाउँमा कम्तिमा दुई हप्ताको एक दिन एकादशीमा भए पनि भजन गाउनुपर्छ भन्ने मत सबैको आयो। उनको प्रस्तावमा पुराना पुस्ताले मात्र होइन, युवा पिढीले समेत स्वागत गरे।

उनको प्रस्तावले मूर्त रूप लिँदै गयो। गाउँमा पुराना र नयाँ पुस्ता मिलेर टुकप्रसादकै नेतृत्वमा एक भजनकिर्तन मण्डली बन्यो। साथमा, गोविन्दप्रसाद खनाल, माधव पोख्रेल, कुलदेव न्यौपाने, लक्ष्मण न्यौपाने, ज्ञापप्रसाद न्यौपाने, प्रेमनारायण खनाल, तिलकराम न्यौपाने, नवराज न्यौपाने लगायतका १५–१६ जना उक्त समूहमा सामेल भए।

‘गाउँमा फाट्टफुट्ट भजन गाउने सुरुवात भयो,’ लक्ष्मणले सुरुवाती दिन सम्झदै भने, ‘एक वर्षसम्म अलिअलि चल्यो। धेरैले यसको निरन्तरता हुन्छ भन्नेमा नै विश्वास गरेका थिएनन्।’ घरघरमा भजन सुरु भएको प्रचार विस्तारै वल्लो– पल्लो गाउँसम्म पुग्यो।  

भजनले गाउँमा पुनर्जागरण ल्याएको भन्दै गाउँका बुद्धिजिवी, भद्रमलामीले पनि प्रशंसा थर्न थाले। भजनले गाउँमा नयाँ सन्देश दिएको अनुभव सबैलाई भयो।  विस्तारै भजनको दायरासमेत विस्तार भएको छ। हरेक १५ दिनको एकादशीमा मात्र गाउने भजन गाउँका पूजाआजा, व्रतबन्धमा पनि गाउन सुरु भयो।   

भजन गाउने पुरानो परम्परालाई फेरि स्थापित गराउन लागिपरेका छौं। यसले गाउँमा पुरानो संस्कृति, परम्परा र सम्बन्धलाई अझ प्रगाढ बनाएको छ।

भजनलाई निरन्तर चलाउन आर्थिकरूपमा पनि बलियो हुन आवश्यक थियो। भजनमा चढाएको दान, भेटी संकलन गर्दै गइयो। भजन गाउँदा कलशमा दर्शालुले भेटी चढाउने चलन छ। त्यही भेटी, दानबाट थोरै थोरै गर्दै सानो कोष पनि बन्दै गयो। दुई वर्षको अवधिमा १ लाख रूपैयाँ जम्मा भएको लक्ष्मणले बताए।

संस्थागतरूपमा भजनकिर्तन मण्डलीले काम पनि सुरु गरेको छ। संकलन हुँदै गएको रकमलाई एक कोष बनाएर परिचालन गरिएको लक्ष्मणले बताए। ‘गाउँमा सानोतिनो परिआउँदा सहयोग गर्ने माध्यम पनि बनेको छ,’ उनले भने, ‘कोही धेरै बिरामी हुँदा। दुर्घटना परेमा त्यही कोषबाट पनि सहयोग भएको छ।’ भजन गाउने घरबाट पनि केही सहयोग उठ्छ। त्यसको लागि करकाप कसैलाई छैन। आफूलाई सक्दो पैसा उठाउने हो।

भजनकिर्तन मण्डली अझ व्यवस्थित भइरहेका छन्। भजन मण्डलीलाई पोशाकको व्यवस्था गरिएको छ– दौरा, सुरुवाल, ढाका टोपी। राष्ट्रिय पोशाकमा सजिता उनीहरूलाई नयाँ उत्साह थपिएको छ। अहिले झन्डै २५ जनालाई पोशाक तयार भइसकेको छ।  

त्यसैगरी, कोषमा जम्मा भएको रकमबाट थोरै भए पनि सामाजिक काममा पनि खर्च गरिएको छ। गाउँकै दुई जना मृगौला पीडितलाई त्यही कोषबाट केही सहयोग गरियो। त्यसैगरी, गाउँमै बनिरहेको प्रतीक्षालयका लागि २० हजार रूपैयाँ दिइएको छ।  

गाउँमा विवाह, व्रतबन्ध, पूजाआजा चलिरहन्छन्। सहरको जस्तो क्याटरिङको व्यवस्था नभए पनि सामाजिक कामलाई व्यवस्थित गर्न भनेर भजन मण्डलीले आवश्यक भाँडाकुँडाको व्यवस्था मिलाएको छ। कुर्ची, टेन्ट, थाल, गिलास, डेक्ची जस्ता भाँडाकुँडा गाउँमा आवश्यक पर्नेलाई निःशुल्क उपलब्ध गराइन्छ। त्यस्तै, साउन्ड सिस्टमको पनि व्यवस्था मिलाइएको छ।

भजन पहिलेको जस्तै परम्परागत भयो भने नयाँ पुस्तालाई नतान्न सक्छ। यस कुरामा भजन मण्डली सचेत छ। ‘भजनलाई समय सान्दर्भिक पनि बनाउनुपर्छ भनेर नयाँ तरिकाले पनि ढाल्दै गएका छौं,’ माधव भन्छन्, ‘यसले गर्दा युवा पुस्ता पनि आकर्षित हुने र भजनको बारेमा पनि ज्ञान हुनेछ।’

जस्तो कि गएको तिहारमा देउसी–भैंलो खेल्दा गीतकै लयमा भजन प्रस्तुत गरियो। त्यसलाई नयाँ पुस्ताले मन पराए। भजन मण्डलीले गएको तिहारमा गाउँमा देउसी–भैंलो समेत खेलेको थियो। यसले गर्दा भजनको भाकाको जगेर्ना पनि भएको छ।

भजनका भाका गाउँमा सुन्न पाउँदा औधी खुसी लागेको अगुवा ७५ वर्षीय गोविन्द खनालले बताए। उनी भजनको ज्ञान भएका व्यक्तिमध्येमा पर्छन्। भजन गाउँदै हुर्केका खनाललाई सामाजमा भजन गाउने परम्परा पुन दोहोरिएला भनेर सोचेका पनि थिएनन्। अहिले उनी आफै सरिक भएर युवा पुस्तासँग भजन गाउँदै हिँड्छन्। उनलाई यसले निकै खुसी बनाएको छ। ‘भजनकिर्तन भनेको भगवानको नाममा भक्ति जनाउने काम हो,’ खनालले भने, ‘हराउन लागेको भजनलाई युवा पुस्ताले फेरि जगाउने काम गरेका छन्।’

त्यस्तै, भजन भाकालाई सामाजिक जनचेतना जगाउने माध्यमको रूपमा पनि प्रयोग गरिएको छ। कुनै कुलत, असामाजिक काममा लागेका युवालाई भजनमार्फत् चेतना जगाउने गरिएको छ।
नखेल तिर पासा, दुर्मती लाग्यो दुर्योधन।

यसले युवा पुस्तालाई जुवातास नखेल्न आग्रह गरेको छ। जुवातास खेल्ने बानी राम्रो होइन भन्दै भजनले उदाहरण समेत प्रस्तुत गरेको छ। त्यो बेलामा जुवातास खेलेकै कारण दुर्योधनको के हालत भयो सबैलाई थाहा छ।  त्यस्तै, अवस्था हुनसक्छ भन्दै भजनले सामाजिक सद्भाव र जनचेतना जगाउने काम गरिएको माधवले बताए।   

भजनले गर्दा सामाजिक गतिवधि बढेका छन्। धेरै जनाको सहभागिता यसमा बढ्दै गएको छ। समाजमा नयाँ सम्बन्ध विकास हुदै गएको भजन मण्डलीका एक सदस्य चन्द्रबहादुर कब्दारले बताए। भजनले समाजमा मिलेर बस्न, मिलेर काम गर्न, एक अर्कामा सहयोगको भावना गर्न प्रेरित गरेको उनले बताए। उनी भजनकृतन मण्डलीमा बजाउन र नाच्न जान्ने रमाइला व्यक्तिका रूपमा परिचित छन्।

भजनले पुराना धार्मिक, सांस्कृतिक ग्रन्थका आधारित कथाहरूलाई बुझ्न अवसर मिलाइदिएको छ। त्यस्ता ग्रन्थमा रुचि नभएका युवालाई पनि भजनमार्फत् जानकारी र ज्ञान बढेको छ। भजनकिर्तन अभियानले अर्को महत्वपूर्ण काममा टेवा पुर्याएको छ। जसका कारण पुराना बाजाहरूको प्रयोग हुन थालेको छ। युवा, बालबालिकाले समेत बिर्सिसकेका स–साना बाजाहरू फेरि घन्किन थालेका छन्।

गोराको छाला प्रयोग गरेर बनाइने खैजडु झन्डै लोप हुने अवस्थामा पुगेको थियो। त्यो बाजा पुनः बज्न थालेको छ। छाइछाइ बज्ने मजुरा जति सानो हुन्छ, त्यति नै तिखो र मिठो आवाज निकाल्छ। तर, गाउँमा भजनको भाका हराउँदै जादा यसको प्रयोग पनि घट्दै गएको थियो। हातमा गितार बोक्ने नयाँ जमातले यसलाई बिर्सिन लागि सकेका थिए। यही अवस्थामा भजन मण्डलीले मजुरा बोकेर भजन गाउन थालेका छन्।

यस्तै पुराना बाजागाजा, भाका र कथामा आधिरत हुन्छ भजन। भजन भनेको पुराना धर्मग्रन्थमा लेखिएका कथालाई कवित, गीत, श्लोकका रूपमा बाजागाजासहित लयवद्ध रूपमा गाउनु हो भन्छन् माधव। ‘भजनमा स्वर, ताल, बाजागाजा पनि प्रयोग हुन्छ,’ उनले भने, ‘पुराना ग्रन्थलाई चुट्किलाका रूपमा पनि प्रयोग गरिन्छ।’ भजनमार्फत् पुरानो संस्कृति र कथा प्रस्तुत गरिन्छ।

उनले केही उदाहरण दिए– रावण जन्मेको, सीता हरण भएको वा राम वनबास गएको विषयलाई चुट्किलाका रूपमा बनाएर भजन गाउन सकिन्छ। उनले एउटा सानो टुक्रा सुनाए–
राम औतार लीला सबै बताऊ भगवान
बताऊ भगवान हामीलाई सुन्न त लाग्यो मन
राम औतार लीला सबै बताऊ भगवान।

भजन मण्डलीलाई सबैको साथको आवश्यकता छ। भजनकृतन मण्डलीको अभियानबाट समाजमा परेको सकारात्मक प्रभावलाई ध्यान दिएर स्थानीय सरकारले उनीहरूलाई साथ दिनुपर्छ। मुलुक संघीयतामा प्रवेश गरेसँगै स्थानीय तहमा अधिकारसँगै कर्तव्य पनि बढेको छ।

स्थानीय तहले आफ्नो गाउँलाई आफै विकास गर्ने हो भने समाजमा सकारात्मक भावना जागृत गराउन तथा सामाजिक जागरण ल्याउ जरुरी छ। जसले स्थानीय तहमा सामाजिक काम गर्न प्रेरित गर्नेछ। अनि मात्र गाउँको पुरानो सद्भावलाई पुनः स्थापित गराउनेछ। र, स्थानीय तहमा सामाजिक, सांस्कृतिक, भाषिक विकाससँगै युवापुस्तामा आफ्नो सामाज र संस्कृतिप्रतिको माया बढाउनेछ।

प्रकाशित: १४ पुस २०७५ ०३:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App