coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

आज नेपालभाषा साहित्यको नखः

काठमाडौं – उपत्यकाका स्थानीय नेवार जनताले बोल्ने नेपालभाषा (नेवार भाषा) साहित्यका दृष्टिले अत्यन्त समृद्ध भाषामध्ये एक हो। आजभन्दा ६ सय वर्षअघि नै यो भाषाको सिर्जनात्मक लेखन आरम्भ भइसकेको प्रमाण पाइन्छ।

तत्कालीन राजा महाराजा एवं महारानीसमेत यो भाषामा साहित्य सिर्जना गरी आफूलाई अभिव्यक्त गर्ने गर्दथे। त्यति बेला सुरु भएको नेपालभाषाको साहित्य यात्रा आजका मितिसम्म पनि जारी छ। यसबीच मुलुकमा भएका विभिन्न राजनीतिक आरोहअवरोह पनि यो भाषाले पनि झेल्दै आएको देखिन्छ।

कुनै कालखण्ड यो भाषा मुलुकको राष्ट्र भाषासम्म पनि भए भने कुनै कालखण्ड यो भाषामा लेखेकै कारण लेखकले जेल सजाय भोग्नुपर्ने स्थिति पनि आए। अहिले भने यो भाषा नेवार समुदायले नै क्रमशः प्रयोग गर्न छाडेपछि दयनीय अवस्थामा पुगेको छ।

तथापि सबैखाले अनुकूल एवं प्रतिकूल अवस्थामामा पनि यो भाषा बोल्ने भाषानुरागीहरूले यसलाई बचाउने प्रयासहरू गर्दै आइरहेका छन्। भाषिक अधिकारका लागि आन्दोलन पनि भएका छन्। आफ्नो भाषाको संवद्र्धन–प्रवर्तन गर्ने उद्देश्यले सञ्चालन हुँदै आइरहेका विभिन्न गतिविधिमध्ये एउटा उत्कृष्ट कार्यक्रम हो – नेपालभाषा साहित्य महोत्सव।

ललितपुरको दरबार परिसरमा रहेको भण्डारखाल बगैंचामा शनिबार दिनभरि सञ्चालन हुने महोत्सवको आयोजना नेपालभाषामा प्रकाशित हुने एकमात्र दैनिक ‘नेपालभाषा टाइम्स’ ले गरेको हो।

गत वर्षदेखि सुरु भएको महोत्सवको दोस्रो संस्करण शनिबार आयोजना हुँदैछ। ललितपुरको दरबार परिसरमा रहेको भण्डारखाल बगैंचामा शनिबार दिनभरि सञ्चालन हुने महोत्सवको आयोजना नेपालभाषामा प्रकाशित हुने एकमात्र दैनिक ‘नेपालभाषा टाइम्स’ ले गरेको हो। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महोत्सवको उद्घाटन गर्दैछन्। उद्घाटन सत्रमै तीनवटा नयाँ पुस्तक विमोचन हुँदैछ।

समालोचक इन्द्र मालीको ‘नेपालभाषा यासुधुकू’ अर्थात् क्रियापद शब्दकोश, गजलकार भूषणप्रसाद श्रेष्ठको ‘१०१ छन्द र १०१ गजल’ र साहित्यकार राजेन मानन्धरको सांस्कृतिक उपन्यास ‘वल वल बुंगद्यः’ अर्थात् ‘आयो आयो मछिन्द्रनाथ (रातो)’। पुस्तकहरू वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशी र जनकवि दुर्गालाल श्रेष्ठले विमोचन गर्नेछन्।

त्यसपछि नेपालभाषाको साहित्य प्रकाशन र मञ्चन कलाबारे दुइटा अलगअलग अन्तरसंवाद सञ्चालन हुनेछन्। त्यसपछि रचना वाचन हुनेछ। कार्यक्रमको सबैभन्दा महत्वपूर्ण पक्ष रहेको छ स्वर्गीय पद्मरत्न तुलाधरद्वारा लिखित प्रहसन (हास्य नाटक) को प्रदर्शन। वरिष्ठ मानवधिकारकर्मी तुलाधर नेपालभाषा साहित्यका अत्यन्त लोकप्रिय प्रहसन लेखक हुन्। उनले प्रहसनका दुई कृति लेखेका छन्। शनिबार प्रदर्शन हुने प्रहसन ‘जातःगुरु’ उनको जीवनकै अन्तिम ख्यालः हो। त्यो सँगै व्यंग्य लेखक सुरेश किरणको अर्को ख्यालः ‘ओम नमः शिवाय’ पनि प्रदर्शन हुँदैछ।

महोत्सवमा नेपालभाषामा प्रकाशित पुस्तकहरूको प्रदर्शन एवं नेवाः खानाको प्रदर्शन पनि हुनेछ। आयोजकले यो महोत्सवलाई पूरा परिवार नै दिनभरि एकै ठाउँमा बसेर मनाउन सकिने मनोरञ्जक एवं ज्ञानवद्र्धक ‘प्याकेज’ को रूप दिने प्रयास गरेको छ।

आआफ्नो भाषाका साहित्य प्रवद्र्धन गर्न संसारका विभिन्न सहरमा विभिन्न भाषाका साहित्य महोत्सवहरू सञ्चालन हुँदै आइरहेको छ। गत साता मात्रै पोखरामा नेपाल साहित्य महोत्सव सम्पन्न भएको थियो। अब केही समयपछि काठमाडौंमा ‘काठमाडौं साहित्य महात्सव’ पनि आयोजना हुँदैछ। आउँदो जनवरीमा भारतको जयपुरमा जयपुर साहित्य महोत्सव हुँदैछ।

जयपुर साहित्य महोत्सवलाई संसारकै सबैभन्दा ठूलो साहित्य मेला मानिन्छ। यस्तो बेला ऐतिहासिक एवं सांस्कृतिक नगरी काठमाडौं उपत्यकाका स्थानीय नेवार जातिले बोल्ने समृद्ध नेपालभाषाको पनि साहित्य महोत्सव हुनु आफैंमा एक गौरवपूर्ण कार्य हो। नेपालभाषाको यो साहित्य महोत्सवले नेपालमा बोलिने अरू पनि मातृभाषाहरूलाई प्रेरित गर्ने विश्वास लिन सकिन्छ।

प्रकाशित: १४ पुस २०७५ ०२:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App