coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

‘जुसे करार’ को अवरोधले चुनाव प्रभावित

फाइल फाेटाे

काठमाडौं – त्रिभुवन विश्वविद्यालयमा करार सेवामा कार्यरत शिक्षण सहायकहरूको अवरोधका कारण त्रिवि प्राध्यापक संघको अधिवेशन प्रभावित भएको छ। करार सेवामा कार्यरत स्वतः स्थायी हुुनुपर्ने माग पूरा गराउने प्रतिवबद्धता नगरेसम्म चुनाव हुन नदिने अडान लिएपछि शुक्रबार चुनाव हुन नसकेको हो।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा अनशन बसेका १६ सय आंशिक शिक्षकलाई जुस खुवाएर अनशन तोडाई करार नियुक्ति दिइएको थियो। यी शिक्षकहरूलाई त्रिविमा जुसे करार भन्ने गरिन्छ। यसरी नियुक्ति पाएका चार सय शिक्षक स्थायी हुन बाँकी छन्।

अधिवेशन उद्घाटन गरेको तीन दिनपछिसम्म पनि उम्मेदवारको नामावली प्रकाशित हुन सकेको छैन। चुनावमा सहभागी प्राध्यापकहरु करार शिक्षकका माग पूरा गराउन त्रिविका कार्यकारी परिषद्का पदाधिकारीलाई दबाब दिन थालेका छन्।

चुनावमा प्रजातान्त्रिक प्राध्यापक संघका एक प्राध्यापकले सदस्यहरुको नामावली प्रकाशित गरेपछि संघका प्राध्यापकबीच कुटाकुट भएको छ। त्रिवि सेवा आयोगका पूर्व सदस्यसमेत रहेका केदारनाथ घिमिरेले उम्मेदवारको नामावली प्रकाशन गरेपछि विष्णु केसीले विरोध जनाएका थिए। दुई जनाबीच विवाद बढेपछि कुटाकुट भएको थियो।

त्रिविका नेपाली विषयका प्रध्यापक रमेश भट्टराईले प्राध्यापकहरुको चुनाव विश्वविद्यालयमा उच्चशिक्षा गुणस्तर कायम गर्नुपर्ने, प्राज्ञिक मर्यादा कायम गर्ने र प्राज्ञिक नेतृत्व स्थापित गर्नेतर्फ हुनुपर्ने बताए। ‘विश्वविद्यालयका प्राध्यापक प्राज्ञिक मर्यादा कायम गर्न लाग्नुपर्छ,’ भट्टराईले नागरिकसँग भने, ‘राजनीति त दलले गर्ने हो। विदेशमा उपकुलपति, रेक्टर र रजिस्ट्रार पदमा नियुक्ति हुन एक वर्षको तालिम लिएर विश्वविद्याल राम्रो बनाउने मात्र नियुक्ति गरिन्छ। हामीकहाँ विश्वविद्यालयमा प्राज्ञिक नेतृत्व मुख्य पदमा चयन हुन नसक्दा विश्वविद्यालय तहसनहस भएको हो।’

क्रान्तिकारी माओवादी निकट नेपाल राष्ट्रिय प्रध्यापक संठनका लोकराज रेग्मीले करारका शिक्षकले स्वतः स्थायी गराउने प्रतिबद्धता भए मात्र चुनावको बाटो खोलिने अडानमा लिएपछि प्रक्रिया अवरुद्ध भएको बताए। ‘करारका साथीहरुले उम्मेदवारबाट स्थायी बनाउनुपर्ने प्रतिबद्धता खोज्नुभएको छ,’ रेग्मीले भने, ‘उम्मेदवारहरुले यस विषयमा उपकुलपति, रजिस्ट्रार र शिक्षाध्यक्षसँग छलफल अघि बढाउनुभएको छ।’

त्रिवि प्रध्यापक संघको चुनाव एकल संक्रमणीय प्रणालीबाट हुनेछ। ससर्वप्रथम १५ जना सदस्यका लागि निर्वाचन हुनेछ। तिनै सदस्यबाट सभापति, उपसभापति, कोषाध्यक्ष, महासचिव, सचिवलगातयका पदाधिकरी चयन हुने प्रावधान छ। ‘चुनावमा जित्ने प्राध्यापकरू पार्टी निकट भई उपकुलपतिदेखि डिनसम्मको पद पाउँछन्,’ रेग्मीले भने, ‘प्राध्यापकहरुमा पदको महत्वाकांक्षा बढ्दै गयो र प्राज्ञिक मर्यादा कम हुँदै गयो।’ उनले चुनावलाई हतियार बनाएर माग पूरा गराउन खोज्न राम्रो नभएको बताए। त्रिवि प्राध्यापक संघका सदस्य पूर्ण लामिछानेले प्राध्यापक संघभित्रै करार शिक्षकको समस्या मिलाउन नसकेकाले चुनाव अवरोध भएको बताए।

विश्वविद्यालयका रजिस्ट्रार डिल्लीराम उप्रेतीले विभिन्न संगठन निकट प्राध्यापकहरुले त्रिविका करारका शिक्षकलाई स्वतः स्थायी गर्ने विषयमा छलफल गरिरहेको जानकारी दिए। ‘विभिन्न संगठनका प्राध्यापक र कार्यकारी पदाधिकारीबीच करार शिक्षकलाई स्थायी गराउने विषयमा छलफल भइरहेको छ तर केही निर्णय भएको छैन,’ उनले भने।

प्रकाशित: १४ पुस २०७५ ०१:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App