coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

अस्ताए ‘घाँस काट्ने...’ गायक बुद्धिकृष्ण

भक्तपुर – लोकगायक बुद्धिकृष्ण लामिछाने हास्य कलाकार जितु नेपाललाई भेट्दा आफूलाई पनि विदेशमा हुने कार्यक्रममा लैजान आग्रह गर्थे। रेडियो नेपालमा नियमित भेट भइरहँदा बुद्धिकृष्ण जितुलाई विदेशको स्टेजमा पनि गीत गाउने चाहना राख्थे। तर उनको चाहना अब कहिल्यै पूरा हुने छैन।

‘काठे भाका’ का गीत रचना गरी आफैंले गाएर जनमानसमा प्रिय बनेका यिनै गायक बुद्धिकृष्णको शुक्रबार दिउँसो ६६ वर्षको उमेरमा निधन भएको छ। चाँगुनारायण नगरपालिका–७ बागीश्वरीस्थित आफ्नै घरमा दिउँसो १२ बजेर १० मिनेट जाँदा उनको निधन भएको परिवारले जनाएको छ।

बुद्धिकृष्णको निधनको खबर सुनेपछि जितुले फेसबुकमा ‘जसलाई मैले गायकबाट कलाकार पनि बनाएँ। मेरो सानो अनुरोधलाई स्वीकार गरेर दाइले ‘जिरे खुर्सानी’ को १० देखि १५ भागसम्म अभिनय गर्नुभयो। विदेशमा कार्यक्रम गर्न जाने दाइको धेरै ठूलो धोको थियो। मैले पहल गर्छु पनि भनेको थिएँ। तर असफल भएँ। मलाई यो कुरा सधै खड्किरहन्छ। घाँस काट्ने खुर्केर गयो जोवन रोग लागेर।’

‘मसँग भेट हुँदा मलाई पनि विदेशमा गएर कार्यक्रम गर्न मन छ जितु बाबु भन्नुहुन्थ्यो। मैले दाजु म प्रयास गर्छु मात्र भन्थें। किनकि मेरो आर्थिक अवस्था पनि कमजोर थियो। उहाँलाई विदेश लैजान नपाएको थकथकी लागिरहेको छ’, जितुले नागरिकसँग भने, ‘उहाँ सरल मान्छे हुनुहुन्थ्यो। उहाँको त्यही बानीबाट प्रभावित भएर मैले ‘जिरे खुर्सानी’ मा अभिनयको प्रस्ताव पनि राखें। उहाँले सुरुमा त म सक्दिनँ होला भन्नुभयो। तर ‘जिरे खुर्सानी’ मा काम गर्न थालेपछि उहाँलाई गायकमात्र होइन, एउटा राम्रो कलाकारका रूपमा पनि चिनें।’

‘अन्य गायकगायिका तथा संगीतकर्मीसँग मिल्ने खालको गीत सिर्जना गर्न रुचाउनु हुँदैन थियो। त्यसकारण पनि पृथक् गीत सिर्जना गर्नुहुन्थ्यो।’

बुद्धिकृष्णको शुक्रबार नै दाहसंस्कार गरिएको छ। चाँगुनारायण नगरपालिका–७ वागीश्वरीस्थित वाल्मीकेश्वर घाटमा उनको दाहसंस्कार गरिएको हो। बुद्धिकृष्णको शवलाई दिउँसो सबा तीन बजे उनका जेठा छोरा सुवेगले दागबत्ती दिएका थिए। २००९ सालमा जन्मेका उनी झन्डै दुई वर्षदेखि बिरामी थिए। उनलाई प्यारालाइसिस भएको थियो। उनी यसअघि हिँडडुल गर्न र बोल्नसमेत असमर्थ रहेको परिवारले जनाएको छ।

केही दिनअघि मात्रै अस्पतालमा आइसियूमा राखेर उनलाई घर फर्काइएको थियो। भूकम्पले घर भत्केका कारण उनी परिवारसहित बागीश्वरीको टहरा घरमा बस्दै आएका थिए। उनलाई दुई वर्षअघि पनि प्यारालाइसिसले छोएको थियो। तर पछिल्लो दुई वर्षदेखि उनी अलिक गम्भिर बिरामी भएका थिए। उनी मृर्गौलालगायतका रोगबाट पीडित थिए।

गायक लामिछानेसँग धेरै गीतमा सहकार्य गरेकी गायिका कोमल वली संख्यात्मकभन्दा पनि गुणात्मक रूपमा फरक गीत गाउन सक्ने गायकका रूपमा चिनिन्छन्। ‘उहाँ र मैले २०५२÷०५३ सालतिर ‘तिम्रो र मेरो मायाको डोरो’ बोलको गीत गाएका थियौं। यो गीत निकै चलेको थियो।

त्यसपछि १० वटा गीत राखेर ‘मायाको डोरो’ नामक एल्बम पनि निकाल्यौं’, कोमलले सम्झिइन्, ‘उहाँ अन्य गायकगायिका तथा संगीतकर्मीसँग मिल्ने खालको गीत सिर्जना गर्न रुचाउनु हुँदैन थियो। त्यसकारण पनि पृथक् गीत सिर्जना गर्नुहुन्थ्यो। आफ्नो साथमा मोबाइल नबोक्ने भएकाले पनि कोहीसँग सम्पर्कमा आउन चाहनुहुन्नथ्यो।’ गत आइतबार मात्र कोमलले अस्पताल पुगेर बुद्धिकृष्णलाई भेटेकी थिइन्।

लामिछानेका दुई पत्नी, दुई छोरा र ६ जना छोरी छन्। उनले २०३६ सालदेखि रेडियो नेपालमा गीत गाउन थालेका थिए। नेपाल सेनामा जागिरे उनी सेवानिवृत्त रहेर बसेका थिए। उनी परिवारसहित बागीश्वरीमै थिए।

प्रकाशित: १४ पुस २०७५ ०१:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App