७ वैशाख २०८१ शुक्रबार
खेल

माघ अन्तिम सातादेखि बुढासुब्बा गोल्डकप, पुरस्कार राशिमा वृद्धि

बुढासुब्बा गोल्डकपको २१औं संस्करणबारे जानकारी दिँदै आयोजक। तस्बिर : रोहित/नागरिक

धरान – मोफसलको चर्चित अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकपको २१औं संस्करण माघ अन्तिम सातादेखि हुने भएको छ। आयोजक धरान फुटबल क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै माघ २६ गतेदेखि फागुन ४ गतेसम्म गोल्डकप आयोजना हुने जानकारी दिएको हो। धरान–१६ स्थित प्रस्तावित प्रादेशिक रंगशालामा हुने प्रतियोगिताको लागि विभिन्न समितिहरु गठन गरेर तयारी शुरु गरिसकेको क्लबले जनाएको छ।

प्रतियोगितामा आमन्त्रण गरिएका २ विदेशीसहित कुल ८ वटा टिम सहभागी हुने निश्चित रहेको क्लबका अध्यक्ष उपाध्यक्ष किसोर राईले बताए। ‘प्रतियोगितामा ८ वटा टिम सहभागी हुने पक्का भइसक्यो, यसपाली उत्कृष्ट टिमहरु मात्र सहभागी हुन्छन्,’उनले भने।

यसपाली थ्री स्टार क्लब, नेपाल पुलिस क्लब, मनाङ मर्स्याङ्दी क्लब, त्रिभुवन आर्मी क्लब, सहारा क्लब पोखरा र आयोजक धरान फुटबल क्लब सहभागिता रहनेछ। यस्तै, पाहुना टोलीको रूपमा तेस्रो संस्करण विजेता बंगलादेशको धनमुन्दी क्लब र भारत आसामको आयल इन्डिया एफसी दुलियाजान सहभागी हुने अध्यक्ष राईले बताए। ‘धनमुन्दी एक पटक बुढासुब्बा विजेता टोली हो, आयल इन्डिया एफसी आसामको नम्बर वान टिम हो,’उनले भने,‘यसपाली उत्कृष्ट खेलहरु हुनेछ।’

‘हामी विजेतालाई १० लाख र उपविजेतालाई ५ लाख रुपैयाँ दिने सक्दो कोसिस गर्छाै, नभए पनि ८ लाख र ४ लाख दिने पक्का हो,’ क्लबका अध्यक्ष किसोर राईले उनले भने।

आयोजकको टिम स्थानीय खेलाडीहरु मात्र राखेर तयार गरिने पनि क्लबले जनाएको छ। फाइनल पुगेर उपाधि उचाल्ने लक्ष्यका साथ ४ जनालाई प्रशिक्षणको जिम्मेवारी दिइएको पनि आयोजक क्लबका अध्यक्ष राईले बताए। प्रतियोगितालाई सफल बनाउन पूर्वउपमेयर मिनकुमार सुब्बा संयोजक र धनबहादुर राई सहसंयोजक तोकिएको छ।

आर्थिक समितिमा प्रताप तामाङ संयोजक र रामकृष्ण खड्का सहसंयोजक, प्रचारप्रसार उपसमितिमा सुदीप उप्रेती संयोजक र शिव मगर सहसंयोजक, मैदान मर्मत उपसमितिमा सतिश केसी संयोजक तथा सागर घिमिरे उपसंयोजक, अर्जुन राई प्रशिक्षक रहेको आयोजक टिम तयारी उपसमिति पनि गठन भइसकेको क्लबका महासचिव प्रताप तामाङले जानकारी दिए।

पुरस्कार राशिमा वृद्धि
आयोजकले बुढासुब्बाको २१औं संस्करणको पुरस्कार राशि पनि वृद्धि गरेको छ। यसपाली विजेताले कम्तिमा ८ देखि १० लाख रुपैयाँ र उपविजेताले ४ देखि ५ लाख रुपैयाँ पाउने क्लबका अध्यक्ष राईले बताए।

‘हामी विजेतालाई १० लाख र उपविजेतालाई ५ लाख रुपैयाँ दिने सक्दो कोसिस गर्छाै, नभए पनि ८ लाख र ४ लाख दिने पक्का हो,’उनले भने। गत २० औं सँस्करणमा विजेताललाई ६ लाख र उपविजेतालाई ३ लाख नगद पुरस्कार थियो।

व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट खेलाडीले होन्डाको डियो स्कुटर, प्रत्येक खेलको म्यान अफ दी म्याचले १५ हजार पुरस्कार पाउनेछ भने उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही नगद २५ हजार पाउनेछन्। साथै, सर्वाधिक गोलकर्ताले नगद ३१ हजार पुरस्कार पाउने महासचिव तामाङले बताए। ‘व्यक्तिगत तर्फका पुरस्कार पनि बढाएका छौं,’उनले भने।

गत संस्करण पौने ६ लाख बढी नाफा
बुढासुब्बा गोल्डकपको गत बर्ष सम्पन्न २०औं संस्करणमा आयोजकलाई पौने ६ लाख बढी नाफा भएको छ। शुक्रबार २१औं संस्करणबारे आयोजित पत्रकार सम्मेलनमा क्लबका कोषाध्यक्ष घनश्याम बुढाथोकीले गत बर्ष प्रतियोगितामा ६ लाख ८७ हजार ७ सय रुपैयाँ नाफा भएको जानकारी दिए।

कोषाध्यक्ष बुढाथोकीका अनुसार गेट टिकटबाट १५ लाख, धरान उपमहागनरपालिका, प्रायोजक, राखेप, मन्त्रालय र विभिन्न संघसंस्थाहरुबाट कुल ६२ लाख ७ हजार ५ सय रुपैयाँ आम्दानी भएको थियो। टिम व्यवस्थापन खर्च, नगद पुरस्कार, अफिसियल, अतिथि सत्कारलगायत विभिन्न शिर्षकमा ५५ लाख १९ हजार ८ सय रुपैयाँ खर्च भएको बुढाथोकीले जानकारी दिए। ‘हामीले गत बर्ष नाफा कमाउन सक्यौं, यसपाली पनि यसरी नै नाफा कमाएर क्लब र धरानको फुटबललाई अघि बढाउने अपेक्षा गरेका छौं,’उनले भने।

प्रकाशित: १४ पुस २०७५ ०१:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App