coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एमेच्योर गल्फर शुक्रबहादुरलाई दुवै ट्रफी

एमेच्योर र प्रोफेसनल उपाधिका साथ शुक्रबहादुर राई। तस्बिर : रोहित/नागरिक

धरान – घरेलु गल्फ कोर्समा उत्कृष्ट प्रर्दशन गरेका २० बर्षे एमेच्योर गल्फर शुक्रबहादुर राईले नम्बर एक प्रोफेसनल गल्फरलाई स्तब्ध बनाउँदै सूर्य नेपाल इस्टर्न ओपनको उपाधि शुक्रबार जितेका छन्।

पार–७० को निर्वाणा गल्फ कोर्समा तेस्रो दिन ५४ होलको समाप्ति हुँदा कुल ४ अन्डर २०६ स्कोर खेलेका शुक्रले नेपाल नम्बर–१ खेलाडी शिवराम श्रेष्ठ र विकास अधिकारीमाथि ५ स्ट्रोकको जित निकाल्दै प्रोफेसनलतर्फको उपाधि ट्रफी उचाल्न सफल भए। यससँगै शुक्रले करिअरको छैटौं उपाधि उचाल्न सफल भए।

यसअघि बिहीबारको खेल समाप्त हुँदासम्म प्रो. गल्फरद्वय रवि खड्काले ३ अन्डर १३७ स्कोरसहित पहिलो र शिवराम श्रेष्ठले कुल २ अन्डर १ सय ३८ स्कोरसहित दोस्रो स्थानमा अग्रता बनाएका थिए। तर, शुक्रबार प्रो. गफरद्वयले खराब प्रदर्शन गर्दा बिहीबार तेस्रो स्थानमा रहेका शुक्रले अन्तिम दिन यागदार लय समातेपछि उपाधि आफ्नो बनाएका हुन्।

गल्फरद्वय शिवराम र विकासले समान १ ओभर २११ स्कोरका साथ शीर्षस्थान रहे पनि उपाधि ट्रफी उचाल्नबाट बञ्चित भए पनि जनही ९८ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे। एमेच्योर गल्फर प्रोफेसनलतर्फ च्याम्पियन हुँदा ट्रफी मात्र पाउने नियम अनुरूप शिवराम र विकासले नगद पुरस्कार पाएका हुन्।

सूर्य नेपाल गल्फ प्रतियोगिताको प्रोफेसनलतर्फ उपाधि जित्ने तेस्रो एमेच्योर गल्फर बनेका शुक्रले करियरको छैटौं उपाधि उचालेका थिए।

इस्टर्न ओपनमा प्रोफेसनलको उपाधि पनि उचाल्ने उनी एमेच्योर गल्फर बने। सूर्य नेपाल गल्फ प्रतियोगिता भने उनी तेस्रो एमेच्योर गल्फर हुन्। यसअघि २००५ मा एमेच्योर गल्फरद्वय शिवराम श्रेष्ठले वेस्टर्न ओपन र सन् २०१० मा रूपक आचार्यले सेन्ट्रल ओपनमा प्रो. तर्फको उपाधि जितेका थिए।

शुक्रबार १ अन्डर १३९ स्कोरका साथ तेस्रो स्थानबाट खेल्न शुरु गरेका शुक्रबहादुरले उत्कृष्ट प्रर्दशन गरेका थिए। उनले फ्रन्ट नाइन १ अन्डर ३५ कार्ड बनाउने क्रममा दोस्रो, छैटौं र नवाैं होलमा बर्डी गर्दा पार–३ को चौथो होलमा डबल बोगी खेपेका थिए। यस्तै, ब्याक नाइन २ अन्डर ३२ को कार्ड बनाएका उनले १० औं, १२आैं र १७ औं होलमा बर्डी गरेका थिए भने ११औं होलमा बुगी खेपेका थिए।

उपाधि जितेपछि खुशी भएका शुक्रले फाइनल दिनमा पट र चिप राम्रो भएको प्रतिक्रिया दिए। ‘सट ठिकै थियो, पट र चिप राम्रो भयो,’उनले भने,‘एकदमै खुशी छुँ।’ क्याडीको रूपमा गल्फ कोर्स छिरेका शुक्रले सन् २०१४ देखि एमेच्योर प्रतियोगिता खेल्न थालेका थिए। पहिलो वर्ष नै एमेच्योरतर्फ इस्टर्न ओपन जितेका उनी २०१६, २०१७ मा पनि एमेच्योर विजेता बनेका थिए। काठमाडौंमा भएको सूर्य नेपाल प्रिमियर च्याम्पियन २०१७ र करिब २ महिनाअघि काठमाडौं ओपनमा पनि एमेच्योर उपाधि जितेका थिए।

शुक्रबार २ अन्डर १३८ स्कोरका साथ दोस्रो स्थानमा रहेर खेल शुरुवात गरेका शिवरामले ३ ओभर ७३ को खराब कार्ड बनाउँदा एमेच्योर शुक्रबहादुरसँग ५ स्ट्रोकले पछि परेका हुन्। विकासले २ ओभर १४२ स्कोरका साथ चौथो स्थानमा रहेर शुुक्रबार खेल शुरुवात गरेका थिए। तर, अन्तिम दिन सुधार गर्दै १ अन्डर ६९ स्कोर गरेपछि शिवरामसँग समान एक ओभर २११ को स्कोरकार्ड बनाएका हुन्।

कुल ४ ओभर २१४ स्कोर गरेका भुवन नगरकोटी तेस्रो स्थानमा रहँदै नगद ५५ हजार हात पारे भने समान ५ ओभर २१५ स्कोर गरेका सञ्जय लामा र देवराज पाख्रिन चौथो पुरस्कार वापत जनही ३९ हजार बाँडे। समान ७ ओभर २१७ स्कोर खेलेका रवि खड्का, थामबहादुर राई, शिवकुमार माझी र बलभद्र राई संयुक्त छैटौं स्थानमा रहँदै जनही २९ हजार २ सय ५० रुपैयाँ हात पारे।

८ ओभर २१८ स्कोर गरेका सूर्यप्रसाद शर्मा १०औं स्थानमा रहेर नगद २५ हजार हात पारे। कुल ८ ओभर २१८ स्कोर खेलेका बबिन्द्र राई एमेच्योरतर्फका उपविजेता बने। विजेतालाई सूर्य नेपालका मार्केटिङ मेनेजर बालकृष्ण गुरुङ, बिपी प्रतिष्ठानका उपकुलपति डा.राजकुमार रौनियार, नेपाल गल्फ संघका केन्द्रीय उपाध्यक्ष तीलक राईले पुरस्कार वितरण गरेका थिए।

बिहीबार ३६ होलको खेल समाप्तिसँगै कट पार गरेर २१औं स्थानसम्म रहेका प्रोफेसनल खेलाडीले पनि नगद पुरस्कार प्राप्त गरेका थिए। नेपाल प्रोफेसनल गल्फर एसोसिएसनले आयोजना गरेको प्रतियोगितामा शनिबार प्रो.–एमेच्योर स्पर्धा हुनेछ।

प्रकाशित: १४ पुस २०७५ ००:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App