coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

‘ए’ डिभिजन लिग : पुलिससँग थ्री स्टार पराजित

पुलिसविरुद्ध बल अगाडि बढाउने प्रयास गर्दै थ्री स्टारका रञ्जन विष्ट (नीलो) । तस्बिर सौजन्यः एन्फा

काठमाडौं – दोस्रो स्थानका लागि संघर्षरत थ्री स्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रबार विभागीय टोली नेपाल पुलिस क्लबसँग ३–१ ले स्तब्ध भएको छ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलमा थ्री स्टारले लिएको अग्रतालाई उल्टाउँदै पुलिसले बाजी मारेको हो। विदेशी खेलाडी अबाङ अल्बर्टले १३औं मिनेटमा गोल गर्दै थ्री स्टारलाई सुरुआती अग्रता दिलाएका थिए। पुलिसका गोलकिपर अर्पण कार्की अगाडि बढेको मौकामा निराजन खड्काले दिएको पासलाई अल्बर्टले गोल गर्न सफल भएका थिए।

२०औं मिनेटमा पुलिसका निरकुमार राइले थ्री स्टारका रक्षक पिटर सेगुइनको खुट्टाबाट बल खोस्दै बराबरी गोल फर्काएका थिए। निकै प्रतिस्पर्धात्मक पहिलो हाफको बाँकी समयमा दुबै टोलीले अग्रता लिने प्रयास गरे पनि सदुपयोग गर्न सकेनन्।

पहिलो हाफमा बराबरी खेलेको पुलिसले दोस्रो हाफमा दुई गोल थप्न सफल भएको थियो। ४७औं मिनेटमा अभिषेक रिजालको पेनाल्टी गोलबाट अग्रता उल्टाएको पुलिसले ५५औं मिनेटमा भोला सिलवालको गोलबाट ३–१ को फराकिलो अग्रता पारेको थियो।

विगतका खेलमा पेनाल्टी प्रहार गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा रहेका रञ्जित धिमाल पेनाल्टीमा चुक्दा थ्री स्टारले पुलिसको अग्रता छोट्याउन असफल बनेको थियो।

अन्तिमतिर खेलमा फर्किन प्रयास गरेको थ्री स्टारले ८६औं मिनेटमा पेनाल्टीको अवसर पाएको थियो। विगतका खेलमा पेनाल्टी प्रहार गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा रहेका रञ्जित धिमाल पेनाल्टीमा चुक्दा थ्री स्टारले अग्रता छोट्याउन असफल बनेको थियो। रञ्जितको उक्त प्रहार पुलिसका अर्पण कार्कीले उत्कृष्ट बचाउ गरेका थिए।

बाँकी समयमा पनि थ्री स्टारले संघर्ष गरे पनि फर्किन सकेन र अंक गुमाउन पुग्यो। जितपछि १८ अंक जोडेको पुलिस अंकतालिकाको पाँचौं स्थानमा उक्लिएको छ भने थ्री स्टारको उपविजेता बन्ने होडमा धक्का लागेको छ। पराजित थ्री स्टार २३ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ। दोस्रो स्थानको संकटाको २५ अंक छ।

शुक्रबारका खेलसँगै सहिद स्मारक ‘ए’ डिभिजन लिगका ११औं चरणका खेल सम्पन्न भएका छन्। समीकरणमा मनाङलाई उपाधि पक्का हुँदा थ्री स्टार, संकटा, आर्मी र पुलिस शीर्ष तीनभित्र अटाउन संघर्ष गरिरहेका छन्। ११ खेलको समाप्तिमा अपराजित मनाङ ३३ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ भने ८ अंकले पछि पर्दै संकटा दोस्रो, २३ अंक जोडेको थ्री स्टार तेस्रो स्थानमा छ। लिगमा १२औं चरणका खेल सोमबारबाट हुनेछन्।

प्रकाशित: १४ पुस २०७५ ००:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App