६ वैशाख २०८१ बिहीबार
अर्थ

सुविधा र लगानी थप्न प्रतिस्पर्धा

नेपालगन्ज– स्थानीय व्यवसायीको करोडौं लगानीमा नेपालगन्ज, न्युरोडमा होटल कलपत्रु सञ्चालनमा छ। आठ महिनाअघि यो होटल सञ्चालनमा आएको हो। करिब एक विघा क्षेत्रफलमा होटलका पूर्वाधार छन्। सबै सेवासुविधा थप्दा लगानी ५० करोड रुपैया पुग्नेछ।

 छुट्टै चिनारी दिने उद्देश्यले होटल खोलेको सञ्चालक जगदिश बैश्य बताउँछन्। उनले भने, ‘आन्तरिक र बाह्य पर्यटक तथा स्थानीय स्तरमा हुने बिबाह, पार्टी, सेमिनारलाई लक्षित गरेका छौं।’ होटलमा २५ वटा एसी रुम, २ वटा कन्फ्रेन्स हल, रेष्टुरेन्ट निर्माण गरिएको छ। दोस्रो चरणमा स्विमिङ पुललगायत पूर्वाधार थपेर तारे स्तरको बनाउने उनलेे बताए।

धम्बोझी चोकमा खुलेको होटल सिटी प्यालेसले एकवर्षमै पूर्वाधार थप्ने तयारी गरेको छ। झन्डै १५ करोड रुपैयाँको लागतमा स्थापना भएको यस होटलमा ६८ कोठा, सभा हल, रेष्टुरेन्टलगायत पूर्वाधार छन्। होटलमा स्थानीय व्यवसायीको संयुक्त लगानी छ। सञ्चालक लोकेन्द्र अर्यालले पूर्वाधार थपेर चाँडै तीन तारे बनाइने बताए। ‘थप सेवा र लगानी बढाउने सोच छ,’ उनले भने।

सिद्धार्थ बिजनेस गु्रप एन्ड हस्पिटालिटीले नेपालगन्जस्थित होटल सिद्धार्थ भ्युमा लगानी दोब्बर बढाउँदैछ। प्रबन्धक केशव न्यौपानेका अनुसार नयाँ पूर्वाधार थप्ने क्रममा अहिले सुविधायुक्त भवन निर्माण भइरहेको छ। करिब २७ करोड लागतमा पूर्वाधार थपिँदैछ। नयाँ भवनमा ५० वटा स्विट र डिलक्स रुम, दुई वटा डिलक्स रेष्टुरेन्ट र थप दुई वटा सभा हल बन्ने जानकारी उनले दिए।

नेपालगन्ज मध्य र सुदुरपश्चिमको ट्रान्जिट प्वाइन्ट हो। हवाई र स्थल मार्गको सुविधाका कारण यहाँको व्यापार र पर्यटन प्रर्वद्धनमा सघाउ पुगेको छ। बर्दिया राष्ट्रिय निकुन्ज, प्रसिद्ध कैलाश मानसरोवर, रारा तालालगायत थुप्रै पर्यटकीय स्थल घुम्नेे पर्यटकको बास बस्ने ठाउँ नेपालगन्ज हो। यहाँ भिभिआइपी, भिआइपी, कूटनितीकि नियोगका अधिकारी, सरकारी उच्च अधिकारी, अन्तर्राष्ट्रिय गैससकर्मी आइरहन्छन्। जसले गर्दा स्तरीय सेवाका लागि होटलमा लगानी बढ्दो क्रममा रहेको व्यवसायी बताउँछन्।

राजधानीबाहिर पहिलो पटक नेपालगन्जमा आफ्नो शाखा विस्तार गर्न लागेको होटल सोल्टीले पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ। चारतारे स्तरको सेवा, सुविधा दिने गरी करिब ३४ कट्ठामा पूर्वाधार निर्माण भइरहेको छ। मध्य र सुदूरपश्चिम घुम्न आउने पर्यटकलाई स्तरीय सेवा दिन होटलको शाखा खोल्न लागेको सञ्चालकको भनाइ छ। करिब ४० करोडको लगानीमा ६ तले भवन, स्विमिङ पुल, गार्डेन, मिटिङ हल, रेष्टुरेन्टलगायत पूर्वाधार बनाइनेछ।

होटल कृष्णाको पूर्वाधार निर्माण यतिखेर अन्तिम चरणमा छ। स्थानीय दीपेन्द्र अग्रवालले नेपालगन्ज–३ स्थित आफ्नै १७ कट्ठामा ३५ करोड रुपैयाँ लगानीमा होटल खोल्न लागेका हुन्। उनले होटल सञ्चालनको जिम्मा भने ‘सिग्नेटइनु’ नामक कम्पनीलाई दिने भएका छन्। ‘चारतारे होटलका लागि चाहिने सबै सेवा, सुविधा तयार हुँदैछ, प्रतिष्ठित कम्पनीले व्यवस्थापन गर्ने यस होटलले मध्य र सुदुरपश्चिम आउने पर्यटकलाई सुविधा दिनेछ,’ अग्रवालले भने।

 तीनतारेे होटल स्नेहले पनि सेवा, सुविधा थपेको छ। १० करोड रुपैयाँ लगानीमा स्तरवृद्धि गरिएको होटलका अध्यक्ष असित शमशेर राणाले बताए। होटलले कोठा संख्या ८१ पुर्‍याउने तयारी गरेको उनले बताए। नेपाल उद्योग वाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणा उक्त होटलको प्रवन्ध निर्देशक हुन्।

स्थानीय व्यवसायीको लगानी रहेको अर्को स्तरीय होटल किचन हट पनि पछिल्लो समयमा नयाँ व्यवस्थापनका साथ चलिरहेको छ। संयुक्त लगानीमा सञ्चालित उक्त होटलले पनि लगानी थप्ने योजना बनाएको छ। करिब १२ करोड रुपैयाँ लागतमा ६ वर्षअघि स्थापना भएको उक्त होटलमा दोब्बर लगानी बढाउने सञ्चालकको सोच छ। सम्पूर्ण पूर्वाधार थप्ने काम २०७४ सालभित्र हुने सञ्चालक समिति सदस्य सुरेन्द्रकुमार श्रेष्ठले बताए।

विशिष्ट होटलसँगै ए, बी र सी श्रेणीका होटलले पनि सेवासुविधा र लगानी बढाएका छन्। होटल व्यवसायी संघ बाँके, नेपालगन्जका अध्यक्ष निमबहादुर थापा संक्रमणकाल विस्तारै हट्दै जादाँ होटल व्यवसायमा लगानी थपिने क्रम बढेको बताउँछन्। ‘भूकम्प र नाकाबन्दीले होटल व्यवसायमा केही हलचल पैदा भयो, अहिले पुरानै अवस्थामा फर्केको छ,’ उनले भने। पछिल्लो समयमा स्तरीय होटल संख्या बढ्दो क्रममा रहेको थापाले बताए। उनले थपे, ‘खान र बस्नका लागि यहाँका होटलले दिने सेवामा कुनै कमी छैन।’ उनका अनुसार एकै पटक २ हजार देखि २५ सय जनासम्म राख्ने क्षमताका होटल खुलिसकेका छन्। जिल्लामा हालसम्म विशिष्टसहित ए, बी र सी श्रेणीका गरी १ हजार ८ सय होटल सञ्चालनमा रहेको जानकारी उनले दिए।

 

प्रकाशित: ११ असार २०७३ ०५:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App