४ वैशाख २०८१ मंगलबार
अर्थ

वाइड बडी बेच्न एक घन्टाको लागि कम्पनी खडा

काठमाडौं – नेपाल वायुसेवा निगमलाई दुईवटा वाइड बडी जहाज बेच्न एक घन्टाको लागि बिचौलिया कम्पनी खडा गरेको पाइएको छ। जहाज खरिदमा अनियमितता भएको चर्चा चल्न थालेपछि संसद्को सार्वजनिक लेखा समिति अन्तर्गत गठित उपसमितिले गरेको छानबिनले उक्त तथ्य पत्ता लगाएको हो।

उपसमिति सदस्यका अनुसार जहाज निर्माता कम्पनीबाट सिधै कमिसन लिन नमिलेपछि बिचौलिया कम्पनी खडा गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। ‘जुन बिचौलिया कम्पनी खडा गरिएको छ, त्यसको काम एक घन्टाको लागि मात्रै देखिन्छ,’ उपसमिति संयोजक राजन केसीले भने, ‘त्यो कम्पनी सिधै कमिसन लिन नमिलेपछि कमिसनको खडा गरेको देखिन्छ।’

उनका अनुसार निगमलाई जहाज बेच्ने जिम्मा पोर्चुगलको हाइफ्लाई कम्पनीले पाएको हो। उक्त जहाज निर्माता कम्पनीबाट हाइफ्लाई हुँदै हाइफ्लाई एक्सको नाममा आएको एक घन्टापछि निगमलाई बिक्री गरेको देखिन्छ। ‘एअरबस निर्माता कम्पनीबाट जहाज उक्त बिचौलिया कम्पनीमा आएको एक घन्टाभित्र निगमलाई हस्तान्तरण भएको देखिन्छ,’ केसीले भने, ‘जहाज हस्तान्तरणसँगै त्यो कम्पनीको औचित्य समाप्त भएको छ।’ एक घन्टाको लागि मात्रै हाइफ्लाई एक्स कम्पनी खोल्नुले कमिसन लेनदेनको लागि भएको प्रस्ट हुने निक्र्योल उपसमिति सदस्यको छ।

यता निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले बिचौलिया कम्पनी कानुनसम्मत खोलिएको बताएका छन्। बिहीबार रिपोर्टर्स क्लबमा बोल्दै उनले भने, ‘बिचौलिया कम्पनी खोल्ने कुरा टेन्डरमै उल्लेख रहेछ। हामीले त्यो विषयमा कानुन व्यवसायीसँग छलफल गर्दा फरक नपर्ने देखिएपछि एजेन्ट खडा गरिएको हो।’ उनका अनुसार एजेन्ट खडा गरेर निगमलाई केही फरक परेको छैन। ठूला आयोजनामा यसरी एजेन्ट खडा गरिने अन्तर्राष्ट्रिय प्रचलन छ। कंशाकारले जहाज खरिदमा एक सुको तलमाथि नभएको बताए। ‘जहाज खरिदमा प्राविधिक पाटो नबुझेर घोटाला भनिएको हो,’ उनले भने, ‘यो  विषयमा लेखा समितिले अध्ययन गरिरहेकाले सकारात्मक नतिजा आउनेमा आशावादी छु।’

लेखा समितिले अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ। प्रतिवेदन बनाउने क्रममा रहेको उपसमितिले जहाज खरिदमा दर्जनौं ठाँउमा कमजोरी देखिएको जनाएको छ। सोही अनुसार संलग्न व्यक्तिलाई कारबाहीको सिफारिस गर्दै आउने हप्ता प्रतिवेदन बुझाउने तयारीमा उपसमिति रहेको संयोजक केसीले  बताए।

प्रकाशित: १३ पुस २०७५ ०४:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App