७ वैशाख २०८१ शुक्रबार
अर्थ

वैदेशिक प्रतिबद्धता १६ प्रतिशत घट्यो

काठमाडौं – सरकारले अर्को लगानी सम्मेलनको तयारी गरिरहेको बेला विभिन्न मुलुकबाट आउने लगानीको प्रतिबद्धतामा भने कमी आएको छ। वैदेशिक लगानी स्वीकृत गर्ने उद्योग विभागको पछिल्लो पाँच महिनाको तथ्यांकअनुसार लगानी प्रतिबद्धता १६ प्रतिशतले घटेको छ।

विभागले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०७५–०७६ को पहिलो पाँच महिना (साउनदेखि मंसिर) सम्मको तथ्यांकअनुसार मुलुकमा कुल १३ अर्ब  २१ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६ प्रतिशतले कम हो। गत वर्षको पहिलो पाँच महिनामा १५ अर्ब ७४ करोड रुपैयाँ बराबर वैदेशिक लगानी प्रतिबद्धता आएको थियो। पछिल्लो समय लगानी प्रतिबद्धतामा आइरहेको वृद्धि विपरीत यस वर्षको पहिलो आधा वर्षमा घटेको छ।

विभागको तथ्यांकअनुसार कृषि, पूर्वाधार, उत्पादनमूलक, खनिज क्षेत्रमा विदेशी लगानीकताको चासो घटेको हो। यस वर्षको पाँच महिनामा कृषि क्षेत्रमा ६ करोड ५० लाख रुपैयाँको मात्र प्रतिबद्धता आएको छ। गत वर्ष सो अवधिमा यस क्षेत्रमा एक अर्ब ८६ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता आएको थियो। यस वर्ष पूर्वाधार क्षेत्रमा २४ करोडमात्र लगानी गर्ने प्रतिबद्धता आएको छ। त्यसैगरी, उत्पादनमूलक उद्योगमा यस वर्ष ६ अर्ब ६ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता आएको छ। गत वर्ष यसै अवधिमा सो क्षेत्रमा सात अर्ब १७ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता आएको थियो।

यो वर्ष पहिलो पाँच महिनामा सबैभन्दा धेरै लगानी प्रतिबद्धता घटेको क्षेत्र खनिज हो। यस क्षेत्रमा जम्मा दुईवटा परियोजनाका लागि एक करोड ८८ लाख रुपैयाँको मात्र प्रतिबद्धता आएको छ। जबकि यस क्षेत्रमा गत वर्ष यसै अवधि दुई अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता आएको थियो।

सूचना–प्रविधि, सेवा र पर्यटन क्षेत्रमा भने लगानी प्रतिबद्धता बढेको छ। सूचना प्रविधि क्षेत्रमा १२ वटा परियोजनाको लागि ३३ करोड ५९ लाखको प्रतिबद्धता आएको छ। यस क्षेत्रमा गत वर्ष ११ परियोजनाको लागि जम्मा नौ करोड ५० लाखको प्रतिबद्धता थियो। सेवा क्षेत्रमा गत वर्षको पाँच महिनाको तुलनामा यस वर्ष एक अर्ब २० करोडबाट बढेर एक अर्ब ४४ करोड रुपैयाँको प्रतिबद्धता आएको छ। पर्यटन क्षेत्रमा पनि एक अर्ब २६ करोडबाट बढेर पाँच अर्ब चार करोडको प्रतिबद्धता यस वर्षको पहिलो पाँच महिनामा आएको विभागको तथ्यांकमा उल्लेख छ।

वर्षको सुरुका केही महिनामा लगानी प्रतिबद्धता घटेको देखिए पनि समग्रमा घटेको भन्न नमिल्ने नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी बताउँछन्। ‘सुरुका केही महिनामा लगानी प्रतिबद्धता घटेको देखिन्छ,’ उनले भने, ‘यो सिजनल भएकाले सुरुका महिनालाई लगानीको आधार मान्न सकिँदैन।’ उनले समग्रमा लगानीको वातावरण बनेको र मुलुकमा लगानी बढिरहेको बताए।

त्यसैगरी, बिहीबार अर्थ मन्त्रालयमा लगानी सम्मेलनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री युवराज खतिवडाले प्रत्येक महिनाको तुलना गर्दा लगानीको प्रतिबद्धता घटेको देखिए पनि समग्रमा बढेको बताए। उनले पनि समग्रमा लगानी बढिरहेको बताए। विभागमार्फत अर्बौं रुपैयाँको लगानी प्रतिबद्धता आए पनि वास्तवमा गरिने लगानी प्रतिबद्धताको तुलनामा निकै कम हुने गरेको तथ्यांकले देखाउँछ। प्रतिबद्धता २०–२५ प्रतिशतमात्र लगानी हुने गरेको छ।

उद्योगी, व्यवसायी भने मुलुकमा स्थायी सरकार बनेको झण्डै एक वर्ष पुग्न लाग्दा पनि लगानीको वातावरण बन्न नसकेको टिप्पणी गर्छन्। उनीहरुले अहिले पनि मुलुकमा लगानीयोग्य पुजीको अभाव हुनु, ऐन कानुनलाई समयानुकूल परिवर्तन गर्न नसक्नु, प्रशासनिक झमेला कायमै रहनु, पूर्वाधारमा कमी, जग्गा प्राप्तिमा समस्या लगायत समस्याले लगानीकर्ता रोकिएको बताइरहेका छन्।

उद्योग, व्यवसायमैत्री ऐन–कानुन बन्न नसकेको टिप्पणी प्रायः उद्योगी, व्यवसायीले गर्र्दै आएका छन्। एक उद्योग स्थापना गर्न दर्जन ठाउँ धाउनु पर्ने र ती निकायअनुसार फरकफरक नीति नियमले गर्दा उद्योगी, व्यवसायीले ढुक्क भएर लगानी गर्न नसकेको निजी क्षेत्रको भनाइ छ।

प्रकाशित: १३ पुस २०७५ ०३:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App