७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

तीन तलाकसम्बन्धी विधेयक पारित

नयाँ दिल्ली – विपक्षी दलको बहिस्कारको बाबजुत पनि ‘मुस्लिम महिलाको वैवाहिक सम्बन्ध प्रतिरक्षा विधेयक २०१८’ बिहीबार भारतको लोक सभाबाट पारित भएको छ। मुस्लिम महिलाको बैवाहिक सम्बन्ध प्रतिरक्षा विधेयक २०१८ माथिको छलफल र यसको पारितको प्रस्ताव संघीय कानुनमन्त्री रवीशंकर प्रसादले लोकसभामा राखेका थिए।

कंग्रेससहित केही विपक्षी दलले सो विधेयक ‘जोइन्ट सेलेक्सन कमिटी’मा थप अध्ययनका लागि पठाउनु पर्ने माग गरेका थिए। यद्यपि सो माग पूरा नभएपछि र विधेयकमाथि मतदान प्रक्रिया सुरु हुन लागेपछि उनीहरु बैठक छोडेर निस्केका थिए।

बिहीबार पारित भएको विधेयकअनुसार अब तीन तलाक गैरकानुनी भएको छ र यस्तो अभ्यास गर्ने पतिलाई तीन वर्ष जेल सजाय हुने छ। मुसलमान लोग्नेले तीन पटकसम्म ‘तलाक’ शब्द मौखिक रूपमै उच्चारण गरेपछि वैधानिक रूपमै पत्नी छोड्ने बाध्यतालाई प्रतिबन्ध लगाउनेसम्बन्धी विधेयकमाथि छलफल र पारित गर्नका लागि सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले गत मंगलबार लोक सभाका सदस्यलाई डिसेम्बर २७ का दिनमा उपस्थितिको लागि लिखित पत्र नै जारी गरेको थियो।

मुस्लिम महिलाको बैवाहिक सम्बन्ध प्रतिरक्षा विधयेक २०१८ माथि छलफल र यसलाई अन्तिम रुप दिएर कानुनमा परिवर्तन गर्नको लागि मतदान गरिने सो पत्रमा जनाइएको थियो। भारतीय सञ्चारमाध्यमले विधेयकमाथिको छलफल र पारित गरिएको दिन बिहीबारलाई मुसमान महिलाको ‘खास दिन’ भन्ने संज्ञा दिएका छन्।

लोग्नेले तीन पटकसम्म ‘तलाक’ शब्द मौखिक रूपमै उच्चारण गरेपछि सो कार्य वैधानिक हुने भन्दै मुस्लिम पुरुषले महिलामाथि थोपर्दै आएको एकतर्फी अन्यायलाई भारतको सर्वाेच्च अदालतले करिब डेढ वर्ष अघि नै अवैधानिक घोषणा गरिसकेको थियो।

मुस्लिम लोग्नेले आफ्नी श्रीमतीलाई छोड्न चाह्यो भने वा उसले वैधानिक रूपमै सम्बन्धविच्छेद गर्न चाह्यो भने तीन पटकसम्म मौखिक रूपमै तीन पटकसम्म तलाक शब्द उच्चारण गरे पुग्थ्यो। यी शब्दको भरमा श्रीमान–श्रीमतीबीच सम्बन्ध विछेच्द हुने प्रक्रिया मुस्लिम समुदायको प्रमुख धर्मग्रन्थ कुरानमासमेत रहेको भारतीय मुसलमान समुदायको दाबी रहँदै आएको छ।

निकै लामो समयको अध्ययन र धर्मगुरुकै गहन परामर्शबाट भारतको सर्वाेच्च अदालतले यो प्रावधान कुरान कै मूल भावना र मर्मविरुद्ध भएको भन्दै यस प्रथालाई अवैधानिक र अमान्य ठहर गरिदिएको थियो।

भारतमा मुस्लिम समुदायमा पुरुषले आफ्नी श्रीमती र वरिपरि रहेका अन्य बयस्कले सुन्ने गरी ‘तलाक’ शब्द तीन पटकसम्म दोहोर्याई उच्चारण गरेकै आधारमा श्रीमतीसँग अलग्गिएर बस्ने, सम्बन्ध नै विच्छेद नै गर्न पाउने धार्मिक मान्यता रहेको भन्ने आडमा निकै लामो समयदेखि महिलामाथि अन्याय गर्दै आएका थिए। इस्लामिक कानुन अवलम्वन गर्ने मुस्लिम राष्ट्रको रूपमा परिचित पाकिस्तान र  बंगलादेशमा समेत यस्तो तीन तलाकको प्रावधान खारेज भइसकेको भए पनि भारतमा भने कायम नै रहेको थियो।

प्रकाशित: १३ पुस २०७५ ०२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App