बम्जन आश्रमबाट पाँच बेपत्ता

बिहिबार, १२ पुष २०७५, २० : १२ अनिल भण्डारी

सिन्धुली - हेटाैंडा नगरपालिका– १३ का सञ्चलाल वाइबा करिब तीन वर्षअघिसम्म तपस्वी रामबहादुर बम्जनका आश्रममा थिए। उनी एकाएक त्यहाँबाट बेपत्ता भए। यस्तै बारा कलैयाका सुरेश आलेमगर पनि तीन वर्षअघिसम्म बम्जन आश्रममै थिए। उनी पनि बेपत्ता छन्। बेपत्ता भएपछि उनीहरूका आफन्तले विभिन्न ठाउँमा खोजी गरे। बम्जन आश्रममा सोधखोज गरे। आश्रमबाट हिँडेको भन्ने जानकारी पाए पनि पत्ता लागेन।

सिन्धुली कमलामाई–८ स्थित पहिरेमा तपस्वीका रूपमा बस्दै आएका रामबहादुर बम्जनमाथि पाँचजना बेपत्ता बनाएको आरोप लागेको छ। बम्जनको आश्रममा बस्दै आएका आनी तथा अन्य गरी चारजना परिवारको सम्पर्कमा नपुगेकाले तपस्वी बम्जनको आश्रमबाटै बेपत्ता भएको परिवारजनले आरोप लगाएका छन्। ‘लामो समयदेखि हराइरहेका छन्। आजसम्म छोरो फर्किएन’, सुरेशका बाबु हस्तबहादुर आलेले भने, ‘खोजी गरिदिन आग्रह गर्दै कलैया प्रहरीमा उजुरी गरेको छु।’ उनले तीन वर्षदेखि छोरा धर्म गर्छु भनी आश्रमबाट बेपत्ता भएको जनाए।

लिटिल बुद्धका नामले चिनिएका रामबहादुर बम्जनको आश्रमबाट फूलमाया रुम्बा, कर्म वाइबा र लमिनमाया वाइबा बेपत्ता भएको परिवारजनले जनाएका छन्। यद्यपि लमिनमायालाई भने बोधी श्रवण धर्म संघले परिवारको जिम्मा लगाएको बताएको छ। २०७१ सालसम्म तपस्वी बम्जनकै आश्रममा रहेको भनिएका फूलमाया वाइबा र कर्म वाइबा अझै बेपत्ता छन्।

चार महिनाअघि रौतहटकी गंगामाया तामाङले आफू तपस्वी बम्जनबाट बलात्कृत भएको भन्दै पत्रकार सम्मेलन गरी जानकारी गराएकी थिइन्। तर उनको भनाइलाई उनकै बाबु रणे मोक्तानले आफ्नी छोरीलाई कसैले उचालेर भ्रामक प्रचार गर्न लगाएको बताएका थिए। त्यसको केही महिनापछि बम्जन बसेका विभिन्न आश्रमबाट उनका अनुयायी बेपत्ता भएको भन्दै उजुरी पर्न थालेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उनीहरूका आफन्तले बेपत्ता भएको भन्दै खोजिदिन अनुरोधसहित निवेदन दिएपछि बम्जन आश्रमबाट बेपत्ता भएको खुलासा भएको हो। २०७१ सालसम्म आश्रममै रहेका र ०७२ सालमा खोजतलास गर्न बम्जन आश्रममा जाँदा यहाँबाट गइसकेको भन्दै आफन्तलाई फर्काएपछि आफन्त खोजतलास गर्न काठमाडाैंका विभिन्न गुम्बामा पुगेका थिए। कतैबाट पनि सम्पर्कमा आउन नसकेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुर हेटौंडामा खोजतलास गरिदिन भन्दै निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका ज्ञिप्रसाद भट्टराईले फोनमा नागरिकलाई जानकारी दिए। उनका अनुसार बेपत्ता भनिएकी फूलमाया रुम्बाका भाइ विजय रुम्बाले र सञ्चलाल वाइबाका छोरा महेन्द्र वाइबाले पाँच वर्षदेखि आफन्त हराइरहेको भन्दै उजुरी दिएका छन्।

‘०७१ सालमा बम्जन आश्रममा सम्पर्क भएको र त्यसपछि सम्पर्क हुन नसकेको भन्दै आफन्तले उजुरी दिएका छन्’, डिएसपी भट्टराईले भने, ‘हामी तपस्वी बम्जनको तपस्यास्थललगायतका क्षेत्रको जानकारी लिने प्रयास गरिरहेका छाैं।’ बम्जनका विषयमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा उजुरी नपरेको प्रहरीले जनाएको छ। ‘उजुरी नपरी छानबिन गर्न गाह्रो छ’, जिल्ला प्रहरी कार्यालयका एसपी रामेश्वरप्रसाद यादवले भने, ‘तपस्वी बम्जनका विषयमा हालसम्म कुनै उजुरी आएको छैन।’

भ्रम फैलाउन आरोप
बोधी श्रवण धर्म संघले भने बम्जनमाथि भ्रम फैलाउन व्यक्ति बेपत्ता बनाएको आरोप लगाइएको जनाएको छ। हराएका भनिएका तीन जना आनी ०७१ सालमा तपस्वी बम्जनकै आश्रममा रहे पनि उनीहरू पूर्ववत् धर्म (पहिलेदेखि मान्दै आएको बुद्ध धर्म) मै फर्किएको र आरोप निराधार भएको संघको स्पष्टोक्ति छ।

संघका केन्द्रीय सदस्य छत्र घिसिङले भने, ‘उनीहरू हाम्रो गुरु (रामबहादुर बम्जन) लाई सिध्याउने तरिकाले आएका रहेछन्। उनीहरुको गतिविधि देखेर परिवारको जिम्मा लगाउन परिवारजनमा सम्पर्क गर्ने प्रक्रिया अगाडि बढाउँदै गर्दा आश्रमबाट भागेका हुन्। आश्रमबाट भागेपछि उनीहरू पूर्ववत् धर्ममै फर्किएका छन्।’ उनले धार्मिक भ्रम फैलाउने कोसिस भएको आरोप लगाए।

उजुरीपछि खोजतलास तीव्र

अशोकसुजन श्रेष्ठ

मकवानपुर – रामबहादुर बम्जनको आश्रमबाट दुई युवती र एक पुरुष बेपत्ता भएको भन्दै प्रहरीमा उजुरी परेको छ। मकवानपुरका ३० वर्षीया फूलमाया रुम्बा र ५१ वर्षीय सञ्चलाल वाइबाका परिवारले बुधबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका हुन्।

विजय रुम्बाले दिदी फूलमाया र महेन्द्र वाइबाले बुबा सञ्चलाल वाइबा करिब पाँच वर्षदेखि बेपत्ता भएको भन्दै खोजी गरिदिन छुट्टाछुट्टै निवेदन दिएको मकवानपुर प्रहरीका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता यज्ञप्रसाद भट्टराईले बताए।

उजुरीपछि बारा, सिन्धुपाल्चोक, लम्जुङ, सर्लाहीलगायतका स्थानमा रहेको बम्जनको आश्रममा खोजतलास तीव्र पारिएको उनले बताए। नुवाकोटकी २९ वर्षीया कर्म वाइबा झन्डै ५ वर्षदेखि बेपत्ता भएको भन्दै बिहीबार नुवाकोट प्रहरीमा उजुरी दिएको दिदी गंगामायाले बताइन्।

फूलमाया बम्जनको बाराको हलखोरियास्थित आश्रममा आनी बन्न २०६८ सालमा घरबाट त्यहाँ गएको भाइ विजयले बताए। ‘पहिले घरमा आउजाउ भइरहन्थ्यो,’ उनले भने, ‘पछि बम्जनकै सर्लाही पथरकोट आश्रममा सरुवा भन्ने थाहा भयो।’ तर अचानक २०७१ मा आमाबुवालाई फोन गरी आफूलाई तुरुन्त भेट्न आउनू भनेको भाइ विजयले बताए।

‘मलाई भेट्न चाँडै आउनू, नत्र पछि भेट्न सक्दैन, यो नम्बरमा सम्पर्क पनि हुन सक्दैन’, दिदी फूलमायालाई उधृत गर्दै उनले भने। त्यति भन्दै फूलमायाले फोन काटेपछि उनका आमाबाबु तत्काल भेट्न जान सकेनन्। त्यसपछि फूलमाया र परिवारबीच सम्पर्क टुट्यो। २०७२ साउनमा सर्लाही पथरकोट आश्रममा आमाबाबु भेट्न जाँदा ‘माघमै निस्केर गएको’ भन्ने जबाफ आएको विजयको भनाइ छ।

फूलमायासँगै आश्रममा गएकी नुवाकोटको मेघाङ गाउँपालिका–३ देउराली गोगनेकी कर्म वाइबा पनि करिब ५ वर्षदेखि बेपत्ता भएको दिदी गंगामायाले बताइन्। बम्जनको आश्रम गएकी कर्म करिब डेढ वर्षपछि २०६९ असोजमा घर आएको गंगामाया बताउँछिन्। ‘बम्जनको ड्राइभरको मोबाइलबाट कर्मले कान्छी बहिनीलाई एकपटक फोन गरेकी थिइन्,’ उनले भनिन्, ‘त्यसपछि उनीसँग सम्पर्क हुन सकेन।’

हेटौंडा उपमहानगरपालिका १३– पदमपोखरी, वनस्पतिका सञ्चलाल वाइबा रामबहादुर बम्जनको आश्रमबाटै बेपत्ता भएका छन्। २०७२ चैतपछि बुबा सम्पर्कविहीन भएको छोरा महेन्द्र वाइबाले बताए। ‘भोलि, पर्सि नै फर्किन्छु छोरा भन्नुभएको थियो,’ महेन्द्रले भने, ‘त्यसपछि फोन नलागेपछि चैत्र २८ गते सिन्धुपाल्चोकस्थित बम्जनको आश्रम पुग्दा हिजै बेलुका त्यहाँबाट हिँडेको बताएका थिए।’ बम्जनको तपस्यास्थल पुगेर खोजतलास र त्यसपछि प्रतीक्षा गर्दै सबैतिर खोज्दा फेला पार्न नसकेपछि प्रहरीमा उजुरी दिएको उनले बताए।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad