coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

थुनामुक्त भएपछि मनाङेले दिए सपथग्रहणका लागि निवेदन

पोखरा - सर्वोच्चको आदेशमा अघिल्लो सातामात्रै थुनामुक्त भएका गुण्डानाईके राजीव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेशसभामा सपथग्रहणको लागि निवेदन दिएका छन्। मनाङेले विहिबार एक अर्का व्यक्ति मार्फत प्रदेशसभामा लिखित निवेदन दर्ता गराएका हुन्।

प्रदेशसभा सचिवालयका उपसचिव नारायणप्रसाद अधिकारीका अनुसार सपथग्रहण गरिपाउँ भन्ने विषयको निवेदन प्रदेशसभा सचिवालयमा दर्ता भएको छ। निवेदन दर्ता भएतापनि बाँकी प्रक्रिया भने कानुन अनुसार नै हुने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए। ‘उनी थुनामुक्त मात्र भएका हुन्, सपथग्रहण गर्न पाउँछन कि पाउँदैनन् भन्ने विषय कानुन अनुसार नै हुन्छ’ उनले बताए।

गतवर्ष मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनमा उनले स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए। उनले निर्वाचन जितेतापनि हालसम्म प्रदेशसभा सदस्यको हैसियतमा सपथ भने लिएका छैनन्। निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले अघिल्लो हप्ता नागरिकसँग टेलिफोन सम्वादमा कुराकानी गर्दै मुद्दा फैसला नभएसम्म सपथ लिन नमिल्ने बताएका थिए। ‘थुनामुक्त हुनु भनेको मुद्दा फैसला हुनु होईन्,’ उनले भने, ‘अदालतले मुद्दा टुंग्याएको हकमा भने उनले सपथ लिन पाउँथे।’

गण्डकी प्रदेशको प्रदेशसभा नियमावली अनुसार बिना जानकारी लगातार १० बैठकमा उपस्थित नहुने प्रदेशसभा सदस्यको पद खारेज हुने व्यवस्था छ। तर, प्रदेशसभामा सपथ नलिएका कारण मनाङेको पद भने गएको छैन्। ‘अदालतले धरौटी र तारेखमा रिहा गरेपछि जेलमा बस्नु पर्दैन, घर जान पाउँछन, तर यो भनेको मुद्दा फैसला होईन,’ उनले भने। आधिकारिक रुपमा केही नआएको हुँदा निर्णय लिन नसकिने उनले बताए। सपथ ग्रहण नलिएका कारण मनाङ ‘ख’ मा चुनाव जित्ने उम्मेदवारको मान्यता नै नभएको उनको भनाई छ।

तत्कालीन एमालेबाट चुनाव लड्न खोजेतापनि एमालेले उनको छविका कारण टिकट दिएन। टिकट नदिएतापनि एमालेकै सहयोगमा उनले चुनाव जिते र प्रदेशसभा सदस्य बन्न पुगेका थिए। डनको छवि बनाएका मनाङे प्रदेशसभा छिर्नुअगावै गत वैशाखमा ज्यान मार्ने उद्योग अन्तर्गत कारागार चलान भए। मनाङे कारागार चलानसँगै रिक्त बनेको मनाङ ‘ख’ हालसम्म पनि रित्तै छ। त्यहाँ उपनिर्वाचनको सम्बन्धमा कुनै सरसल्लाह भएको छैन्। निर्वाचन आयोगले संघीय सरकारले सक्रियता देखाएपछि मात्र आयोगले निर्वाचन गराउने प्रतिक्रिया दिएको छ।

प्रकाशित: १२ पुस २०७५ ११:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App