coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

मनाङलाई आठौं पटक उपाधि

काठमाडाैं - मनाङ मर्स्याङ्दी क्लबले बिहीबार राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग उपाधि हात पारेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको दिनको दोस्रो खेलमा लिगको दोस्रो स्थानमा रहेको संकटमाथि ३–१ को जित निकालेसँगै मनाङले दुई खेलअगावै उपाधि हात पारेको हो।

अपराजित यात्रालाई ११औं खेलसम्म निरन्तरता दिँदै मनाङ उपाधि जित्न सफल भएको हो। यससँगै मनाङले सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि सर्वाधिक आठौंपल्ट आफ्नो बनाएकोे छ।

यसअघि मनाङले २०४३ सालमा पहिलो पटक उपाधि उचालेको थियो। दोस्रो पटक २०४४ सालमा उपाधि जितको मनाङले २०४६ सालमा तेस्रो, ५७ मा चौथो, २०६० मा पाँचौं, २०६२ मा छैटौं, २०७० मा सातौं पटक उपाधि उचालेको थियो। यस्तै रानीपोखरी कर्नर टिम (आरसिटी)ले छ पटक उपाधि जित्दा न्युरोड टिम (एनआरटी) र थ्री स्टारले समान चार–चार पटक उपाधि जितेका छन्। जारी लिगमा आरसिटीको सहभागिता छैन भने एनआरटी र थ्री स्टारले सहभागिता जनाएका छन्।

लिगको मर्मविपरीत रेलिगेसन नहुने प्रावधान राख्दै आयोजना गरेको प्रतियोगितामा मनाङले सबै खेलमा स्पष्ट जित निकाल्दै उपाधि पक्का गरेको हो। लिगको आयोजक एन्फाले विभिन्न कारण देखाउँदै  पाँच वर्षपछि मात्र आयोजना गरेको ४२औं संस्करणको लिगमा बाजी मार्न बिहीबार मनाङले पहिलो हाफको इन्जुरी समयमा अग्रता लिएको थियो। रोशन पहारीबाट आत्मघाती गोल भएपछि मनाङले पहिलो हाफमा अग्रता लिने मौका पायो।

‘रंगशालामा खेल्दाजस्तो रमाइलो एन्फाको मैदानमा खेल्दा भएन। निश्चित फ्यान र समर्थकले मजा नआएको प्रतिक्रिया दिएका छन्, त्यसैले रंगशाला छिटोभन्दा छिटो निर्माण भइदिए हामी खेलाडी खुसी हुने थियौं।’

निकै प्रतिस्पर्धात्मक पहिलो हाफमा दुवै टोलीले सन्तुलित प्रदर्शन गरेका थिए। सातौं मिनेटमा मनाङका रक्षक र गोलकिपरबीच राम्रो तालमेल नबन्दा संकटाका सेड्रिक अबाले अग्रता लिने सुन्दर मौका खेर फालेका थिए। किपर र रक्षक बिट भइसकेको उक्त बललाई अबाले चिप गर्दै प्रहार गरे पनि गोलकिपर विशाल श्रेष्ठले फर्किएर नियन्त्रण गर्दै संकट टारेका थिए। लगत्तै काउन्टर गर्ने क्रममा मनाङका खेलाडीलाई संकटाका रक्षकले पेनाल्टी बक्सअगाडि फाउल गर्दा मनाङले फ्रिकिकको अवसर पाएको थियो। कमल श्रेष्ठले प्रहार गरेको उक्त फ्रिकिक क्रस बारमा लागेर फर्किंदा मनाङ निराश बनेको थियो।

१५औं मिनेटमा ३० यार्ड टाढाबाट हेमन गुरुङले हानेको सशक्त प्रहार क्रसबारमा लागेर बाहिरिँदा मनाङ फेरि निराश भएको थियो। निरन्तर अग्रता लिने प्रयासमा रहेको मनाङको अर्को अवसर ३४ मिनेटमा खेर गएको थियो। पेनाल्टी बक्सको बायाँबाट कमल श्रेष्ठले गरेको प्रहार अनमार्क अफिज ओलावालेले फितलो हेड गर्दा पोलनजिकैबाट बाहिरिएको थियो।

पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा रक्षक अमित तामाङले पेनाल्टी बक्सभित्रको बललाई क्लियर गर्दै संकट टारे पनि सोही बलमा पाएको कर्नर अवसर संकटाका लागि मूल्यवान् बन्यो। जसमा मनाङले उपहार गोलबाट अग्रता लिने अवसर पायो।

पहिलो हाफको अग्रतापछि उच्च मनोलबका साथ मैदान उत्रिएको मनाङले दोस्रो हाफमा थप दुई गोल गर्यो। ८० मिनेटसम्म संघर्ष गर्दै खेलमा फर्किने प्रयास गरेको संकटाले अन्तिम दश मिनेटमा थप दुई गोल खान पुगेको थियो। सुजल श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका पुजन उपरकोटीले मैदान छिरेको एक मिनेटभित्रै गोल गर्दैै मनाङलाई २–० को अवस्थामा पुर्याए। त्यसपछि संकटा काउन्टरमा उत्रिएको मौकामा एडिलाजा रोमेदीले ८७औं मिनेटमा टोलीका लागि तेस्रो गोल गर्दै अग्रता फराकिलो पारे।

खेल सकिन एक मिनेट बाँकी रहँदा संकटाका लागि सेड्रिक अबाले सान्त्वना गोल फर्काए। उपाधि होडलाई जीवन्त राख्न जित्नैपर्ने दबाबका साथ मैदान उत्रिएको संकटाले बाँकी र थपिएको पाँच मिनेटमा गोल फर्काउन सकेन। मनाङ उपाधिको हकदार बन्यो। ११औं खेलसम्मको यात्रामा स्पष्ट जित निकाल्दै ३३ अंक बनाएको मनाङले उपाधिसँगै ५० लाख रुपैयाँ पनि हात पारेको छ।

सबै पदाधिकारी र खेलाडीको मिहिनेतका कारण उपाधि जित्न सफल भएको मनाङ मर्स्याङ्दीका प्रशिक्षक सुमन श्रेष्ठले बताए।

‘लिगको सुरुआत हामीले राम्रोसँग गर्न सकेका थिएनौं। सबैलाई नौलो थियो अनि तालिका पनि निश्चय भइसकेको थिएन। तयारी राम्रो भएको थिएन। सिक्किममा भएको गभर्नर्स गोल्डकपको उपाधि हौसलाले हामीलाई लिगमा राम्रो गर्न सक्छाैं भन्ने आत्मबल बढ्यो। सिक्किमको अनुभवले हामीलाई विपक्षी टोलीसँग कस्तो रणनीति बुन्नुपर्छ भन्ने सिकायो,’ प्रशिक्षक श्रेष्ठले भने, ‘जुन उद्देश्य राखेर लिगमा सहभागी भएका थियौं त्यो रणनीति सफल भएको छ।’

‘पहिलो हाफमा निकै दबाब भयो। फिनिसिङ गर्न नसकेका कारण दबाबमा परेका थियौं। केही प्रहार पोलमा लागे, केहीमा फिनिसिङ गर्न सकेनाैं तर अग्रता लिएपछि भने दबाब कम भएको महसुस भयो,’ प्रशिक्षक श्रेष्ठले थपे, ‘जित्छौं भन्ने मनोबल थियो हामीमा, सोही अनुसार खेल्यौं। हाम्रो लक्ष्य भनेको नयाँ रेकर्ड कायम राख्ने हो। आउने खेलमा समेत जित निकाल्दै रेकर्ड बनाउने उद्देश्यमा छौं।’

उता विजयी टोलीका कप्तान विराज महर्जनले रेलिगेसनबिनाको लिग उपाधि खल्लो भएको बताए। ‘रेलिगेसन नहुने लिग भएकाले सबै क्लबले गम्भीर रूपमा नलिने हुन् कि भन्ने डर थियो, जुन यो लिगको नकारात्मक पाटो रह्यो। शीर्षमा रहने टोली मनाङसँगै थ्री स्टार, विभागीय टोली सबैले राम्रो खेले र लिग रोमाञ्चक बन्यो,’ कप्तान विराजले भने, ‘रंगशालामा खेल्दाजस्तो रमाइलो एन्फाको मैदानमा खेल्दा भएन। निश्चित फ्यान र समर्थकले मजा नआएको प्रतिक्रिया दिएका छन्, त्यसैले रंगशाला छिटोभन्दा छिटो निर्माण भइदिए हामी खेलाडी खुसी हुने थियौं। हाम्रो इच्छा पनि यही हो। उपाधि जिते पनि रंगशालाको भन्दा खल्लो महसुस भयो। समर्थकको अभाव खड्कियो।’

पराजित टोलीका प्रशिक्षक सल्यान खड्गीले उपाधि जितेको टोलीलाई बधाई दिए। जितसँगै मनाङले तालिकामा ३३ अंक बनाएको छ। दोस्रो स्थानको संकटा शीर्ष स्थानको मनाङभन्दा ८ अंकले पछाडि छ। लिगमा अब दुई खेल बाँकी रहँदा दोस्रो स्थानको संकटाले स्पष्ट जित हात पारे पनि उसका लागि उपाधि जित्न पर्याप्त हुनेछैन।

लिगमा शुक्रबार दुई खेल हुनेछन्। एन्फा मुख्यालयमा हुने पहिलो खेलमा सरस्वतीले विभागीय टोली त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा अर्को विभागीय टोली नेपाल पुलिसले थ्री स्टारको सामना गर्नेछ।
क्लब                     लिग उपाधि        वर्ष
मनाङ मर्स्याङ्दी              ८              २०४३,२०४४,२०४६,२०५७,२०६०,२०६२,२०७०, २०७५
आरसिटी                       ६              २०२८,२०२९,२०३०,२०३६,२०३८,२०४१
थ्री स्टार                        ४              २०५४, २०५५, २०६१, २०६९
एनआरटी                      ४              २०१७, २०१९, २०३५, २०५२
नेपाल पुलिस                  ३              २०६३, २०६७, २०६८
संकटा                          ३              २०३७, २०४०, २०४२
महाविर                        ३              २०११, २०२३, २०२६

प्रकाशित: १२ पुस २०७५ १०:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App