८ वैशाख २०८१ शनिबार
अर्थ

इनर्जी बैकिङमा नेपाल र भारतबीच सहमति

काठमाडौं– नेपालले वर्षायाममा उत्पादन गरेको बिजुली भारत निर्यात गर्ने र हिउँदमा भारतबाट आयात गर्ने गरी नेपाल–भारत इनर्जी बैकिङमा  सहमति भएको छ। भारतको राजधानी नयाँ दिल्लीमा बुधबार सम्पन्न विद्युत् आदानप्रदान समिति(पीईसी)को १३ औं बैठकले यस्तो निर्णय गरेको हो। 

नेपालले लामो समयदेखि वर्षायाममा उत्पादित बिजुली भारत निर्यात गर्ने र हिउँदमा उताबाट लिने गरी भारतसँग इनर्जी बैकिङ गर्ने प्रस्ताव अगाडि बढाएको थियो।

बैठकमा नेपाल पक्षको नेतृत्व गरेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई मुलुकका विद्युत् टे«ेडरमार्फत इनर्जी बैकिङ गर्ने सहमति भएको जानकारी दिए। पीईसीको बैठकले इनर्जी बैकिङको विधि र प्रारुप समेटिएको निर्देशिकाको मस्यौदामा सहमति जुटाई अन्तिमरुप दिएको हो । घिसिङले भने, ‘इनर्जी बैकिङमा नेपाललाई ठूलो सफलता हासिल भएको छ, यो नेपालको ऊर्जा क्षेत्रको ठूलो कोसेढुंगा  हो।’

निर्देशिका आगामी जनवरीमा बस्ने दुई मुलुकबीचको सहसचिवस्तरीय ‘ज्वाइन्ट वर्किङ ग्रुप’ र सचिवस्तरीय ‘ज्वाइन्ट स्टेरिङ कमिटी’को बैठकले अनुमोदन गर्ने छ। यस अघि ‘ज्वाइन्ट स्टेरिङ कमिटी’ले इनर्जी बैकिङको विधि र प्रारुप तयार गर्न दुई मुलुकबीचको प्राविधिक कमिटीलाई निर्देशन दिएको थियो।  
पिइसी बैठकले नयाँ बुटवल–गोरखपुर ४०० केभी दोस्रो क्रस बोर्डर प्रसारण लाइन निर्माण अगाडि बढाउने पनि निर्णय गरेको छ । बैठकमा सहभागी प्राधिकरणका प्रवक्ता एवं विद्युत व्यापार विभाग प्रमुख प्रबल अधिकारीले नेपालले सुरुका ५÷७ वर्ष इनर्जी बुक गर्ने प्रस्ताव गरेको र त्यसमा भारत सकारात्मक रहेको बताए।

दुई मुलुकबीच विद्युत आदनप्रदान गर्न निर्माण गरिएको पहिलो ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनलाई लगानी योग्य बनाउन नेपालले २५वर्षसम्म इनर्जी बुक गरेको छ । तर, नेपालले दोस्रो क्रस बोर्डर प्रसारण लाइनमा ५÷७ वर्षमात्रै बुकिङ गर्ने भएको हो। 

‘आयोजना निर्माण तथा सञ्चालनका लागि भारततर्फ स्थापना हुने कम्पनीमा नेपाललाई ५० प्रतिशतसम्म सेयर लगानी गर्न दिन भारतीय पक्ष सकारात्मक देखिएको छ’,प्रवक्ता अधिकारीले भने।  पहिलो क्रस बोर्डर प्रसारण लाइन निर्माण तथा सञ्चालनका लागि भारतर्फ निर्माण भएको कम्पनीमा प्राधिकरणको १० प्रतिशत मात्रै सेयर छ।  

बैठकमा प्राधिकरणले उत्तर बिहार विद्युत् वितरण कम्पनीमार्फत आयात गरिरहेको विद्युत्को खरिद दरका विषयमा पनि छलफल भएको थियो। प्राधिकरणले पीईसीले तय गरेको मूल्यका आधारमा प्राधिकरणले बिहार, उत्तरप्रदेश र उत्तराखण्डबाट आवश्यक परेको वेला मात्रै ‘लेउ र तिरका आधारमा विद्युत आयात गरिरहेको छ । 
भारतले केही दिनअघि मात्रै छिमेकी मुलुकसँगको विद्युत् आयातनिर्यातका लागि निर्देशिका जारी गरेकाले त्यसको अन्तरवस्तुमाथि छलफल गरेर मात्रै खरिद दरकाबारेमा आवश्यक निर्णय गर्ने सहमति भएको प्रवक्ता अधिकारीले बताए।

११ औं पिइसीको निर्णयअनुसार प्राधिकरणले अहिले ३३ र १३२ केभी प्रसारण लाइनमार्फत प्रतियुनिट ६ र ५.५५ भारुमा विद्युत खरिद गरिरहेको छ । बढी विद्युत् माग हुने पिक आवर र अफ्ट्यारो परेको वेला मात्रै बिहारबाट पिइसीले तय गरेको दरमा भारतबाट विद्युत् आयात गरिएको प्राधिकरणले जनाएको छ ।  

 

प्रकाशित: १२ पुस २०७५ ०७:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App