६ वैशाख २०८१ बिहीबार
शिक्षा

त्रिविको दाम, निजी कलेजमा काम

फाइल तस्बिर

काठमाडौँ - नेपालकाे पहिलो र ठूूलो त्रिभुवन विश्वविद्यालयको गिर्दाे शैक्षिक स्तरमाथि प्रश्न उठिरहेका छन्। अर्कोतिर यति नै बेला त्रिविमै अध्यापन गराउने शिक्षकहरूले सञ्चालन गरिरहेका निजी कलेज भने दिन दुगुना रात चौगुना हिसाबले ‘फस्टाइरहेका’ छन्।

उही शिक्षकले पढाउने विश्वविद्यालय शैक्षिकरूपमा धराशायी बन्दै जाने तर उनीहरूले नै सञ्चालन गरिरहेका आफ्नै कलेज भने आर्थिक र शैक्षिक दुवैरूपमा अब्बल हुँदै जानुको रहस्य के हो त ? कारण प्रष्ट छ– ती शिक्षक तलब त्रिविको खान्छन् तर काम र सम्पूर्ण ध्यान अनि समय भने आफ्नो लगानीमा खुलेका कलेजलाई दिन्छन्।  नागरिकले गरेको अनुसन्धानमा त्रिविका शिक्षक मात्र होइन कार्यकारि परिषदका पदाधिकारी समेत निजि कलेजका सल्लाहाकार बोर्डमा रहेको भेटिएको छ। निजी कलेजको मतियार बनी विश्वविद्यालयलाई  खोक्रो बनाउनमा पदाधिकारीदेखि शिक्षकसमेत लागेको पाइएको छ।

त्रिविका मुख्य आंगिक कलेजको रुपमा स्थापित त्रिचन्द्र कलेजका विज्ञान संकायका अधिकांस प्रध्यापकहरुको आफनो कलेज संचालनमा छन्। भने विश्वविद्यालयका कार्यकारि परिषदका पदाधिकारीहरुको नाम सल्हाकार बोर्डमा रहेको छ। काठमाडौंको चावहिलमा रहेको रिलायन्स इन्टरनेसनल एकेडमीको सल्लाहाकार बोर्ड सदस्यमा त्रिभुवन विश्वविद्यालयको शिक्षाअध्यक्ष सुधा त्रिपाठी रहेकि छिन्।

कलेजको वेवसाइटमा रिया टिमको एडभाइजरी बोर्डको सूचिमा छैठौं नम्बरमा त्रिभुवन विश्वविद्यालयकी शिक्षाअध्यक्ष सुधा त्रिपाठी सेन्ट्रल डिपार्टमेन्ट (टियु) भनी उल्लेख गरिएको छ। सोहि कलेजले त्रिचन्द्र कलेजका रसायन शास्त्र विषयका शिक्षक राजेन्द्र गौतमको नाम भने रसायन शास्त्रको फेकल्टी मेम्बरको रुपमा राखेको छ। तर उनी रिलायन्स कलेजका फाउन्डरमध्ये एक हुन्।

त्रिचन्द्र कलेजकै प्राडा कविराज वान्तवा ललितपुरमा रहेको युनाइटेड एकेडमीका फाउन्डर हुन्। त्रिचन्द्र कलेजका फिजिक्स विषयका प्रध्यापक वान्तवाको नाम भने  स्कुलको वेवसाइटमा  संचालक बोर्डमा सल्लाकारको रुपमा राखिएको छ।  भने त्रिचन्द्र कलेजकै स्टेटिक्स विषयका शिक्षक  महेशराज ओझा युनाइटेड स्कुलमै कोडिनेटरको रुपमा कार्यत छन्। तर एकेडेमीको वेवसाइटमा उनको पनि नाम सल्लाकारको रुपमा राखिएको छ। यसैगरि त्रिचन्द्र कलेजकै अर्का भौतिक शास्त्रका प्रध्यापक लक्ष्यबहादुर केसीको पनि आफनो निजी स्कुल संचालनमा छ। मैतिदेबीमा रहेको सृजनसिल आवासिय विद्यालय(एसएबी)का अध्यक्ष केसी  त्रिचन्द्रमा भौतिक विषय पढाउँछन्।  त्रिचन्द्र कलेजकै नेपाली शिक्षक रामेश्वर अर्याल काठमाडौं मेडेल कलेजको संचलक हुन्।

अमृत साइन्स कलेजका प्रध्यापक डा. एसपी सिंहले समेत तिनकुनेमा आफनो पेन्टागन निजी कलेज संचालक गरिरहेका छन्। अमृत साइन्स कलेजमा रसायन शास्त्र  विषयका शिक्षक डा. सिंह पेन्टागन कलेजका अध्यक्षनै हुन्। भने  अमृत साइन्स कलेजकै अर्की शिक्षक शीला सिंह पनि पेन्टागन कलेजमा संचालक बोर्डमा छिन्। शिक्षक शिला अमृत साइन्स कलेजमा बोटनी विषयकी शिक्षक हुन्। अमृत साइन्स कलेजका प्रमुख राजेश महाजुले विगतमा पनि कलेजका बोटनी विषय शिक्षक सुरेन्द्र सिटौलाले सुकेधाराम रहेको बागमति बोर्डिङ संचालमा ल्याएपछि विवाद आएको र सोहि विवादका कारण उनले राजिनामा दिए पनि डा. एसपि सिंह र शिक्षक शिला सिंहले हालसम्म राजीनामा नदिएको स्पष्ट पारे।  उनले आफु कलेजमा प्रमुखको जिम्मेवारी सम्हाले लगत्तै निजी कलेजमा संचालक बोर्डमा रहेका शिक्षकहरुलाई बारम्बार नसिहत दिंदा समेत कलेज प्रमुखलाई नटेरेको उनको गुनासो छ।

त्रिवि शिक्षक कर्मचारी सेवा  सम्बन्धि नियम २०५०को चारण सम्बन्धि ब्यवस्थामा त्रिविमा कार्यरत शिक्षक कर्मचारिले कुनै पनि शैक्षिक प्रतिष्ठान खोल्न नपाइने ब्यवस्थाको विश्वविद्यालयकै शिक्षकहरुले उल्घन गरेकोमा कलेज प्रमुख महाजुले दुःख ब्यक्त गरे।

‘एसपी सर र शिला म्यामलाई मैले कलेज प्रमुखको हैसियतले बारम्बर कित अमृत साइन्स कलेजबाट राजिनामा दिनु कित पेन्टागनको अध्यक्ष पद छाड्नुस। तर वाहाहरु दुबै जनाले कलेजबाट राजिनाम दिनु भएको छैन,’प्रमुख महाजुले नागरिकसँग त्रिविको वेथिति सुनाए‘त्रिवि अनुगमन निर्देशनालयलाई समेत अनुगमन गरि आंगिक कलेजको सुधारको विषय राख्दा वेवास्ता हुदै आएको छ।’उनले थपे‘विश्वविद्यालय राजनिति बलबुतामै संचालन हुदै आएकोले त्रिविका शिक्षकहरुको निजी कलेजहरु फस्टाउँदै छन्।’उनले आक्रोस पोखे‘विश्वविद्यालयको तलब खानेहरुले आफनो निजी कलेजमा ध्यान दिन्छन् अनि आंगिक कलेजहरुलाई वेवास्ता गर्छन्।’ उनले परिवर्तित नयाँ कोर्षमा विद्यार्थीलाई पुर्ण समय त्रिविको कलेजहरुमा विद्यार्थीलाई दिनुकोसाटो शिक्षकहरु विश्वविद्यालय सुकाउँदै आफनो निजी कलेज अब्बल बनाउँदै लगेको गुनासो गरे।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थानकी पुर्व सहयाक डिन तिमिला यमी थापाले आफु सहायक डिन हुदानै विश्वविद्यालयको प्रमुख पदमा रहेका पदाधिकारीहरुनै निजी कलेज खोल्दै गएकोेले विश्वविद्यालयको हरेक क्षेत्रमा विकृति मौलाएको आवाज बारम्बार उठाउँदा समेत विश्वविद्यालयको पदाधिकारीहरुले वेवास्ता गरेको भन्दै गुनासो गरिन्।‘म सहायक डिन हुँदा तत्कालिन डिन भरत पहारी सरनै  सातोबाटोमा रहेको नेशनल कलेज अफ इन्जिनियरिङ्गको अध्यक्ष हुनु हुन्थ्यो। त्यतिखेर परिक्षाको समयमा प्रश्न्नपत्र समेत चुहिएको थियो। उनीमाथि अख्तियारले छानविन गरि कारवाही पनि भयो। तर उनी हालसम्म पनि कलेजमै कार्यरत छन्,’ थापाले भनिन्‘अझै पनि विश्वविद्यालयको कार्यकारि पद सम्हालेका ब्यक्ति निजी कलेजहरुमा आबद्ध भएपछि विश्वविद्यालय खोक्रो हुन्छ। यसमा दुइमत छैन।’ उनले थपिन् ‘मैले आफनो तर्फबाट पटकपटक यस विषयलाई उठाउँदा दोषीलाई कारवाहीको साटो राजनितिले थिच्यो। कारावही भएन। कहिले हुदैन पनि। किन भने हाम्रो विश्वविद्यालयलाई दलले चलाइरहेको छ।’

विश्वविद्यालयका शिक्षकहरुले त्रिविको नाम, पदक र लोगो बेचेर आफनो निजी कलेज खोलेर विश्वविद्यालयलाई सिध्याउँदै गएकोमा उनले आक्रोस पोखिन्। निजी विद्यालयहरुको छाता संगठन निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल(प्याबसन)का पुर्व अध्यक्ष केसीलाई त्रिभुवन विश्वविद्यालयले  विश्वविद्यालयको नियम विपरित शैक्षिक संस्था संचालन गरेको र प्याबसनको अध्यक्ष पद सम्हालेको भन्दै छानविन गरि कारवाही समेत अघि बढएको छ।

विश्वविद्यालयका अनुगमन महाशाखाका पुर्व प्रमुख विष्णु मादेनको संयोजकत्वमा गठित छानविन समीतिले त्रिभुवन विश्वविद्यालयका प्रध्यापकहरुको निजी कलेज संचालन भएको र विभिन्न संगठन  तथा संस्थाहरुमा अध्यक्षलगाएतका प्रमुख पदमा जिम्मेवारी सम्हाल्ने गरेको  विषयमा उजुरी परेको आधारमा छानविन गरेको थियो।
पुर्व प्रमुख मादेनका अनुसार समीतिले गहन रुपमा छानविन गरी कारावहीकोलागि कार्यकारि परिषदलाई सिफारिस समेत गरेको थियो र जसमा गोल्डेनगेटका कलेजका अध्यक्ष रमेशकुमार सिलवाल र एसएबी स्कुलका संचालक लक्ष्यबहादुर केसीलाई कारवाहीको सिफारिस गरिएको थियो। मादेनका अनुसार गोल्डेनगेटका संचालक अध्यक्ष सिलवाल त्रिचन्द्र कलेजमा रसायन शास्त्रका प्रध्यापक हुन्। ‘एकातिर विश्वविद्यालयको शिक्षक भएर तलब खाने अनि अर्को तर्फ त्यही विश्वविद्यालयको शैक्षिक गतिविधिमाथिनै नकरात्मक असर पर्ने गरि निजी कलेज खोलेर सम्पुर्ण ध्यान निजीमा दिएपछि विश्वविद्यालयको  शैक्षिक स्तर धारासाही बन्दै गएको अनुगनको क्रमममा हामीले पाएका हौं ,’पुर्व अनुगमन प्रमुख मादेनले नागरिकसँग भने‘हामीले कार्यकारी परिषदलाई दिएको कारवाहीको सिफारिसमा थुप्रै त्रिविका प्रध्यापकहरुको आफनो निजी कलेज संचालन भएको प्रष्ट थियो। ’ उनले थपे‘तर विश्वविद्यालयलाई राजनितिले थिचेको कारण दोषी शिक्षकहरुलाई कारावही गर्ने आट त्रिवि पदाधिकारीले गर्न सकेको छैन। विश्वविद्यालयको शैक्षिक अवस्था धारासाही बनाउने शिक्षकहरुलाई कारावही नभएपछि मैले दिक्क लागेर छाडे।’

यति मात्र होइन  विश्वविद्यालयका विज्ञान, इन्जिनियरिङ्ग, गणित,अंग्रेजीलगाएतका ५० प्रतिशत भन्दा बढी शिक्षकहरु निजी कलेज संचालन गरिरहेको समेत सोहि समीतिका अर्का सदस्य डा. अरुण शर्माको ठहर छ। ‘छानविनका क्रमममा हामीले फिल्डमा जेजस्तो समस्या छ त्यही  लेखेर कारावहीकोलागि त्यस्ता शिक्षकहरुलाई पदबाटै बर्खास्त गर्न समेत सिफारिस गरेका छौं,’अस्कल कलेजका सहप्रध्यापक समेत रहेको शर्माले भने‘लक्ष्यबहादुर केसीलाईको सवालमा समेत हामीले त्रिचन्द्र कलेजका शिक्षकबाट बर्खास्तीसम्मको कारावही सिफारिस गरेका छौं।’उनले थपे‘तर त्रिवि कार्यकारिमा कारवाही कहा पुग्यो हामीलाई पनि थाह भएको छैन।’त्रिविको शिक्षक कर्मचारि सम्बन्धी नियम २०५०को आचरण सम्बन्धी नियममा ब्यवस्था भए अनुसार  त्रिविका शिक्षकले कुनै पनि शैक्षिक संस्था वा शैक्षिक प्रतिष्ठान खोल्न नपाइदैन। ‘तर हामी कहाँ  दुर्भाग्य हो कि अनुगमन र छानविन गरि दिएको प्रतिवेदन कार्यन्वयन हुदैन ,’उनले औल्याए‘विश्वविद्यालको कारावाही फितलो भएकैले शिक्षकहरुलेनै नियम उल्घन गरिरहेका छन्। यसले विश्वविद्यालयको शैक्षिक अवस्था खस्किरहेको छ। उही शिक्षकको निजी कलेजरु दिनदिनै उन्नती भइरहेको छ।’

त्रिविका अनुगमन महाशाखा निर्देशनालयका प्रमुख विष्णु खनालका अनुसार त्रिवि शिक्षक-कर्मचारी सेवा सम्बन्धी नियम २०५० ले  विश्वविद्यालयमा कार्यरत पुर्णकालिन शिक्षक र कर्मचारीहरुलाई सम्बन्धन प्राप्त शैक्षिक संस्थामा संचालक वा पदाधिकारीको रुपमा काम गर्ने ब्यवस्थाकोलागि बन्देज लगाएको छ। तर पनि विशेष गरि शिक्षकहरुले यसको उल्घंन गर्दै निजी कलेजको संचालक रहेको गुनासाहरु आउने गरेको उनको भनाई छ। ‘उजुरी आएकाहरुको हकमा गोल्डेनगेट कलेजका संचालक अध्यक्ष रमेश सिलवाललाई पदबाट बर्खास्तीकोलागि कारावही अघि बढाउने क्रममै वाहाले राजीनामा दिनु भयो,’निर्देशक खनालले भने‘त्यसैगरि लक्ष्य बहादुर केसिको कारावही अघि बढेको छ।’उनले थपे‘शिक्षकहरुलेनै विश्वविद्यालयको नियम उल्घन गरेको देख्दा दुःख  लाग्छ।’

गोल्डेनगेट कलेजका अध्यक्ष एवं उच्च शिक्षा तथा विद्यालय संचालक संघ (हिसानका ) अध्यक्ष रमेश सिलवालले त्रिविका शिक्षकहरुमा उनी मात्र एक निजी कलेज संचालक नभएको बताउँदै उनले विश्वविद्यालयका उपत्यकामा स्थापित मुख्य आंगिक कलेजहरु   त्रिचन्द्र, अमृत साइन्स कलेज, शंकरदेव, पिके, सरस्वती, मिनभवनलगाएतका ५० प्रीतशत भन्दा बढी शिक्षकहरुनै आफैले निजी कलेज संचालन गरिरहेको बताए। त्रिचन्द्र कलेजमा साढे २९ वर्ष आफुले रशायनशास्त्र पढाएको र ९ वर्ष सेवाअवधि बाँकी हुदानै कलेजबाट राजिनामा दिएको सिलवालले जनाए। ‘मैले गोल्डेनगेट कलेज खोल्दानै मेरो लगानी कहाकति सबै छर्लङनै थियो ,’सिलवाल भन्छन् ‘विश्वविद्यालयको पदाधिकारीहरुनै विभिन्न निजी कलेजका संचालक छन्। ’उनले थपे ‘ दलले उपकुलपति, रेक्टर रजिष्ट्रार जस्तो प्रमुख पदमा नियुक्ति गर्छ।जसका कारणने पदाधिकारीहरु आफुनै नियमभित्र नभएपछि कसरी बन्छ त्रिवि? पदाधिकारीलाई कसले कारावही गर्ने ? हामी मात्र किन कारावहीको हकदार हुने ? उनले आफुले विश्वविद्यालयको कारवाही भन्दा पनि स्वेच्छाले राजिनामा दिएको बताए।

शिक्षाविद् टंकनाथ शर्माका अनुसार विश्वविद्यालयको शिक्षक भएपछि पुर्णकालिन समय विश्वविद्यालयको शैक्षिक र प्राज्ञिक उन्नयनमै विताउनु शिक्षको मुख्य दायित्व हो। उनको त्रिविका शिक्षकहरुमा पेसागत निष्ठताको कमीमै कारण विश्वविद्यालयको शैक्षिक स्तर खोक्रो हुदैन गएको ठहर छ। ‘त्रिविले पनि आफना शिक्षकहरुलाई अनुसन्धा गर्ने, पेपर लेख्ने, विश्वविद्यालयको प्रगति तर्फ लागउन सक्ने वातावरण तयार पर्नु पर्छ,’शिक्षाविद् शर्मा भन्छन्‘त्रिविका शिक्षकहरुले विश्वविद्यालयको नाम र लोगो बेचेर निजी कलेज खोलेर बस्नु विश्वविद्यालयको शिक्षको आचारण विरुद्ध हो।’उनले थपे‘यदि निजी कलेज खोल्नेनै हो भने विश्वविद्यालयको जागिरबाट राजिनामा दिएर मात्र खोल्नु पर्छ। तलब त्रिविको खाने अनि काम आफनो निजी कलेजमा गर्नेलाई विश्वविद्यालयको पदाधिकारीले कारवही गर्न सक्नु पर्छ। ’उनले विश्वविद्यालयका पदाधिकारहरु पनि नियम  भित्र बस्न सके मात्र विश्वविद्यालयमा अनुसासन कायम हुन सक्ने धारणा राखे। त्रिभुवन विश्वविद्यालयको नाम र लोगोलाई भर्याङ बनाएर विश्वविद्यालयका विद्यार्थीहरुलाई समेत ति प्रध्यापकहरुले आफनो निजी कलेज र शिक्षालयहरुमा भर्नाकोलागि भन्ने गरेका छन्।  

प्रकाशित: १२ पुस २०७५ ०६:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App