७ वैशाख २०८१ शुक्रबार
कला

एकीकृत बस्तीमा छेस्युग जात्राको रौनक

धादिङ - भूकम्पबाट विस्थापित भएर जिल्लाको ज्वालामुखी गाउँपालिकास्थित ढोलामा एकीकृत नमुना बस्ती निर्माण गरेर बसिरहेका तामाङ जातिले छेस्युग(माने) जात्रा मनाएका छन्। प्राचीनकालदेखि नै मानिँदै आएको लोक सांस्कृतिक परम्परा पौराणिक (छेस्युग) संस्कृतिलाई निरन्तरता दिन उनीहरू अग्रसर भएका हुन्।

प्रत्येक वर्ष हिउँदमा खेतबारीबाट पाकेका अन्नबालीहरू भिœयाई सकेपछि आरम्भ हुने तामाङ जातिको पर्व ‘ल्होछार’ नयाँवर्षको आवागमनको पूर्वसन्ध्यामा तथा ल्होछार पर्वसँगै पनि छेस्युग सांस्कृतिक परम्परा जात्राकै रूपमा मनाउने गरिन्छ।

छेस्युग पर्व मनाउने दिनमा गाउँमा कोही कसैले पनि खेतबारीका काम गर्ने जोत्ने, खन्ने, घरको काम, लुगा बुन्ने, घरको गारो लगाउने आदि गरेमा दण्डित हुने अर्थात् अनिष्ट हुने, नराम्रो हुने विश्वास रहि आएको नमुना बस्तीका अभियन्ता दिनेश तामाङले बताए। ‘बिदा घोषणा भएपछि छेस्युगको अवधिभर कुनै पनि काम गरिँदैन्’, तामाङले भने, ‘बिदा भएपछि गाउँमा छेस्युग मनाउन सबैको समान सहभागिता हुन्छ। यदि काम गरेमा अनिष्ट हुने, नराम्रो हुने विश्वास रहि आएको छ।’

प्राचीनकालदेखि छेस्युग पर्व ल्होछार आरम्भ भएको दिन प्रतिपदादेखि दशमीसम्म या दशमीदेखि सात दिनसम्म मनाउने गरिन्छ। भौगोलिक स्थान विशेषअनुसार अति जाडोअघि र पछि मनाउने गरिन्छ। गाउँमा न्हाङखोर छोक्पा लामा अर्थात् बौद्ध धर्मका गुरु पुरोहित, बोन्पो, गान्बा (बुझ्ने जान्ने अगुवा), व्योनदोर्जे, ह्राबाव्योन युवाहरूको बैठक बसेर शुभसाइत जुराउन सक्ने ज्योतिष जान्ने लामा गुरूलाई ‘ची’ पात्रो हेराइ उपयुक्त साइत तोकिन्छ।

भूकम्पपछि घर थिएन्। अहिले एकीकृत बस्ती निर्माण भएको छ । पुस्तौंदेखिको जात्रा र भूकम्पले हराउन खोजेको संस्कृतिको संरक्षणका लागि जोड दिएका हौं।

छेस्युग जात्रा तामाङ समुदायको प्रमुख चाड हो। छेस्युग भन्नाले ‘छे’ भनेको ’छ्योइ’ अर्थात् धर्म र ‘स्युग’ले परम्परादेखि मान्दै आएको अर्थात् आफ्नो प्राचीन धर्म (परम्पराअनुसार मान्दै आएको सांस्कृतिक परम्परा) भन्ने हुन्छ। यो परम्परा त्रिकालकै दर्शनीय बुद्ध अर्थात् ‘दुईसुम साङ्गये’ गुरू रिन्पोछे (गुरू पद्मसम्भव) को जन्मदिन ‘छेपा च्यु’ दशमी तिथिका दिनदेखि सात दिनसम्म र कतै ल्होछारको आरम्भदेखि छेपाच्युसम्म आयोजना गर्ने भएकाले यो सांस्कृतिक पर्वलाई ‘छेस्युग’ का साथै ‘छेच्यु’ पनि भन्ने गरिन्छ।

भूकम्पअघि गाउँमै मनाइँदै आइरहेको छेस्युग जात्रा अहिले विस्थापित भएर निर्माण गरिएको एकीकृत बस्तीमा मनाइएको हो। भूकम्पले हराउन खोजेको संस्कृतिलाई जगेर्ना गर्न जात्राको आयोजना गरिएको तामाङले बताए। ‘भूकम्पपछि घर थिएन। अहिले एकीकृत बस्ती निर्माण भएको छ’, तामाङले भने, ‘पुस्तौदेखिको जात्रा र भूकम्पले हराउन खोजेको संस्कृतिको संरक्षणका लागि जोड दिएका हौं।’ नमुना बस्तीमा ५५ घर तामाङ परिवार बस्दै आइरहेका छन्। भूकम्पपछि उत्तरी धादिङस्थित लापाको कपुरगाउँ र न्हेबेर गाउँका विस्थापित परिवार यहाँ बस्दै आएका छन्।

जात्राको अवसरमा तामाङ जातिले आफ्नो भेषभुषामा सजिएर विविध सांस्कृतिक प्रस्तुति, घोडेनाच, लामा छ्याम नाच, कुकुरबदेल नाच, जोगी र सिकारी बनेर नचाइएको थियो। जात्रामा याक नाच पनि विशेष आकर्षण थियो। समाजमा रहेका विकृति विसंगतिलाई नाटक तथा व्यंग्यात्मक शैलीमा प्रस्तुत गरिएको थियो। लामा गुरूहरूले परम्परागत विधिअनुसार पूजा हाप्ने आदि मोन्लम गरी देवताहरूलाई जानकारी गराईन्छ। जात्राका लागि आवश्यक तोर्मा बनाउने र डासाङ बनाउन मात्र पनि झण्डै एक दिन लाग्दछ। सबै तयारी पुरा भएपछि मात्र लामाद्वारा विशेष पूजा ‘सालाङ’ गरी छेस्युगको थालनी हुन्छ।

गाउँमा रहेको ‘माने’ ज्याङछ्युब छ्योरतेन अर्थात बोधिचैत्य (स्तुपा) वरिपरि गाउँका जेष्ठ नागरिकहरूको अगुवाईमा महिला, पुरूष तथा युवायुवती सबैजना एउटै लस्करमा अंकमाल गरेर रमाउने गर्दछन्। सबैको खुट्टाको एउटै निश्चित चाल र गतिमा सर्दै ‘मानीदोरा’ दोहोरी संवादयुक्त दोरा गीतमा मानी (स्तुपा) वरिपरी परिक्रमा गर्दै सामूहिक बोमसाङ गीतसहितको मानीदोरा नृत्य नाचिन्छ। यही मानीदोरा नृत्यबाट गाउँवस्तीका जनताको तर्फबाट छेस्युगको सांस्कृतिक पर्वको सबै चेमाहरू अर्थात् नृत्यहरूको समापन हुने गर्दछ।
क्याप्सन ः
धादिङको ढोलामा रहेको एकीकृत नमुना बस्तीमा रहेको तामाङ समुदायले बनाएको छेस्युग जात्रामा नाच प्रस्तुत गर्दै।  
तस्बिर ः सरिता÷नागरिक

प्रकाशित: १२ पुस २०७५ ०५:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App