coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

फेरि सर्दै आठौं राष्ट्रिय खेलकुद मिति

आठौंको तयारीबारे आयोजना गरेको पत्रकार सम्मेलन। तस्बिर साैजन्य : राखेप

बाँके – मिति घोषणा गरेर राष्ट्रिय खेलकुद सार्नु नेपाली खेलइतिहासका लागि नयाँ होइन। पछिल्ला तीन राष्ट्रिय खेलकुद पूर्वनिर्धारित समयमा हुन सकेका थिएनन्। समयमा हुन नसक्नुलाई खेलकुद पदाधिकारीले विभिन्न बहाना बनाउने गरेका छन्। साताैं राष्ट्रिय खेलकुद आयोजनाको निर्धारित मिति सार्दा मधेस आन्दोलन र भारतले गरेको नाकाबन्दीलाई प्रमुख कारण बताइएको थियो।

तत्कालीन मध्यपश्चिम र हाल प्रदेश नम्बर ५ मा गर्ने भनिएको आठाैं राष्ट्रिय खेलकुद पनि पुरानो प्रवृत्तिबाट मुक्त हुन सकेन। कमजोर तयारीका कारण आठाैं राष्ट्रिय खेलकुद आयोजना मिति दोस्रो पटक सार्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिवले जानकारी दिएका छन्। बुधबार नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन गर्न आएका सदस्यसचिव विष्टले फागुन दोस्रो सातासम्म आठौं  खेलकुद गर्न सकिने बताए।

पूर्वाधार निर्माण समयमा सम्पन्न हुन नसक्दा आठाैं राष्ट्रिय खेलकुदको मिति सार्नुपर्ने अवस्था आएको विष्टले पत्रकार सम्मेलनमा बताए। सुरुआतमा राष्ट्रिय खेलकुद मंसिर २१ देखि २९ सम्म गर्ने मिति तय भएको थियो। तर पूर्वाधार निर्माण र बजेटका कारण तयारी सन्तोषजनक नभएको भन्दै राखेपले माघ २५ देखि फागुन ३ सम्म गर्ने निर्णय गयो। प्रतियोगिता आयोजना गर्ने मिति नजिकिँदै जाँदा राखेपले समय लम्ब्याएको हो।

‘जसरी अहिले हतारमा काम भइरहेको छ। यो दुई वर्षअघि देखि सुरु हुनुपर्ने। तयारीको अवस्थालाई हेरेर मिति सार्नुपर्छ। तर यहाँ जसरी पनि आठाैं गर्ने हठ गरिरहेको जस्तो देखिन्छ। यसले गुणस्तरीय पूर्वाधार निर्माण नहुने सम्भावना बढाएको छ।’

पत्रकार सम्मेलनमा सदस्यसचिव विष्टले ८० प्रतिशत काम सकिसकेकाले फागुनमा प्रतियोगिता गर्न सकिने बताए। तर नेपालगन्ज रंगशाला र आठौंका खेल हुने अन्य पूर्वाधार हतारमा निर्माण भइरहेका छन्। सदस्यसचिव विष्टले बजेट निकासीमा ढिलाइले पूर्वाधार निर्माण र तयारीमा असर गरेको बताए। उनले भने, ‘बजेटको समस्या छ। मन्त्रीले चाँडै आउँछ भन्नुभएको छ। बजेटका कारणले निर्माण रोकियो भने ढिला हुन सक्छ। १० देखि १५ दिनमा थप बजेट आएन भने समस्या हुन्छ।’ राखेपले आठौं राष्ट्रिय खेलकुदका लागि ४२ करोड आवश्यक पर्ने बताएको छ। सातौं राष्ट्रिय खेलकुदमा ३५ करोड खर्च भएको थियो।

आठौंको उद्घाटन गर्ने भनिएको नेपालगन्ज रंगशालाको भिआइपी प्यारापिट मलेसियन कम्पनीले निर्माण गर्ने सम्झौता भएको छ। तर सम्झौताअनुसार अग्रिम भुक्तानी गर्ने रकम राखेपले समयमै उपलब्ध गराउन नसक्दा मलेसियन टोली नेपाल आउन ढिलाइ भएको थियो। अहिले मलेसियन कम्पनीले थप १५ दिन समय मागेको सदस्यसचिव विष्टले बताए। तर राखेपले पुरानै सम्झौताअनुसार कम्पनीलाई काम गर्न आग्रह गरिरहेको पनि उनले सुनाए। पुरानै सम्झौता भनेको माघ २५ सम्म मलेसियन कम्पनीले निर्माण गरेर हस्तान्तरण गर्ने हो। तर कम्पनीले कहिलेदेखि काम गर्ने हो भन्ने निश्चित नभएपछि नेपालगन्ज रंगशालाको निर्माण कहिले सकिन्छ भन्नेमा राखेप अन्योलमा छ।

राष्ट्रिय खेलकुदको तयारीमा संलग्न पदाधिकारी फागुनमा पनि आठौं खेलकुद हुनेमा शंका व्यक्त गर्छन्। नाम नबताउने सर्तमा उनले भने, ‘जसरी अहिले हतारमा काम भइरहेको छ। यो दुई वर्षअघि देखि सुरु हुनुपर्ने। तयारीको अवस्थालाई हेरेर मिति सार्नुपर्छ। तर यहाँ जसरी पनि आठाैं गर्ने हठ गरिरहेको जस्तो देखिन्छ। यसले गुणस्तरीय पूर्वाधार निर्माण नहुने सम्भावना बढाएको छ।’ राखेप नेतृत्वको कमजोरीले राष्ट्रिय खेलकुद सरिरहेको उनले आरोप लगाए।

प्रकाशित: १२ पुस २०७५ ०४:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App