७ वैशाख २०८१ शुक्रबार
खेल

भ्रष्टाचार र अनियमिततामा नेतृत्व हत्याएको आरोप

पत्रकार सम्मेलनमा चार जिल्लाका अध्यक्षहरु । तस्बिरःनागरिक

काठमाडौं – वैशाखमा सम्पन्न अखिल नेपाल फुटबल संघ (एन्फा) निर्वाचनमा भएको भनिएको भ्रष्टाचार र अनियमितताका विषयमा काठमाडौं, भक्तपुर,ललितपुर र धादिङ फुटबल संघ गरी विभिन्न ४ जिल्ला फुटबल संघका अध्यक्षले अडियो टेप सार्वजनिक गरेका छन्।

काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाही, भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखु, ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापा र धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दीपक खतिवडाले बुधबार पत्रकार सम्मेलन गर्दै  एन्फाको वर्तमान नेतृत्वमा रहेका केही व्यक्तिले निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न विभिन्न जिल्ला फुटबल संघका प्रतिनिधिसँग गरेको कुराकानीको अडियो टेप सार्वजनिक गरेका हुन्।

उनीहरूले सार्वजनिक गरेको अडियोमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा पक्षले निर्वाचन समितिलाई आर्थिक प्रभावमा पारेको,अदालतलाई पनि आर्थिक रूपमा प्रभावमा पार्न खोजेको, मताधिकार प्राप्त प्रतिनिधिलाई आर्थिक प्रभावमा पारेको, निर्वाचनभन्दा अगाडि मताधिकार प्राप्त व्यक्तिहरूलाई भारतका विभिन्न ठाउँमा लगेर क्लोज क्याम्पमा राख्ने, हवाई टिकट तथा अन्य अनियमितताका लागि ठूलो धनराशि खर्च गरेको र निर्वाचन कमिटीलाई ज्यान मार्ने धम्की दिएको कुराकानी अडियोमा छ।

उनीहरूले एन्फा अध्यक्षका अर्का उम्मेदवार मणि कुँवरले यसअघि नै पत्रकार सम्मेलनमार्फत उचित समय आएपछि वैशाख २२ मा भएको निर्वाचनका क्रममा भएको आर्थिक अनियमितताको प्रमाण सार्वजनिक गर्ने बताएअनुसार नै प्रमाण प्रस्तुत गरेको बताए। यद्यपि कुँवर भने पत्रकार सम्मेलनमा उपस्थित थिएनन्।

एन्फाका पूर्वकोषाध्यक्ष एवम् काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाहीले फिफा र एएफसीमा पनि नेपाली फुटबलको नेतृत्व हत्याउन गरिएको यस्ता आपराधिक क्रियाकलापको प्रमाणसहित पत्राचार भइसकेकाले यस विषयमा छानबिन भइरहेको र दोषीमाथि कारबाही हुने विश्वास व्यक्त गरेका छन्। साथै उनले यससम्बन्धी प्रमाणसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संसद्को सार्वजनिक लेखा समिति र राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पनि उजुरी गरेको बताए। फिफाको कोड अफ इथिक्सले अडियो रेकर्डलाई समेत प्रमाण मान्ने भएकाले वर्तमान एन्फा नेतृत्व कारबाहीमा पर्ने दाबी गरे।

अडियो टेपमा एन्फाका मानार्थ अध्यक्ष टासी घलेले धनुषा जिल्ला फुटबल संघका अध्यक्ष दीपक खाती, एन्फा केन्द्रीय  सदस्य मधुसूदन उपाध्याय, एन्फा महासचिव इन्द्रमान तुलाधर र कार्यसमिति सदस्य  दावा लामासँग गरेको कुराकानी समावेश छ।

‘एन्फाको निर्वाचनमा भएका भ्रष्टाचार र आपराधिक घटनाहरूको प्रमाणसहित हामीले यसअघि नै फिफा र एएफसीलाई पत्राचार गरिसकेका थियौं,’ शाहीले भने, ‘फिफा र एएफसीले यस विषयमा छानबिन गरिरहेका होलान्। अहिले हामीले सञ्चारमाध्यममार्फत यसलाई सार्वजनिक गरेका छौं। हामीले बोल्नुपर्ने कुरा धेरै छैनन्। सबै प्रमाणले बोलिसकेका छन्। यी प्रमाणका आधारमा एन्फाको नेतृत्वलाई कारबाही हुन्छ भन्नेमा हामी विश्वस्त छौं।’

गत वैशाख २२ गते एन्फाको निर्वाचन हुनुअघि अध्यक्ष पदका उम्मेवदार मणि कुँवरले निर्वाचनमा व्यापक अनियमितता भइरहेको भन्दै उम्मेदवारी फिर्ता लिएका थिए। त्यस्तै  काठमाडाैँ जिल्ला फुटबल संघका अध्यक्ष शाहीलगायतले निर्वाचन रोक्न अदालतमा मुद्दा दर्ता गराएका थिए। उक्त  निर्वाचनमा कर्माछिरिङ शेर्पाको प्यानल अत्यधिक बहुमतले विजयी भएको थियो।

साथै उनीहरूले चेन्ज एन्फाको नारासहित आएको वर्तमान नेतृत्वले फुटबलमा राम्रो काम गरे सहयोग गर्ने सोच बनाए पनि वर्तमान नेतृत्व फुटबलको विकासभन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थको काममा मात्र लागेको आरोपसमेत लगाए। उनीहरूले यसअघि पनि एन्फाले फिफाको कंग्रेसमा जर्मनीको नागरिकता लिएका गैरआवासीय नेपाली नवीन पाँडेलाई नेपालको प्रतिनिधिका रूपमा सहभागी गराएको तथा रूस विश्वकपमा नेपालका लागि प्राप्त टिकट बिक्रीबारे अनुसन्धान गर्न राखेप र  र युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गरे पनि कुनै कारबाही नभएको भन्दै आक्रोश पोखे।

‘फिफा कंग्रेसमा विदेशीलाई सहभागी गराएको तथा विश्वकपको टिकट बिक्रीमा भएको अनियमितता छानबिनका लागि हामीले यसअघि नै मन्त्रालय र परिषद्मा पत्राचार गरेका थियौं। तर त्यसमा सम्बन्धित निकायले कुनै चासो नदेखाउँदा हामीलाई दुःख लागेको छ,’ उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसबाट परिषद् र मन्त्रालयको नियतमा समेत शंका गर्ने ठाउँ उठेको नेपाली फुटबल जोगाउने यो अभियानमा साथ दिन हामी सबै पक्षलाई अनुरोध गर्न चाहन्छौं।’

अडियो टेपमा एन्फाका मानार्थ अध्यक्ष टासी घलेले धनुषा जिल्ला फुटबल संघका अध्यक्ष दीपक खाती, एन्फा केन्द्रीय  सदस्य मधुसूदन उपाध्याय, एन्फा महासचिव इन्द्रमान तुलाधर र कार्यसमिति सदस्य  दावा लामासँग गरेको कुराकानी समावेश छ।

प्रकाशित: १२ पुस २०७५ ०४:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App