८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

इन्डोनेसिया सुनामी : जोखिमपूर्ण अवस्थामा रहेका स्थानीयको उद्धार

इन्डोनेसियाको बान्टेन प्रान्तस्थित तान्जुङ लेसङ बिच रिसोर्टमा देखिएको सुनामीले बगाएको सवारी साधन। तस्बिर : एजेन्सी

जकार्ता – सुनामी र ज्वालामुखीका कारण निकै जोखिमपूर्ण अवस्थामा रहेका दुर्गम क्षेत्रका स्थानीयवासीलाई उद्धार गरी सुरक्षित स्थानमा लैजाने क्रम जारी रहेको इन्डोनेसिया प्रहरीले जनाएको छ। अविरल वर्षाका कारण खोज तथा उद्धारमा थप समस्या उत्पन्न भएको उद्धारमा खटिएका अधिकारीले जानकारी दिएका छन्।

उनीहरुका अनुसार वर्षाका कारण उद्धारमा प्रयोग हुने मार्ग जलमग्न भएका छन् भने नदीको सतह पहिलेको तुलनामा निकै बढेको छ। केही दिनअघिको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीका कारण चार सय भन्दाबढी मानिसको ज्यान गएको सरकारी निकायले पुष्टि गरेको छ। घाइतेको संख्या धेरै भएकाले मृतकको संख्यामा वृद्धि हुनसक्ने बताइएको छ। त्यसैगरी सो प्राकृतिक प्रकोपका कारण कैयौं मानिस बेपत्ता छन्।

‘हामीले ती जोखिमपूर्ण अवस्थामा रहेका बस्तीका मानिसलाई उद्धार गरेर सुरक्षित स्थलतर्फ लैजाने क्रम जारी नै राखेका छौं। अविरल वर्षाका कारण अवस्था निकै नाजुक बनेको छ जसका कारण ठूलो संख्यामा मानिस जोखिमपूर्ण अवस्थामा नै भौतारिरहनु परेको छ,’ एकजना उद्धार अधिकारीले गरेको ट्विटलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

शनिबार राति भएको अनाक क्राकाटाओ ज्वालामुखी ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान गुमाउने व्यक्तिको संख्या चार सय २९ पुगेको पछिल्लो अपडेट रहेको छ। यस प्रकोपमा एक हजार चार सय ८५ जना घाइते हुनुका साथै एक सय ५४ जना अझै बेपत्ता रहेका इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागका प्रवक्ता सुटोपो पुर्वो नुग्राहोले बुधबार जानकारी दिएका छन्। ज्वालामुखीपछिको सुनामीका कारण हजारौं स्थानीयवासी विस्थापित भएको पनि उनले जानकारी दिएका छन्। ज्वालामुखी विस्फोटपछि समुद्रमुनि पहिरो  गएको हुनसक्ने र त्यसका कारण आएको सामुद्रिक छालका कारण ठूलो जनधनको क्षति भएको विवरण प्राप्त भएको छ।

इन्डोनेसियाका सुन्डा स्क्राइटको तटीय क्षेत्रमा स्थानीय समयानुसार शनिबार राति नौ बजेर ३० मिनेटमा भएको ज्वालामुखी विस्फोट र त्यसपछि भीषण रूपमा आएको सुनामीका कारण बुधबार बिहानसम्म चार सय २९ जनाको मृत्यु भइसकेको पुष्टि भइसकेको अधिकारीहरुले बताएका छन्। खोज तथा उद्धारकार्य अझै जारी रहे तापनि निकै कठिनाइपूर्ण भएको बताइएको छ। अझै पनि  एक हजार चार सय ८५ जना घाइते हुनुका साथै एक सय ५४ जना बेपत्ता रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रवक्ता सुटोपोले जानकारी दिएका छन्।

इन्डोनेसियामा ज्वालामुखी विस्फोट र भूकम्पको उच्च जोखिम रहने गरेको छ। शनिबार राति विस्फोट भएको ज्वालामुखीलाई स्थानीय अधिकारीले ‘क्राकाटोआ’ नामकरण गरेका छन्। यस वर्ष इन्डोनेसियामा आएको यो तेस्रो ठूलो प्राकृतिक विपत्ति हो। यसअघि जुन, अगस्ट र सेप्टेम्बर महिनामा लोम्बोक द्वीपमा आएको भूकम्प र सुनामीमा कारण दुई हजार दुई सयको मृत्यु भएको थियो।

प्रकाशित: १२ पुस २०७५ ०३:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App