८ वैशाख २०८१ शनिबार
विचार

आधुनिक राष्ट्र निर्माणमा पृथ्वीनारायण

इतिहासका महापुरुषहरू आ–आफ्नो समयका उपज हुन्। तिनीहरू सामाजिक आवश्यकताअनुरूप जन्मछन्। पृथ्वीनारायाण शाह पनि तत्कालीन वस्तुगत परिस्थितिको आवश्यकताले जन्माएका ऐतिहासिक योद्धा हुन्।

पृथ्वीनारायाण शाह मानव सभ्यता र संस्कृतिको खानी नेपाल उपत्यकामाथी १८२५ मा विजय हासिल गरेपछि आधुनिक नेपाल निर्माणमा स्पातिलो जग बसाल्न सफल भए।

उनीबाट सुरु गरिएको नेपाल पुनः एकीकरण अभियान राष्ट्रिय एकताको मूलप्रवाहद्वारा अभिप्रेरित भई बाइसे चौबीसे भुरे-टाकुरे राजा÷रजौटाहरूको त्रूmरता, बर्बरता, अराजकता र मनोमानीको अन्त्य गर्दै आधुनिक राष्ट्र नेपाल निर्माणको युगिन कार्यभार सम्पन्न भयो। इतिहासमा व्यक्तिको भूमिकाबारे एंगेल्स भन्छन्– ‘महापुरुषहरू जन्मनुमा सामाजिक साँचोले आधारको काम गर्छ, मानिसमा भएको विशिष्ट क्षमताले उसलाई समाजकै वक्ता बनाइदिन्छ।’ पृथ्वीनारायण पनि नेपालको इतिहासमा द्वन्द्ववाद/दूरदर्शी आधुनिक राष्ट्र नेपालका निर्माता हुन् भनेर बुझ्नु नै उनीप्रति र राष्ट्रप्रतिको सच्चा मूल्याङ्कन हुन्छ।

पृष्ठभूमि
नेपालको तत्कालीन परिस्थिति ससाना राज्यहरूमा विभक्त बाइसे चौबीसे राज्यहरू, उपत्यकाका मल्ल राज्यहरू, सेन राज्यहरू आदि राज्यहरूमा आन्तरिक कलह र कचिंगलले गर्दा त्यस राज्यका जनता वाकदिक्क हुनुका साथै प्रताडित थिए। त्यतिवेला बृटिस साम्राज्यवादी साजिससँग जोडिएको इस्ट–इन्डिया कम्पनीको प्रतिकूल प्रभाव नेपालमा पनि पर्न सक्ने सम्भावनालाई नकार्न मिल्ने अवस्था थिएन। यस्तो साम्राज्यवादी साजिसलाई मिहिन पाराले नियालिरहेका पृथ्वीनारायाण शाहले त्यतिबेलाको राज्य रजौटाहरूलाई एकीकरण गरी विशाल राष्ट्र निर्माण नगरे साम्राज्यवादीको विस्तारबाट नेपाललाई वचाउन सकिँदैन भन्ने बुझे। सोही बुझेर युगिन कार्यभार पूरा गर्न पृथ्वीनारायाण शाहले एकीकरण अभियान आरम्भ गरे।

पृथ्वीनारायणले आधुनिक राष्ट्र निर्माण गर्न प्रतिद्वन्द्वीसँग वैवाहिक र मितेरी सम्बन्ध कायम गर्ने, व्यापारिक घाँटीको नाकाबन्दी गर्ने, युद्ध उपर्युक्त किल्लाको अधिग्रहण र सैनिक चौकी स्थापना, गर्ने, सैनिक शक्ति वृद्धिका लागि आधुनिक खरखजाना जोरजम्मा गर्ने, विजय प्राप्त क्षेत्रका जनताको अधिकारसहितको सुरक्षा गर्नुका साथै सामाजिक न्याय दिने र युद्धमा सहभागी भाइभारदारलाई यथोचित मर्यादा गर्ने, उपर्युक्त नीतिका साथ नेपाली जातिको साँंघुरो घेरालाई फराकिलो बनाउने कदम अगाडि बढाए। गतिलो हातहतियार नभए लडाइँ जित्न सकिँदैन भन्ने बुझेका उनले कांशीतर्फ गई आवश्यक हतियार र बारुद लिई साथमा हतियार बनाउने शेष जरबर, ममतकी, भेखा सिंह नामक तीनजना दक्ष मुस्लिम कालिगढसमेत लिएर गोर्खा फर्के। तेस्रो चोटि आक्रमण गरी १८०१ मा नुवाकोटमा विजय हासिल त्यसै गरेका हैनन्।

कुरा एकीकरणको
एकीकरण अभियानमा त्याग, वीरता र वलिदानको अपूर्व कीर्तिमान स्थापित गरे। एकीकरण अभियान सिलसिलामा पृथ्वीनारायणले काठमाडौँको चन्द्रागिरी डाँडाबाट जुंगाको ताउ लाउँदै उपत्यकालाई हात पार्ने मनोकाक्षा देखाएका थिए। विविध रजौटामा विभक्त राज्यहरूलाई एउटै झण्डामुनि गोलबन्द गर्ने काममा काजी कालु पाँडेको रणनीति र पृथ्वीनारायण शाहको कूटनीतिक चालवाजीका साथ उपत्यकाका सबै राज्यमाथि विजय हासिल गरे। यसरी पृथ्वीनारायाण शाह मानव सभ्यता र संस्कृतिको खानी नेपाल उपत्यकामाथी १८२५ मा विजय हासिल गरेपछि आधुनिक नेपाल निर्माणमा स्पातिलो जग बसाल्न सफल भए। उपत्यका विजयपश्चात तत्कालै पृथ्वीनारायण शाहले नेपाल (काठमाडौँ) उपत्यका छिरेर आफ्नो प्रभाव विस्तार गरिरहेका क्रिस्चियन पादरीहरूलाई देश निष्काशनको आज्ञा जारी गरेका थिए। इस्ट–इन्डिया कम्पनीको जासुसका रूपमा नेपालमा कार्यरत पादरीहरूले नेपाललाई विखण्डन गर्ने र धर्मको व्यापक धर्मान्तरण गराई क्रिस्चियन देश बनाउने केपुचिन पादरीको षड्यन्त्रलाई चकनाचुर पार्न पृथ्वीनारायणले पादरीहरूको हुर्मत लिएका थिए।

निष्कर्ष
नेपालको इतिहासमा आधुनिक राष्ट्र नेपाल निर्माणको महान् अभियानलाई गोर्खाको सानो राजा  पृथ्वीनारायाण शाहको ठूलो देशको राजा बन्ने दाउका रूपमा बुझ्नु गल्ती हुन्छ। तत्कालीन विश्व परिवेशमा छरिएर रहेका ससाना भुरे टाकुरे, राज्यहरूलाई लोकतान्त्रिक अभ्यासबाट एकत्रित गरी राष्ट्र निर्माण गर्न सम्भव थिएन। त्यतिबेला शान्तिपूर्ण विधिबाट राष्ट्र निर्माण भएको इतिहाँस संसारमै कहीँ कतै पनि भेटिँदैन। अहिलेको विश्वमा अस्तित्वमा रहेका प्रायः सबै राष्ट्राको जन्म त्यहाँका कुनै न कुनै वीर राजा तथा वीर सेनापति शासकले नेतृत्व गरेको हतियारबद्ध युद्धको प्रक्रियाबाटै हुन पुगेको छ। जस्तै– रुसका राष्ट्र निर्माता सम्राट जार, चीनका राष्ट्र निर्माता सि ह्वाङ ती, जर्मनका राष्ट्र निर्माता विस्मार्क, फ्रान्सका राष्ट्र निर्माता नेपोलियन, भारतका राष्ट्र निर्माता अशोक आदि देशहरू वीर राजा वा सेनापतिको नेतृत्वमा भएका युद्धहरूको विधिबाटै निर्माण भएका हुन्।

आधुनिक राष्ट्र नेपाल निर्माणको अभियानबारे ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट मूल्याङ्कन गर्दा एकीकरणबारे नेकपा का अध्यक्ष पुष्पकमल दाहालको भनाइ छ– ‘उत्पादक शक्तिको सामान्य विकासले माग गरिरहेको नयाँ उत्पादन सम्बन्धको आवश्यकताले देशमा विद्यमान स–साना राजा, रजौटा कविलाई गणतन्त्रको उपस्थिति अनावश्यक बन्दै गयो। यो वस्तुगत आवश्यकताले एउटै बलियो केन्द्रीकृत सामन्ती राज्य सत्ताको विकाश हुन पुग्यो, नवोदित र कमजोर राज्य भएर पनि गोरखाका पृथ्वीनारायण शाहको राज्यविस्तार अभियानले सफलता प्राप्त गर्नुका पछाडि यसै वस्तुगत आवश्यकताले काम गरेको तथ्य अवमूल्यन गर्नु एतिहासिक भौतिकवादलाई नै नबुझ्नुमात्र ठहर्छ।’ यहाँ स्मरणीय छ कि सामन्ती राजतन्त्र विकाससम्बन्धी नेपाली प्रक्रिया फ्रेडरिक एङ्गेल्सले परिवार, निजी सम्पत्ति र राज्यसत्ताको उत्पत्तिमा गर्नुभएको अनुसन्धान र सश्ंलेषणसँग मेल खान्छ।

आज रुस, चीन, जर्मन, फ्रान्स, भारतका हरेक राजनीतिक पार्टी एवं विभिन्न समुदायले त्यहाँको राष्ट्र निर्माण गर्ने वीर सम्राट तथा राष्ट्र निर्माताप्रति सच्चा सम्मान गर्न कुनै कञ्जुस्याइँ गर्दैनन्। तर हाम्रो देशमा राष्ट्र निर्माताको बेवास्ता गर्नु बेठीक कुरा हो। अहिले दलहरू आफ्नो मुलुकको स्वर्णिम इतिहास स्मरण क्षमताबाट विचलित भइरहेको सबैले अनुभूत गरेको तीतो सत्य हो। यस संगीन कठिन परिस्थितिलाई पार लगाउन सक्नु नै सार्वभौम नेपाल निरन्तरताको महायज्ञ हो। त्यसैले निर्दिष्ट लक्ष्य प्राप्तिका लागि विधिशास्त्रसम्मत, जनमत, देशकाल परिस्थिति अनकूल निर्धारित राष्ट्रिय अजेन्डाहरू निसंंकोच सर्वस्वीकार्य हुन आवश्यक छ। यसले राष्ट्रिय शक्ति सन्तुलन र राष्ट्रिय सहमतिको दिशा बोध गर्छ।

साम्राज्यवादी स्वार्थसँग गाँसिएको सीमित सत्ता स्वार्थ अनुनय, विनय, अलापप्रलाप शीतका थोपा हुन् भन्ने सबैले बुझ्नुपर्छ।। नेपाल–भारत–चीन त्रिपक्षीय सहकार्य विश्व व्यवस्थाको अनिवार्य अंगका रूपमा विकसित भइरहेको यस परिस्थितिमा हाम्रो राष्ट्रिय समस्याको दिशाबोध तथा समाधानको चुरो यसैअनुरूप छ। छद्म प्रतिरोधी अभ्यासको सारमा तात्पर्ययुक्त निष्कर्ष कसैले पनि पाउन सक्दैन। मूल मार्ग छोडेर समयको प्रवाह नबुझनेहरू आफैँ किनारा लाग्नेछन्। यो शाश्वत सत्य दल एवं सम्बद्ध पक्षहरूले समयमै बुझ्नु उपयुक्त हुन्छ। हामीले हाम्रो सभ्यता र इतिहासको उपहास गर्ने होइन कि उच्च सम्मान र उचित मूल्याङ्कन गर्न विलम्ब गर्नुहुँदैन। राज्यस्तरबाट राष्ट्रिय भावना जागृत गराउन राष्ट्रनिर्माता र विभूतिको सम्मानमा राष्ट्रिय पर्वका रूपमा उत्सव मनाउने कार्य गर्न अनिवार्य छ। यसो गर्न सकेमा राष्ट्रियतालाई थप मजबुत वनाउने आधार प्रशस्त हुन्छ र यही जगमा राष्ट्रिय एकता, शान्ति तथा समृद्धि प्राप्त गर्न सकिन्छ। यही नै पृथ्वीनारायाण शाहलगायत विभूति एवं शहीदहरूले निर्दिष्ट गरेका राष्ट्रिय एकताको मार्गनिर्देशन हो।

प्रकाशित: १२ पुस २०७५ ०३:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App