४ वैशाख २०८१ मंगलबार
समाज

बेलिब्रिज बनेपछि दिक्तेल–गाईघाट सीधा यातायात सञ्चालन

खोटाङको फोक्सिङटारस्थित सुनकोशी नदीमा हालिएको अस्थायी पुल (बेलिब्रिज)। तस्बिरः नागरिक

खोटाङ - खोटाङको फोक्सिङटारस्थित सुनकोशी नदीमा अस्थायी पुल (बेलिब्रिज) हालिएपछि दिक्तेल–गाईघाट सीधा यातायात सेवा सुरु भएको छ। दिक्तेल–गाईघाट सडकअन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका–९,लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिकाको आँपटारस्थित सुनकोशी नदीमा बेलिब्रिज राखिएपछि खोटाङ र पूर्वी तराई जोड्ने दोस्रो सीधा र छोटो बाटो खुलेको हो।

हिउँदभरि राख्ने र वर्षामा झिक्ने गरी करिब ५० मिटर लामो बेलिब्रिज राखिएको हो। यो अस्थायी पुल बनेपछि दिक्तेलबाट महुरे–फोक्सिङटार हुँदै सीधै गाईघाटका लागि यात्रुबाहक तथा मालबाहक सवारीसाधन सञ्चालन हुन थालेको खोटाङ यातायात प्रालिका अध्यक्ष गणेशविक्रम शाहीले जानकारी दिए। साथै सिमपानी, खोटाङबजारबाट समेत सीधा गाईघाट जाने गाडी चल्न थालेका छन्।

यसअघि पूर्वी सहर पुग्न एक मात्र घुमाउरो बाटो दिक्तेल–हलेसी–जयराम–घुर्मी–कटारी सडक भएर जानुपर्ने बाध्यता थियो। १०१ किलोमिटर लामो गाईघाट–दिक्तेल सडकमा पर्ने फोक्सिङटारमा बेलिब्रिज बनेपछि सीधै गाईघाट हुँदै धरान, विराटनगर लगायतका पूर्वी सहर पुग्ने बाटो छोटिएको हो। अब दिक्तेलबाट पूर्वी तराईका सबै जिल्ला पुग्न सकिने वातावरण बनेको छ।

गाईघाट–दिक्तेल सडकअन्तर्गत फोक्सिङटारमा बेलिब्रिज बनेपछि सीधै गाईघाट हुँदै धरान, विराटनगर लगायतका पूर्वी सहर पुग्ने छोटो मार्ग खुलेको हो। अब खोटाङबाट पूर्वी तराईका सबै जिल्ला पुग्न सकिने वातावरण बनेको छ।

दिक्तेलबाट सीधै धरान, विराटनगर, काँकडभिट्टा यातायात सञ्चालनका लागि भने कानुनी प्रक्रिया मिलाउन बाँकी रहेको खोटाङ यातायात प्रालिका अध्यक्ष शाहीले बताए। ‘अहिलेलाई दिक्तेलबाट गाईघाटसम्म सीधा आउजाउ सुरु भएको छ,’ उनले भने, ‘त्यसभन्दा पूर्वका सहर सीधै पुग्न रुट पर्मिटको प्रक्रिया मिलाइरहेका छौं।’

बेलिब्रिजले पूर्वी सहर जोडेपछि अब जिल्लामा सस्तो मूल्यमै उपभोग्य सामान भित्रिने खोटाङका व्यवसायी बताउँछन्। फोक्सिङटारमा पक्की पुल निर्माण सुरु भएको लामो समय बितिसक्दा पनि पिलर ठड्याउने कामसमेत पूरा भएको छैन। यो अवस्थामा अस्थायी भए पनि पुल हालिएपछि यस क्षेत्रका बासिन्दालाई ठूलो राहत भएको छ।

यहाँ पुल नहुँदा दिक्तेलबाट रसुवाघाट र गाईघाटबाट फोक्सिङटारसम्म मात्र सवारीसाधन सञ्चालन हुन्थ्यो। फोक्सिङटारमा बेलिब्रिज हालिएपछि भने खोटाङको दक्षिणी क्षेत्र र भोजपुरको सीमाबाट निर्माण गरिएको पानधारे–रोक्सिङभञ्ज्याङ–इन्द्रेणीपोखरी–सिमपानी–रसुवाघाट क्षेत्रीय सडकबाट समेत सीधै गाईघाट जाने गाडी चल्न थालेका छन्।

फोक्सिङटार पुल निर्माणमा चरम ढिलासुस्ती
खोटाङ र पूर्वी सहर जोड्ने सडकमा पर्ने फोक्सिङटारमा पक्की पुल निर्माणमा ठेकेदार कम्पनीको चरम ढिलासुस्ती देखिएको छ। ‘आर्क’ डिजाइनको पुल २०७३ चैत २४ गतेसम्ममा पूरा गर्ने गरी निर्माण कम्पनी गौरीपार्वती वाइपी जेभीले २०६९ चैत २३ गते लिएको थियो।

तर कामै नगरी पहिलो म्याद गुज्रेपछि पुनः २०७५ चैत मसान्तसम्मको समय थप गरिएको छ। तर अहिलेसम्म पिलर ठड्याउनका लागि चाहिने फाउन्डेसन निर्माणसमेत पूरा नभएकाले थप गरिएको अवधिभित्र पनि पुल बनिसक्ने छाँटकाँट देखिँदैन। सुरुमा लट्ठा हालेर ढलान गरिने ‘ससपेन्सन ब्रिज’ बनाउने सम्झौता भएकामा त्यसको दुई वर्षपछि पुनः पिलर उभ्याएर ढलान गर्ने ‘आर्क’ डिजाइनको बनाउने भनेर योजना परिवर्तन गरिएका कारण पुल निर्माण पछि धकेलिएको हो।

पुल निर्माण अलपत्र पारेको भन्दै सामाजिक सञ्जालदेखि जिल्लामा हुने विभिन्न सार्वजनिक कार्यक्रमसम्म ठेकेदारको विरोध हुने गरेको छ। फोक्सिङटार पुल निर्माणमा ढिलासुस्ती गरेको भन्दै प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले हालै ठेकेदार कम्पनी गौरीपार्वती वाइपी जेभीलाई कारबाही गर्न सरकारसँग माग पनि गरेका थिए।

‘सपेन्सन ब्रिज’ बनाउने कि ‘आर्क’ डिजाइनको बनाउने भन्ने अन्योलताकै कारण ठेक्का लागेको दुई वर्षपछि २०७३ कात्तिकमा मात्र पुलको स्वरुप स्वीकृत भएको थियो। यसैकारण कामै नगरी पहिलो म्याद गुज्रिएको सडक विभाग पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ ले जनाएको छ।

प्रकाशित: १२ पुस २०७५ ०२:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App