६ वैशाख २०८१ बिहीबार
अर्थ

एमाले र माओवादीका नाममा सुविधा लिन्छन् सचेतक

पोखरा - गण्डकी प्रदेशको सबैभन्दा ठूलो संसदीय दल नेकपा हो। एकताअघि साविकको पूर्वएमालेका तर्फबाट मायानाथ अधिकारी र माओवादी केन्द्रबाट गायत्री गुरुङ सचेतकको भूमिका थिए। संसद्मा बोल्नेक्रममा दुवैजनाले नेकपाको प्रतिनिधित्व गर्छन, तर सुविधा भने दुईजनाले नै छुट्टाछुट्टै दलको तर्फबाट लिने गरेका छन्।

गण्डकी प्रदेशसभाले बनाएको प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनअनुसार दलका सचेतकले सवारीसाधन खर्च बापत मासिक १० हजार रुपैयाँ पाउने व्यवस्था छ। प्रदेशसभा स्थापनायता उनीहरू दुवैले सोही शीर्षकमा १०/१० हजार रुपैयाँ बुझ्दै आएका छन्। उनीहरूसँग सवारीसाधन छैन, तर दुईजनाले नै पारिश्रमिकबाहेक यो सुविधा लिँदै आएका छन्।

यो सुविधा प्रदेशका चारवटा विषयगत समितिका सभापति र संसदीय दल नेपाली कांग्रेसका सचेतक मणिभद्र शर्माले पनि लिने गरेका छन्। नियमावलीअनुसार विषयगत समितिका सभापतिलाई सवारी सुविधा उपलब्ध हुने व्यवस्था छ। कात्तिकदेखि उनीहरुले सवारीसाधन पाए पनि त्यसभन्दा अगाडिको ८ महिनासम्म उनीहरूले १०÷१० हजार रूपैयाँका दरले ३ लाख २० हजार रुपैयाँ बुझेका छन्।

विषयगत समितिमध्ये विधायन समितिमा मोहनप्रसाद रेग्मी, सार्वजनिक लेखा समितिमा कुमार खड्का, अर्थ तथा विकास समितिमा दीपक कोईराला र प्रदेश मामिला समितिमा कृष्ण थापा सभापति छन्।

सभापतिहरूलाई २ करोडभन्दा महँगा गाडी
८ महिनासम्म सवारीसाधन नभए पनि सुविधा उपभोग गर्दै आइरहेका उनीहरूलाई कात्तिकदेखि संसद् सचिवालयले स्कोर्पियो गाडी उपलब्ध गराएको छ। सचिवालयले प्रतिगाडी ५५ लाखका दरले २ करोड २० लाख रुपैयाँमा चारवटा गाडी खरिद गरेको हो। नियमावली संशोधन सहित उनीहरुलाई सवारी चालकको समेत सुविधा दिइएको छ। अन्य प्रदेशसभा सदस्यले भने यातायात खर्चबापत प्रतिबैठक ७ सय ५० रुपैयाँ लिने गरेका छन्।

सचिवालयका लेखा अधिकृत दुर्योधन गिरीका अनुसार सवारी नहुँदा पनि उनीहरुको खातामा मासिक १० हजार रुपैयाँ जम्मा भएको बताए।

राजधानीमा घर भएर पनि घरभाडा सुविधा लिने एक्ला सांसद
स्याङ्जाबाट निर्वाचित सांसद मीनप्रसाद गुरुङको पोखरा नागढुंगामा घर छ। प्रदेश राजधानीमा घर भएर पनि घरभाडा बापत उनले मासिक १५ हजार रुपैयाँ बुझ्छन्। यसरी घर हुँदाहुँदै भाडा बुझ्ने उनी एक्ला सांसद हुन्। प्रदेशसभा नचल्दा प्रायः जिल्लातिरै हुने गुरुङ पोखरा आउँदा आफ्नै घरमा बस्छन्। उनको घरबाट प्रदेशसभा ४ किलोमिटर जतिको दूरीमा प्रदेशसभा छ।

अन्य प्रदेशमा जस्तो राजधानीमा घरहुने गण्डकी प्रदेशका सांसदहरुले भने घरभाडा सुविधा लिएका छैनन्। सुविधा नलिनेमा मुस्ताङका सांसद इन्द्रधारा ढाडु विष्ट, कास्कीका कुमार खड्का, कृष्ण बहादुर थापा, दीपक कोईराला, प्रभा कोईराला, पुष्पा केसी, मित्रकुमारी गुरुङ सुवेदी, मीना गुरुङ, राजीव पहारी, मन बहादुर गुरुङ, रामजी प्रसाद बराल र स्याङजाका भागवत प्रकाश मल्ल रहेका छन्। विन्दु कुमार थापा, मल्ल र खड्का कांग्रेसका सांसद हुन भने बाँकी सदस्य सबै नेकपाका हुन्।

कास्कीकै सांसद गायत्री गुरुङले भने घरभाडा सुविधा लिँदै आएकी छन्। संसद सचिवालयका अनुसार गुरुङको पोखरामा घर छैन। नेकपाकी सांसद गुरुङले साविकको माओवादी केन्द्रको सचेतकको हैसियतमा सवारीसाधन बापत मासिक १० हजार रुपैयाँ पनि लिने गरेकी छन्।

प्रकाशित: १२ पुस २०७५ ०२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App