४ वैशाख २०८१ मंगलबार
राजनीति

संसद्को पहिलो बैठक : सत्तापक्ष रक्षात्मक, प्रतिपक्ष आक्रामक

ईश्वरी सुवेदी/प्रकाश तिमल्सिना
काठमाडौं- प्रतिनिधिसभाको बैठकमा सत्तापक्षका तर्फबाट नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सरकारले मुलुकलाई समृद्धितर्फ अघि बढाएको बताएपछि प्रमुख प्रतिपक्ष र प्रतिपक्षदलका नेताहरू आक्रमकरूपमा प्रस्तुत भएका छन्। हिउँदे अधिवेशनको पहिलो दिन प्रतिनिधिसभाको बुधबारको बैठकमा आफ्नो भनाइ राख्दै दाहालले सरकार समृद्धितर्फ अघि बढेको बताएका थिए। उनले भने, ‘स्थिर सरकार बनेपछि जनतामा सरकारप्रति आकांक्षा बढेको छ। विकास र समृद्धितर्फ जाने राजनीतिक सन्देश दिएका छौं।’ उनले भारत र चीनसँगको नयाँ सहमति दुईतिहाइ सरकारको उपलब्धिका रूपमा रहेको बताए।

उनले काठमाडौंको धुलो पूरै हटेको भन्दै त्यसलाई सरकारको सफलता भन्दै प्रशंसा गरे। सरकार अधिनायकतर्फ जाने चिन्ता जाहेर गरिएको भन्दै उनले राष्ट्रको एकता, लोकतान्त्रिक प्रक्रिया, राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डताप्रति अडिग रहेको बताए। उनले लोकतान्त्रिक प्रणालीमा विकास निर्माण अलि ढिलो गतिमा हुने बताए। ‘छिटो गतिमा विकास हुनका लागि त पराम्परागत कम्युनिस्ट व्यवस्था नै आउनु पर्छ। त्यसले मात्र ड्यामड्याम विकास गर्न सक्छ,’ उनले भने।

संघियतारूपी नयाँ शिशु जम्माएको भन्दै यसलाई राम्रोसँग हुर्काउने प्रयास गरिएन भने, अप्ठ्यारो अवस्था आउन सक्ने उनले चेतावनी दिए। ‘सत्तापक्ष मात्र होइन प्रतिपक्षलाई म सहयोग गर्न पुनः आग्रह गर्छु। संविधान कार्यन्वयनमा सत्तापक्ष प्रतिपक्ष बन्नु हुँदैन,’ उनले भने।

बैठकमा प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार आफ्नो जिम्मेवारीबाट पूर्ण असफल रहेको बताएका थिए। सरकारले निर्मला पन्तको बलात्कारपछिको हत्या गर्ने दोषीलाई अहिलेसम्म कारबाही गर्ने काम नगरेको भन्दै दोषीलाई सरकारले बचाउन खोजेको आरोप लगाए। ‘कहिँ कतै पनि शान्तिसुरक्षा छैन, सरकार कहाँ छ ?, निर्दोष व्यक्तिलाई निर्मलाको अपराधी हुँ भन्ने कबुलियत गराएर यातना दिने काम भएको छ, यसरी निर्दोष व्यक्तिलाई यातना दिन पाइन्छ, यसको जिम्मा कसले लिने हो ?,’ उनले प्रश्न गरे।

कर्मचारी समायोजन ऐन हुँदाहुँदै किन अध्यादेश ल्याउनुप-यो भन्दै देउवाले स्थायी सरकारका रूपमा रहेका कर्मचारीको वृत्ति विकास रोक्नेगरी अध्यादेश ल्याउने काम गलत भएको बताए। देउवाले डा.गोविन्द केसीसँग भएको सम्झौता अहिलेसम्म कार्यान्वयन गर्न ढिलाइ भएकोप्रति पनि प्रश्न उठाएका थिए। उनले भने, ‘कि जबरजस्ती सम्झौता गराएको हो भनेर भन्नुप-यो, होइन भने सम्झौता कार्यान्वयन हुनुप-यो।’

यसैगरी, उनले क्रिश्चियन धर्मप्रचारक संस्था (युनिभर्सल पिस फेडेरेसन) आयोजना गरेको एसिया प्यासिफिक समिट कार्यक्रम सरकारको संलग्नाप्रति पनि कडा आपत्ति जनाए। ‘नेपाल धर्मनिरपेक्ष हो कि के हो ?,’ उनले भने, ‘राज्यको पनि कुनै धर्म हुन्छ भन्दै यस्ता कार्यले सरकार कता जाँदैछ ?’
सामाजिक सुरक्षा योजना आफ्नो पालामा निर्णय भएको भन्दै यो सरकारले आफूले गरेको कामको अहिले जस लिन खोजेको बताए। यस्तै अमेरिकाको एमसीसी परियोजनामा आफ्नो सरकारका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेको स्मरण गराउँदै उनले भने, ‘आफूले गरेको कुरा गर्नु नि !, अरुले गरेको कामलाई किन मैले गरेको भन्ने ?’ प्रधानमन्त्रीले नै जनतालाई भ्रम दिन थालेपछि के हुन्छ भन्दै उनले सबै तपार्इंले गरेको हो भइगयो भन्दै व्यंग्य गरे।

नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले सत्तापक्षले मुलुक सुनको लंका भए जस्तोगरी प्रस्तुत भएको भन्दै आफूले त्यस्तो भएको कही कतै नभेटेको टिप्पणी गरे। उनले भने, ‘म निश्चितरूपमा सकारात्मक सोच राख्ने मान्छे हुँ, सुनको लंका नै बनोस्, तर म गाउँगाउँ डुलेको छु त्यस्तो छैन,’ यो सरकारले कुनै गुणात्मक फड्को मारेको छैन। इतिहासका खासखास कालखण्डमा स्थिर सरकार बनेका छन् तर त्यो भन्दा पनि जनतालाई परिवर्तन चाहिएको उनको भनाइ थियो। ‘सरकारले लगाउने चस्मा फेरिए जस्तो छ, धुवाँ धुलो हटेको देख्ने जताततै परिवर्तन देख्ने , तर मेरो चस्माले त्यो देखेको छैन,’ उनले भने।

मुख्यमन्त्रीले असन्तुष्टि पोखेको बताउँदै उनले भने, ‘अब संघीयताबाट फर्किन सकिदैन, तर सरकारले संघीयतालाई कार्यन्वयन गराउन खोजेको छैन।’ वाइड वडी खरिद हिसिला यमी पर्यटन मन्त्री हुँदा खरिद गर्ने कुरा भएको भन्दै उनले भने, ‘त्यतिबेला नयाँ वाइड वडी खरिद गर्ने कुरा भएको थियो, अहिलो नक्कली वाइड वडी किनिएको छ।’ उनले बूढीडगण्डकी जलविद्युत् आयोजना पनि भकुण्डो खेल जस्तो भएको बताए। उनले भने, ‘बूढीगण्डकीमा ‘जियो पोल्टिक्स’ भइरहेको छ, यसलाई सरकारले ठोस निर्णय गरी अघि बढाउनु पर्दछ।,

राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले टोलटोलमा भेटिनुपर्ने सरकार पोलपोलमा भेटिएको बताए। उनले चुनाव जितेर आएका सांसद रेशम चौधरीलाई थुमामा राखेकोप्रति उनले कडा आपत्ति जनाए। उनले कोही हत्यारा संसद्मै रहेको तर रेशम चौधरीलाई मात्रै हत्यारा भन्दै थुनिएको आरोप लगाए। संघीय समाजवादी फोरमका, राजेन्द्र श्रेष्ठले सरकारले गरेको राम्रो कुरा नदेख्ने नराम्रो कुरा मात्र देख्ने कार्य गर्न नहुने बताए।

शोक प्रस्ताव पारित
दुवै सदनको बुधबारको बैठकले विभिन्न मितिमा निधन भएका पूर्वसांसदको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। संसद्ले तीनजना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित भएको हो। जसमा चक्रप्रसाद बाँस्तोला, पद्मरत्न तुलाधर र मोतिदेवी थारू रहेका छन्। उनीहरूको निधनप्रति संसद्मा एक मिनेट मौन धारणसमेत गरिएको थियो।

राष्ट्रियसभामा पनि चर्काचर्की
संघीय संसदको हिउँदे अधिवेशनको पहिलो बैठकमा नेकपाका सांसदहरूले संविधानको कार्यान्वयनदेखि सरकारका कामकारबाहीको बचाउ गरे भने प्रतिपक्षीका सांसदले सरकारका गतिविधि र पछिल्ला नीतिको चर्काे आलोचना गरेका छन्। तराई मधेस केन्द्रित दल संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधन र मधेसको अजेन्डालाई प्राथमिकताका साथ राष्ट्रियसभामा उठाएका छन्।

बुधबारको बैठकमा बोल्दै नेकपा संसदीय दलका नेता दीनानाथ शर्माले राजनीतिक आन्दोलनबाट प्राप्त भएका उपलब्धि कमजोर हुन लागेको भन्दै त्यसको रक्षाका वकालत गरे। कम्युनिस्ट पार्टीमाथि अधिनायकवाद लाद्न खोजेको आरोप अस्वीकार गर्दैै नेता शर्माले नेपालको लोकतन्त्र स्थापना र संस्थागत गर्न कम्युनिस्ट शक्तिहरूको अमूल्य योगदान रहेको स्मरण गर्न सुझाए।

संविधानमा उल्लेख भएको धर्म निरपेक्षताको बचाउ गर्दै नेता शर्माले मुलुकलाई कुनै एक धर्मको राज्य बनाउन नदिइने बताए। ‘भाषा, धर्म संस्कृति भनेका निकै संवेदनशील विषय हुन्, नयाँ संविधानले धर्मनिरपेक्षता व्यवस्था गरेकाले अब नेपाललाई कुनै हिन्दु वा क्रिश्चियन राष्ट्र बनाउन सक्दैनाँै, यो सोच्न नै छाडौँ।’ संविधान कार्यान्वयन सरकारको मात्रै नभई प्रतिपक्षी दलको पनि कर्तव्य भएकाले धर्मलगायतका विषर्य  नउछाल्न शर्माले सुझाव दिए।

नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सरकारले ल्याउने हरेक विधेयकमा गम्भीर बहस गर्ने पार्टीको धारणा सार्वजनिक गरे। अघिल्लो अधिवेशनमा सक्रिय बहसमा सहभागी नभई मौलिक हकजस्ता कानुन बाध्यताले पारित गरेको स्मरण गर्दै अब त्यस्तो हुन नदिने उनको दाबी थियो। निर्मला हत्या काण्डबारेमा सरकारले कुनै उपलब्धि हासिल नगर्दा ‘हत्यारा पत्ता लागिसक्यो’ भनेर अभिव्यक्ति दिने रक्षामन्त्री ईश्वर पोखरेलको राजीनामा पनि माग गरिएको छ। ‘सरकारका उपप्रधानमन्त्रीले हत्यारा पत्ता लागिसक्यो अब छिट्टै सार्वजनिक गछौँ भनेर अभिव्यक्ति दिएका कारण कि सार्वजनिक गर्नुप-यो हैन भने नैतिकताका आधारमा सो पदमा बस्न अब मिल्दैन,’ पाण्डेले भने।

राष्ट्रिय जनता पार्टी नेपालका नेता वृषेशचन्द्र लालले वर्तमान संविधानलाई मधेसी, आदिवासी÷आदिवासीलगायत उत्पीडित जनताले अझै स्वीकार्न नसकेको जनाउँदै संसोधन गरेर सर्वस्वीकार्य बनाउनुपर्नेमा जोड दिए। त्यस्तै संघीय समाजावादी फोरम नेपालकी सांसद प्रमीला कुमारीले उत्पीडनमा परेको समुदायलाई न्याय दिलाउन पनि संविधान संशोधन आवश्यक रहेको भन्दै सरकारगतिशलि हुनुपर्ने बताइन्।

प्रकाशित: १२ पुस २०७५ ०१:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App