coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सेयर धितोमा ६५ प्रतिशतसम्म ऋण लिन पाइने

काठमाडौं - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेयर धितोमा मूल्यको ६५ प्रतिशतसम्म ऋण दिन पाउने व्यवस्था गरेपछि सेयर परिसूचकमा एकै दिन ३० बिन्दुको सुधार देखिएको छ।

राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै यसअघिको व्यवस्था परिवर्तन गरी सेयर धितो मूल्यको ६५ प्रतिशतसम्म दिन पाइने प्रावधान ल्याएको जानकारी गराएको थियो। यसअघि सेयर धितोमा मूल्यको ५० प्रतिशत मात्र ऋण दिन पाउने व्यवस्था थियो। राष्ट्र बैंकको नयाँ व्यवस्थाले पुँजी बजार मापक नेप्से १२ सय बिन्दुभन्दा माथि पुगेको छ। बुधबार नेप्से सूचक र कारोबार रकम दुवै बढेको छ। नेप्से सूचक ३०.२६ बिन्दुले बढेर १२१६.२७ मा पुगेको छ। यस दिन ६९ करोड ६५ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ।

‘सेयर मूल्यांकन गर्दा नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट प्रकाशित पछिल्लो १८० कार्य दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो रकमको बढीमा ६५ प्रतिशत रकमसम्म मात्र सेयर धितोमा कर्जा प्रवाह गर्न सकिने छ,’ राष्ट्र बैंकले जारी परिपत्रमा भनिएको छ, ‘एक पटक प्रवाह गरिसकेको यस्तो कर्जाको सुरक्षणमा रहेको सेयरको पुनर्मूल्यांकन गरी सोको आधारमा थप कर्जा सीमा कायम गर्न वा थप कर्जा प्रदान गर्न पाइने छैन।’
यसअघि सेयर बजार सुधार गर्न अर्थमन्त्री युवराज खतिवडाले केन्द्रीय बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेका थिए। सोही समितिले दिएको सुझाव प्रतिवेदनका आधारमा केन्द्रीय बैंकले नयाँ परिपत्र जारी गरेको हो।

यसैगरी, सूचीकृत नभएका हकप्रद तथा बोनस सेयरलाई समेत हिसाब गरेर मार्जिन कल गर्न सकिने व्यवस्था गरिएको छ। यसले पनि लगानीकर्तालाई निकै ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ। ‘सेयर बजार मूल्यमा हुने परिवर्तनको कारणले सेयर धितो सुरक्षणको मूल्यमा कमी आएमा सम्बन्धित बैंक था वित्तीय संस्थाले सोको मूल्य अनुगमन गरी थप धितोको लागि ऋणी ग्राहकलाई सूचित गर्नु पर्नेछ। मार्जिन कल गर्दा उक्त सेयरमा प्राप्त हुने यकिन भएको हकप्रद र बोनस सेयर सूचीकरण नभएको अवस्थामा समेत धितोमा राखिएको सेयर संख्यामा गणना गर्न सकिने छ,’ परिपत्रमा भनिएको छ, ‘यसरी प्रवाह भएको कर्जाको अवधि एक वर्षभन्दा बढी हुने छैन। सेयरको धितोमा कर्जा उपभोग गरिरहेका ऋणीले आफूले लिएको कर्जाको सम्पूर्ण बक्यौता ब्याज भुक्तानी गरी कर्जा नियमित रहेको अवस्थामा त्यस्तो कर्जा नवीकरण गर्न सकिनेछ।’

नयाँ व्यवस्थाले सेयर बजार ३० अकंले बढ्यो

तर, अन्य प्रयोजनको लागि प्रवाह भएको कर्जाको लागि थप सुरक्षणस्वरुप ऋण दिएको सेयर धितोको हकमा यो व्यवस्था लागू नहुने पनि राष्ट्र बैंकले प्रस्ट पारेको छ। ‘सम्बन्धित बैंक÷वित्तीय संस्थाले कर्जा प्रयोजनका सम्बन्धमा आवश्यक सूचना, तथ्यांक र विवरण सम्बन्धित कर्जा फाइलमा अद्यावधिक गरेको हुनुपर्ने छ। सो सम्बन्धमा थप धितो सुरक्षणस्वरुप लिइने त्यस्तो सेयर, अतिरिक्त धितोको रुपमा मात्र रहने छ,’ राष्ट्र बैंकद्वारा जारी परिपत्रमा भनिएको छ। केन्द्रीय बैंकले बैंकलाई ब्रोकर लाइसेन्स दिने बाटो पनि प्रस्ट पारिदिएको छ। अब वाणिज्य बैंकहरुले सहायक कम्पनी खडा गरेर ब्रोकरको काम गर्न सक्नेछन्। यसैगरी, मार्जिन ट्रेडिङ प्रक्रिया पनि अघि बढ्ने स्पष्ट संकेत केन्द्रीय बैंकले गरिदिएको छ।

राष्ट्र बैंकको नयाँ व्यवस्थाले लगानीकर्तालाई प्रोत्साहित गरेको छ। केन्द्रीय बैंकले यसअघि नै बैंक ब्याजदरमा अंकुश लगाइसकेको छ। केन्द्रीय बैंकले स्प्रेड दर घटाउन समेत बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। ‘औसत ब्याजदर अन्तर ‘क’ वर्गका इजाजतप्राप्त संस्थाको हकमा २०७५ असोज मसान्तपछि पाँचभन्दा बढी, २०७५ चैतमसान्त पछि ४.७५ प्रतिशतभन्दा बढी र २०७६ असारमसान्तपछि ४.५ प्रतिशतभन्दा बढी  तथा ‘ख’ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्तीय संस्थाको हकमा २०७५ पुस मसान्तपछि र राष्ट्रिय स्तरका बाहेकका वित्तीय संस्थाको हकमा २०७६ असार मसान्तपछि पाँच प्रतिशतभन्दा बढी भए कारबाही गरिने छ,’ राष्ट्र बैंकद्वारा जारी परिपत्रमा भनिएको छ।
यसैगरी, आधार गणना गर्ने विधिमा पनि परिवर्तन गरेको छ। यसले ०.७५ प्रतिशत बिन्दुसम्म ऋणको ब्याजदर घट्ने अनुमान गरिएको छ। यसैगरी, सेयर कर्जा बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो प्राथमिक पुँजीको बढीमा ४० प्रतिशतसम्म प्रवाह गर्न पाउने भएको छन्। यसअघि २५ प्रतिशतसम्म मात्र प्रवाह गर्न पाउँथे। समग्रमा केन्द्रीय बैंकको निर्णय पुँजी बजारमैत्री देखिएको र यसले सेयर बजार अझै बढ्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १२ पुस २०७५ ०१:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App