सिन्धुली – जुनार क्षेत्रमा नमुनाको रुपमा प्रयोग गरिएको क्षेत्रगत किरा नियन्त्रण कार्यक्रम नै प्रभावकारी देखिएको छ। पुसको दोस्रो सातासम्म पनि कार्यक्रम लागू भएको क्षेत्रका जुनारमा किराको प्रकोप कमै देखिएपछि नमुनाको रुपमा लागू गरिएको कार्यक्रम प्रभावकारी देखिएको किसानहरूले बताएका छन्।
गतवर्ष प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना (सुपर जुनार जोन) कार्यक्रमको १० लाख र कृषकको तर्फबाट कर्मा केमिकल्सले १० लाख लगानी गरी २० लाख लागतमा उक्त कार्यक्रम सुरु भएपछि त्यही कार्यक्रम प्रभावकारी देखिएको हो। यहाँको गोलञ्जोर गाउँपालिका ४ तिनकन्यास्थित माझकुभिण्डेको करिब ८ सय रोपनी क्षेत्रफलमा लगाइएको जुनारमा उक्त कार्यक्रम नमुनाको रुपमा लागू गरिएको भएपनि सो कार्यक्रम निकै फलदायी देखिएको कृषकहरू बताउँछन्। तिनकन्यास्थित माझकुभिण्डे नजिकैकी शान्तिमाया आले पोहोरसाल एक दाना पनि जुनार बेच्न नपाएकोमा दुःखी हुँदै यसवर्ष बोटभरी जुनार रहेको बताउँछिन्।
धेरै जुनारका बोट छैनन् तर पोहोर साल किराले ९५ प्रतिशतनै सखाप पारेको थियो, उनले भनिन्, क्षेत्रगत किरा नियन्त्रण कार्यक्रमको औषधि प्रयोग गरेपनि यसवर्ष करिब ९० प्रतिशत जुनार सकुशल छन्। उनले यो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताइन्। बोटमा एक दाना जुनार बस्दा पनि हाम्रो १० रुपैयाँ जोगिन्छ, उनले भनिन्, जति झर्छ क्षति त्यतिनै बढ्छ। सिन्धुलीको प्रमुख नगदेबालिको रुपमा परिचित जुनारमा २०७२ सालबाटै फल कुहाउने औषा पार्ने झिगा चाइनिज सिट्रस फ्लाई ब्याक्ट्रोसेरा मिन्याक्सले आक्रमण गर्न सुरु गरेको थियो।
जुनारमा उक्त प्रकोप देखिएपछि किसान चिन्तित थिए। किराको प्रकोप हटाउन तत्कालिन जिल्ला कृषि विकास कार्यालयले पनि विभिन्न कार्यक्रम गर्दै आएपनि न्यूनिकरण हुन सकेको थिएन। किरा नियन्त्रणकै लागि गत वर्षबाट परिक्षणका रुपमा सुरु गरिएको किरा नियन्त्रण कार्यक्रमले यसवर्ष कार्यक्रम लागू भएका बगैंचामा हालसम्म ९० प्रतिशत जुनारमा क्षति नदेखिएपछि सोही कार्यक्रम प्रभावकारी हुने किसान बताउछन्।
गतवर्ष औषधिको स्प्रेकर्ताको भुमिका निभाएका स्प्रेकर्ता कृष्णबहादुर थापामगर औषधिले जुनारमा निकै राम्रो काम गरेको र आगामी दिनमा समेत किसानले औषधिको प्रयोगलाई निरन्तरता दिए जुनारको उत्पादनमा ह्रास नआउने बताउँछन्। हामीले कार्यक्रम लागू भएको क्षेत्रमा ग्रेट फ्रुट फ्लाई बेट औषधि प्रत्येक ३ बोट मध्ये १ बोटमा हप्ताको १ पटक १० देखि १२ पटक छर्कने काम गरेका हौ, उनले भने, अहिले त्यो प्रभावकारी देखियो। परिक्षणका रुपमा सुरु गरिएको किरा नियन्त्रण कार्यक्रम यस वर्षबाट प्रभावकारी देखिदै गएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना (सुपर जुनार जोन) कार्यालयका प्रमुख देबराज अधिकारी बताउँछन्।
औषधि धेरै महंगो नभएकाले सबै किसान जुटेर किसान आफैंले औषधि गर्न सक्ने उनको भनाई छ। प्रतिबोट १ सय २० देखि १ सय ४० रुपैयाँ भए पुग्छ, प्रमुख अधिकारीले भने एक रोपनी क्षेत्रफलको जुनार बगैंचाको लागि २४ सयदेखि २८ सय पर्ने देखिन्छ। एउटा जुनारको बोटबाट सामान्यतया दश हजार बराबर आम्दानी हुने भएकाले औषधिका लागि धेरै खर्च नदेखिएको र किसान आफैले जुट्नुपर्ने उनको भनाई छ ।
हामी प्राविधिक पक्षको लागि किरा नियन्त्रण गर्न तयार छौ, अधिकारीले नागरिकसँग भने तर त्यसको व्यवस्थापकिय पक्षलाई पनि गाउँपालिका तथा सुपर जोन सञ्चालक समिति तयार हुनुपर्छ। उनले सबै किसानले ध्यान दिएर नियन्त्रणको काम गरे किराको न्यूनिकरण हुनेमा किसान ढुक्क हुन आग्रह गरे।
प्रकाशित: ११ पुस २०७५ ०८:२९ बुधबार