८ वैशाख २०८१ शनिबार
समाज

भूकम्पको कृतिम अभ्यास

दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकमा भूकम्पको कृतिम अभ्यास गर्दै। तस्बिरः बिरा गडाल/नागरिक

बैतडी – दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकका वडाध्यक्ष हरिश जोशीले आफ्नो कार्यकक्षमा रहेका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेको मोबाइलमा फोन गरे। हतारिएको स्वरमा उनले भने, ‘सर भर्खर यहाँ भूकम्प आयो, धेरै क्षति भएको अनुमान छ। उद्धार टोली पठाउनु प-यो।’

प्रजिअ गैरेले भने जिल्लाबाट उद्धार टोली पठाउछु। तपाईहरु पनि घटनास्थलमा गएर उद्धारमा खटिनुहोस। वडाध्यक्ष जोशीले यसरी नै रेडक्रस, प्रहरीलाई फोन गर्छन। समुदायस्तरमा भूकम्पको कृतिम घटना अभ्यासको क्रममा दर्शकहरुलाई वास्तविक भूकम्प गएको अभास हुन्थ्यो।

नेपाल रेडक्रसबाट सञ्चालित बाल केन्द्रीत विपद् जोखिम न्यूनीकरण कार्यक्रमले भूकम्प जस्ता प्रकोपबाट हुने क्षति कम गर्न र प्रकोपपछि उद्धार र राहत वितरणको कृतिम अभ्यास उक्त नगरपालिकाका विभिन्न वडामा सञ्चालन गरेको हो। कृतिम अभ्यास कार्यक्रममा जनप्रतिनिधि, स्थानीय विपद् व्यवस्थापन समिति, विद्यार्थी, शिक्षक लगायत स्थानीयको सहभागिता रहेको थियो।

विपद्को बेला उद्धार कार्यमा सजिलो होस भन्ने उद्देश्यले कृतिम घटना अभ्यास कार्य सम्पन्न गरिएको हो। उक्त नगरपालिकाका सबै वडालाई सहभागी गराइएको कृतिम घटना अभ्यासमा स्थानीयको उत्साहपूर्ण सहभागिता थियो। विपद् पूर्व तयारी तथा प्रतिकार्यको तालिम पाएका दक्ष जनशक्तीले विपद्को बेलामा गरिने उद्धारको कृतिम अभ्यास गरेका हुन्।

बैतडी जिल्ला भूकम्पको जोखिममा छ। प्रकोप जुनसुकै समयमा पनि आउने भएकाले प्रकोपका घटनाबाट क्षति कम गर्न यस्ता अभ्यासहरु नियमित भएमा समुदाय चनाखो हुने र विपद्पछि पनि सहजीकरण गर्न सकिने अवस्थामा पुग्ने बैतडी रेडक्रसका सभापति भीमदत्त पाण्डेयले बताए।

जिल्लामा विभिन्न प्रकोपका घटना हुने संभावना छन्। बाढीपहिरो, नदीकटान, आगलागी, चट्याङ, हावाहुरीले बर्सेनी धनजनको क्षति हुने गरेको छ। प्रतिकार्यको लागि समुदायलाई सचेत गर्न सके मात्र न्यून क्षति हुने संभावना भएको रेडक्रस बैतडीका मन्त्री रमेशसिंह भण्डारीले जानकारी दिए।

भूकम्प आएपछि अपनाउनु पर्ने उपाय, खोज र उद्धार, पुनर्स्थापना, घाइतेको उपचार, सरसफाइ, सुरक्षित स्थानमा पु-याउने र प्रतिकार्य लगायतका कार्य सम्बन्धि काल्पनिक परिस्थिति अनुसारका अभ्यासहरु गरिएको थियो। उक्त अभ्यासमा तालिम प्राप्त स्वंयसेवकहरुले भूकम्प र आगलागीको बेला हुने गरेको क्षति न्यूनीकरण गर्न अपनाउनु पर्ने तत्कालीन उपायबारे अभ्यासमार्फत स्थानीयलाई जानकारी गराएका थिए। कृतिम अभ्यासमा घटनापछि राहत समाग्री वितरण, क्षति विवरण संकलन गरिएको थियो। नगरपालिका वडा कार्यालय र रेडक्रसले दिने राहतको समेत कृतिम अभ्यास गरिएको रेडक्रसका कार्यक्रम अधिकृत तेजप्रसाद पाण्डेले बताए।

जोखिममा रहेको स्थानका समुदायलाई जागरुक गराउन तत्काल उद्धार तथा राहतका लागि र प्राकृतिक विपद्को सामना गर्न पूर्व तयारी स्वरुप थालिएको कृतिम अभ्यासले जनप्रतिनिधि र स्थानीयलाई जागरुक गराएको दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताए। विपद् व्यवस्थापन अभ्यास अभियानले विपद्का बेला कसरी जोगिने र अरुलाई पनि कसरी जोगाउँने भन्ने विषयमा ज्ञान हासिल हुन सजिलो भएको दशरथचन्द नगरपालिका–२ का वडाध्यक्ष रनबहादुर बोहराको भनाइ थियो।

प्रकाशित: ११ पुस २०७५ ०५:५२ बुधबार

भूकम्प कृतिम_अभ्यास बैतडी