७ वैशाख २०८१ शुक्रबार
कला

फेवा किनारमा ‘नेतृत्व कस्तो, कसको ?’

अन्तरसंवादमा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेल, विवेकशिल साझाका रवीन्द्र मिश्र, नेकपाका नारायणकाजी श्रेष्ठ र नेपाली काँग्रेसका गगन थापा। तस्बिरः उमेश पुन/नागरिक

पोखरा - मंगलबार अन्य दिनभन्दा धेरै मानिस फेवाताल किनारमा देखिए। चारदिनदेखि जारी ‘आइएमइ साहित्यिक महोत्सव’को अन्तिम दिन र चर्चाको केन्द्रमा रहेका तीन नेताको गरमागर्मी बहस सुन्न मानिसहरू पुसको चिसोलाई बेवास्ता गर्दै भेला भए। महोत्सवमा यसअघि एकै समयमा दुईवटा कक्षमा कार्यक्रम गरिँदै आएकोमा ‘अबको नेतृत्वः कस्तो, कसको ?’ नाम दिईएको यो सेसनकै लागि अर्को कार्यक्रम भएन्, आयोजकले यो कार्यक्रमसँगै अर्को कार्यक्रम जुधाएनन्।

कार्यक्रमको समय थियो, दिउँसो १ बजेदेखि २ बजेसम्म। कार्यक्रमका आकर्षण थिए, समयपालनमा कटिबद्ध नेताको परिचय बनाएका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, कांग्रेसका युवा नेता तथा सांसद गगन थापा र पत्रकारितादेखि राजनीतिसम्मको यात्रा गरेका विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र।

तीनै नेताहरूलाई मञ्चमा उतारेर प्रश्न गर्न नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेल तयार थिए। गरमागर्मी राजनीतिक बहस चलेको उक्त कार्यक्रममा नेकपाका प्रवक्ता श्रेष्ठले सरकार भित्रको कमजोरीलाई आत्मालोचना गर्दै अगाडि बढ्ने, भ्रष्टाचार, कर्मचारीतन्त्रमा सुधारलगायतका विषयमा कुराहरू राखे। कांग्रेस नेता थापाले पार्टीको लाईन, नेतृत्वको विषयमा कुराहरू राखे भने साझा विवेकशीलका संयोजक मिश्रले दुई पार्टीभित्रका कमजोरीहरूमाथि प्रहार समेत गरे।

१ घण्टासम्म चलेको उक्त कार्यक्रमको संक्षिप्त अंश:
विषय हेर्दा सामान्यजस्तो लाग्छ तर अहिले नेपालमा उठिराखेको प्रश्न, धेरै मानिसहरूले भन्छन् कि राम्रो नेतृत्व भएन, अथवा समस्याहरू धेरै ठुला छन्। तर ती समस्याहरू अहिलेको नेतृत्वले समाधान गर्न सक्छ कि सक्दैन ? अथवा आगामी दिनमा भावी नेतृत्वले कसरी यसलाई समाधान गर्न सक्छ ? आजकल त कस्तो भएको छ भने आफ्ना नेताहरूसँग चित्त नबुझ्दा हामीले बाहिरका नेताको उदाहरण पनि ल्याउँछौं। कहिले हामीले बाराक ओबामाले क्रिसमसको उपहार लिएर बालबालिकाको अस्पताल गईरहेको देख्दा हाम्रो सामाजिक सञ्जालमा भाइरल बन्छ। हामी पनि हाम्रा नेताहरूमा त्यस्तै केही खोजिरहेका हुन्छौं। पाकिस्तानमा भर्खरै आएका नयाँ प्रधानमन्त्रीले आफ्नो सरकारी निवास छाडेर सामान्य ठाउँमा बस्ने र बुलेटप्रुफ गाडी बेच्छु भन्दाखेरि पनि हामीलाई अर्कै खालको अनुभूति हुन्छ। के हाम्रा नेताहरूले त्यस्तो गर्न सक्नुभाछैन, अथवा हामीले हामीभित्रै भएको नेतृत्वलाई देख्याछैनौं कि ? हिजो पनि एउटा छलफलमा आएको थियो कि नेताहरूलाई मात्र दोष नदिउँ त्यो दोष हामीमा पनि छ भनेर। के त्यो दोष हामी जनतामा छ अथवा हामीले खोजेको कुराहरू हाम्रो नेताहरू यही भित्र हुनुहुन्छ हामीले खोज्न नभ्याएको हो कि भन्ने छ।
यसै विषयमा रहेर आज हामीले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापा र लामो समय पत्रकारिताबाट राजनीतिमा आउनुभएका विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रसँग कुराकानी गर्नेछौं।

यसमा थालनी नेता भनेको के हो भन्ने प्रश्नबाट सुरु गरौं। सुरुमा यो प्रश्न नारायणकाजी श्रेष्ठलाई।
नारायणकाजी श्रेष्ठ

नेता आफ्नो समाजलाई असत्यको वरिपरि ल्याउँदै, समाजको रूपान्तरणको निम्ति अगुवाको भूमिका खेल्ने, विचार, व्यक्ति प्रवृत्ति नेता हो।

गगन थापा
मेरो विचारमा यो सबैभन्दा बढि सोधिएको प्रश्न पनि हो। नेता, नेतृत्व यस्तो हुनुपर्छ, यस्तो भईदिए हुन्थ्यो भन्ने कुरा सबैभन्दा बढि छलफल गरिएको लेखिएको पुस्तकहरूमध्ये पनि सबैभन्दा बढि होला। मेरो चाहिँ हामी नेता भनेर भन्दै गर्दा पक्कैपनि राजनीतिकर्मीको कुरा गरिएको होला। होइन भने नेताको परिभाषाभित्र हामी तीनजना मात्र कसरी अट्यौं ? यो भित्र अरुथरिका मानिस पनि हुनुपथ्र्यो। राजनीतिकर्मीको सन्दर्भमा यो प्रश्न हो भने चाहिँ मेरो विचारमा जसले प्रश्न गर्ने सामथ्र्य राख्छ। जो बनिबनाउ उत्तरको पछि कुद्दैन र कहिँ उत्तर छ। मैले मात्र देखेको छु। मलाई मात्र थाहा छ, म नभएकोले त्यो उत्तर नआएको हो भन्ने जो ठान्दछ । जसले समस्या छ भन्ने बुझ्छ। समस्यालाई हल गर्नको निमित्त उपायहरूको खोजी गर्छ र निरन्तर रूपमा प्रश्न गरिराख्छ।

रवीन्द्र मिश्र
यो राजनीतिक बहस भएको हुनाले निश्चय पनि राजनीतिक नेताकै कुरा होला। म त भर्खरै राजनीतिमा खरानी दलेको मान्छे भएकाले मेरो अग्रजहरू यहाँ हुनुहुन्छ। यहाँहरूबाट राम्रो नराम्रो दुवै कुराहरूबाट सिकेको छु। मैले हेर्दाखेरि नेता भनेको जनता हो। तर, जनता र राजनीतिक नेतामा फरक के छ भने राजनीतिक नेताले जनताको सपना, आकांक्षालाई कार्यान्वयन गर्न सक्छ। त्ययसकारण नेता भनेको खासमा जनता नै हो।

नारायणकाजी श्रेष्ठजीको नाम पार्टीभित्र स्पष्टवक्तासँगै समय पालनामा पनि चलेको छ। समयमा जहाँ पनि पुग्ने र समयमा कार्यक्रम चलेन भने छाडेर हिँड्नुहुन्छ। पार्टीकै कार्यक्रम पनि उहाँले छाडेर हिँड्नुभएको छ। उहाँ आफू जति सक्रिय हुनुहुन्छ, आफ्नो काममा र आफ्नो समयलाई त्यति महत्व दिनुहुन्छ। त्यही तहको समयको महत्व उहाँको पार्टीभित्र अथावा उहाँले सञ्चालन गर्नुभएको संगठनभित्र छ कि छैन  ? अहिले सार्वजनिकरुपमा धेरै महत्वको प्रश्न गरिन्छ कि हामीले नेतै भएर भनेका छौं। के त्यस्तो हो र ?
नारायणकाजी श्रेष्ठ

उहाँले २ वटा प्रश्न राख्नुभएको छ। समयको बारेमा र नेताको आवश्यकता र अहिलेको स्थिति के छ भन्ने बारेमा। यो समयको बारेमा मैले प्रष्टसँग भन्दै आईरहेको छु कि हाम्रो राजनीतिक पार्टीमा,  नेतृत्वमा, संयन्त्र र समाजमा पनि समयको पालना नगर्ने ध्यान नदिने प्रवृत्ति छ। नेपालमा आफै ढिलो गर्ने र नेपाली समय त हो भनेर आफ्नै देशलाई अपमानित गर्ने प्रवृत्ति छ। यसलाई परिवर्तन नगर्दासम्म हामीले अरु कुरामा पनि परिवर्तन गर्न सकिँदैन भन्ने कुरामा विश्वस्त छु।

यसको सकारात्मक परिणाम पछिल्ला बैठकहरूमा देखिन थालेको छ। समाजमा पनि दुरगामी रूपमा यसको सकारात्मक परिणाम पर्नेछ। नेता व्यक्तिको रूपमा भन्दा पनि म पहिला शक्ति, राजनीतिक प्रवृत्तिलाई  मान्न चाहन्छु। नेपालमा लामो समयदेखि हामीले सामन्तवादलाई अन्त्य गर्न र लोकतन्त्र स्थापना गर्न संघर्ष ग-यौं। नेपालमा नेपाली कांग्रेसको नेतृत्वमा सामन्तवादविरोधी संघर्ष पहिला अगाडि बढ्यो। जसमा वामपन्थी, अरु देशभक्त शक्तिहरू पनि सामेल भए तर, त्यसले पूर्णता प्राप्त गरेन। पछि नेपालका कम्युनिष्ट शक्तिहरूको नेतृत्वमा हामीले नेपाली कांग्रेससँग समेत समन्वय गरेर नेपालमा सामन्तवादको अन्त्य ग-यौं र नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना ग-यौं। त्यसकारणले नेपालमा नेतृत्व छैन भन्न मिल्दैन। संघीय लोकतान्त्रिक गणतन्त्र जो सारतत्वमा समाजवादउन्मुख समावेशी लोकतन्त्रको रूपमा संविधानमा संस्थागत गरेका छौं। त्यो संविधानलाई कार्यान्वयन गरेर आवश्यकताअनुसार परिमार्जन पनि गर्दै नेपाललाई सामाजिक न्यायसहितको समृद्ध मुलुक बनाउनु छ। त्यो कार्यभारको नेतृत्व पनि नेपाल कम्युनिष्ट पार्टीले गर्छ भनेर नेपाली जनताले जनादेश दिएका छन्।

अहिले नेपाली कांग्रेसमा लामो छलफलहरू भए, बहस पनि भए। यहाँ युवा नेता हुनुहुन्छ तर यहाँले नै पार्टीलाई नेतृत्व गरेर जान सक्नुहुन्छ भन्ने विश्वास चाहिँ आमजनतामा भएकै छैन्, किनभने यहाँहरूले नेतृत्वलाई हस्तक्षेप नै गर्न सक्नुभएन भन्ने छ। के यहाँहरूले नेतृत्वलाई हस्तक्षेप गरेर अगाडि बढ्न सक्नुहुन्छ,केही सम्भावनाहरू छन्?

गगन थापा
नेपाली कांग्रेस पार्टीभित्र नेतृत्वमा हस्तक्षेप पनि गर्ने, नेतृत्व बदलिने, हामी नेपाली कांग्रेसको उच्च नेतृत्वमा पुग्ने कुराहरू अवश्यम्भावी छ। त्यो हुन्छ। हामीले खाली एउटा कोणबाट हाम्रो ठाउँबाट दाबी ग-यौं। हामी त्यहाँ हुनुपर्छ भनेर। तर, भएपछि  के हुन्छ भन्ने र केका निम्ति भन्ने प्रश्नको उत्तर खोजेनौं भने त्यति लामो यात्रा निरर्थक हुन्छ। नेपालमा चाहे कम्युनिष्ट, चाहे कांग्रेसका नेताहरू सत्ता र संस्थापनका विरुद्धमा लड्नुभयो।। जे आँट्नुभो त्यो पुरा गर्नुभयो। त्यही व्यक्ति जबदेखि जुन परिवर्तनको लागि लागेको थियो त्यो परिवर्तन प्राप्त भईसकेपछि त्यही व्यक्ति नैतिकताको सार्वजनिक कसी हो, त्यसमा एकदम निम्छरो देखियो।

यो एउटा व्यक्तिको मात्र होईन, आम राजनीतिक नेताको कुरा हो। हामी कोहीपनि यसमा अछुतो छैनौं। मैले सन्दर्भ ल्याउन खोजेको भोलि हामी त्यहाँ पुगेपछि त्यस्तै हुन्छौं कि भनेर हो। हामीबिच एउटा आम प्रवृत्ति छ। अहिलेको सरकार के भनेर सरकारमा आयो भने अहिले मैले जितिन भने अर्को पार्टीले जित्छ, त्यो भनेको नेपाली कांग्रेस हो। त्यो पार्टीले त्यस्तै प-यो भने देशै बेच्दिन्छ। मान्छेलाई तर्साएर आयो, भयभित बनाएर आयो। हामी अहिले यो यस्तो सरकार हो। ५ वर्षसम्म यसले अलिअलि अधिनायकवाद ल्याईहाल्छ। त्यो ५ वर्षपछि पनि सरकार बनेमा ठ्याक्कै अधिनायकवाद ल्याउँछ। अब हामी अरुलाई तर्साइराछौं, हामी बच्छौं।

यता रवीन्द्र दाईहरू हुनुहुन्छ। उहाँहरू नयाँ हुनुहुन्छ। नयाँ आउनेले हामी दुई (कांग्रेस र कम्युनिष्ट)लाई देखाएर यी यिनले चलाउँदै गए भने त देशै बेच्छन्, सक्छन्। हामी सबै डरको खेती गरिरहेका छौं। भय बेच्छौं। अर्को आयो भने के गर्छ भन्ने कुराको डर बेचेर आउँदै गर्दादेखि हामी पुग्न त पुग्छौं। हामी पनि पार्टीभित्र त्यही गर्र्दै आईरहेका छौं। बुढा नेताहरूले चलाए भने बर्बाद हुन्छ। उहाँहरू हाम्रो ठाउँमा आउनुहुन्छ। हामीहरू उहाँको ठाउँमा पुग्छौं। त्यसैले हाम्रो नेतृत्व विकास गर्ने चरणमा चाहे त्यो शक्तिको रूपमा नयाँ शक्ति होस वा पार्टीमा नयाँ मानिस हौं। हामीले जहिले पनि बडो सजिलो रूपमा त्यो भएन, राजासँग लड्दा राजा, पञ्चायतसँग लड्दा पञ्चायत, कम्युनिष्टसँग लड्दा कम्युनिष्ट भएन भने भयो। त्यही नेता एउटा परिवेशमा जनमत पनि परिचालन गर्छ। तर त्यही व्यक्ति जब सरकारको कुर्चीमा बस्दा डेलिभर बस्न किन सक्दैन ? त्यहाँ एउटा न्युज सेक्टर स्किल चाहिन्छ। त्यो न्युज सेक्टर स्किलले इकोसिस्टम भित्र काम गर्न सक्ने विषयमा हामीले कहिले पनि खोजी गरेनौं।
यो बेलामा मेरो ठाउँबाट हेर्दा नेतृत्व हस्तक्षेप गर्ने कुरा हामीले अघिल्लो महाधिवेशनबाट गरिसक्यौं। यो पटक भित्रै

छिर्ने हो, गेट् क्र्यास गरेरै छाड्ने हो। कुर्चीमा धकेलेरै भएपनि बस्ने हो भन्ने छ। तर, त्यहाँ बसिसकेपछि के गर्ने भन्ने बारेमा चाहिँ यतिखेर म वा म भन्दै गर्दा मेरो प्रतिनिधि पुस्ता तयार भएको हो कि तयार भएको छ कि छैन भन्ने प्रश्न महत्वपूर्ण हो।

तपाई भय नै बेच्न आउनुभएको हो कि ?
रविन्द्र मिश्र

हामीले देश सकिँदै छ भन्ने भय बेचेर हामी बाँच्यौ भनेर उहाँले भन्नुभयो। म आज दुई पार्टीका दुई वरिष्ठ नेताहरूलाई के भन्न चाहान्छु भने यो देश त्यसै रुपान्तरण गरेर सोच्नु पर्दैन तपाईहरूले  ? गर्न सकिने पाँच ६ वटा काम गर्नुहोस्। यो भनेको तपाईहरूले तपाईहरूको पार्टीका नेताहरूलाई भनिदिनुहोस्। दलीय पेशागत संगठन बन्द गरौं, अब चाहिँदैन हाम्रो पार्टीलाई भन्दिनुस्। कुन चाहिँ संसारमा एउटा सरकारी कार्यालयमा ६ वटा ट्रेड युनियनको बोर्ड झुन्डाएर कुन चाहिँ देशले प्रगति गरेको छ मलाई भन्दिनुस। यदि यो देश बनाउने हो भने, सबैभन्दा पहिले तपाईले भन्नुहोस, अब हामीलाई दलीय पेशागत संगठन चाहिँदैन, तपाईहरू गएर भन्नुहोस प्राध्यापकलाई राजनीति गराउनु छैन, हामीलाई वकिल, इन्जिनियर, डाक्टर, विद्यार्थीको कलेजको परिधिभित्र राजनीति गराउनु छैन्। कलेजको बाहिरमात्रै हामीले राजनीति गराउँछौ भन्नुहोस।

त्यति भन्ने बित्तिकै न्यायलयमा जुन अन्याय भएको छ। कर्मचारीतन्त्रमा जुन बेथिती र भ्रष्टाचार भएको छ। त्यो धेरै न्यून हुन्छ। न्यून हुनेबित्तिकै सरकारले फङ्क्सन गर्नुपर्छ। फियर बेच्नुपर्दैन। त्यसकारणले गर्दा पार्टीभित्र पहिले संरचनागत परिवर्तन गर्नुपर्छ। तपाईहरू गएर भन्नुहोस म बिन्ति गर्छु, आज हामी पाँचौ ठुलो पार्टी छौं, पाँचौ ठुलो नै भएर बसौंला तपाईहरू नै देश बनाउनुहोस्, तर गएर भन्ने आँट छ ? यहाँ बसेर नेताहरूले जब आदर्श बक्नुहुन्छ नि, देश परिवर्तन गर्ने कुरा भन्नुहुन्छ, यो ३ महिना, ५ महिनाभित्र गर्न सक्ने काम गर्ने कि नगर्ने ?

प्रकाशित: ११ पुस २०७५ ०४:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App