८ वैशाख २०८१ शनिबार
समाज

तीन वर्षमा ३७ हजार घर निर्माण

पुनर्निर्माण प्राधिकरणमा मंगलबार आयोजित पत्रकार सम्मेलन। तस्बिरः नागरिक

काठमाडौं - भूकम्पपछिको पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन भएको तीन वर्ष बित्दा ४५% भूकम्पपीडितले मात्र घर निर्माण सम्पन्न गरेका छन्। प्राधिकरणका अनुसार अनुदान सम्झौता गरेका कुल सात लाख ४२ हजार एक सय ३५ भूकम्पपीडितमध्ये तीन लाख ३७ हजार तीन सय १९ घरधनीले मात्र घर पुनर्निर्माण सम्पन्न गरेका छन्। त्यस्तै, दुई लाख ३३ हजार तीन सय ४३ घर पुनर्निर्माणको क्रममा रहेको प्राधिकरणले जानकारी दिएको छ।

‘भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माणमा हालसम्म ७७ प्रतिशत प्रगति भएको छ,’ प्राधिकरण गठन भएको तीन वर्ष पुगेको अवसरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने, ‘४५ प्रतिशत घर निर्माण सम्पन्न भएका छन् भने ३२ प्रतिशत पुनर्निर्माणको चरणमा रहेका छन्।’ निजी आवास पुनर्निर्माण चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए। निजी आवास पुनर्निर्माणमा स्थानीय तहसँग सहकार्य गरेकाले तोकिएको अवधिमा पुनर्निर्माण सम्पन्न हुने उनको भनाइ छ।

‘प्राविधिक सेवाको सहज पहुँचका लागि वडा तहमा पर्याप्त इन्जिनियर र डकर्मी परिचालन गरेका छौं,’ सिइओ ज्ञवालीले भने, ‘स्थानीय तहमा कार्य जिम्मेवारी, स्रोतरसाधन र अधिकार हस्तान्तरण गरेका छौं।’ प्रत्येक स्थानीय तहमा पुनर्निर्माण समन्वय समिति र कार्यान्वयन एकाइको व्यवस्था गरिएकाले त्यहींबाट पुनर्निर्माण कार्यको कार्यान्वयन, अनुगमन र समीक्षा हुने उनले बताए।

‘सबै भूकम्पपीडितलाई सुरक्षित आवास सुनिश्चतता गर्ने लक्ष्य छ। कोही भूकम्पपीडित परिवार नछुटुन् र कोही नदोहोरिउन् भन्ने सोचका साथ काम गरिरहेका छौं,’ ज्ञवालीले भने। भूकम्पपीडितलाई अनुदानबापतको रकम बैंक खातामार्फत भुक्तानी गरिएकाले त्यसमा गरिने खर्च पूर्ण पारदर्शी हुने उनको दाबी छ।

जोखिमपूर्ण बस्ती स्थान्तरण, गुनासो सुनुवाई, सम्पदा बस्ती निर्माण, जोखिम वर्गको घर निर्माणमा सहयोगलगायत कार्य पनि प्रभावकारी रुपमा अगाडि बढाइएको उनले बताए। उनले आर्थिक अवस्था कमजोर भएका भूकम्पपीडितलाई घर निर्माणका लागि बैंक तथा वित्तीय संस्थामार्फत् सहुलियत ऋण लिनसक्ने व्यवस्था गरिएको बताए। पुनर्निर्माण सम्पन्न भएका र पुनर्निर्माण भइरहेका स्थानमा आर्थिक सामाजिक पुनस्र्थापनाका लागि जीविकोपार्जन लगायतका कार्यक्रमलाई विशेष प्राथमिकता दिएर काम गर्ने उनको भनाइ छ।

सीइओ ज्ञवालीले अबको दुई वर्षमा पुनर्निर्माणका सबै काम सम्पन्न हुने दाबी गरे। प्राधिकरणका अनुसार भूकम्पबाट भत्किएका विद्यालय भवन पुनर्निर्माणमा ८० प्रतिशत प्रगति हासिल भएको छ। जसमा ५५ प्रतिशतको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने २५ प्रतिशत निर्माणाधीन छन्। भूकम्पबाट क्षति भएका सात हजार पाँच सय ५३ विद्यालयमध्ये चार हजार एक सय ७२ विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको प्राधिकरणको तथ्यांक छ। त्यस्तै, एक हजार नौ सय २१ विद्यालय पुनर्निर्माणको क्रममा छन्। त्यसैगरी, पुनर्निर्माण सम्पन्न र निर्माणाधीन संरचनाको प्रगति स्वास्थ्य संस्थातर्फ ६६ प्रतिशत, सरकारी भवन ९५ प्रतिशत, सुरक्षा निकायका भवनमा ५४ प्रतिशत, पुरातात्विक सम्पदामा ६८ प्रतिशत हासिल भएको प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणले शैक्षिक संस्था, स्वास्थ्य संस्था, सरकारी एवं सुरक्षा निकायका भवन, पुरातात्विक महत्वका सम्पदा, गुम्बा पुनर्निर्माण लगायतका क्षेत्रमा आगामी दुई वर्षको लक्ष्य सार्वजनिक गरेको छ।

प्रकाशित: ११ पुस २०७५ ०४:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App