coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

थलियो निकुञ्ज पर्यटन

चितवन–  भूकम्पले थलिएको चितवनको पर्यटन क्षेत्र अझै उठ्न  सकेको छैन। पर्यटक कम भएपछि पर्यटन व्यवसायी सुस्ताएका छन्। केही वर्षयता तीव्र बनेको नयाँ होटल खोल्ने कार्य भूकम्पपछि ठप्प जस्तै छ।

 'सन् २०१२ र १४ को बीचमा होटल निर्माण तीव्र थियो। सौराहा, पटिहानी, जगतपुर र मेघौली क्षेत्रमा त्यही बेलामा ठूला लगानीका सुविधासम्पन्न होटल बने। 'भूकम्पपछि त खासै होटल बनेका छैनन्,' क्षेत्रीय होटल संघ, सौराहाका वरिष्ठ उपाध्यक्ष सुमन घिमिरेले भने। साना लगानीका एकाधबाहेक नयाँ होटल नबनेको उनले बताए।

 सन् २०१२ यता १३ वटा होटल थपिएको उनले बताए। चार वर्षअघि निर्माण थालिएको चौधरी ग्रुपको होटल 'मेघौली सेराइ' सदरमुकाम भरतपुरदेखि ३३ किलोमिटर पश्चिम मेघौलीमा यो वर्षदेखि सञ्चालनमा आएको छ। भारतको ताज समूहले व्यवस्थापन गर्ने धनाढ्य पर्यटक लक्षित यो होटलमा ७५ करोड रुपैयाँ हाराहारी लगानी भएको छ। मेघौली क्षेत्रमा योसहित पोखराका सफल होटल व्यवसायी विप्लव पौडेलको बराही जंगल रिसोर्ट, सारांग जंगल रिसोर्ट जगतपुरमा टाइगर ल्यान्ड, पटिहानीमा कसरा रिसोर्ट, जंगलभिल्ला रिसोर्ट जस्ता सुविधा सम्पन्न पर्यटकीय होटल भूकम्प आउनुभन्दा अघि नै खुलेका थिए।

 तीन वर्षयता सौराहा होटल सेभेन, ल्याण्ड मार्क, सेन्टर पार्क, ग्रीनपार्क जस्ता ठुला होटल खुले। सामान्य होटलका लागि पनि एक करोड रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ। सौराहा क्षेत्रमा अधिकतम ३५ करोड रुपैयाँसम्म लगानीका होटल रहेको क्षेत्रीय होटल संघका वरिष्ठ उपाध्यक्ष घिमिरेले बताए। पर्यटक आउन रोकिएसँगै व्यवसायीले नयाँ होटल खोल्न जाँगर नचलाएको उनी बताउँछन्।

 'लगभग ९९ प्रतिशत होटल बैंकको ऋणमा खुलेका छन्। पर्यटक नआउँदा ती समस्यमा हुन सक्छन्,' घिमिरेले भने। सौराहाका केही होटलले स्विमिङ पुल बनाउने र कोठा सुधार गर्न थालेको उनले बताए। सौराहा क्षेत्रमा मात्रै  सय होटल छन्। यहाँको होटलमा २२ सय जनालाई सुताउने क्षमता छ। चितवनका पर्यटकीय होटलमा २५ सय पाहुना सुताउन सकिन्छ। 'पर्यटक नआए पनि होटल निर्माण त नरोकिनु पर्ने हो। यो बेला बने पर्यटक बढ्दा बस्न काम लाग्थ्यो तर त्यसरी कसैले सोचेन,' घिमिरेले भने। पर्यटक धेरै आउन थाले बस्ने कोठाको अभाव हुने उनले बताए। तर भूकम्पपछि पर्यटक संख्या ह्वात्तै घटेको छ।

भूकम्पपछि ओरालो लागेको पर्यटक संख्या चैत महिनामा केही आशालाग्दो देखिए पनि फेरि वैशाखबाट ओरालो लाग्न थालेको छ। चैतको तुलनामा वैशाख र जेठमा पर्यटकको संख्या क्रमशः घट्दो छ। भूकम्पपछि सुस्ताएको पर्यटन असोजमा संविधान जारी भएसँगै भारतको नाकाबन्दीले थप मारमा परेको हो।

नाकाबन्दी हटेपछि पनि पर्यटक आवागमनमा उल्लेख्य सुधार देखिएको छैन। भूकम्पअघिका वर्षमा महिनामा कम्तीमा १० हजार पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुम्ने गरेको निकुञ्ज तथ्यांक छ। भूकम्पअघिका आर्थिक वर्षमा महिनामा बढीमा २५ हजार पर्यटकले निकुञ्ज घुमेको तथ्यांक छ। चितवन निकुञ्ज काठमाडौं र पोखरापछि सबैभन्दा धेरै पर्यटक घुम्न आउने स्थानमा पर्छ। निकुञ्जका दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा, पाटे बाघ पर्यटकका आकर्षण हुन्।

चितवन राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय कसराबाट प्राप्त विवरण अनुसार गएको गत जेठमा स्वदेशी तथा विदेशी गरी नौ हजार १२१ जना निकुञ्ज आएका थिए। वैशाखमा यो संख्या ११ हजार तीन सय ९२ र चैतमा १२ हजार १४७ थियो।

सामान्य अवस्थामा कात्तिकमा निकुञ्ज घुम्ने पर्यटकको संख्या धेरै हुन्छ। अघिल्लो आर्थिक वर्षको कात्तिकमा २५ हजारभन्दा धेरैले निकुञ्ज घुमेका थिए। चालु आवको कात्तिकमा आठ हजार सात सय ५३ जनाले निकुञ्ज घुमेको तथ्यांक छ। कात्तिक अघिका महिनामा पर्यटक संख्या पाँच हजार पनि पुगेन। कात्तिक पछिका महिनामा निकुञ्ज घुम्ने पर्यटक संख्या पाँच हजारभन्दा बढी छ। नाकाबन्दी हटेपछि सामान्य देखिएका महिनामा पर्यटक संख्या  १० हजारभन्दा कम हुनु सोचनीय भएको पर्यटन व्यवसायी बताउँछन्।

'भूकम्प, नाकाबन्दी जस्ता असामान्य घटनाले यो वर्ष पर्यटन सामान्य अवस्थामा फर्कन सकेन। भदौदेखि केही सुधार होला भन्ने आशा छ,' घिमिरेले भने।

निकुञ्जमा भूकम्पअघि १२ महिना पर्यटक चहलपहल हुन्थ्यो। भूकम्पपछि चिनियाँ पर्यटक आउन निकै कम भएको घिमिरेले बताए। त्यसैले पर्यटकको संख्यामा सुधार नदेखिएको उनको भनाइ छ। चालु आर्थिक वर्षको ११ महिनामा ८१ हजार आठ सय १३ पर्यटकले निकुञ्ज घुमेका छन्। अघिल्लो आर्थिक वर्षको यही अवधिमा एक लाख ७८ हजार पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए।

प्रकाशित: ११ असार २०७३ ०५:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App