८ वैशाख २०८१ शनिबार
अर्थ

पशुपतिनगरबाट १९ दिनमा कञ्चनजंघा

पशुपतिनगर–हापुखोला पर्यटकीय पदमार्गमा पर्ने नेपाल–भारत सीमावर्ती क्षेत्रको कालपोखरी।  तस्बिर : भीम/नागरिक

इलाम – पूर्वी भारतीय सीमावर्ती क्षेत्र पशुपतिनगरदेखि कञ्चनजंघा हिमालको बेसक्याम्पसम्म पर्यटकीय पदमार्गको सम्भाव्यता अध्ययन गरिएको छ। १९ दिन लगाएर ‘द ग्रेट हिमालयन ट्रेल’का विज्ञसहितको टोलीले यो पदमार्गमा पर्यटकका लागि आवश्यक पूर्वाधारसमेतको अध्ययन गरी प्रतिवेदन तयार गरेको हो। 

इलाम, पाँचथर र ताप्लेजुङको उच्च पहाडी क्षेत्रमा पदमार्ग भएर पर्यटक आउने सम्भावना उच्च रहेको चर्चा चल्ने गरेपनि अध्ययन हुन सकेको थिएन। गत वैशाखमा मेची पहाडी क्षेत्र पर्यटन पूर्वाधार विकास समितिको पहलमा विज्ञहरूको टोलीले पदमार्ग अध्ययन गरेको हो। टोली पशुपतिनगरबाट पदयात्रा गर्दै १९औं दिन ताप्लेजुङको कञ्चनजंघा बेसक्याम्प हापुखोला पुगेको थियो। पहिलो दिनदेखि अन्तिम दिनसम्म कुन स्थानदेखि कहाँ पुग्ने, सडक, उचाई, हावापानी, खानेकुरा, बसोबासलगायत सबैखाले अध्ययन यसमा समेटिएको छ। 

समितिका कार्यकारी निर्देशक केशव धौरालीले पशुपतिनगरबाट कञ्चनजंघा हिमालसम्म नेपालकै बाटो भएर पुग्न सकिने पदमार्ग अध्ययन गरिएको बताए। ‘पशुपतिनगरबाट यात्रा सुरु गरेपछि कुन दिन कहाँ बस्ने, कति उचाईको ठाउँमा पुगेर के–के खान पाइन्छ, सडकको अवस्था कस्तो छ जस्ता विषयमा अध्ययन गरिएको छ,’ उनले भने, ‘यो पदमार्गको सम्भाव्यता, चुनौती र अवसरलाई पनि रिपोर्टले समेटेको छ।’ 

अहिले व्यवस्थित पदमार्ग अभाव रहेको यो क्षेत्रमा नेपाली पर्यटकले भारतको बाटो प्रयोग गर्नुपरेको छ। भारतीय पर्यटक पनि भारत–नेपाल हुँदै गन्तव्यमा पुग्दैछन्। द ग्रेट हिमालयन ट्रेलका पदमार्गविज्ञ समीर मैनाली, नेपाल एसोसिएसन टुर एन्ड ट्राभल एजेन्ट (नाटा) का हेमराज बाँस्तोला, मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका सदस्य टइन्द्र चापागाईं र पदप्रदर्शक केशरी गुरुङलगायत नौजनाको टोली अध्ययनमा निस्केको थियो।

पशुपतिनगरबाट तुम्लिङ, कालपोखरी, सन्दकपुर, चारराते, फालोट, पोचेडाँडा, चिवाभञ्ज्याङ, गैरेडाँडा, पहाडेमेघु, बतासे, हुलाक, थोर्लिङ, पेमेडाम, सेराङ, राम्जे, दोभान र याम्फुदिन हुँदै टोली हापुखोला पुगेको थियो। ‘यो रुटले विश्व मान्यताप्राप्त पदमार्गको आधिकारिकता पाएपछि आउँदो बजेटमा यहाँको पूर्वाधार विकासको प्रस्ताव अघि बढ्नेछ,’ धौरालीले भने, ‘अध्ययनको प्रारूप आएको छ, अन्तिम प्रतिवेदन आउन बाँकी छ।’ 

पहिलो दिन पशुपतिनगरबाट छघरे पुगेर बास बस्ने, दोस्रो दिन छघरेबाट तुम्लिङ, तेस्रो दिन त्यहाँबाट कालपोखरी, कालपोखरीबाट चौथो दिन चारराते र पाँचौं दिन त्यहाँबाट तोरीफुलेमा बास बस्न सकिन्छ। छैटौं दिन तोरीफुलेबाट चिवा भञ्ज्याङ, सातौं दिन गैरीडाँडा, आठौं दिन पहाडेमेघु, नवौं दिन तिम्बुपोखरीमा बास बस्न सकिन्छ। अध्ययनअनुसार दसौं दिन त्यहाँबाट कञ्चनजंघाको दृश्यावलोकन गरेर ११औं दिन शिवनागी, १२औं दिन याम्फुदिन, तेह्राैँ दिन नयाँ झोरिनी, १४औं दिन चेराम, १५औं दिन राम्जे, १६औं दिन तोरन्दिम, १७औं दिन याम्फुदिन र १८औं दिन खेवाङमा बास बसेर १९औं दिन हापुखोला पुग्न सकिने निश्कर्ष अध्ययन टोलीको छ।  

प्रत्येक दिन पुगिने स्थानको मुख्य आकर्षण, बिहानको खाना खाने स्थान, त्यहाँसम्म पुग्न लाग्ने समय, स्थानीय जातीय समुदाय, संस्कृति, सञ्चारमाध्यमको पहुँचलगायत पनि अध्ययनले समेटेको छ। ‘आफू पुग्ने स्थानमा मोबाइल सम्पर्क हुन्छ या हुँदैन, सुरक्षा अवस्था कस्तो छ भन्नेबारे पनि यो अध्ययनबाट जानकारी पाउन सकिन्छ,’ समितिका कार्यकारी निर्देशक धौरालीले भने, ‘निकै सम्भाव्य भएर पनि पूर्वी क्षेत्रमा पर्यटन पदमार्ग अध्ययन हुन नसकेका बेला यो पदमार्ग निकै आकर्षक गन्तव्य हुने अनुमान छ।’   

उनले पूर्वी नेपालमा बर्सेनि हजारौंको संख्यामा पर्यटक आउने गरेपनि सम्भावना भएका स्थानमा पदमार्ग नहुँदा समस्या भइरहेको बताए। ‘इलाम, पाँचथर र ताप्लेजुङमा सयौं पर्यटकीयस्थल भएपनि प्रचार–प्रसार अभावले ओझेलमा छन्,’ उनले भने, ‘अहिले अध्ययन भइरहेको पदमार्गमा पनि बर्सेनि हजारौं पर्यटक घुम्न आउने सम्भावना छ।’ यो पदमार्गमा तीनै जिल्लाका आकर्षक पर्यटकीय गन्तव्य पर्ने भएकाले पर्यटक लोभिने सम्भावना रहेको स्थानीय बताउँछन्।

पशुपतिनगरका अध्यागमन कार्यालय नहुँदा तेस्रो मुलुकका पर्यटक इलाम, पाँचथर र ताप्लेजुङ आउन सास्ती खेपिरहेका थिए। तर, पशुपतिनगरमा भर्खरै अध्यागमन कार्यालयसमेत खुलेपछि पर्यटन व्यवसायीले पर्यटकको संख्या बढ्ने अपेक्षा गरेका छन्। जिल्लाका उच्च पहाडी क्षेत्र पदमार्गमार्फत् हुने पर्यटकीय सम्भाव्य भएर पनि ओझेलमै रहेको पर्यटनसँग सम्बद्ध सरोकारवाला बताउँछन्।'

प्रकाशित: ११ पुस २०७५ ०३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App