coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अन्तर्राष्ट्रिय जैविक मार्ग संकटमा

धनगढी - बीस र तीसको दशकमा भारतका विभिन्न जंगलबाट हात्तीहरू सुदूरपश्चिमका दुई मार्ग हुँदै बर्दिया र दाङसम्म पुग्थे। बाघ, चितुवा, मृग, गैंडालगायत जनावर पनि हिँडडुल गर्थे। चारकोसी झाडी रहेको घना जंगल जनावरका लागि निर्बाध ओहोरदोहोर गर्ने मार्ग थियो। ५० वर्षपहिले कञ्चनपुर र कैलालीमा घना जंगल रहेको स्थानीय लौटे चौधरी बताउँछन्।

पछिल्लो समयमा अतिक्रमणले वनक्षेत्र घट्दै गएपछि जैविकमार्ग मासिँदै गएको छ। भारतको हल्द्वानी वनक्षेत्रबाट टनकपुर, घाडीघाच, चुरेको फेद हुँदै जनावरहरू आउजाउ गर्थे। यो हात्ती हिँड्ने पुरानो बाटो हो। ब्रह्मदेवको खल्लागोटमा अतिक्रमण भएपछि हात्तीको बाटो छेकियो। भारतको जिमकार्पेट नेसनल पार्कलगायत विभिन्न स्थानबाट आउने जनावर यो बाटो हिँड्ने गरेको विज्ञहरु बताउँछन्।

भारतको राजाजी, कान्जिरोवालगायत पार्कबाट कञ्चनपुरको दोधारा चाँदनी हुँदै लालझाडी मोहना वसन्ता भएर कर्णाली पार गरी बर्दियादेखि दाङसम्म हात्तीलगायत जनावर हिँड्ने अर्को मार्ग रहेको वनविज्ञ रमेश चन्द बताउँछन्। ‘२०२१ सम्म यी दुई जैविक मार्गमा जनावरहरूले निर्बाध ओहोरदोहोर गर्न पाउँथे,’ उनी भन्छन्, ‘पछि अतिक्रमण भएपछि मार्ग अवरोध हुँदै गएको हो।’ २०२८ सालमा पहाडलगायतका विभिन्न ठाउँबाट बसाइँ सरेर आएका मानिसहरूले वन अतिक्रमण गरेर बस्ती बसाले। २०३६ साल र २०४६ सालमा पनि बढी अतिक्रमण भएको उनी बताउँछन्। औलोको उन्मूलनपछि २०२० सालपछि कैलाली र कञ्चनपुरको वनक्षेत्रमा अतिक्रमण भएर आवादी सुरु भएको मालोखेती निवासी ८० वर्षीय कालुराम रोस्यरा बताउँछन्।

२०३३÷३४ सालमा पुनर्वास कम्पनीद्वारा कञ्चनपुरको दक्षिणी क्षेत्रमा र कैलालीको सीमामा ठूलो वनक्षेत्र फाँडेर बस्ती बसालियो। बस्तीका कारण जनावर आउजाउको ‘कनेक्सन’ टुटेको चन्द बताउँछन्। ‘म वन अधिकृत भएका बेला एक किलोमिटर लम्बाइ र एक किलोमिटर चौडाइमा वृक्षरोपण गरेर टुटेको जैविक मार्ग जोड्ने प्रयत्न गरे पनि सम्भव भएन,’ उनी भन्छन्।

भारतले सीमावर्ती क्षेत्रमा बस्ती बसाले पनि चाक्ला वन संरक्षण ग-यो। नेपालतिरको चाक्ला वन भने पुरै फाँडियो। मोहना जैविक मार्ग सामुदायिक वन समन्वय समितिका अध्यक्ष राजबहादुर ऐर वन फाँडेर बस्ती बसाल्ने बेलामा नै कैलालीको बाह्वन, वसन्ता वन क्षेत्र र चुरेको चारकोसे झा“डी फँडानीको चपेटामा परेको बताउँछन्। ‘५० को दशकमा सबैभन्दा वनक्षेत्र फाँडेर बस्ती बसालिएपछि परम्परागत जैविक मार्ग अवरुद्ध भएको हो,’ उनी भन्छन्।

जैविकमार्ग अवरोधले जनावर र मानव द्वन्द्व
हात्तीलगायत अन्य जनावर हिँड्ने जैविक मार्ग अवरोध भएपछि जनावर र मानवबीच द्वन्द्व बढेको विज्ञहरू बताउँछन्। ‘जंगली जनवार हिँड्ने बाटोमा बस्ती बसाल्ने र खेतीपाती गर्ने गरेकाले हात्ती बस्तीमा पसेर आक्रमण गर्ने गरेको हो,’ सुदूरपश्चिम प्रदेश वन निर्देशक नवराज काफ्ले भन्छन्। वनक्षेत्रमा अतिक्रमणले जनावर हिँड्ने बाटोसमेत अवरोध भएको छ। बाटो अवरोध भए पनि जनवारलाई हिँड्डुल गर्न समस्या हुने र उनीहरू बस्ती छिर्ने गरेको उनको भनाइ छ। विभिन्न संघसंस्थाले पनि वनक्षेत्र अतिक्रमण गरेर नै संरचना बनाउने गरेका छन्। कैलालीमा मात्र २२ हजार हेक्टर जमिन अतिक्रमण भएको उनी बताउँछन्। सुदूरपश्चिमभरि तथ्यांक संकलन भइरहेकाले केही समयमा अतिक्रमित वनक्षेत्रको यकिन विवरण आउने उनी बताउँछन्।

हात्तीलगायतका जनवार हिँड्ने जैविक मार्गमा भएको अवरोधलाई हटाउन स्थानीयको सहभागितामा वन संरक्षणको काम भइरहेको अध्यक्ष ऐर बताउँछन्।

भारतको जिमकार्पेट नेसनल पार्कदेखि पर्सा बाग्मती किनारसम्मको जैविक मार्गको निर्माणमा वन्यजन्तु कोषको सहयोगमा सञ्चालित परियोजना तालले स्थानीयलाई वन संरक्षणमा सहभागी गराएर काम गरिरहेको उनी बताउँछन्।

कैलालीको पश्चिम र कञ्चपुरको शुक्लाफा“टा निकुञ्जलाई जोडेको लालझाडी वन मोहना जैविक मार्गको अवधारणामा परेको छ। करिब २९ हजार हेक्टर फैलिएको यो मार्गलाई जनावरको सुरक्षित ओहोरदोहोर गर्ने माग बनाउन स्थानीयले प्रयास थालेको लालझाडी सामुदायिक वन समन्वय समितिका अध्यक्ष शिवराज पन्त बताउँछन्।‘जनवार हिँड्ने बाटो अवरोध हुँदा बस्ती नै असुरक्षित भएका छन्। खेतीपाती पनि सुरक्षित हँुदैन,’ उनी भन्छन्, ‘जैविकमार्गको संरक्षणले मात्र हामीलाई फाइदा पुग्छ भन्ने बुझेकाले स्थानीयले नै जैविक मार्ग संरक्षण गर्न थालेका छन्।’

वन्यजन्तुको चोरीसिकार नियन्त्रण गर्न, वन फँडानी रोक्न सामुदायिक वनले गठन गरेको चोरीसिकार नियन्त्रण दल सक्रिय रहेको उनले बताए। ‘स्थानीयको प्रयासले वनमा आगलागी, चोरी तस्करी रोकिएको छ,’ उनले भने। खोलाकिनार बनाइएको जैविक तटबन्धले कटान रोकेको छ। वनमाथिको चरिचरन घटाउन पशुपालन गर्ने किसानलाई गोठ सुधारका कार्यक्रम लागू गरिएको उनले बताए।

समुदायको स्तरबाट लालझाडी क्षेत्रमा घाँसे मैदान, जैविक पोखरी, भ्युटावरलगायतका काम भइरहेको उनको भनाइ छ। ‘हामीले वृक्षरोपण गरेर विजय सालको वनका रूपमा वनक्षेत्रको विकास गरिरहेका छौं,’ उनले भने। अवरुद्ध जैविक मार्ग संरक्षणको काम २०६२ सालदेखि सुरु गरिएको उनी बताउँछन्। लालझाडी जैविक मार्गभित्र एक सय पाँचवटा सामुदायिक वन रहेको उनले बताए।

वन संरक्षणले आम्दानी
वन संरक्षणमा स्थानीय जुटेपछि आम्दानीको स्रोतसमेत बढेको पन्त बताउँछन्। ऐश्वर्य सामुदायिक वनले ७० हजार बिरुवा अम्रिसो लगाएको छ। ‘कुचो बन्ने अम्रिसा बिक्री गरेर यो वर्ष १५ लाखजति आम्दानी हुने भएको छ,’ पन्तले भने, ‘यसले स्थानीयलाई रोजागरीसमेत दिएको छ। महँगोमा बिक्री हुने तेल उत्पादन हुने क्यामोमाइल जडीबुटीको वाइसेबिचुवाका किसानले खेती सुरु गरेका छन्। ३५ परिवारले १० बिघामा खेती लगाएको उनको भनाइ छ।

प्रकाशित: ११ पुस २०७५ ०२:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App