६ वैशाख २०८१ बिहीबार
समाज

सामागाउँको आगो नियन्त्रणबाहिर

गोरखा - चुमनुब्री गाउँपालिका–१ सामागाउँको जंगलमा आइतबार रातिदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। मंगलबार पनि आगो लागिरहेको स्थानीयले बताएका छन्। ‘आगो लगिरहेको छ, सोमबारजस्तो मुस्लो ननिस्किएको भए पनि जंगलबाट धुवाँ आइरहेको छ’, घटनास्थल पुगेका प्रहरीलाइ उद्धृत गर्दै गोरखाका प्रहरी प्रमुख एसपी भोला रावलले भने।

मनास्लु पदमार्गमा गएका पर्यटकले खाएको चुरोटको ठुटोबाट आगो सल्किएको स्थानीयले बताएका छन्। घना जंगल आगलागीले सखाप भएको छ। जंगलमा रहेको चराचुरुंगी, हिमाली जीवजन्तु आगोमा पोलिएका छन्। मृग, कस्तुरी, डाँफे, झारललगायतका लोपोन्मुख जनावर धेरै मरेको अनुमान स्थानीयको छ। पाँचवटा कस्तुरी मरेको भेटिसकेको स्थानीयले बताएका छन्। सामागाउँमा टेलिफोन सम्पर्क कहिलेकाहीं मात्रै हुने भएकाले निरन्तर सम्पर्क नहुँदा सूचना लिन पनि कठिन भएको छ।

उक्त जंगल संरक्षित क्षेत्र हो। तिब्बतसँग सिमाना जोडिएको हिमाली भेगमा घना जंगल कमै छ। त्यहाँ रहेको प्रहरी युनिटका अनुसार जंगलमा पुगेर आगो नियन्त्रणमा लिन सक्ने अवस्था छैन। आगोको मुस्लो नदेखिएको र धुवाँमात्रै आइरहेकाले अब आगो घट्दै गएको अनुमान प्रहरीको छ। घटनास्थलतर्फ गएको अर्को प्रहरी टोली बुधबार मात्रै पुग्ने एसपी रावलले बताए।

सामागाउँमा रहेको प्रहरी युनिटका अनुसार जंगलमा पुगेर आगो नियन्त्रणमा लिन सक्ने अवस्था छैन । मुस्लो नदेखिएको र धुवाँमात्रै आइरहेकाले अब आगो घट्दै गएको अनुमान प्रहरीको छ ।

प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठका अनुसार आगो नियन्त्रणमा लिन नसकेपछि गृह मन्त्रालयसँग हेलिकोप्टर मागिएको थियो। तर हेलिकोप्टर आएको छैन। ‘अन्य ठाउँमा पनि आगलागि भएकाले होला’, श्रेष्ठले भने, ‘यहाँ हामीले सोमबार पनि केही गर्न सकेनौं, बस्तीमा पुग्ने जोखिम छैन, गुम्बामा असर गर्ने डर छ।’ भिरालो जमिन, चिसो ठाउँ, सदरमुकामबाट धेरै टाढा रहेकाले आगो नियन्त्रणमा लिन कठिन भएको उनले बताए। मनास्लु संरक्षण क्षेत्र आयोजनाका प्रमुख नरेन्द्र लामाका अनुसार उक्त आगोले धुपी, सल्ला, भोजपत्रलगायतका बिरुवा जलेर नष्ट गरेको छ। रातको समयमा चिसो भए पनि बिहान र दिउँसो हावा धेरै चलेकाले आगो झनै दन्किँदै गएको थियो। आगो नियन्त्रणमा लिन स्थानीयले आइतबार राति नै प्रयास गरे पनि नसकेका हुन्।

आगलागीबाट केकति क्षति भयो भन्नेबारे कुनै जानकारी आएको छैन। मानवीय क्षति नभए पनि थुप्रै जनावर, चराचुरुंगी र बोटबिरुवा जलेर खरानी भएको भन्दै स्थानीय चिन्तित छन्। पूर्ण संरक्षित जंगल डढेलोले सखाप बनाएपछि स्थानीयले घाँसदाउराका लागि समस्या हुने गुनासो गरेका छन्। आगो नियन्त्रणमा लिने प्रयास प्रशासनले नगरेको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्। गोरखा सदरमुकामबाट हिँडेर पाँच दिनमा पुगिने सामागाउँ सडकसँग जोडिएको छैन। खाद्यान्न ढुवानी खच्चड र हेलिकोप्टरबाट हुने उक्त दुर्गम ठाउँमा जिल्लाको स्रोतसाधनले केही गर्न नसकिने स्थानीय प्रशासकहरू बताउँछन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिए पनि दुर्गम ठाउँ भएकाले औजार लैजान समस्या भएको प्रजिअ श्रेष्ठले बताए।

प्रकाशित: ११ पुस २०७५ ०१:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App