coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

उखुको मूल्य निर्धारणको पर्खाइमा श्रीराम सुगर मिल

रौतहट– उखुको मूल्य निर्धारण हुन नपाउँदै श्रीराम सुगर मिल्स लिमिटेड गरुडाले चालु आर्थिक बर्षमा उखु सिजन क्रसिङ्ग गर्नको लागि डोगा पूजा गरेको छ। गत बर्षको क्रसिङ्ग सिजन पुरा गरेर बन्द भएको उद्योगको यो बर्ष सञ्चालनको लागि मिल्सको विभिन्न पार्टसको मम्र्मत सम्भारको कामकाज सम्पन्न गरी उद्योग चलाउनको लागि मंगलवार शुभ मुहुर्त निकालेर वैद्धिक मन्त्र उच्चारण गरी एक समारोहका विच डोंगा पूजा गरिएको हो।

चिनी बनाउनको लागि किसानसँग खरिद गरिएको उखु पेल्नको लागि सबभन्दा पहिले राख्ने ठाउँलाई मिल्सको भाषामा डोंगा भन्छन्। हरेक बर्षझै मिल संचालन गर्नुअघि डोगालाई पुजा गर्ने धार्मिक मान्यता रहेको सोही अनुरुप मिल्सका प्रमुख उखु प्रबन्धक पवन कुमार झाले डोंगा पुजा गरेका छन्।

गोल्छा अर्गनाईजेशनको लगानीमा २०४९ सालमा स्थापना भएको श्रीराम सुगर मिल्सले रौतहट लगायत बारा, सर्लाही जिल्लाको उखु किसानबाट उखु किनेर मिल्स क्रसिंग गर्दै आएको छ।  

मिल्स पुरानो हुँदै जाँदा पटक पटक विग्रने तथा किसानहरुको रकम भुक्तानीको समस्याका कारण प्रायः विवादमै रहँदै आएपछि मिल्स प्रबन्धन पक्षले विशाल ग्रुपलाई शेयर दिएर ज्वाइन्ट रुपमा गत बर्ष देखि मिल्सलाई परिमार्जन गरेर संचालन गर्न पूर्ण रुपमा तयार भएको उखु प्रबन्धक झाले बताए।

रौतहट जिल्लामा करिब १० हजार विगाहा जमिनमा किसानले उखु खेती गरेका छन्। रौतहटका करिब ६ हजार किसान उखु खेतीमा निर्भर छन्। श्रीराम सुगर मिल्सले यो बर्ष करिव २० लाख क्वीन्टल उखु क्रसिंग गर्ने लक्ष्य लिएको जिएम पिके झाले बताए। मिलको आन्तरिक परीक्षण गरेर पूर्ण रुपमा संचालनको अवस्थामा रहेको जानकारी दिँदै जिएम झाले चिनी उत्पादक संघ र उखु उत्पादक संघबीच उखुको दर रेट नमिल्दा मिल संचालनमा आउन नसकेको बताए। आफूहरु उद्योग चलाउनेको लागि सम्पुर्ण कार्यहरु पुरा गरेर तयारी अवस्थामा रहेको तर किसान र उद्योगीबीच उखु खरिद प्रक्रियाको दररेट तय हुन नसकेको कारण संचालनमा अलि ढिलै हुने उनको भनाई छ। 

यता उखु उत्पादक संघका रौतहट जिल्ला अध्यक्ष अशोक यादवले २०७१÷०७२ को १३ करोड र २०७४÷०७५ को २ करोड गरी १५ करोड रुपैया किसानको उद्योगी कहाँ बाकी  छ। जबसम्म उक्त रकमहरु भुक्तानी दिइँदैन र नयाँ मूल्य निर्धारण नहुन्जेल यसपालि उद्योग सञ्चालन गर्न नदिने स्पष्ट पारे। किसानले यसपालि उखुको मूल्य प्रति क्वीन्टल ५४५ रुपैयाँ हुनुपर्ने अडान राखेका छन्।

उखु उत्पादक र चिनी उत्पादक बीच उखुको मुल्य निर्धारण सम्बन्धि कुनै किनारा नलागेको कारण मिल्स संचालनमा ल्याउन कठिनाई भइरहेको श्रीराम सुगर मिल्सका संचालक हितेश गोल्छाले बताए। अर्थ, उद्योग र कृषि मन्त्रालयमा मूल्य निर्धारणको लागि किसान उद्योगी दुवै धाइरहे पनि अहिले सम्म कुनै सुनवाई नभएको उनको भनाई छ। यो पटक सरकारले चिनिको बजार मूल्य अनुसार उखुको मुल्य तोक्नुपर्ने उनले सुझाव दिए। किसानको पुरानो बक्यौता रकम दिनहँु सेडुल बनाएर भुक्तानी भइरहेको गोल्छाले बताए।

प्रकाशित: १० पुस २०७५ १५:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App