७ वैशाख २०८१ शुक्रबार
समाज

जनता सडक दुर्घटनामा मरिरहने, सरकार रेल र पानीजहाजका सपना देख्ने? (भिडियो)

काठमाडौं– गत हप्ता दाङमा एक स्कुल बस दुर्घटना हुँदा त्यसमा सवार २३ जना यात्रुको मृत्यु भयो भने अरु धेरै घाइते भए। त्यसको केही दिनअघि नुवाकोटमा एक मिनी ट्रक दुर्घटना हुँदा त्यसमा सवार १८ जना यात्रुको मृत्यु भयो, दर्जनौ घाइते भए। नुवाकोट र दाङमा भएका दुर्घटनाले फेरि एकपटक सडक दुर्घटना र सडक सुरक्षामाथि बहस चुलिएको छ। 

पछिल्ला वर्षहरुमा नेपालमा सडक दुर्घटना महामारी जस्तै फैलिएको छ।  यस वर्षमात्रै करिब १ हजार ५ सय नेपालीले सडक दुर्घटनामा ज्यान गुमाइसकेका छन्। 

आखिर किन हुन्छ त यति धेरै दुर्घटना ? तथ्यांक र पर्याप्त अध्ययनको कमीका कारण यही कारणले दुर्घटना भइरहेको छ भनेर यकिन गर्न गाह्रो छ। तर काठमाडौं उपत्यकामा भएको दुर्घटनालाई आधार मानेर गरिएको अध्ययनले सडक दुर्घटना सम्बन्धी धेरै नौला तथ्य अघि ल्याएको छ। 

अध्ययन अनुसार सबैभन्दा धेरै मोटरसाइकल दुर्घटना हुने गरेको देखिन्छ। त्यस्तै बढी दुर्घटना हुने अन्य सवारीमा कार, भ्यान र जीप, तेस्रोमा ट्रक, चौथोमा माइक्रो बस, टेम्पो र रिक्सा अनि साइकल पर्छन। 

समयको दृष्टिकोणले हेर्दा दिनको १२ बजेबाट रातको ६ बजेसम्म सबैभन्दा धेरै दुर्घटना हुने गरेको देखिन्छ भने रातको १२ बजेबाट ६ बजेसम्म सबैभन्दा कम दुर्घटना हुने गरेको छ। यो समयमा गाडी खासै नचल्नुका कारण पनि कम दुर्घटना भएको देखिन्छ।

दुर्घटनाको कारण सबैभन्दा बढी चालकको लापरवाहीका कारण भएको देखिन्छ। त्यस्तै तीव्र गति, मादक पदार्थको सेवन, यान्त्रिक गडवडी, ओभर ट्याक, यात्रुको लापरवाहीका कारण पनि दुर्घटना हुने गरेको पाइएको छ। 

उमेर समूहको कोणबाट हेर्दा सबैभन्दा बढी २१ देखि ४० वर्ष उमेर समूहका मानिसको हुने गरेको देखिन्छ र यसै उमेर समूहका मानिसको धेरै ज्यान गएको देखिन्छ। 

प्राय गाडी चलाउनेहरु यसै समूहका छन्, गाडी चलाउनेहरुको संख्या कम भएपनि २० वर्ष मुनिका उमेर समूहका पनि धेरै दुर्घटनामा पर्ने गरेका छन्। ४० वर्ष माथिका हरु भने कम दुर्घटनामा पर्ने गरेको देखिन्छ। १६ वर्ष भन्दा कमका मानिसहरु गाडी चलाउन अयोग्य भएपनि यो उमेर समूहबाट उल्लेख्य संख्यामा दुर्घटनामा परेर मृत्यु हुने गरेका छन्। दुर्घटनामा परेर महिला भन्दा ३ गुणा बढी पुरुषको मृत्यु हुने गरेको देखिन्छ। 

तर प्रहरीको विश्लेषणमा कहीँ पनि सडकको अवस्थाको कारणले दुर्घटना भएको उल्लेख छैन्। यसबाटै बढ्दो सडक दुर्घटना प्रति सरकार त्यति संबेदनशील नरहेको पुष्टि हुन्छ। हास्यास्पद के छ भने सडक दुर्घटनामा हरेक वर्ष सयौं मानिसले ज्यान गुमाउँदा टुलुटुलु हेरेर बस्ने सरकार रेल र पानी जहाजका सपनाको ब्यापारमै मस्त छ।

प्रकाशित: १० पुस २०७५ ०९:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App