coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

३८ करोड बढी मुआब्जा वितरण

विमानस्थल निर्माण गरिने क्षेत्रलाई तारबार गर्दै मजदुर। तस्बिर : उपेन्द्र/नागरिक

बारा - टाँगिया बस्तीमा निर्माण गर्न लागिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले ओग्टने नम्बरी जग्गा र भौतिक संरचनाका लागि ३८ करोडभन्दा बढी मुआब्जा वितरण गरिएको छ। विमानस्थलले ओग्टने नम्बरी जग्गाधनीलाई मुआब्जा लिन आउन निकालेको सार्वजनिक सूचनापछि एक सय ३३ जना नम्बरी जग्गाधनीले मुआब्जाका लागि सुरुमा निवेदन दिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यावन्यन एकाइ कार्यालय सिमराले जनाएको छ।
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले कार्यावन्यन एकाइ कार्यालयका निर्देशक ओम शर्माले विमानस्थलका लागि अधिग्रहण गरिएको करिब ५८ बिघा जग्गाका एक सय ३३ जग्गाधनीलाई ३८ करोडभन्दा बढी मुआब्जा वितरण गरिएको बताए।

पछिल्लो समय निवेदन दिएका १२ जना जग्गाधनीको पाँच बिघा जग्गाको मुआब्जा दिएर अधिग्रहणका लागि मालपोत, नापी र भूमि सुधार कार्यालयमा चेकजाँच गराउने कार्य सुरु गरिएको शर्माले बताए। ‘मुआब्जाकै लागि ऐलानी जग्गामा बसेका आठजना समेतले निवेदन दिएको छन्,’ शर्माले भने, ‘ऐलानी जग्गामा बसोबास गरेकाहरुलाई अहिले मुआब्जा दिने कार्यमा कानुन अभावले समस्या भएको छ।’ टागिया बस्तीले मात्रै ऐलानी हजार बिघा क्षेत्रफलमा रहेको र त्यसलाई अहिलेको कानुन अनुसार मुआब्जा दिन नसकिने भएकाले गर्दा त्याहाँका बस्तीहरु स्तान्तरण गर्न मुख्य चुनौती रहेको शर्माले बताए।

टाँगिया बस्ती मात्रै स्तानान्तरण गर्न सकियो भने सजिलैसँग चार किलोमिटर लामो धावनमार्ग निर्माण गर्न सकिने उनले बताए। टाँगिया बस्ती स्तानान्तरण गर्न सरकारले छिटोभन्दा छिटो नीति नियम बनाउन आवश्यक रहेको शर्माको भनाइ छ। चालु आवमै विमानस्थलका लागि अधिग्रहण गरिने एक सय १० बिघा नम्बरी जग्गाको मुआब्जा दिने गरी काम तीव्रताका साथ अगाडि बढाइएको र त्यसका लागि बजेटको व्यवस्था मिलाइएको शर्माले दाबी गरे।निर्माण हुन लागेको दोस्रो विमानस्थलका लागि अधिग्रहण गरिने जग्गामध्ये एक सय १० बिघा मात्रै सर्वसाधारणको नम्बरी पर्ने यकिन गरिए पनि अहिले नम्बरी जग्गाको क्षेत्रफल घटबढ हुने सम्भावना रहेको आयोजनाका अधिकारीको भनाइ छ। 

‘अहिले विमानस्थल निर्माणका लागि आवश्यक पर्ने ११ हजार आठ सय ७५ बिघा जग्गाको चारकिल्ला पहिचान गरी सीमांकन गरिएको छ,’ शर्माले भने, ‘सीमांकन गरिएको ११ हजार सात सय ६५ बिघा जग्गामध्ये अधिकांश जंगलको केही ऐलानी जग्गा रहेको छ।’

जग्गा तथा होटल व्यवसायी इच्चा बहादुर वाग्लेले टाँगिया बस्तीमा निर्माण गर्न लागिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल धेरै वर्षदेखि बन्ने हल्ला गरिए पनि सो अनुसार पहिलादेखि काम नभएको गुनासो गरे। अहिले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने क्षेत्रलाई सुरक्षित गर्नका लागि तारबारले घेर्ने कार्य गरिए पनि सो स्थानबाट टाँगिया बस्ती कसरी स्तानान्तरण गर्ने भन्नेबारे पनि सरकारले ठोस निर्णय गर्न जरुरी देखिएको उनले बताए।विमानस्थल निर्माणपछि ठूलो हवाईजहाजबाट नेपाल भित्रिने पर्यटकबाट यहाँ ठूलो मात्रामा लगानी बढ्नुका साथै रोजगारी पनि सिर्जना हुने वाग्लेले बताए।

देशको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा २०५१ देखि नै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने हल्ला गरिए अहिले आएर मात्रै सरकारले यसको निर्माणमा लागेको जस्तो अनुभुति भएको निजगढ नगरपालिका प्रमुख सुरेश खनालले बताए। सरकारले यसको निर्माण कार्यमा जनशक्ति खटाए पनि छिटोभन्दा छिटो यसको निर्माण गर्न गम्भिरताका साथ लाग्नुपर्ने प्रमुख खनालले बताए। विमानस्थलको डिपिआर तयार गर्ने कन्सल्टेन्ट छनोट प्रक्रिया सुरु गरिएको र यसको डिपिआर तयार भएपछि मात्रै यो कुन आधारमा निर्माण गर्ने प्रष्ट हुने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका इन्जिनियर विजय यादवले बताए। 

विमानस्थलका लागि धेरै जग्गा रहेकाले यसमा अत्याधुनिक उपकरण जडान गर्न पनि सजिलो हुने यादवले बताए।
निर्माण प्रक्रिया अगाडि बढाइएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण एकै पटकमा पूरा गर्न नसकिने भएकाले यसलाई तीन चरणमा निर्माण गर्न सकिने प्राधिकरणका अधिकारीको भनाइ छ। दक्षिण एसियाकै सबैभन्दा बढी क्षेत्रफलमा निर्माण हुने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुँदा वार्षिक ६ करोड यात्रु व्यवस्थापन गर्न सकिने आयोजनाका अधिकारीले जनाएका छन्।

प्रकाशित: १० पुस २०७५ ०३:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App