८ वैशाख २०८१ शनिबार
अर्थ

स्वरोजगार कोषको कर्जा नतिर्नेलाई चेतावनीपत्र

खोटाङ- युवा स्वरोजगार कोषको कर्जा लिएर भुक्तानी नगर्ने खोटाङका ११ ऋणीलाई अन्तिम चेतावनीपत्र पठाइएको छ। युवा तथा साना व्यवसायी स्वरोजगार कोष जिल्ला संयोजन तथा अनुगमन समितिले कोषको कर्जा लिएर हालसम्म साँवा र ब्याज फिर्ता नगर्ने ऋणीलाई पत्र पठाएको हो।

ज्योति विकास बैंकको शाखा कार्यालय दिक्तेलमार्फत २०६८ देखि ०७१ सालको अवधिमा व्यवसाय सञ्चालन गर्ने र स्वरोजगार बन्ने शीर्षकमा ऋण लिइएका ११ ऋणीलाई एक महिनाभित्र साँवा, ब्याज र हर्जना बुझाउन अल्टिमेटम सहितको पत्र असोज ७ गते पठाइएको छ। कोषको १ सय ६७ जनामध्ये ११ ऋणीबाट ९ लाख ३३ हजार ३९ रुपैयाँ ऋण उठ्न बाँकी रहेको युवा स्वरोजगार कोषका खोटाङ प्रतिनिधि टिना राईले बताइन्।

कोषका अनुसार युवा स्वरोजगार कोषको ऋण लिएर फिर्ता नगर्नेमा दिक्तेल नगरपालिकाका पाँचजना, अर्खौलेका र निर्मलीडाँडाका २–२ जना, राजापानी र राखाबांदेलका १–१ जना छन्। कर्जा भुक्तान गर्न पटक–पटक गरिएको आग्रहलाई बेवास्ता र आलटाल गरेकाले उनीहरुलाई चेतावनी दिइएको कोषको संयोजन तथा अनुगमन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए। अझै अटेर गरे प्रक्राउ गरेर कर्जा भुक्तान गर्ने मनस्थितिमा युवा तथा साना व्यवसायी स्वरोजगार कोष जिल्ला संयोजन तथा अनुगमन समिति पुगेको स्रोतले बताएको छ।

युवालाई स्वरोजगार बनाउन अर्थ मन्त्रालय युवा तथा साना व्यवसायी स्वरोजगार कोषले सञ्चालन गरेको युवा स्वरोजगार कर्जा खोटाङका २ सय ८५ जनाले लिएका छन्। कोषले व्यावसायिक तरकारी खेती, पशुपक्षीपालन, कृषि तथा वनजन्य उद्योग, घरेलु तथा साना उद्योग, होटल व्यवसाय, सिलाइकटाइ, होटल व्यवसाय, अलैंची खेती, माछापालन, मौरीपालन, नर्सरी खेती, ज्वेलरी उद्योग, ब्युटीपार्लर, कुटानी–पिसानी लगायत क्षेत्रमा व्यवसाय गर्ने युवालाई लगानी गरेको छ। उद्योग वाणिज्य संघमार्फत स्वरोजगार तालिम लिएका युवालाई कोषले विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत ऋण उपलब्ध गराएको हो।

जिल्लाका युवालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन ज्योति विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, सक्रिय बचत तथा ऋण सहकारी संस्था, खोटाङबजार बचत तथा ऋण सहकारी संस्था लिमिटेड र हलेसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमार्फत ४ करोड १८ लाख १० हजार रुपैयाँ ऋण प्रवाह भएको छ। जिल्लाका लागि ६ करोड ५५ लाख ऋण प्रवाहका लागि सम्झौता भएको थियो। ज्योति बैंकमार्फत जिल्लाका १ सय ६७ युवाले कोषको ऋण लिएका थिए। उनीहरुले तीन वर्षभित्र ब्याजसहितको ऋण चुक्ता गर्ने सर्तमा १२ प्रतिशत ब्याजदरमा बढीमा २ लाखका दरले ऋण झिकेका थिए।

कोषको अन्तिम चेतावनीलाई बेवास्ता गरे राज्यको रकम दुरुपयोग गरेसरह कारबाही हुने उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताए। 'कर्जा भुक्तान नगरे अप्ठेरो पर्न सक्छ,' अध्यक्ष लयालुले भने, 'राज्यको सेवा, सुविधाबाट वञ्चित हुनुपर्छ, कारबाही हुन्छ।'

प्रकाशित: १४ आश्विन २०७३ ०३:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App