१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

नयाँ नेतृत्व आऊ, कांग्रेस बचाऊ

गौरवमय इतिहास,जिम्मेवार वर्तमान र उज्यालो भविष्यको नारासहित सुरु भएको नेपाली कांग्रेस महासमितिको वैठक आइतबार समापन भयो। उद्घाटन सत्रको चहलपहल हेर्न म केही साथीहरूसँग उद्घाटनस्थल पुगेको थिएँ। धेरै नयाँ अनुहार कांग्रेसमा देख्दा पार्टीको भविष्य उज्ज्वल छ भन्ने लाग्यो।सहभागिता समावेशी थियो। समावेशिताले कांग्रेस राष्ट्रिय पार्टी हो भन्ने झलक प्रष्ट देखिन्थ्यो। मञ्चतिर हेरेँ। मञ्चमा आसिन झुण्ड असमावेशी थियो। सबै पुराना र थोत्रा अनुहार देखेँ। मन खिन्न भयो।

उद्घाटन भाषण सबैको  सुनेँ। भाषण गर्ने व्यक्तिको छनोट ‘हाइयार्की’ बाट निर्धारण गरिएको रहेछ। उदेक नै लाग्यो। उज्यालो भविष्य देखाउने राजनीतिक प्रस्तुति कसैको थिएन। अनि वर्तमानमा कहाँ र कसरी कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका खेल्यो त्यो पनि संबोधनमा कहीँ कतै भेटिन। मञ्च तल बस्ने महासमितिका सदस्य, समर्थक र शुभेच्छुकको आँखामा कांग्रेसमा नयाँ जीवनको खोजी देखेँ। अर्कोतिर मञ्चमा आसीन सदावहार नेताहरूको अनुहार र वाणीमा ऊर्जा भेटिन। थकित र गलित देखिन्थ्यो नेतृत्वपंंक्ति। तर पनि कांंग्रेसको प्राविधिक नेता त तिनै मञ्च आसीन थकित र गलित अनुहार नै हुन्। 

कांग्रेस पार्टीको वर्तमान आकार नेताहरूका लागि ठूलो र सम्हाल्न नसक्ने भएको महासमिति हलमा प्रष्ट देखिन्थ्यो। एकातिर कांग्रेसलाई अझै ठूलो साइजको पार्टी बनाएर यसको गौरवशाली इतिहासको रक्षा गर्न सकिन्छ भनी कांग्रेसका युवाहरू सक्रिय छन् भने अर्कोतिर अहिलेकै आकारको कांग्रेस पनि सम्हाल्न नसकेर पाका र वृद्ध नेताहरू हैरान र परेसान छन्। यो हैरानी र परेसानीले त्यतिखेर विकराल रूप लियो जब कांग्रेसको परिवर्तित विधानको मस्यौदा महासमिति सदस्यहरूलाई वितरण गरिएन। त्यसपछि त जे नहुनु थियो त्यो भयो महासमितिमा। महासमितिका सदस्यहरू कोही जाडो खेप्न नसकेर जिल्ला फर्किए। केही कांग्रेस नसुध्रिने भयो भनी खिन्न हुँदै गए। कोही आन्दोलनकारी भए विधान मस्यौदा नहेरी महासमिति बैठक बस्न नदिने भनेर।

सबै गए तर केही डटेर बसे। डटेर बस्नेहरूमा युवा नै थिए। डटेर बस्नेमा कांग्रेस जिल्ला सभापतिहरू नै थिए।  महासमिति बैठकमा सुरुका केही दिन निराश परेका युवाहरू र जिल्लाका पार्टी सभापतिहरूले लम्बिँदै गएको महासमिति बैठकलाई  अन्ततः हस्तक्षेप गर्ने आँट गरे। महासमिति बैठकमा राजनीतिकरूपले प्रस्तुत हुने कुरामा पुरानो पुस्ताका कृष्ण सिटौला अब्बल रहे। सात दशक उमेर पुगेका सिटौला अझै नथाकेको उनको सक्रियताबाट देखिन्थ्यो। युवा र कृष्ण सिटौलाको सत्संगको पटाक्षेप कसरी र कहाँ पुगेर हुने हो भन्न सकिन्न।

नेताको खोजी यसका कार्यकर्ता, समर्थक र शुभेच्छुकहरू गरिबसेका छन्। जाँगर हुनेले नेतृत्व लिन सक्छ, कुर्सी खाली छ। फायल बढुवाबाट कांग्रेस नेतृत्वमा पुगेकाहरूलाई सामान्य धक्कामात्र दिए पुग्छ।

कुनै पनि बिजनेस महासमिति बैठकले नपाएपछि त्यो बेलायतको ‘हाइड पार्क’ स्थित खुला भाषणस्थल जस्तै भयो। यहीक्रममा मैले महासमितिका केही सदस्यलाई यो महासमितिबाट तपाईँहरु के भए ऊर्जा पाएर जिल्लामा कांंग्रेसको संगठन गर्न सक्नुहुन्छ भनी सोधेँ। मैले सोधेकामा धेरैजसोले यो महासमितिको बैठक हलमा ‘सभापति र वरिष्ठ नेताले अब हामी पार्टीमा अविभावक भएर बस्छौँ’ भन्न सक्दा पार्टीमा ऊर्जा उत्पन्न हुन्छ भने। यदि यस्तो हुनसके अहिलेबाट कांग्रेसमा गुटबन्दी र भागबन्डा अन्त्य हुन्थ्यो भने। 

कांग्रेसका नेताहरू ‘रिटायर्ड’ हुँदैनन्। कार्यकारिणी पदबाट यो मैले बुझेको छ। जतिसुकै यी ‘टायर्ड’ भए पनि गुट चलाएर सजिलै पार्टीसत्ता र राज्यसत्तामा अंश पाइन्छ भन्ने यिनलाई राम्ररी थाहा छ। त्यसो भए कांग्रेसको उज्यालो भविष्यका लागि गर्ने के ? यो प्रश्न युवा र नेतृत्वमा पुग्न चाहने फ्रेस अनुहारसामु चुनौती छ। यो चुनौतीलाई फेस गर्न संभव छ यदि कांग्रेसको विगत, वर्तमान र भविष्य जोड्ने हो भने।

डा. शेखर कोइराला हुन् वा गगन समूह, यिनले बिपी कोइरालासँग जोडिनुपर्छ। जोडिने कसरी ? बिपीलाई पहिलोपल्ट २००४ सालमा विराटनगरदेखि धनकुटा हुँदै पहाडी बाटो पैदल काठमाडौँ ल्याइएको थियो बन्दी बनाएर। बिपीले भन्नुभएअनुसार उहाँलाई पहिलोपल्ट नेपालको पहाडी भूगोल र गाउँबस्तीसँग साक्षात्कार गर्ने अवसर मिल्यो भनी।
बिपीलाई दोस्रो अवसर २०१० सालदेखि २०१२ सालमा प्राप्त भयोनेपालको भूगोल र गाउँघरको बस्तीमा बस्ने आमनागरिकबीच पुग्ने। काठमाडौँको अनेक गुट÷उपगुट र षड्यन्त्रलाई चिर्न बिपी देशयात्रामा निस्कनुभयो।  हिमाल, पहाड र तराई पैदल, घोडामा र कहीँ मोटरबाट घुमेर नेपाली जनतासंँग भेट्ने, आफ्नो र पार्टीको कुरा राख्ने अनि अगाडि आएका अनेकन् स्थानीय तगारा सामना गर्ने अवसर पनि बिपीलाई यही समय प्राप्त भयो। बिपीले संसार पढेर बुझ्नुभएको थियो। नेपाल हिँडेर, भेटघाट र कुराकानी गर्दै बुझ्नुभयो। २०१५ सालको दुईतिहाइको जग २००७ को क्रान्तिले भन्दा बिपी कोइरालाको नेपाल यात्राले निर्माण गरेको थियो। 

नेता हुन जनतासँग प्रत्यक्ष साक्षात्कार गर्नुपर्छ। नेताहुन कार्यकर्तालाई राजधानी बोलाएर भेट्ने होइन, कार्यकर्ता भएको ठाउँमै पुग्नुपर्छ। ठाउँमा पुग्न पनि आसेपासेहरूले निर्माण गरेको मञ्चमा गएर थपक्क बस्ने, भाषण गर्ने, अनि हिँड्ने गरेर कोही नेता भएको छैन आजसम्म।

यदिकांग्रेसलाई नवजीवन दिने हो भने फ्रेस अनुहारले पैदलयात्रा गर्ने र कांग्रेस कार्यकर्ता र आमनागरिकसँग सिधा संवाद गर्नुको  विकल्प छैन। बिपीमात्र होइन, भारतका महात्मा गान्धी हुन् वा नेपाली कांग्रेसकै गिरिजाप्रसाद कोइराला, यी सबै जनतासम्मुख पुग्थे। कार्यकर्तासम्मुख पुग्थे। माओत्से तुङको लङ मार्च पनि यस्तै हो। यसैबाट माओले युद्ध जिते। आज चीनमा शासन गर्ने अधिकांश नेतृत्व त्यही लङ मार्चमा सामेल परिवारका सन्तति छन्।

नेपाली कांग्रेस महाधिवेशनका लागि झण्डै दुई वर्ष बाँकी छ। यो दुई वर्ष कांग्रेसलाई नवजीवन  दिन नेताले राजधानी छाड्नुपर्छ।भर्खरै भारतको पाँच राज्यमा विधानसभाको चुनाव भयो। भारतीय कांग्रेसले आफूले गुमाएको तीन ठूला र महत्वपूर्ण राज्य भारतीय जनता पार्टीबाट फर्कायो। भारतीय कांग्रेसको नवउदय भएको अहिले अड्कल काटिँदैछ।यो नवउदय तबमात्र सम्भव भयो जब सचिन पाइलट जस्ता युवा पाँच वर्ष डटेर राजस्थान राज्यमा सक्रिय भए। मध्यप्रदेशमा कांग्रेसका भेट्रन कमलनाथलाई सघाउन कांग्रेसका अर्का युवा डटेर खटेका थिए।  डेढ दशक लामो भाजपा सरकारलाई युवाहरूको जोश र ऊर्जाले सफलता प्राप्त भयो। कांग्रेसमा २०४६ सालदेखि रजगज गरेर बसेका प्रभावकारी नेताहरू कोही राजधानीबाहिर दुईहप्ता टिक्दैनन्। के युवाहरू सात प्रदेशमा पाँचवर्ष तपस्या गर्न तयार छन् ? यदि छन् भने आज र अहिलेबाट नेपाली कांग्रेसका युवाहरूले भारतीय कांग्रेसका युवाहरूको अनुशरण गर्नसक्छन्। 

मैले महासमितिका केही सदस्यलाई यो महासमितिबाट तपाईँहरु के भए ऊर्जा पाएर जिल्लामा कांंग्रेसको संगठन गर्न सक्नुहुन्छ भनी सोधेँ। मैले सोधेकामा धेरैजसोले यो महासमितिको बैठक हलमा ‘सभापति र वरिष्ठ नेताले अब हामी पार्टीमा अविभावक भएर बस्छौँ’ भन्न सक्दा पार्टीमा ऊर्जा उत्पन्न हुन्छ भने।

नेपाली कांग्रेसले भर्खरै सम्पन्न महासमितिको निर्णयमा प्रम ओली सरकारमाथि गम्भीर आरोपहरू लगाएको छ। अब ती आरोपलाई आमनागरिक र कांग्रेस कार्यकर्तामाझ पु-याउने कसरी ? र कसले ? महासमितिको निर्णय र जनताका जनजीवनका कैयन् मुद्दा बोकेर मेची–महाकाली पैदल यात्राबाट भावी कांग्रेस नेतृत्व देशसँग जोडिन सक्छ। यसले नेपाली कांग्रेसलाई राजनीतिकरूपले एकीकरण गर्न पनि सघाउने छ। कम्युनिस्ट शासनको चरित्र र प्रभाव बुझ्न पनि यसले मद्दत गर्छ। 
एउटा ‘कम्प्रिहेन्सिभ भिजन डकुमेन्ट’  लिएर फ्रेस अनुहारहरू जनताको घरदैलोमा पुग्ने हो भने कुनै कारण छैन भावी महाधिवेशनबाट कांग्रेसमा फ्रेस अनुहार नेतृत्वमा पुग्नबाट कसैले रोक्न सक्छ भनेर। चार वर्षपछि हुनेआमनिर्वाचनमा कांग्रेस ब्याक हुनसक्छ। 
कांग्रेसको समस्या नेतृत्वको हो। नेतृत्व निर्माण गर्ने उपाय अरु केही हुनसक्तैन पैदल यात्रा गर्नुबाहेक। यो पैदल यात्रामा ताजा अनुहारले इतिहासको गौरवशाली कुरा संक्षिप्तमा गर्नसक्छन्। वर्तमानको जिम्मेवारीबोध भएर गाउँघरमा भलाकुसारी गर्दै देशको भविष्य रूपान्तरण गर्न आएको सबिस्तार भन्न सक्छन्। र, देशको जल्दोबल्दो समस्या शिक्षा, स्वास्थ्य, बेरोजगारी, कृषिको आधुनिकीकरण र सुरक्षित यातायातलाई पार्टीको मूल अजेन्डा बनाएर जनतासँग साक्षात्कार गर्दै हिँड्न सक्छन्।
राष्ट्रियताको मुद्दा बोक्दा कम्युनिस्टले बोकेको राष्ट्रियतालाई लम्पसारवाद भनेर कसैले बुझ्दैन। सरल र प्रष्टरूपमा नक्कली राष्ट्रवादको खोल ओढेर भावना भड्काइ भोट बटुलेको तथ्यगत उदाहरण अगाडि सार्न सक्नुपर्छ। यस्ता उदाहरण कैयन् छन् जसले कम्युनिस्ट राष्ट्रवादको माखौल उड्न सक्छ। 

आमनेपाली जनताको सहभागितामा जारी संविधान र उदार लोकतन्त्र दुईतिहाइको कम्युनिस्ट सरकारबाट खतरामा छ भनेर गाउँघर पुग्दा त्यो विश्वसनीय हुन्छ विज्ञप्ति जारी गरेर भन्नुभन्दा। कम्युनिस्ट सोच नेपालको संविधानभन्दा फरक बाटोमा गएको उदाहरण ‘होली वाइन’ भन्दा प्रभावशाली अरु के नै हुन सक्छ र ? जनमानसले यो कुरा चाँडो बुझ्छन्। 

भ्रष्टाचारको मुद्दा उठाएर कांग्रेसलाई कम्युनिस्टले सत्ता र आमनागरिकबाट टाढा पु-याउन सकेका हुन् विगतमा। आज कम्युनिस्ट सरकारको भ्रष्टाचारलाई पत्रिकामा पढेर र विज्ञप्ति निकालेर होइन, देशव्यापी घरदैलो जागरण चलाएरमात्र चुनौती दिन सक्छ कांग्रेसले। हेक्का रहोस्, भ्रष्टाचार विरोधी अभियानमा नैतिक बल चाहिन्छ र नैतिकतामा चुकेको नेतृत्वले भ्रष्टाचार विरोधी अभियान चलाउँदा प्रत्युत्पादक बन्न जान्छ।वर्तमान कांग्रेस सभापति र महामन्त्रीबाट भ्रष्टाचार विरोधी अभियान गरे त्यो हाँस्यास्पदमात्र होइन, कम्युनिस्ट शासनमा अहिले भइरहेको भ्रष्टाचारले वैधानिकता पाउनेछ। 

अन्तमा, महासमितिमा उपस्थित सदस्यहरू विविधताले भरिएका थिए। कांग्रेसको भविष्य र मुलुकको विकास त्यही विविधतापूर्ण समावेशी लोकतन्त्रमा संभव छ भन्ने विश्वास जनतालाई गराउन सक्दा कुनै कारण छैन कांग्रेसले वर्तमान निराशाबाट उज्यालो भविष्यको यात्रातर्फ लाग्न नसकोस्। महासमिति बैठक अपेक्षा गरेअनुरूप भएन कांग्रेसको। तर महासमितिले दिएको सन्देश के हो भने यो पार्टीमा नेता छैन र नेताको खोजी यसका कार्यकर्ता, समर्थक र शुभेच्छुकहरू गरिबसेका छन्। जाँगर हुनेले नेतृत्व लिन सक्छ, कुर्सी खाली छ। फायल बढुवाबाट कांग्रेस नेतृत्वमा पुगेकाहरूलाई सामान्य धक्कामात्र दिए पुग्छ। 

प्रकाशित: १० पुस २०७५ ०२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App