८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेसले अब संसद र सडकबाट संघर्ष गर्छ : नेता साउद

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले कांग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पारेका छन्। उनले धर्मनिरपेक्षताको ठाउँमा धार्मिक स्वतन्त्रता बनाउने बहस पार्टीभित्र चलेको बताए। यद्यपी उनले कांग्रेसले हिन्दू राष्ट्रको मुद्दा नबोकेको जिकिर गरे। 

रिपोर्टर्स क्लको साक्षात्कारमा साउदले हालै सम्पन्न पार्टीको महासमिति बैठक ऐतिहासिक भएको र यसले देशैभरी एकताको सन्देश दिएको पनि दाबी गरे। महासमिति बैठकमा धर्मनिरपेक्षताबारे गम्भीर प्रश्न उठेको पनि उनले सुनाए। उनले भने, ‘आधाभन्दा बढी सदस्यहरुले यसबारे प्रश्न उठाउनुभएको छ।’

सरकार एशिया प्यासिफिक समिटमा सहभागी भएको कुरा उल्लेख गर्दै उनले राज्य आफैं नयाँ–नयाँ धर्मको प्रचारमा लागिपरेको आरोप लगाए। उनले भने, ‘कोरियाका विवादित व्यक्तिलाई बोलाउने काम यो सरकारले गरेको र सरकार आफैं सहभागी भएकोबारे हाम्रो पार्टीभित्र समिक्षा भएको छ। कांग्रेसले सरकारको यो कदमलाई भत्र्सनायोग्य र गम्भीर कदमको संज्ञा दिएको छ।’ पछिल्लो समय धर्मनिरपेक्षताको विषयमा लगातार बहस चलेको पनि उनले टिप्पणी गरे। 

साउदले महासमितिका धेरै साथीहरुले धर्मनिरपेक्षताको ठाउँमा धार्मिक स्वतन्त्रता हुनुपर्छ भनेर आवाज उठाएको र यसप्रति पार्टीभित्र छलफल हुनेपनि स्पष्ट पारे। उनले भने, ‘सरकार धर्मनिरपेक्षताको आचरणमा धर्म रुपान्तरणमा सामेली भएको छ। यो जघन्य कुरा हो।’ पछिल्लो समय नेपालमा धार्मिक अहिष्णुताको जोखिम बढेकोपनि उनले खतरा औंल्याए। 

फरक प्रसंगमा उनले वर्तमान सरकारले एउटापनि राम्रो काम गर्न नसकेको आरोप लगाए। उनले भने, ‘सुशासनको ठाउँमा कुशासन दिएको छ। होली वाइन पिउने काम गरेको छ। वाईडबडी जहाज प्रकरण हेर्नुहोस्। नेकपाभित्रै अहिले घम्साघम्सी चलिरहेको छ।’

साउदले निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज १५० दिन बितिसक्दा पनि अहिलेसम्म बास्तविक अपराधी पत्ता लगाउन नसकेकोमा सरकारप्रति कडा आक्रोश पोखे। 

उनले भने, ‘एउटी अबोध बालिकाको यसरी निर्मम तरिकाले हत्या भएको छ। तर, सरकारले घट्नाको अनुसन्धानबारे लापरवाही गरिरहेको छ। नक्कली मान्छे खडा गरेको छ। वास्तविक अपराधी पत्ता लगाउन सकेको छैन्।’

उनले कांग्रेसले अब संसद र सडक दुवै ठाउँमा संघर्ष गर्ने पनि जनाए। 

प्रकाशित: ९ पुस २०७५ १४:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App