७ वैशाख २०८१ शुक्रबार
अर्थ

मौरी सुन्दरी पनि चयन गरिने

काठमाडौं- नेपालमा पहिलोपल्ट वैज्ञानिक मौरी सम्मेलन आयोजना हुने भएको छ। जलवायु परिवर्तनका कारण मौरीको उत्पादकत्वमा परेको प्रभाव र एसियाली मुलुकमा मौरीको व्यावसायिकता विषयमा यो सम्मेलन हुने भएको हो।

हाइल्यान्ड एग्रिकल्चर रिसर्च एन्ड डेभलपमेन्ट इन्टरप्राइजेज (हार्डेन)ले आयोजना गर्न लागेको सम्मेलनमा मौरी रानी प्रतियोगिता हुनेछ। आयोजकका अनुसार मिस नेपाल क्विन बी र हनी प्रिन्सेस कन्टेस्ट नाम दिइएको प्रतियोगितामा रानी मौरीबीच प्रतिस्पर्धा गराइनेछ।

सम्मेलनमा मौरी, घार, प्राविधिक उपकरण, फोटो प्रदर्शनी, प्राविधिक सल्लाहसहितको स्टल रहनेछ। चीन, फिलिपिन्स, कोरिया, भारत, अमेरिका, अस्टे्रलिया, थाइल्यान्ड, जर्मनीलगायत मुलुकका २० जना मौरी, वातावरण र कृषिसम्बन्धी वैज्ञानिकले कार्यपत्र पेस गर्ने उक्त सम्मेलनमा मौरीजन्य स्टल सञ्चालन तथा मौरीविज्ञ, किसान र सञ्चारकर्मीलाई सम्मान गरिने कार्यक्रम रहेको आयोजकले जानकारी दिएका छन्।

विश्वमा पाइने ९ प्रजातिका मौरीमध्ये ४ प्रजाति नेपालमै पाइन्छन्। नेपालमा १५ हजारवटा भीर मौरीको गोला र एक लाखवटा व्यावसायिक एसियाली प्रजातिका मौरी घार रहेको अध्ययनले देखाएको छ। नेपालमा वार्षिक रुपमा घरपालुवा सेरेना जातको मौरीबाट ७ लाख किलो र विकासे मेलिफेरा जातको मौरीबाट १७ लाख ५० हजार किलो मह उत्पादन हुँदै आएको छ। अध्ययनअनुसार घट्दो वन सम्पदा र वातावरणीय विनाशसँगै भीरमौरीको गोला नासिने क्रम जारी छ, जुन अनुपात बढ्दै गएमा पाँच वर्षभित्र नेपालमा भीरमौरी गोला नाश हुने खतरा छ।

हार्डेनको आयोजनामा हुने सम्मेलनमा व्यावसायिक किट विकास निर्देशनालयको विशेष सहयोग रहने आयोजक समितिले जनाएको छ। उक्त सम्मेलन आगामी कात्तिक ७ गतेदेखि हायात रिजेन्सी होटेलमा आयोजना हुनेछ।

नेपालमा मौरीको व्यावसायिक उत्पादनको राम्रो सम्भावना छ। तर खेतबारी र वनस्पतिमा विषादी तथा एन्टिबायोटिक अनियन्त्रित रुपमा प्रयोग भइरहेकाले मह उत्पादन संकटमा परेको छ। यसले गर्दा महको अन्तर्राष्ट्रिय माग भए पनि नेपाली महले निर्यात बजारमा प्रवेश पाउन समस्या भोगिरहेको आयोजक समितिका अध्यक्ष रत्न थापाले बताए। 'हाम्रो सम्मेलन यस्तै चुनौती र सम्भावनाको विषयमा मन्थन गर्दै सञ्चालन हुनेछ,' उनले भने।

मौरी सम्मेलनमा एसियन एपिकल्चरल एसोसिएसनका अध्यक्ष सिरिवात वोङिस्रीलगायत विभिन्न एसियाली मौरी विज्ञको सहभागिता रहनेछ। हार्डेन अध्यक्ष थापाका अनुसार एसियाली मुलुकमा ग्लोबल वार्मिङले मौरीमा पारेको प्रभाव, मह उत्पादकत्व वृद्धि र अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम गुणस्तरीय मह उत्पादन विषयमा सम्मेलन केन्द्रित हुनेछ। अध्यक्ष थापाले मौरी विषयमा थाइल्यान्डबाट पिएचडी गरेका छन्। उनी नेपालमा मौरीसम्बन्धी एक्ला वैज्ञानिक हुन्।

रुख बिरुवाको विनाशसँगै मौरीको ह्रास भइरहेको छ। यस्तै विषादी, विभिन्न प्रकारका रोग र चरन क्षेत्र र आहाराको अभावमा मौरीको विनाश भइरहेको छ। यसैगरी मौरीले परागसेचन नगरेमा खाद्यान्न, फलफूल, दलहन, तेलहन, तरकारी लगायतको उत्पादन पनि नहुने विज्ञले औंल्याएका छन्। खाद्यान्नको परागसेचन ९५ प्रतिशत माहुरीबाट हुने गरेको बताइन्छ। मौरी विनाशका कारण मानिसको जीवन अप्ठेरोमा पर्दै गएको थापाले बताए। वनस्पति विनाश, मौरीको जीवन र मानवीय जीवनचर्या अन्तरसम्बन्धित छन्। वैज्ञानिक अल्वर्ट आइन्सटाइनले पृथ्वीबाट मौरी लोप भएको खण्डमा त्यसको चार वर्षपछि सम्पूर्ण मानव जगत लोपोन्मुख हुने बताएका थिए, जसको तार्किक विश्लेषण सम्मेलनमा विज्ञहरुले पनि गर्नेछन्।

प्रकाशित: १४ आश्विन २०७३ ०३:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App