८ वैशाख २०८१ शनिबार
अन्य

‘केही समयमै काठमाडौंलाई धुलोरहित बनाउँछौं’

ईश्वरमान डंगोल, प्रवक्ता÷वडा नं १५ वडा अध्यक्ष

तपाईँ निर्वाचित भएर आएको २० महिना भइसक्यो कस्तो अनुभूति गरिरहनुभएको छ ?
जननिर्वाचित भएसँगै दिनरात नभनी जनताको सेवामा सक्रिय छु। निर्वाचित हुनेबेला मेलम्ची खानेपानी आयोजनाका कारण सडकमा जताततै खाल्डाखुल्डी थिए। तर, मैले जिम्मेवारी सम्हालेलगत्तै खाल्डाखुल्डी पुरेर सडक व्यवस्थित बनाएका छौं। महानगर मातहतमा पर्ने आठ मिटर सडक धमाधम कालोपत्रे गरेर व्यवस्थित गरेका छौं। वडा कार्यालयले धमाधम विकास निर्माणलाई प्राथमिकतामा राखेको छ। स्वयम्भू क्षेत्रमा अहिले हरियाली पार्क निर्माण गरेका छौं। वडा कार्यालय अपांगमैत्री भएकाले अपांगता भएका व्यक्तिले सहजै वडामा आउन सक्ने भएका छन्। त्यसका अलावा ज्येष्ठ नागरिकका लागि रिक्रियसन सेन्टर सञ्चालनमा ल्याएका छौं। जसमा दैनिक ४०–५० ज्येष्ठ नागरिक आएर बस्ने गरेका छन्। ज्येष्ठ नागरिकको लागि वडा कार्यालयले खाजाको समेत व्यवस्था गरेको छ।
काठमाडौं महानगरपालिकाले पनि एकपछि अर्काे काम गरिरहेको छ। हालसालै टुँडिखेल आसपासमा पिक एन्ड ड्रप प्रणाली कार्यान्वयन ग-यौं। जसबाट निकै राम्रो प्रतिक्रिया आइरहेको छ। चक्रपथमा मोनोरेल सञ्चालनका लागि चिनियाँ कम्पनीसँग डिपिआर निर्माण गर्ने सम्झौता गरिसकेका छौं। अहिले उपत्यकामा धमाधम सरसफाइ अभियान सुरु भएको छ। अबको केही समयभित्रै धुलोरहित काठमाडौं बनाउनेछौं। अर्काेतर्फ भूकम्पले भत्किएका सम्पदाको निर्माण प्रक्रिया सुरु भइसकेको छ। त्यसैले अहिले जनताले अपेक्षा गरेअनुसार नै काम गरिरहेका छौं।

तपाईँले वडा अध्यक्ष र महानगर प्रवक्ताको दोहोरो जिम्मेवारी सम्हाल्नुभएको छ ? दुवैतर्फको जिम्मेवारी सम्हादा समय कसरी प्रबन्ध मिलाउनुभएको छ ?
काठमाडौं महानगरपालिकाको कार्यपालिकाको बैंठकबाट गत मंसिर २४ गते प्रवक्ताको जिम्मेवारी पाएको छु। अहिले दुवैतर्फ समय मिलाएर कार्यसम्पादन गरिरहेको छु। वडा कार्यालयमा बिहान १० देखि दिउँसो २ बजेसम्म काम गर्छु। त्यसपछि महानगरपालिका गएर काम गर्छु। महानगरपालिकाको प्रवक्ता भएसँगै नागरिकता तथा नाता सिफारिसबाहेक अन्य काम गर्ने जिम्मा वडा सदस्यलाई सुम्पिएको छु। दिउँसो २ बजेपछि वडा कार्यालयमा महत्वपूर्ण कामका लागि आएका सेवाग्राहीलाई महानगरमै बोलाएर पनि सेवा दिइरहेको छु।
यसअघि महानगरपालिकाको सूचना तथा प्रविधि समितिको पनि संयोजक भएकाले कार्यपालिकाको बैंठकले सर्वसहमत रूपमा प्रवक्ताको जिम्मेवारी दिएको हो। जनप्रतिनिधि भएपछि जहाँ बसे पनि जनताकै सेवामा हाजिर भएर काम गर्नेछौं।

संसारबाट मोनोरेल फेजआउट भइरहेको छ। तर, तपाईँहरूले किन मोनोरेल नै ल्याउने तयारी गरिरहनुभएको छ ?
काठमाडौंमा मोनोरेलको सम्भावना भएर नै काम अगाडि बढाउन लागेका हौं। चिनियाँ कम्पनीले गरेको प्रारम्भिक अध्ययनले पनि चक्रपथ क्षेत्रमा मोनोरेल गुडाउन उपयुक्त भएको प्रतिवेदन दिइसकेको छ। त्यसैले महानगरपालिकाको कार्यपालिकाको बैठकमा बृहत छलफल गरेर मात्रै मोनोरेलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणका लागि हालसालै सम्झौता गरेका हौं। डिपिआर आइसकेपछि मोनोरेलको विषयमा बृहत् छलफल तथा बहस गर्न सकिन्छ। त्यसैले मोनोरेल हाम्रो ड्रिम्स प्रोजेक्ट हो। त्यसैले हाम्रो कार्यकालसम्म सञ्चालन गर्ने लक्ष्य राखेका छौं।

महानगरपालिकाको कार्यालय छुट्टाछुट्टै स्थानमा हुँदा सेवाग्राहीले समस्या पाइरहेका छन् नि ?
महानगरपालिकाले विभिन्न ९ स्थानबाट आफ्नो सेवा प्रवाह गरिरहेको छ। फरक–फरक स्थानबाट सेवाप्रवाह हुँदा सर्वसाधारणले दुःख पाएका छन्। जनप्रतिनिधि भएर आएसँगै नयाँ कार्यालय खोजी गरिरहेका छौं। तर, अहिलेसम्म भवन नपाएकाले एकै ठाउँबाट सेवा प्रवाह गर्न सकेका छैनौं। महानगरपालिकाको पहिलो कार्यपालिकाको बैंठकले बागदरवारमा नयाँ भवन बनाउने निर्णय गरेको थियो। तर, सर्वाेच्च अदालतको अन्तरिम आदेशको कारणले गर्दा नयाँ भवन बनाउन सकेका छैनौं। अदालतको फैसला आएसँगै भवन निर्माणले गति लिने अपेक्षा गरेका छौं। कार्यालय भवन बनाउने भनेर डिजाइन तयार भएर नगरसभाबाट समेत परित भइसक्यो। तर, अदालतकै कारणले अघि बढ्न सकेको छैन।

महानगरले सरसफाइ अभियान गरे पनि महानगरको कार्यालय अगाडि ढल फुटेको देख्नुहुन्न ?
काठमाडौं महानगरपालिकाले पछिल्लो समय सरसफाइ अभियानलाई तीव्रता दिइरहेको छ। अहिले महानगरसँग भएका बु्रमर र जेट मेसिनले दैनिक सरसफाइ अभियानलाई अघि बढाइरहेका छौं। पछिल्लो दुई महिनामा महानगरमा धुलो धेरै हदसम्म नियन्त्रण गरेका छौं। महानगरले पाँच वटा ब्रुमर मेसिन खरिदको लागि प्रक्रिया अघि बढिसकेको छ। केही समयभित्रै धुलो नियन्त्रणमा आउनेछ। महानगरपालिकाको एक्लो प्रयासले मात्रै सरसफाइ गर्न नसकिने रहेछ। जनताले पनि आफ्नो घरआँगन सफा नगरेसम्म सफा नहुने रहेछ। त्यसैले जनता र महानगर दुवैले सफा गरेमात्रै स्वच्छ हराभरा महानगर बनाउन सकिन्छ। महानगर कार्यालय अगाडिका केही स्थानमा ढल फुटेका छन्। अबको केही समयभित्रै ढल मर्मतसम्भार गरेर व्यवस्थित गर्नेछौं।

स्थानीय तहका कर्मचारी सेवा नै ठप्प पारेर आन्दोलनमा उत्रिएका छन्। त्यसलाई कसरी सम्बोधन गर्दै हुनुहुन्छ ?
संघीय सरकारले कर्मचारी समायोजन अध्यादेश ल्याएसँगै स्थानीय तहका कर्मचारी आन्दोलित छन्। कर्मचारी समायोजन अध्यादेशले केन्द्रका कर्मचारीलाई मात्रै प्रोत्साहन गर्ने नीति लिएका कारणले नै स्थानीय तहका कर्मचारी आन्दोलित भएको सुन्नमा आएको छ। स्थानीय तहका कर्मचारीको विरोध स्थानीय तहसँग नभएर संघीय सरकारसँग हो। संघीय सरकारले कसैलाई काखा र पाखाको व्यवहार गर्नु उपयुक्त हुँदैन। दुवै कर्मचारीालई सम्मानजनक र सन्तुलित व्यवहार गरेर कर्मचारीको आन्दोलन टुंगाउनुपर्ने देखिन्छ। हामीले कर्मचारीलाई सेवाप्रवाह रोकेर जनतालाई सास्ती नदिन अनुरोध गरेका छौं।

टुँडिखेल आसपासमा मात्रै पिक एण्ड ड्रप प्रणाली लागू गर्नुभयो, महानगरभित्र कहिले लागू गर्नुहुन्छ ?
टुँडिखेलमा वरिपरि पिक एण्ड ड्रप प्रणाली लागू गरेसँगै अहिले जताततैबाट सकारात्मक नतिजा आइरहेको छ। पहिला टुँडिखेल आसपासमा अत्यधिक मात्रामा सवारी जाम हुन्थ्यो। तर, पिक एण्ड ड्रप प्रणाली लागू गरेसँगै अहिले टुँडिखेल क्षेत्रमा सवारीजाम घटेको छ। सवारीचालकले सकारात्मक नै प्रतिक्रिया पाइरहेका छौं। पिक एण्ड ड्रपको कारणले केही वृद्ध तथा बालबालिकाहरूलाई समस्या भएको गुनासो सुन्नमा आएको छ। हामीले काठमाडौं महानगरपालिका मुख्य–मुख्यचोकमा पनि पिक एण्ड ड्रप लागू गर्न अध्ययन गरिरहेका छौं। अध्ययन रिपोर्टको आधारमा अन्य ३२ वडामा पिक एण्ड ड्रप प्रणाली कार्यान्वयन गर्दै अघि बढ्नेछौं।

उपत्यकामा वायुप्रदूषण तीव्र गतिमा बढिरहेको छ, वायु प्रदूषण नियन्त्रण गर्ने कस्ता योजना अघि सार्नुभएको छ ?
महानगरपालिकाले उपत्यकामा वायु प्रदूषण नियन्त्रणको लागि विभिन्न योजना अघि सारेर काम गरिरहेको छ। पछिल्लो समय महानगरपालिकाले धुलोरहित काठमाडौं बनाउने अभियानलाई तीव्र गतिमा अघि बढाएको छ। उपत्यकामा धुलो नियन्त्रण गर्नेबित्तिकै पनि वायुप्रदूषण धेरै नियन्त्रण गर्न सकिन्छ। अर्काेतर्फ महानगरपालिकाले  वृक्षारोपण र हरियाली प्रवद्र्धन कार्यक्रमलाई पनि अघि सारेको छ। खुला स्थानलाई पार्कको रूपमा व्यवस्थित गर्दै आइरहेका छन्। प्रत्येक उपत्यकावासीलाई नयाँ बोटविरुवा रोप्न समेत प्रोत्साहन गर्दै आइराखेका छौं।

खुला स्थानलाई संरक्षण गरेको त भन्नुभयो। तर, महानगरपालिकाले खुला स्थानमा नै भ्यूटावर बनाउन लागेको छ नि ?
महानगरपालिकाले पुरानो बसपार्कमा क्षेत्रमा भ्यू टावरको साथसाथै व्यवस्थित बसपार्क निर्माण गर्न लागेका हौं। तर, अन्य स्थानमा रहेका खुला स्थानलाई संरक्षण गरेर पार्क पनि बनाएका छौं। एक स्थानलाई देखाएर समग्रमा भन्न नमिल्ला कि  !

महानगरपालिकाले स्मार्ट शौचालयको योजना अघि सारेको पनि वर्षाै भइसक्यो ? साँच्चै शौचालय कहिले निर्माण हुन्छ ?
काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७४–७५को बजेट तथा नीति कार्यक्रममा महानगरभित्र स्मार्ट शौचालय बनाउने योजना अघि सारेको थियो। सोही योजनामुताविक गत मंसिर २४ गते बसेको कार्यपालिकाको बैठकले उपमेयर हरिप्रभा खड्गीको संयोजकत्वमा समिति पनि गठन भइसकेको छ। समितिको सदस्यहरूमा वडा नं १५ का वडा अध्यक्ष र वडा नं १८ का वडा अध्यक्ष सदस्य छन्। कार्यपालिकाको बैठकले उपत्यका कस्तो मोडेल र कति शौचालय आवश्यक पर्छ भन्ने विषयमा अध्ययन गरेर प्रतिवेदन बुझाउने कार्यादेश दिएको छ। समितिले अध्ययन गरेर छिट्टै प्रतिवेदन बुझाउनेछ। महानगरभित्र सार्वजनिक शौचालय चाहिने विषयमा कुनै दुविधा छैन। त्यसैले जतिसक्दो छिटो सार्वजनिक शौचालय निर्माण गर्नेछौं। प्रस्तित : हिमाल लम्साल

प्रकाशित: ९ पुस २०७५ ०५:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App