‘विकास निर्माणको बाटो उल्टो भयो’

सोमबार, ०९ पुष २०७५, १० : ३२ नागरिक

अब हामीले पाँच कामलाई प्राथमिकतामा राख्नुपर्छ। ती हुन्, योजनाबद्ध विकासको खाका तयार पार्ने, दक्ष जनशक्ति उत्पादन गर्ने, जनतामा चेतना जगाउने, वातावरणमैत्री पूर्वाधार डिजाइन तयार पार्ने र स्थानीय सरकारको बलियो सहभागिता बनाउने।
रविन्द्र अधिकारी
मन्त्री, पर्यटन, संस्कृति तथा नागरिक उडड्यन मन्त्रालय

तपाईँको विचारमा सहर के हो ?
हामीले परम्परागतरूपमा भन्दै र मान्दै आएको पक्षलाई हेर्दा गाउँभन्दा अलि फरक, विकसित, सुविधायुक्त र एउटा व्यवस्थित ठाउँ नै सहर हो। जहाँ खानेपानी, सडक, स्वास्थ्य, शिक्षा, बिजुली, टेलिफोन, यातायातलगायत मानवीय आवश्यकताका हरथोक सहजरूपमा पाइन्छन्। सहरका संरचना पनि व्यवस्थित र त्यो देशको कला संस्कृतिको झझल्को दिने खालका हुन्छन्। बाहिरी मुलुकबाट आउने पर्यटकहरूको प्रवेशद्धार नै सहर हो। उनीहरू सहरमा ओर्लेर गाउँगाउँसम्म घुम्छन्। त्यसकारण पनि सहरले देशको हरेक पक्षको चिनारी बोकेको हुनुपर्छ। सहरको विकास आकर्षण हुनुपर्छ। त्यहाँ गरिने हरेक विकास निर्माणका काममा सहरवासीको सहभागिता रहनुपर्छ।

सहर हरेक पक्षमा अग्रणी स्थानमा रहनुपर्छ भन्नुभयो, तपाईँले यहाँ उल्लेख गरेका सर्त र मापदण्ड हाम्रा सहरले पूरा गरेका छन् जस्तो लाग्छ ?
हामीकहाँ योजनावद्ध विकासको थालनी नै भएन। त्यसरी कुनै पनि सहरको विकास भएको छैन। सरकारैपिच्छे मनलाग्दी हिसाबले सहरमा विकास काम भए, त्यसले एकातिर विकास भएजस्तो देखाए पनि अर्कातिर विनास निम्त्याएको छ। हिजो हामीले बिगारेकै कारण आज र भोलिको विकासमा चुनौती थपिएको छ। अब भइरहेको सहरलाई कसरी व्यवस्थित बनाउने भन्ने प्रश्न उठेको छ। तर, त्यसलाई सही र व्यवस्थित बनाउन कम्ता सजिलो छैन। एउटा व्यवस्थित सहरमा गुरुयोजना हुन्छ, ताकि सयौं वर्षअघिसम्म पनि अहिले गरेको विकासले मेल खाइरहोस्। तर, हामीकहाँ सहरका कुनै विकासका काम गर्दा भोलिलाई सोचिएन, यो दुःखको कुरा नै हो। कहाँ खुला ठाउँ राख्ने, कहाँ अस्पताल राख्ने, विद्यालय र खेलमैदान कहाँ राख्ने, उद्योग कहाँ खोल्ने, कहाँ जंगल राख्ने, कृषि क्षेत्र कहाँ छुट्याउने जस्ता यावत् पक्षलाई समेटेर एउटा महत्वकांक्षी गुरुयोजना तय भएन। त्यसकारण पनि हाम्रो सहर बिग्रियो भन्ने लाग्छ मलाई। अव्यवस्थित भएकै कारण हामी चार समस्या झेलिरहेका छौं। सरसफाइ र बाटो तथा पानीको टुंगो नहुनु पनि यसकै कारण हो। यस्तै, एकै ठाउँबाट सहरलाई नियाल्न नसकिनु र सुरक्षा तथा आकस्मिक सुविधा पु-याउन कठिन भएको पनि सहर अव्यवस्थित भएकै कारण हो। तर, पनि हामीले यसैलाई सहर मान्छौं। गाउँमा मानिसहरू सहर भनेपछि फुरुक्क हुन्छन्। सहरको हालत यस्तो छ।

विकास निर्माणका काम गर्दा कहाँनेर चुक्यौं ?
हाम्रो विकास निर्माण उल्टो छ। पहिला घर बनाउने बल्ल बाटो खन्ने चलन छ। यसले भोलिको सहरलाई अझ बिगार्ने देखिन्छ। अर्को कुरा, हामी राजनीति र अनावश्यक कुरामा मात्रै रमाउन थाल्यौं। नेतृत्वले पनि महत्वकांक्षी योजना सञ्चालन गर्न सकेन। राजनीति र निकटतालाई बढी प्रश्रय दिदा सहरको विकास हुन नसकेको हो भन्ने लाग्छ।  

पछिल्लो समय ‘स्मार्ट सिटी’ भन्ने गरिन्छ, त्यसभित्र के–के पर्छन् होला ?
अहिले सबैतिर भनिँदै आएको कुरा प्रविधिमैत्री हो। जहाँ पनि ‘स्मार्ट’ नै चाहिन्छ भन्ने गरिन्छ। यो स्मार्ट भन्ने शब्द हरेक ठाउँमा खोज्न थालिएको छ अचेल। अझ वर्तमान समयमा गरिने हरेकखालका विकास निर्माणका काम स्मार्ट अर्थात् प्रविधिमैत्री हुनुपर्छ भनिएको छ। स्मार्ट सिटी भनिएको छ। प्रविधिको प्रयोग गरेर हरेक काम गर्न सकिने भनिएको छ। यसको अर्थ, बिजुलीको बिल, गाडीभाडा, खानेपानीको बिललगायत हरेक ठाउँमा स्मार्ट कार्ड प्रयोग गर्न सकियोस् भन्ने नै वर्तमान समयको माग हो। विदेशी मुलुकमा त हरेक कुरा स्मार्ट बनिसकेको छ। यसको मतलब एउटा प्रविधिको माध्ययमबाट पनि सबै सेवाहरू लिन सकिने। त्यसअनुसारका पूर्वाधार निर्माण गर्ने कुरा पनि पछिल्लो समय निस्किएको छ। सहर भनिसकेपछि पहिले क्रंकिट भनिन्थ्यो भने अहिले यसको अर्थ अलि गहिरो बनाइएको छ। रुख रोप्ने, प्रदूषणमुक्त वातावरण, चिल्ला सडक, पोखरी बनाउनुपर्यो, कला संस्कृति, इतिहास हुनुपर्यो भन्ने अवधारणा आएको छ। मेरो विचारमा समयअनुसार सहरका फरक–फरक परिभाषा आएका छन्। पहिले ठुल्ठूला उद्योग, घर भएका सहर जहाँ कलकारखाना, रेष्टुरेन्ट भएको ठाउँलाई सहर भनिएको थियो।

काठमाडौंलाई व्यवस्थित पार्ने जिम्मा तपाईलाई दिइयो भने कसरी काम गर्नुहुन्छ ?
काठमाडौंलाई सपार्न सजिलो छैन। सबैतिर कंक्रिटले भरिएको छ। विकास निर्माणका काम पनि भद्रगोल अवस्थामा छन्। मलाई त्यो जिम्मा दिइयो भने मैले गुरुयोजना बनाएर अघि बढ्छु। काठमाडौंको साइट साइटमा स्याटलाइट सिटी बनाउने, उपत्यकाभन्दा बाहिर वा आसपासमा नमुना आकर्षक सिटी बनाउँछु ताकि काठमाडौंको मान्छे त्यहाँ तानियोस् र काठमाडौं केही खुकुलो होस्। काठमाडौं बाहिर ६÷६ स्याटलाइट सिटी बनाइयो भने त्यहाँको सुविधा र सुन्दरता देखेर मानिसहरू त्यतै सर्छन्। त्यसको लागि फरक पूर्वाधार बनाउन सक्नुपर्छ। काठमाडौंको रिङरोडभित्र भन्दा बाहिर भद्रगोल भयो। सबैतिर लापरबाही छ।

त्यसो भए, हामीकहाँ नेतृत्व तहको समस्या हो कि भिजन नै नभएर योजनाबद्ध विकासको थालनी नभएको हो ?
हामीकहाँ हरेक कानुन छन्, नीति छन् ती सबै रोक्ने र छेक्न खालका छन्। हामीले कानुन बनाउँदा नै बाझिने गरी बनाएका छौं। विकास निर्माणका काममा पछि अड्चन नै कानुन बनेको देख्न सकिन्छ। भएको कुरा के हो भने राजनीतिक अस्थिरता भयो। जता पनि राजनीति नै हावी भयो, जसका कारण राम्रा काममा पनि अवरोध खडा हुनथाल्यो। विचौलियोको प्रभाव बढ्दो छ। उनीहरूले सरकारलाई नै घुमाइरहेका हुन्छन्। त्यसकारण बलियो सरकारको आवश्यकता भएको हो र यो सरकारले त्यसलाई ध्यानमा राख्दै काम गर्छ। मेरो विचारमा अब हामीले पाँच कामलाई प्राथमिकतामा राख्नुपर्छ। ती हुन्, योजनाबद्ध विकासको खाका तयार पार्ने, दक्ष जनशक्ति उत्पादन गर्ने, जनतामा चेतना जगाउने, वातावरणमैत्री डिजाइन तयार पार्ने र स्थानीय सरकारको बलियो सहभागिता बनाउने।

सहर भन्नासाथ त्यहाँको कला, संस्कृति र परम्परा पनि झल्कन्छ, हामीकहाँ अनेक सांस्कृतिक पक्ष छन्। तर, तिनको उचित संरक्षणका लागि संस्कृति मन्त्रालयले नै त्यति चासो दिएको देखिन्न नि ?
संरणक्ष नभएका होइनन्, मन्त्रालयले पनि त्यसमा चासो दिएको छ। विश्व सम्पदा सूचीमा परेका क्षेत्रलाई हामीले बढी निगरानी राखेका छौं। हामीकहाँ भएका अनेक सांस्कृतिक पक्षको उचित संरक्षणका लागि संस्कृति मन्त्रालयले दिलोज्यानले लागेको छ। भूकम्पपछि निराशा थियो। पुनर्निर्माणका क्रममा आधुनिकीकरण गर्ने होडबाजी नै चलेको थियो। त्यो विषय विवादीत पनि बन्यो। आज ती सबै विवाद हटेका छन्। सम्पदाको मौलिकतालाई हामीले ख्याल राखेका छौं र पुनर्निर्माण भइरहेको ठाउँमा पनि संवेदनशीलता अपनाएका छौं। बरु हामीले यहाँका सम्पदा र कला संस्कृतिलाई पर्यटनसँग जोड्न सकेका छैनौं। यसमा ध्यान दिन जरुरी छ। आउँदो १२ गते धरहराको शिल्यान्यास हुन्छ। रानीपोखरीको विवाद टुंग्याएर छिट्टै पुनर्निर्माण थाल्छौं।

घुमेकामध्ये मन परेको सहर कुन हो ?
धेरै सहरहरू छन्। फरक सहरका हिसाबले पर्यटक भित्र्याउन सफल भएको टोकियो उत्तिकै आर्कषण छ। नर्वेका सहरहरू पनि उत्तिकै सुन्दर छन्। अत्याधिक हरियाली भएको अमेरिकाको क्यालिफोर्निया पनि राम्रो लाग्छ। स्मार्टको हिसाबबाट टोकियो र सियोल अग्रपंक्तिमा छन्।  

विदेशका अत्याधुनिक र सुन्दर सहर घुमिरहँदा म पनि नेपालका सहरलाई यस्तै बनाउछु भन्ने सोच आउँदैन ?
किन नआउनु, एकदमै आउँछ। विदेशका जति पनि सुविधा देखिन्छन् ती सुविधा हाम्रा सहरमा पनि भए हुन्थ्यो भन्ने लाग्छ। हामीले त्यसमा अभ्यास गरिरहेका पनि छौं। मेरै पहलमा केही वर्षअघि काठमाडौंलाई नयाँ सहर बनाउन भनेर अवधारणा पनि तयार पारेका थियौं। तर, हाम्रोमा विकास निर्माणका काममा प्रश्नै–प्रश्न खडा हुन्छ। त्यसले गर्दा समस्या भएको छ। यदि सबै पक्षलाई मिलाएर योजनाबद्ध किसिमले अघि बढ्ने हो भने हामीले हाम्रा सहरलाई सुन्दर बनाउन सक्छौं। अझ उपत्यका बाहिर सहरलाई हामीले जस्तो भन्यो त्यस्तो बनाउन सक्ने ठाउँ छ। मात्रै राज्यका हरेक निकाय योजनावद्धरूपमा मिलेर अघि बढ्नुपर्छ। हरेक सहरलाई फरक–फरक शैली र मौलिकता दिएर विकास गर्नुपर्छ।

पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन र उड्डयनमा अलि बढी केन्द्रित भएको देखिन्छ, यसले गर्दा सांस्कृतिक पक्षहरूलाई मन्त्रालयस्तरबाटै अलि ओझेलमा पारियो कि भन्ने लाग्छ, के भन्नुहुन्छ ?
त्यसो भएको होइन। मेरो ध्यान संस्कृतिलाई एकदमै माथि ल्याउनेमा केन्द्रित भएको छ। हवाई, पर्यटन र संस्कृति तीन पक्षलाई ध्यानमा राखेर अघि बढेको छु। कला, संस्कृतिलाई बिर्सिएर र ओझेलमा पारेर पर्यटनको विकास हुन्न। किनभने नेपालको खास कुरा भनेकै संस्कृति र प्राकृतिक सुन्दरता हो।

काठमाडौंको मनपर्ने पक्ष के हो ?
उपत्यका कला नगरी हो। उहिल्यै कविहरूले भन्ने गरेको कुरा पनि यही हो र यहाँको खास पक्ष नै यही मान्न सकिन्छ। यसबाहेक उपत्यकाको हावापानी पनि राम्रो छ। यति सौन्दर्य, रमाइलो, वाताअनुकूलित ठाउँ संसारमा विरलै छन्। तर, हामीले व्यवस्थापन गर्न नजानेर मात्रै हो।  

काठमाडौंको भविष्य कस्तो देख्नुहुन्छ ?
काठमाडौंको भविष्य राम्रो छ। अहिले भइरहेका विकास निर्माणका कामलाई ध्यान दिएर अझ व्यवस्थित ढंगले अघि बढ्न जरुरी छ। पछिल्लो समय विकासको काम गर्दा ध्यान नदिएकोले यतिधेरै प्रश्न उठेका हुन्। यदि यसलाई समाधान गरेर विकास निर्माणका कामलाई दिगो र तीव्रता दिने हो भने काठमाडौंको भविष्य राम्रो देखिन्छ।

उपत्यकाको मन नपर्ने पक्ष ?
यहाँको मन नपर्ने पक्ष सरसफाइमा ध्यान नदिनु हो। चेतना छैन सहरवासीमा।

नेपाल बाहिर कहाँ–कहाँ पुग्नुभएको छ ?
धेरै ठाउँमा पुगेको छु। करिब २७ वटा देशका सहर घुमेको छु।

मन भएर पनि पुग्न नपाएको सहर ?
चाहना र आकांक्षा धेरै हुन्छन्। तर, सबै पक्षलाई मिलाएर अघि बढ्नुपर्छ। मेरो त्यस्तो संकल्पको ठाउँ छैन।

सहरको मिठो लाग्ने खानेकुरा ?
नेवारी खानेकुरा मिठो लाग्छ।

काठमाडौं कहिले छिर्नुभयो ?
२०५० सालको अन्त्यतिर काठमाडौं छिरेको थिएँ। त्यतिबेला विद्यार्थी नेताको रूपमा काम गर्थे। त्यतिबेलाको काठमाडौं अलि व्यवस्थित र अस्तव्यस्त थिएन।   
प्रस्तुतिः शिवहरि घिमिरे








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad