काठमाडौं- रुस्लान थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसीले भारतको गुवाहटीमा जारी बोर्डोलोइ ट्रफीमा इस्ट बंगाल क्लबविरुद्ध हुने फाइनल रोचक हुने बताएका छन्। ६४औं संस्करणमा हुने प्रतियोगिताको फाइनलशुक्रबारनेहरु रंगशालामा हुनेछ। विजेताले १६ लाख र उपविजेताले ८ लाख भारतीय रुपैयाँ पुरस्कार जित्नेछन्।
‘इस्ट बंगाल प्रतियोगिताको मात्र नभई दक्षिण एसियाकै उत्कृष्टमध्ये एक क्लब हो। थोरै समय अन्तरमा खेल भएकाले खेलाडी थकित छन् तर फाइनलशतप्रतिशत मिहिनेतसाथ खेल्नेछौं,’ प्रशिक्षक केसीले भने, ‘हामी उपाधि जित्नकै लागि खेल्नेछौं। आशा छ, खेल पक्कै रोमाञ्चक बन्नेछ।’
थ्री स्टारले बिहीबार सिक्किम युनाइटेडलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो। इस्ट बंगालले सेमिफाइनलमा सिलोङ लाजोङलाई पन्छाएको थियो।
केसीकै प्रशिक्षणमा थ्रीस्टार ६ वर्षअघि पनि यस प्रतियोगिताको फाइलन पुगेको थियो। उनले रक्षापंक्तिमा जोड दिँदै विपक्षीको खेलअनुसार रणनीति बन्ने बताए। ‘थ्री स्टार दबाबमा अझै राम्रो खेल्ने टोली हो। उपाधिका लागि सबै शक्ति प्रयोग गर्नेछौं,’ केसीले थपे, ‘हामी उपाधिसहित नेपाल फर्कन्छौं।’
सेमिफाइनल गुमाएका रक्षक पिटर सेगुन शुक्रबार टोलीमा हुनेछन्। बुद्ध चेम्जोङ, एलान न्यौपाने र प्रकाश बुढाथोकी पूर्ण फिट नभएकाले खेलको अवस्था हेरेर खेलाउन सकिने जनाइएको छ।
समूह चरणमा नागाल्यान्डलाई ६–१ ले हराएको थ्री स्टार टोली सिलोङ लाजोङ र ओयल इन्डियासँग समान १–१को बराबरी खेल्दै समूह विजेता बनेको हो। थ्रीस्टारले सेमिफाइनलमा सिक्किम युनाइटेडमाथि ४–१ को विजय पाएको थियो।
इस्ट बंगालले प्रतियोगितामा कुनै गोल खाएको छैन। समूह चरणमा बंगलादेशको बोनगोविर ओग्रागामी क्लबलाई ६–० र सिक्किम युनाइटेडलाई २–० ले हराएको इस्ट बंगालले गुवाहटीको स्थानीय क्लबमाथि ३–० को जित पाएको थियो। टोलीले सेमिफाइनलमा सिलोङमाथि १–० ले नतिजा निकालेको थियो।
प्रकाशित: १४ आश्विन २०७३ ०२:१० शुक्रबार