८ वैशाख २०८१ शनिबार
समाज

अस्तव्यस्त छ वसन्तपुर दरबार क्षेत्र

सडक किनारभरि सवारी पार्किङले भरिएको छ। फुटपाथ पसलले पैदलयात्रु हिँड्ने बाटो छैन। त्यसमाथि फोहरको थुप्रोले दुर्गन्ध फैलिएको छ। गएको शनिबार वसन्तपुरको हनुमानढोका दरबार क्षेत्र पुग्दा देखिएको दृश्य हो यो। यति हुँदाहुँदै पनि त्यसको रेखदेख र समाधान गर्न खटिएको नगर प्रहरी रमिते बनेको छ। नगर प्रहरीले समस्यालाई बेवास्ता गरेको स्थानीयको आरोप छ।

त्यसो त काठमाडौं महानगरपालिकाले त्यस क्षेत्रलाई व्यवस्थित गर्न हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम कार्यालय स्थापना पनि गरेको छ। तर, ऐतिहासिक सम्पदा क्षेत्रको हनुमानढोका दरबार क्षेत्र भने दिनप्रतिदिन अव्यस्थित बन्ने क्रममा छ।

जसले गर्दा दरबार क्षेत्र घुम्न आउने आन्तरिक र बाह्य पर्यटकलाई असहजता छ। स्थानीयवासी यसबारे चिन्तित भइरहँदा समेत सम्बन्धित निकाय बेखबर छ। निषेधित क्षेत्रमा अव्यवस्थितरूपले निजी तथा सरकारी कर्मचारीको सवारी पार्किङको थलो बनेको स्थानीयवासी गणपतिलाल श्रेष्ठ बताउँछन्।

‘पर्यटकमैत्री व्यापार भन्दा फुटपाथ र अव्यस्थित पार्किङले भरिन्छ,’ उनले भने, ‘कुनै पनि सरकारी निकायले व्यवस्थापनमा ध्यान दिएका छैनन्।’ उनका अनुसार दरबार क्षेत्रमा जतातै फुटपाथ र सवारी पार्किङ छन्। पर्यटकको लागि राम्रो शौचालय छैन। बिजुलीका तार लथालिंग अवस्थामा छन्। पर्यटक बस्ने बेन्च छैन।  तर, कार्यालयले समस्या समाधान नगरेको श्रेष्ठ बताउँछन्।

‘यस्तै हो भने वसन्तपुर दरबार क्षेत्र नामको लायक पनि रहने अवस्था छैन। विदेशी पर्यटकले यहाँको के सन्देश लिएर जालान् ?’ श्रेष्ठले चिन्ता प्रकट गरे, ‘हामीले पटक–पटक सरोकार निकायमा गुनासो राख्दा पनि सम्बोधन भएको छैन।’

वसन्तपुरसँगै छ, जुद्ध वारुण यन्त्र कार्यालय। वसन्तपुर अव्यवस्थित भइरहँदा आपतकालीन समयमा यो कार्यालयले समेत समस्या खेप्दै आएको छ। कार्यालय प्रमुख बद्री नगरकोटीले अव्यवस्थित पार्किङले गर्दा आपतकालीन समयमा दमकल निकाल्न समस्या परेको बताए। ‘सर्वसाधारण लगायत महानगरका उच्च अधिकारीहरूले नै गेटअगाडि सवारी पार्किङ गर्छन्,’ उनले भने, ‘सधैं पार्किङले सडक भरिँदा आपतकालीन समयमा दमकल निकाल्न समस्या हुन्छ। जसले गर्दा आगलागी भएको ठाउँमा समयमै पुग्न सक्दैनौं।’

सम्बन्धित निकायमा जानकारी गराउँदा पनि यो समस्यालाई चासो नलिएको उनको गुनासो छ। संरक्षण कार्यालय वसन्तपुरको अस्तव्यस्तलाई हटाएर पर्यटकीय स्थल लायक ठाउँ बनाउनुपर्ने स्थानीयको माग छ। संरक्षण कार्यक्रम प्रमुख उदयबहादुर पसखलले अव्यवस्थित रूपले गरिने पार्किङ र फुटपाथका पसलहरू हटाउन पहल गर्ने बताए।  ‘जथाभावी पार्किङले समस्या छ। मैले महानगरसँग पनि कुरा गरेको छु,’ उनले भने, ‘नियमित हटाउने हाम्रो काम हो। छिट्टै हटाउन पहल गरेर यो क्षेत्र व्यवस्थित बनाउने छु।’

उनले यी विभिन्न समस्याहरूलाई हटाउन नसकेको पनि उनले स्वीकारे। माथिल्लो निकाय महानगरलाई जानकारी दिइसकेकोले काम नगर्ने नगर प्रहरीलाई फेरबदल गरेपछि दरबार क्षेत्र व्यवस्थित गरिने प्रतिवद्धता उनले जनाए। पर्यटकको लागि राम्रो शौचालय र बस्ने बेन्चको सुविधा भने दिएको दाबी उनको छ। संरक्षण कार्यक्रममा १३ प्रहरीको दरबन्दी रहे पनि हाल १२ जना मात्रै कार्यरत छन्। अहिले परिचालित नगर प्रहरीहरूले फुटपाथका पसल र अव्यवस्थित रूपले गरिएका सवारी पार्किङ हटाउन नसकेको बुझिएको छ।

यता पुरातात्व विभाग अन्र्तगतको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख अरुणा नकर्मीले फुटपाथका पसल, अव्यवस्थित पार्किङ हटाउन जति पहल गरे पनि संरक्षण कार्यक्रम र त्यस ठाउँका वडा कार्यालयले चासो नदिएको बताए। ‘मैले धेरै पहल गरें। कार्यक्रमका प्रमुखलाई नि भेटें। तर, व्यवस्थापन गर्ने चासो नै दिइएको छैन,’ उनले भनिन्, ‘मेरोमा नगर प्रहरी हुँदैन। संरक्षण कार्यक्रमसँग नगर प्रहरी पनि छ। तर, हटाउन पहल गर्देन।’ फुटपाथका व्यापारीले संरक्षण कार्यक्रमलाई पैसा दिएर नै राख्न दिएको सुनेको उनले बताइन्।

संरक्षण कार्यक्रमले मापदण्डविपरित सुटिङ समेत गर्न दिँदै आएको उनले बताइन्। नकर्मीका अनुसार चलचित्र र कुनै म्युजिक भिडियो सुटिङ गर्नको लागि पुरातत्व विभागसँग स्वीकृति लिनुपर्छ। तर, संरक्षण कार्यक्रमले विभागसँग स्वीकृति नलिई सुटिङ गर्न दिँदै आएको छ। उक्त क्षेत्रमा कार्यक्रमले प्रवेशको लागि सार्क देशलाई १ सय ५० रूपैयाँ प्रवेश शुल्क लिन्छ भने अन्य देशलाई १ हजार रूपैयाँ शुल्क लिँदै आएको छ। यसमा हनुमानढोका दरबार हेरचाहले दुई सय ५० रूपैयाँ लिने गरेको छ।

कार्यदल गठन
हनुमानढोका दरबार हेरचाह अड्डाले वसन्तपुर क्षेत्रमा रहेको समस्या समाधानको लागि कार्यदल गठन गरेको छ। काठमाडौं महानगरपालिका वडा २३ का वडाअध्यक्ष मचाराजा महर्जनको संयोजकत्वमा कार्यदल गठन गरेको हो। महानगर, नगर प्रहरी, ट्राफिक प्रहरीलगायत सरोकारवालाहरूको उपस्थितिमा कार्यदल गठन गरिएको थियो।
सांंसद विराज भक्त श्रेष्ठले भने यी सबै काममा पहल गर्ने छन्। कार्यदलले हरेक महिनामा त्यहाँको सबै गतिविधिको प्रतिवेदन सम्बन्धित निकायमा बुझाउने छन्।
तस्बिर क्याप्सन ः वसन्तपुर दरबार क्षेत्रमा अव्यवस्थित रूपले पार्किङ गरिएको मोटरसाइकल। तस्बिर ः श्याम राई

    

 

 

प्रकाशित: ९ पुस २०७५ ०४:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App