coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

मोनोरेल कि मेट्रोरेल ?

काठमाडौं - उपत्यकाको चक्रपथ (रिङरोड)मा मोनोरेल सञ्चालन गर्ने भन्दै काठमाडौं र ललितपुर महानगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन पुस ४ गते चिनियाँ एक कम्पनीसँग सम्झौता गर्यो। यो सम्झौताले ठूलो उपलब्धि हासिल गर्यौ भन्ने महानगरपालिकालाई लागेको छ। मोनोरेलमा यात्रा गर्न पाइने भयो भनेर सर्वसाधारण मख्ख छन्।

तर, पूर्वाधारविद्ले मोनोरेललाई सकारात्मक रूपमा लिएका छैनन्। मोनोरेलले उपत्यकाको बढ्दो सवारी चाप र अव्यवस्थित सार्वजनिक यातायातको उचित व्यवस्थापन नगर्ने उनीहरूको दाबी छ। अर्को त मोनोरेल अन्य देशका सहरहरूमा बन्द हुने क्रममा छन्। मोनोरेलको अप्रेसन महँगो तथा मास ट्रान्जिटको काम नगरेको भन्दै बन्द भइरहेको विज्ञको भनाई छ। मास ट्रान्जिट भन्नाले एकै पटक धेरै यात्रु ओसार्न सक्ने यातायातका साधनलाई बुझिन्छ।

‘विभिन्न देशका सहरहरूमा सञ्चालित मोनोरेल बन्द हुने क्रममा छन्,’ पूर्वाधारविद् प्रकाशभक्त उपाध्याय भन्छन्, ‘अन्य देशहरूमा समस्या आएर बन्द हुन लागेको मोनोरेल नेपालमा किन सञ्चालन गर्न पर्यो र ?’ उनका अनुसार काठमाडौंमा मोनोरेल भन्दा मेट्रोरेल उपयुक्त हुन्छ। मेट्रोरेलको अप्रेसन खर्च पनि कम हुने तथा मास ट्रान्जिटको लागि सही प्रविधि भएको उनले बताए। प्रारम्भिक अध्ययन अनुसार चक्रपथमा मोनोरेल निर्माणको लागि प्रतिकिलोमिटर चार अर्ब हाराहारी खर्च हुने अनुमान गरिएको छ। दक्षिण कोरियाको एक कम्पनीले गरेको अध्ययन अनुसार काठमाडौंमा प्रति किलोमिटर करिब पाँच अर्बमा मेट्रोरेल सञ्चालन गर्न सकिन्छ। तुलनात्मक रूपमा मोनोरेल भन्दा मेट्रो केही खर्चिलो देखिए पनि अप्रेसन मोनोरेलभन्दा मेट्रोरेलको सस्तो पर्छ। मेट्रोरेलले एकै पटकमा सयौं मान्छे पनि बोक्न सक्छ भने मोनोरेलले बसको जसरी मात्रै मान्छे ओसारपसार गर्छ।

‘मास ट्रान्जिटको लागि विकल्प खोज्दैछौं भने मोनोरेल कुनै हिसाबमा पनि काठमाडौंमा ठिक छैन,’ रेल विभागका पूर्वउपसचिव समेत रहेका उपाध्यायले भने, ‘मोनोरेल चलाएर देखाउने मात्रै हो भने चक्रपथ नभएर अन्यत्र कतै भित्रि सडकमा चलाए हुन्छ।’ उनका अनुसार मोनोरेल सञ्चालन नेपालको लागि घाडो हुनेछ। अर्का पूर्वाधारविद् सूर्यराज आचार्य पनि मोनोरेल उपयुक्त नहुने बताउँछन्। निजी कम्पनीको स्वार्थमा गरेको सम्भाव्यता अध्ययनलाई मात्रै आधार मानेर मोनोरेल सञ्चालन गर्न खोज्नु मूर्खता रहेको पूर्वाधारविद् आर्चायको भनाइ छ।

पूर्वाधारविद्ले मोनोरेललाई सकारात्मक रूपमा लिएका छैनन्। मोनोरेलले उपत्यकाको बढ्दो सवारी चाप र अव्यवस्थित सार्वजनिक यातायातको उचित व्यवस्थापन नगर्ने उनीहरूको दाबी छ।

‘नेपालको तर्फबाट मोनोरेल सञ्चालन सम्भाव्यता अध्ययनै गरिएको छैन,’ उनले भने, ‘सम्भाव्यता र मोनोरेल उपयुक्त हुन्छ वा हुँदैन भनेर अध्ययन नगरि निजी कम्पनीको स्वार्थमा काम अघि बढाइँदैछ।’ मोनोरेल समस्याग्रस्त भएर विभिन्न सहरमा बन्द भइरहेको अवस्थामा मोनोरेल सञ्चालन नेपालले अगाडि बढाउनु नै निजी कम्पनीको स्वार्थको काम हुँदैछ भनेर स्पष्ट भएको उनी बताउँछन्।

‘काठमाडौंको लागि कुन मास ट्रान्जिट प्रविधि उपयुक्त हुन्छ भनेर सरकारले अहिलेसम्म अध्ययन गरेको छैन,’ उनले भने, ‘निजी कम्पनीले सम्भाव्यता अध्ययन गरेर जहाँ–जहाँ जे सम्भावना छ भन्छन् त्यसैको आधारमा मात्रै काम अगाडि बढाइएको छ।’

सरकारले उपत्यकामा मास ट्रान्जिटको लागि भन्दै मोनोरेल, मेट्रोरेल र केबलकारको अवधारणा अगाडि बढाएको छ।
अन्य प्रविधिको सम्भाव्यता अध्ययन भए पनि मोनोरेलको भने डिपिआर बनाउन थालिएको छ। यसरी अध्ययनबिनै परियोजना अगाडि बढाउँदा मास ट्रान्जिटको सट्टा समस्याको ट्रान्जिटमा उपत्यका जेलिनसक्ने उनको भनाइ छ। तर, महानगरपालिकाले भने सरकारले छलफल गरेरै परियोजना अगाडि बढाएको बताउँदै आएको छ। ‘मोनोरेल सञ्चालन गर्ने सरकारकै योजना हो,’ काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले भने, ‘सरकारले छलफल गरेरै अगाडि बढाएको हो।’

यद्यपि सरकारको तर्फबाट मोनोरेल उपयुक्त हुने वा नहुने विषयमा भने छलफल नभएको उनले घुमाउरो ढंगमा स्विकारे। ‘सम्भाव्यता अध्ययनले मोनोरेल सञ्चालन गर्न सकिने देखाएको छ,’ उनले भने, ‘सम्भाव्यताले देखाएपछि त सरकारले अध्ययन गरिरहनु नपर्ला।’

महानगर मात्रै मोनोरेल बनाउन सक्ने अवस्थामा छैन। सम्भाव्यता अध्ययन अनुसार मोनोरेल बनाउन एक खर्ब १६ अर्ब लाग्ने अनुमान छ। मोनोरेलको लागि केन्द्रीय र प्रदेश सरकारको पनि संलग्नता हुने मेयर शाक्यको भनाई छ।
मोनोरेलको लागि एकतिर लगानी जुटाउन चुनौती छ। अर्कोतिर पूर्वाधार निर्माणमा पनि त्यतिकै चुनौती देखिन्छ। विज्ञका अनुसार मोनोरेल बनाइहाले पनि काठमाडौं जस्तो ठाउँमा भौतिक संरचना बनाउन चुनौती छ। चक्रपथ सडकको कतिपय ठाउँहरूमा मेलम्चीको पाइप बिछ्याइएका छन्। फाउन्डेसन बनाउनको लागि यी पाइप पनि चुनौती बन्छन्। सहरी सौन्र्दयलाई पनि मोनोरेलले कुरूप बनाउँछ। अन्डरग्राउन्ड मेट्रोरेल भने सडकको संरचनालाई पनि कुनै असर गर्दैन। मास ट्रान्जिटको लागि उपयुक्त प्रविधि पनि हो। तसर्थ काठमाडौंमा मास ट्रान्जिटको लागि मेट्रो रेल नै बनाउनेपर्ने विज्ञहरूको सुझाव छ।

प्रकाशित: ९ पुस २०७५ ०३:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App